नेपाल तामाङ घेदुङले गत शुक्रबार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन परिणामको समिक्षा गर्दै अब तामाङ आन्दोलनलाई कसरी उठाउने भन्ने सम्बन्धमा छलफल कार्यक्रम सम्पन्न भएको छ । घेदुङको तेस्रो संघीय कार्यसमितिको बैठकको पूर्वसन्ध्यामा संस्थागत धारणा बनाउन सहयोग पुग्ने उद्देश्यले यो कार्यक्रम राखिएको घेदुङले जनाएको छ ।
घेदुङका सङ्घीय अध्यक्ष मोहन गोलेले सहजिकरण गरेको कार्यक्रममा तामाङ समाजका अग्रज अगुवाहरुले आआफ्नो धारणा प्रस्तुत गरेका थिए । यस सन्दर्भमा कसले के भने ? हेर्नुहोस् ः
१. जयप्रसाद गोले, अध्यक्ष–ताम्सालिङ संयुक्त संघर्ष समिति,
आजको जुन विषय छ, त्यो समय सान्दर्भिक छ । यसलाई हाम्रो साझा धारणा बनाएर जाने सवालमा यस्तो बसाई धेरैपटक बस्नुपर्छ । यो निर्वाचनलाई हेर्दा तामाङको प्रतिनिधित्व उत्साहजनक देखिदैन किनकि यसमा हाम्रो जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व छैन । यो संख्या कम हो । यो करिब ३ प्रतिशत मात्रै हुन्छ । आदिवासी जनजातिकै हेर्दा पनि निर्वाचितलाई हेर्दा १९ प्रतिशत मात्र देखिन्छ । थारुको प्रतिनिधित्वलाई पनि उडाइदियो । यो आदिवासी जनजातिको प्रतिनिधित्व कमजोर रहेको छ । प्रतिनिधिसभामा भन्दा प्रदेश सभामा सहमागिता राम्रो छ । स्थानीय निर्वाचनमा पनि राम्रो रहेको छ । अब यो प्रतिनिधित्वले हाम्रो मुद्दामा लड्छ कि लड्दैन भन्ने मुख्य कुरा हो । हाम्रो मुद्दा बोक्नेलाई पठाउन सक्यौ कि सकेनौ ? मुद्दा विरोधीलाइ पठायौ भने त्यसमा खुशी मान्नुपर्ने अवस्था छैन । यसको पनि समिक्षा गर्नुपर्छ ।
यो लडाइमा हामीले ब्यालेटको लडाइ हारिसक्यौ । अब आन्दोलन उठाउनुलाई माइतीघर मण्डलामा गएर गर्ने आन्दोलन हो कि टेक्नोलोजी प्रयोगका साथ जाने आन्दोलन हो । अब हामी तामाङ मात्रै होइन कि आदिवासी जनजातिकै सबैलाई समेटेर अघि बढ्नुपर्छ । त्यसमा तामाङको पनि माग इन्क्लुड गरेर जानुपर्छ । त्यसो भयो भने हामो एउटा शाक्ति बन्छ । मेरो बुझाईमा यो इलेक्सनबाट निर्वाचितहरु ५ वर्षसम्म चल्दैन । ३ वर्षको बिचमा संविधान संशोधन हुन्छ ।
अब हामीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा हामीले आवाज उठाउनु पर्छ । रवि लामिछानेको आइडोलोजी के हो ? थाहा छैन । उसले पनि प्रत्यक्ष निर्वाचित राष्ट्रपति भनेको छ । अरु पार्टीले पनि भनेको छ । यसमा एमालेका पनि केही मान्छेले साथ दिनेवाला छ । त्यति भएपछि कांग्रेसले पनि गर्नुपर्ने हुन्छ । यो पार्लियामेन्टमा ठुलो बहसको विषय बन्नसक्छ । यो एकल एजेण्डामा गयौ भने राम्रो होला । यसलाई ५ वर्ष चल्न दिनु हुँदैन । किनकि राजनीति किनवेचमा गइसक्यो । यो अझ भद्रगोल हुनेवाला छ ।
२. फुलकुमार बोम्जन, अध्यक्ष– तामाङ डाजाङ,
