मोहन गोले तामाङ
वास्तवमा प्रत्येक मानव जीवनको आ–आफ्नो भिन्नाभिन्नै जीवन दर्शन हुन्छन् । यसमध्ये तामाङ जीवन दर्शन आदिवासी जीवन दर्शनसँग सम्बन्धित छ । आदिवासी जीवन दर्शन भनेको प्रकृतिसँगको निरन्तर सम्पर्कबाट स्थापित दर्शन हो । यसले न प्रकृतिको दोहन गर्ने पश्चिमा जीवन दर्शनसँग सम्बन्ध राख्छ न दक्षिण पूर्वीय सभ्यताबाट विकसित मिथ्या हिन्दू जीवन दर्शनसँग नै सामिप्यता राख्दछ । त्यसैले यो जीवन दर्शन आफैंमा विशिष्ट र भिन्न छ ।
त्यसमा पनि तामाङ जीवन दर्शन ताम्बा, बोम्बो र लामा (बौद्ध) दर्शनको योग हो । जुन अरु आदिवासी समुदायमा यस्तो योग पाइदैन । तामाङ जीवनको जन्मदेखि मृत्युपर्यन्त गरिने हरेक कर्मकाण्डमा कतै ताम्बा, कतै बोम्बो त कतै लामा दर्शनको प्रयोग, निरन्तरता रहेको छ । जस्तोः बिबाहमा ताम्बाको भूमिका महत्वपूर्ण हुन्छ भने मृत्युमा लामाको भूमिका महत्वपूर्ण भएपनि मृत्यु कार्य सम्पन्न गर्न एउटा समिति (चोहो) गठन गरिन्छ जुन ताम्बा संस्कार अन्तर्गत पर्दछ । त्यसकारण ताम्बा, लामा र बोम्बो तामाङ समाजका अभिन्न परम्परागत संस्थाहरु हुन् जसमध्ये कुनै एकको अभावमा तामाङ सौन्दर्यता अधुरो, अपुरो हुन्छ । आज तामाङ समुदायमा ल्होछार परम्परा स्थापित हुन नसक्नु, तामाङले तामाङ संस्कृति अवलम्बन नगर्नुको पछाडि तामाङले तामाङ सौन्दर्यशास्त्रलाई बुझ्न, चिन्न नसक्नु हो ।
हामीले बोल्ने भाषा, हाम्रो संस्कृति, हाम्रो भेषभूषा तामाङ सौन्दर्यशास्त्रका गहना हुन् । त्यो गहना नलगाएसम्म सुन्दरता झल्किदैन । त्यसैले तामाङ संस्कृति भनेको तामाङ जीवनको लय हो । सामान्य भाषामा भन्नुपर्दा लय भनेको कुनैपनि गीतको सङ्गीत जस्तै हो । जसरी गीतको शब्दहरुमा लय (सङ्गीत) भरिएन भने त्यो गीत हुँदैन, कविता मात्रै हुन्छ । त्यस्तै मानव जीवनले एउटा लय (संस्कृति) समात्न सकेन भने त्यो जीवनले सार्थकता पाउँदैन । त्यस्तो जीवन सारमा पशुतुल्य हुन्छ । त्यसैले जीवन भनेको गीतको शब्दहरु हुन् र संस्कृति त्यो जीवनलाई पूर्णता दिने सङ्गीत, लय अथवा श्रृङ्गारिक पक्ष हुन् । गीतमा जति राम्रो लय भरियो अर्थात जति मौलिक संस्कृतिलाई अबलम्वन गरियो, त्यति नै त्यो गीत उत्कृष्ट भए जस्तै जीवन पनि पूर्ण, उच्चतम र श्रेष्ठ हुन्छ । त्यो लय (संस्कृति) प्रत्येक मानवका पूर्वजहरुले आ–आफ्नो बसोबासको स्थान, परिवेश र प्राकृतिक हावापानी अनुकूल भिन्न भिन्न ढङ्गले भविष्यसम्मको लागि तय गरेका हुन्छन् ।
