२५ फागुन, २०७९ ।
अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन सन् २०२३ जुन ३ र ४ का दिन थाइल्याण्डको पर्यटकीय सहर बैंककमा हुने भएको छ । परिषद्को गत ८ मार्चमा नेपालको झापा जिल्लास्थित काकडभिट्टामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
अन्तर्राष्ट्रिय तामाङ परिषद्को सन् २०१८ मा भारतको मिरिकमा सम्पन्न भएको चौथो सम्मेलनबाट निर्वाचित कार्यस्मितिको चार वर्षे कार्यकाल गत डिसेम्बर १६ मा नै सकिएको छ । सम्मेलनको लागि आन्तरिक तयारी पूरा नभएको भन्दै ६ महिना म्याद थप गरी सम्मेलन सम्पन्न गर्न लागेको परिषद्ले जनाएको छ ।
परिषद्को अध्यक्ष के. एम. तामाङको अध्यक्षतामा सम्पन्न बैठकले मौजुदा समितिलाई पाँचौ सम्मेलन तयारी आयोजक समितिमा रुपान्तरण गर्ने घोषणा गरेको छ । जस अनुसार अध्यक्ष आयोजक समितिको संयोजक र अन्य पदाधिकारीहरु सदस्य तथा सदस्य सचिवको रुपमा रहने निर्णय भएको छ ।
सम्मेलन तयारीको लागि आयोजित विशेष बैठक भएको हुँदा बैठकमा संस्थापक अध्यक्ष परशुराम तामाङ र पूर्व अध्यक्ष महेन्द्र जंग तामाङको समेत उपस्थिति रहेको थियो भने नेपाल तामाङ घेदुङको सहअध्यक्ष कुमार घिसिङ र अखिल भारतीय तामाङ बौद्ध संघका महासचिव एम. के. योन्जन लगायतको उपस्थिति रहेको थियो ।
बैठकमा परिषद्को पदाधिकारीहरुको गणपुरक सङ्ख्या नपुगेको हुँदा महासचिव मोहन गोले तामाङद्वारा प्रस्तुत अन्य प्रस्तावहरुलाई एक हप्ताभित्र भर्चुअल बैठक बसी निर्णय लिने सहमति गरेको छ । महासचिव गोलेले सञ्चालन गर्नुभएको बैठकमा परिषद्का पूर्व अध्यक्ष परशुराम तामाङ, पूर्व अध्यक्ष महेन्द्रजंग तामाङ, वरिष्ठ उपाध्यक्ष टासी लामा, उपाध्यक्ष भोज कुमार लामा, अखिल भारतीय तामाङ बौद्ध संघका महासचिव एम. के. योन्जन, संयुक्त सचिव डिगम गोले, केन्द्रीय सदस्य भुपाल गोले, नेपाल तामाङ घेदुङको सहअध्यक्ष कुमार घिसिङ, पूर्व केन्द्रीय सदस्य दीलकुमार पाख्रिन लगायतले आफ्नो धारणा राखेका थिए ।
राजनीतिक सीमा तोड्न परिषद् स्थापना ग¥यौ ः संस्थापक अध्यक्ष तामाङ
अन्तर्राष्ट्रिय तामाङ परिषद्का संस्थापक अध्यक्ष परशुराम तामाङले तामाङ जाति छुट्टै भाषा, छुट्टै संस्कृति भएको जाति भएको र यसलाई विभिन्न देशको राजनीतिक सीमाले बाँध्न खोजेको हुँदा त्यसलाई तोड्नको लागि परिषद् स्थापना गरेको बताए ।
परिषद्को स्थापना गर्नुअघि आआफ्नो देशमा तामाङ संस्थाहरुले काम गर्दै आएको थियो तर ती संस्थाहरुलाई साझा मुद्दामा एकठाउँमा उभ्याउन सकिरहेका थिएनौ, तामाङले अगाडि भने– यसलाई जोड्ने कडीको रुपमा परिषद्को विकास गरिएको हो ।
उहाँले थाइल्याण्डको बैंककमा पाँचौ सम्मेलन गर्न लागेको प्रस्तावप्रति समर्थन जनाउँदै तामाङ स्थायी बसोबास गरिरहेका विभिन्न मुलुकमा सम्मेलनहरु सम्पन्न गर्ने नै परिषद्को परिकल्पना रहेको बताए । आजसम्म चारपटक नेपाल र भारतमा मात्रै सम्मेलन भइरहेको सन्दर्भमा यस बाहेक अर्को मुलुकमा सम्मेलन आयोजना गरेर नयाँ टिमलाई नेतृत्व हस्तान्तरण गर्नु ठिक हुने उहाँको सुझाव थियो ।
संस्थापक अध्यक्ष तामाङले यसपटकको सम्मेलनबाट विधानत देखिएको समस्यालाई पूर्ण रुपमा केलाएर समाधान गरिनुपर्नेमा जोड दिए । उनले भने, राष्ट्रिय सदस्य संस्था र अन्तर्राष्ट्रिय तामाङ परिषद्को काम छुट्टिएको छैन, यसलाई छुट्याएपछि घेदुङको मान्छे परिषद्मा बस्नु नपर्ने अवस्था आउँछ । संसारभरिको तामाङ जातिमा तामाङ एकताको भाव सिर्जना गर्न प्रविधिको प्रयोग गरी यसपटकको सम्मेलनमा सबैले एकैपटक उभिएर अन्तर्राष्ट्रिय तामाङ गीत गाउनुपर्ने उहाँको भनाई थियो ।