गीत संगीतको माध्यमबाट धेरै ठाउँमा घुमियो । चुनावमा पनि घुमियो । सिन्धुलीबाट यसपटक बल्ल तामाङको प्रतिनिधित्व भयो । हाम्रो जिल्लामा धेरै तामाङ भएपनि अहिलेसम्म संसदमा जितेर गएको थिएन । यसपटक सम्भव भयो । राज्यको नागरिकता बोकेपछि बल्ल नागरिक हुने सिस्टम छ । हाम्रो लिडरहरु जो संसदमा पुगेका छन् । उनीहरुले हाम्रो आवाज बोल्ने हो कि होइन ? कुरा दोधारमा नै छ । उनीहरुलाई पनि सचेत गराउनुपर्छ जस्तो लाग्छ । तामाङलाई विभिन्न मुद्दामा फसाइरहेका छन् । ऐलानी जग्गामा बसेको छ धेरै तामाङहरु । उनीहरुको बसोबासको स्थिति के हुने हो ? केही तामाङहरु सुकिलामुकिला पनि छन् । अधिकांश तामाङको जीवन शैली कठोर छ । सिन्धुलीमा कोइराला परिवारको ३ जना दाजुभाई तिनै जना प्रधानमन्त्री भयो । उनका नातागोता सबै मन्त्री, सांसद बन्यो तर तामाङ हुन सकेन । तामाङको उत्पादनलाई व्यवस्थित गर्ने सवालमा हाम्रो जनप्रतिनिधिले केही गर्न सक्छ कि सक्दैन ?
३. बाबु घिसिङ, पूर्व महासचिव–नेपाल तामाङ घेदुङ,
विषयको हिसाबले जय गोले सरले सबै कुरा राख्नुभयो । निर्वाचनमा जुन परिणामहरु आइरहेका छन् । यसमा हाम्रो कमजोर प्रतिनिधत्व छ । अहिले संघमा पुगेको ४ जनालाई हेर्दा दुईजनाले यसो हाम्रो कुरा बोल्छ कि भन्ने कि भन्ने लाग्छ । अरु त हाम्रो मुद्दामा खासै बोल्छ जस्तो लागिरहेको छैन । प्रदेशमा हेर्ने हो भनेपनि त्यस्तै छ । केहीले तामाङको मुद्दा बुझेको छ । धेरैले बुझेका छैनन् । उनीहरु पार्टीको कुरा मात्रै बोल्ने खालका छन् । समुदायको कुरा बोल्छ जस्तो लाग्दैन । अब मन्त्रीमण्डलमा पनि हाम्रो मान्छे एकदमै कम पुग्ने अवस्था देखिन्छ । प्रदेश १ मा अहिले १ जना तामाङको छोराको कांग्रेसबाट प्रतिनिधित्व भएको छ । त्यसैले अहिले हाम्रो जनप्रतिनिधिबाट ठुलो आशा गर्न सकिन्न ।
हाम्रो साझा नेता बन्ने खालको पात्र नै देखिएको छैन । प्रमुख ठुला दलहरुले हामीलाई पत्याएका छैनन् । किनकि हामीले आन्दोलन उठाउन सकेनौ । त्यसैले पत्याएनन् । हाम्रो मुद्दालाई उठाएर सडक तताउन सकेनौ । विगतमा नेवाः ताम्सालिङ आन्दोलन उठाउने बेलामा पनि दलहरुले हामीलाई सहयोग गरेनन् । केही प्रदेशका सांसदहरुले सहयोग गरे । माननीय प्रेम तामाङले भावुक अभिव्यक्ति दिएको स्मरण छदैछ । यसर्थ दलहरुको तामाङलाई जे गर्दा पनि हुन्छ भन्ने धारणा विकास भएर गएको स्थिति छ । यसैलाई आधार बनाएर उनीहरुले टिकट पनि त्यस्तै मान्छेलाई दिए ।
अबको आन्दोलनबाट निर्वाचन प्रणाली फेर्नुपर्छ । प्रत्यक्ष निर्वाचित कार्यकारी र समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्छ । प्रत्यक्ष बहुमतीय निर्वाचन प्रणालीले धेरै विकृति ल्यायो । अहिलेको दलहरुलाई हेर्दा प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थामा जानसक्छ तर पूर्ण समानुपातिकमा जान्छ जस्तो लाग्दैन ।