इतिहासको कुनै कालखण्डमा समाजको अगुवाले बनाएको नियम नै रीतिथिति (रिमठिम) मा बदलिन्छ र त्यसलाई समाजले स्वीकृति दिएपछि त्यो अनुमोदित संस्कृति बन्छ । जसको पालना गर्नु, एकपुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्दै जानु र नयाँले ग्रहण गर्नु प्रत्येक पुस्ताको कर्तव्य हो । त्यसैले आफ्नो पूर्वजले निर्धारण गरेको संस्कृति (लय) लाई हामीले समात्न सकेनौ र अरुको संस्कृतिमा रमाउन थाल्यौ भने त्यो जीवन पद्दती आजकलको रिमिक्स गीत जस्तो हुन जान्छ । जस्तोः पहिले पहिले गाइएका चल्तीका लोकगीतहरुलाई आजकल नयाँ सङ्गीत हालेर गाउने चलन छ, जसलाई हामी रिमिक्स गीत भन्छौ । जुन गीत एउटा लयमा मात्र बाँधिएको हुँदैन । अहिले कतिपय तामाङ समुदायको जीवन संस्कृति हिन्दू जीवन दर्शन र तामाङ जीवन दर्शनको मिश्रणबाट रिमिक्स गीत जस्तै भएको म देख्छु । बिहेमा बाहिर बाहुन पढाएर सिन्दूर पोते गरेको हुन्छ अनि घरभित्र चारजना तामाङ बुढापाकाहरुलाई राखेर चारदाम (वागदान) पनि गरेको हुन्छ । सोनाम ल्होछार पनि मानेको छ, उता दशैं पनि मान्दै छ । लामागुरु बोलाएर घेवा कर्म पनि गर्छन् तर बौद्ध दर्शनको ठीक विपरित टाउकोमा टालो बाँधेर क्रियापुत्री पनि बस्छन्, नूनतेल बार्छन् । तामाङ संस्कृतिको यो हविगत हुनु अर्काको खुट्टामा उभिएर नाच्न खोजेको परिणति हो ।
यस्तो अवस्था किन आयो ? यस सम्बन्धमा पनि हामी प्रस्ट हुनैपर्छ । आधुनिक नेपालको निर्माणसँगै खासगरी यहाँ दुईवटा सभ्यता रैथाने र फिरन्ते सभ्यताको टकराव हुँदै आएको छ । यो निरन्तर टकरावको परिणाम आज नेपालको धमिलो चित्र हामी देख्न सक्छौ । जस्तोः तामाङ लगायतको विभिन्न जनजाति समूहमा कसैको भाषा हराएको छ, कसैको संस्कृति मासिएको छ, कसैलाई धर्म के हो ? थाहा छैन आदि । किनकि फिरन्ते सभ्यताको नेतृत्व नेपालमा हिन्दू जीवन दर्शनले गरेको र त्यसले निरन्तर रैथाने सभ्यतामाथि आक्रमण गरिरहेको हुँदा यो धुमिल अवस्था सिर्जना भएको हो । हिन्दू दर्शनको रक्षा राज्यले गरेको थियो र अद्यापी कायम छ ।
बिगतमा हिन्दू धर्मले राजा (शासक) लाई विष्णुको अवतार मान्दथ्यो । यसले शक्तिशाली ईश्वर र शासकको सहयोगमा रैथाने सभ्यताबाट विकसित आदिवासी जीवन दर्शनलाई कुनै न कुनै ढङ्गबाट प्रहार गरिरह्यो र गरिरहेको पनि छ । आफूलाई ठूलो बनाउन वर्ण ब्यवस्थाको चारतला (ब्राम्हाण, क्षेत्री, बैश्य, शुद्र) बनाइयो र अरुमा पनि उचनिचको आडम्बर थपेर कहिल्यै मिल्न दिएन । यसरी आफ्नो जीवन दर्शनको रक्षाकवचको रुपमा काम गर्ने राज्यसत्ताको अभावमा रैथाने जहिले पनि रक्षात्मक अवस्थामा गुज्रदै हारिरह्यो भने फिरन्तेहरु जहिलेपनि आक्रमक हुँदै जितिरह्यो । जहाँ जहाँ जित्यो त्यहाँ त्यहाँ उसले भौतिकवादी दर्शनको नभई शून्यवाद (ईश्वरवाद) मा आधारित ईश्वरीय सत्ता (हिन्दू राष्ट्र) को झण्डा फहरायो । जसले गर्दा राज्य समुदायको प्रभावशाली जितारु हिन्दू संस्कृति पराजित तामाङ संस्कृतिमा जर्वजस्त लादियो र आज तामाङ जीवनको सौन्दर्यता कचल्टिन पुग्यो । यही कचल्टिएको संस्कृतिमा सुधार ल्याउन नेपाल तामाङ घेदुङले केही समयअघि तामाङ संस्कार संस्कृति निर्देशिका प्रकाशन ग¥यो । त्यतिले मात्र नभएर विगतदेखि घेदुङले देशैभरि तामाङ साँस्कृतिक पुनर्जागरण अभियान पनि सञ्चालन गरिरहेको छ ।