अब कसरी अघि बढ्ने भन्ने सवालमा तामाङ युवाहरुमा एकप्रकारको जागरण आइसकेको छ । हामी भर्खरै मानव सभ्यतामा खुट्टा टेकेको जस्तो छौ । राजनीतिक कुरा हाम्रो समुदायले बुझ्न सकेका छैनन् । त्यो अभियान कसरी चलाउने भन्ने कुरा छ । हामीले सामाजिक आन्दोलनलाई उठायौ अब प्रत्यक्ष राजनीतिक मुद्दालाई पनि अघि बढाउनु पर्छ । यो निर्वाचनपछि बन्ने सरकार ३ वर्ष मात्र होइन कि यो १ वर्षमा नै हल्लिने वाला देखिन्छ । विदेशी परियोजनाहरु एमसीसी, एसपीपीले मुलुकको सार्वभौसत्ता गुम्ने खतरा उत्तिकै छ । तामाङ सभ्यताको ताम्सालिङ भूमिमा सबैभन्दा बढी विदेशीको चलखेल हुने सम्भवना छ ।
४. आर. के. तामाङ, अभियन्ता–समान नेपाल,
मेरो खास कुरा केही छैन । हामीले जति विष्लेषण गरिरहेका छौ । त्यो आम मिडियाले गरिरहेको विष्लेषण नै हो । अब हामीसँग योजना के ? भन्ने सवाल आएको छ । अब एक्सन नगरी रहने छुट कसैलाई छैन होला । त्यहाँ चै के गरी गर्ने हो ? भन्ने कुरा छ । अहिलेकै व्यवस्थामा हाम्रो प्रतिनिधित्व हुँदैमा राजनीतिक अधिकार दिनेवाला छैन । अरुलाई समेटेर लानुपर्छ भन्ने कुरा एउटा हो तर आफू जाने कि नजाने भन्ने कुरा अर्को हो । थारु आन्दोलनमा गयो उनीहरुले प्राप्त ग¥यो । अब हामी नगए हामीले पाउँदैनौ । कसैले ड्याङ्ग ठोक्छ र हामी जान्छौ भनेर हुँदैन । हामी के गर्दैछौ भन्ने कुरा महत्वपूर्ण हो ।
दोस्रो कुरा, अहिलेको निर्वाचनबाट बनेको सत्ता तीन वर्ष, एक वर्षमा परिवर्तन भयो भनेपनि त्यसबाट हामीले के पाउँछौ ? प्रत्यक्ष निर्वाचित कार्यकारी हुँदा चै हामीले के पाउँछौ ? हाम्रै जुनीमा केही लिने हो भने वर्तमानभन्दा पर गएर काम गर्नुपर्छ जस्तो लाग्छ । अब पर लाने हामीसँग योजना के छ ? हामी योजना बनाउन नसक्ने त होइनौ होला । अब निर्वाचनको मेला सकियो । अब योजना बनाउनेतिर जानुपर्ला ।
५. बुद्धछिरिङ मोक्तान, राजनीतिक विष्लेषक,
हाम्रो आन्दोलन सफल भएन । तर मधेशमा आन्दोलन सफल भयो । थारुको पनि केही हदसम्म सफल भयो भन्नुपर्छ । घेदुङको चश्माबाट सिंगो तामाङ नेसनलाई हेर्दाखेरि तामाङ विभिन्न धार्मिक, राजनीतिक रुपमा विभाजित छन् । हामी एक छैनौ । तर घेदुङले एउटा शक्तिमा निर्माण गर्ने कार्यक्रम ल्याउनु पर्छ ।
अब केही खतरा स्थिति पनि देखिन्छ । जनताको बलिदानीबाट बनेको नेपालको यो संविधानलाई खत्तम पार्ने योजना छ । त्यसमा भारत सक्रिय छ । त्यसको नेतृत्व ओलीले गरिरहेका छन् । उसले त्यो संविधान च्यात्नको लागि रअ प्रमुखलाई भेट ग¥यो । भित्रको लेनदेनको खेल डरलाग्दो हुन्छ । एउटा जग्गा बेच्न चारजना ब्रोकर बस्दा जस्तो डिबेट हुन्छ । तर पछि स्क्रिनमा फ्याक्दा अर्कै कुरा फयाकिएको हुन्छ । संविधान च्यात्ने कुरामा कांग्रेस नबोलेर बसिरहेको छ । अब मनको कुरा बोल्नको लागि राष्ट्रिय स्वतन्त्र पार्टी आयो । यसलाई रोक्नको लागि बाबुराम र प्रचण्डको मिलन भयो । उनीहरुको इन्टरनल पावरबाट रोक्न सक्ने देखिँदैन । तर ओलीको यो हर्कतलाई रोक्न प्रचण्ड सफल भयो ।
अहिले ओली क्याम्पबाट सरकार बन्दैन । उसले प्रयास गर्ला तर यो सम्भव छैन । सत्ता गठबन्धनबाटै सरकार बन्ने देखिन्छ । प्रचण्ड र देउवाबिच पावर सेयरिङ हुने वाला छ । हिन्दूस्तानको लागि यो संविधान घाँडो बनेको छ किनकि उसले यो संविधान जारी गर्न चाहेको थिएन । त्यसैले यसलाई ऊ च्यात्न चाहन्छ । अब यो संविधानबाट संघीयता जान्छ, समाुनपातिक जान्छ तर धर्म निरपेक्षता फाल्नलाई गाह्रो छ किनकि अमेरिका यो चाहँदैन । राजतन्त्र फाल्न चै यहाँका ब्राह्मणवादी शासक नै तयार देखिदैन । अबको तीन वर्षभित्रमा यो खेल प्रारम्भ हुन्छ । बाहिरबाट हेर्दा संविधान अनुसार देश चलेको जस्तो देखिएपनि भित्र ठुलो खेल भइरहेको छ । त्यसबेला हामीले पनि खेल्नुपर्छ । अब गोल हान्नै पर्छ ।
रवि लामिछानेले सहरिया जनमतलाई लियो किनकि लोकलाई जे चाहिएको हो ? त्यो कुरा उसले बोलिदियो । ज्ञानेन्द्र शाही र रवि लामिछाने दुवै शक्तिलाई अब तानातान गर्छ । तर ग्लोबल वेभ हाम्रो पक्षमा छ । यसलाई कम्युनिष्टको भाषामा भन्नुपर्दा वस्तुगत परिस्थिति हाम्रो पक्षमा छ तर आत्मगत पक्ष कमजोर छ । त्यो गोल हान्नको लागि तामाङ मुक्तिको पक्षमा कार्यक्रम ल्याउनु प¥यो । त्यसको हामीले लप्सीफेदीमा प्रयोग गरिरहेका छौ । त्यहाँ ३०० रोपनी जग्गा खोस्ने योजना सफल हुन दिएनौ । तर त्यहाँ तामाङ घेदुङको अध्यक्ष नै दलाली गरिरहेको छ । यसमा घेदुङले काम गर्नुप¥यो । लाहुरनिप यसमा प्रभावित छ । मलाई लाग्छ, यदि मोहन गोले तामाङ र घेदुङले बाँकी जीवन समाजको लागि समर्पण गर्ने हिम्मत ग¥यो भने भने त्यसले शक्ति निर्माण हुन्छ ।
६.मुक्त सिंह लामा, मानवशास्त्री
अहिलेसम्म उठाएको मुद्दा हामीलाई स्वायत्त ताम्सालिङ चाहियो भन्ने हो । जसको आत्मनिर्णयको अधिकार छ । भुमि छ । हामीले राज्य मान्दैनौ भनेका छैनौ । हाम्रो यो जुन लक्ष्य छ । यो हाम्रो स्वायत्त ताम्सालिङ हो भने त्यसमा कसरी राज्य चल्छ ? भाषा, संस्कृति, भूगोलको कुरा कस्तो हुने भन्ने प्रष्ट छैन ।
घेदुङले यो निर्वाचनलाई कसरी हेर्ने र आगामी तामाङ आन्दोलनलाई कसरी अघि बढाउने भन्ने हो ? ो राज्य समावेशी बनाउन चाहदैन भन्ने कुरा प्रष्ट भयो । तामाङको मात्रै कुरा गर्दा पहिले ३ जना तामाङ थियो । अहिले दुईजना पुरानै । नम्बरको हिसाबले हामीले खासै गुमाएका रैनछौ । जनजातिमा हेर्दा गुरुङ, नेवार, राई, लिम्बूको सम्मानजनक प्रतिनिधित्व देखिन्छ । थारु सशक्त भएर पनि उनीहरु अझै आउन सकेको छैन ।
यो निर्वाचनमा ९३ जना तामाङ उमेदवार उठेको देखियो । सबैभन्दा बढी स्वतन्त्रमा २५ जना । मंगोल नेशनल अर्गनाइजेसनमा २१ जना । आमुल परिवर्तन पार्टीमा ६ जना । जसपामा ६ जना । एमाले चौथो नम्बरमा छ । माओवादी र कांग्रेस तल छ । पुरातन पार्टीहरुमा तामाङको ठाउँ छैन भन्ने देखाउँछ । उनीहरुको चाख घटेको देखिन्छ । बाहुनक्षेत्रीको हेर्दा पनि स्वतन्त्र र राप्रपामा बढी छन् । त्यसपछि एमालेमा देखिन्छ । बाहुनक्षेत्रीमा माओवादी कम छ । २४१२ उमेदवारमा ९३ जना भनेको ३ प्रतिशत मात्रै हो । हाम्रो जनसंख्याको अनुपातमा उठ्ने क्षमता नै रहेनछ भन्ने यो आँकडाले देखाउँछ ।
राज्यले समावेशी बनाउँला भन्ने थियो तर यो आशा मर्दै गएको छ । किनकि मंगोलमा गएको कारणले यही पुष्टि गर्छ । छान्ने बेलामा कुन कतातिर जान्छ ? प्रदेशको उमेदवारी हेर्दा पनि बागमती प्रदेशमा २० प्रतिशत जनसंख्यामा १६ प्रतिशत उमेदवार उठेको छ । १० जनाले जित्यो । ११२ जना उमेदवार उठेको छ । यी मान्छेहरुमा छानेर प्रशिक्षण दिने र जाने हो भने आगामी ५ वर्षमा एउटा तागत निर्माण हुन्छ । अब जितेकाहरुलाई कसरी मुभिलाइज गर्ने ? एउटा त्यो सोचले कार्यक्रम बनाउनु पर्ला ।
स्वायत्तताले हाम्रो जीवनमा के हुन्छ ? के पूरा हुन्छ ? भन्ने प्रष्ट हुनुपर्छ । पूर्ण समानुपातिक भयो भनेपनि हामीलाइ केही हुँदैन होला । प्रत्यक्ष राष्ट्रपति हुँदैमा हामीलाई केही हुँदैन । अहिले जितेर आएको साथीहरुलाई कसरी उपयोग गर्ने ? हारेकालाई पनि कसरी हाम्रो आन्दोलनमा जोड्ने ? त्यसबारे सोच्नुपर्छ ।
प्रदेशभित्रको जमिनको कुरा । सर्लाहीमा तामाङमा जमिनको समस्या अर्कै छ । यस्तो मुद्दा उठायो भने चै घेदुङको उचाई बढ्छ । प्रदेशको सांसदलाई उपयोग गर्नुपर्छ । तामाङको मुद्दामा केन्द्रीत गर्नुपर्छ । संघमा जानेहरुले कानुन बनाउँदा, संविधान संशोधनमा काम लाग्नसक्छ । पार्टीको घोषणापत्रमा एमाले र एकीकृ समाजवादीले आदिवासी जनजातिको बारेमा केही लेखेको देखिएन । आदिवासीको आत्मनिर्णयको अधिकार नदिने त कम्युनिष्ट नै बन्दैन तर उनीहरुले अहिले वर्गको मात्रै कुरा गरिरहेका छन् । अब केही कार्यक्रम राख्नुपर्ला ।
७. कुमार योन्जन, पूर्व अध्यक्ष–नेपाल तामाङ घेदुङ
कुरा सबैको एउटै हो । थप्नुपर्ने खासै छैन होला । घेदुङ जस्तो सामाजिक संस्थाको लागि पनि कसरी अघि बढ्नुपर्ने विषयमा पनि सिरियसली सोच्नुपर्ने बेला आयो । अब आन्दोलनको कुरा गरेर मात्रै हुँदैन होला । यसलाई लामो छलफलमा बस्नुपर्छ जस्तो लाग्छ । आजको बसाई त सानो बसाई हो । छोटो बसाईमा पनि धेरै कुरा आएको छ । अब फेजवाईज बस्नुपर्छ होला ।
दोस्रो चै अब जितेकाहरुसँग एउटा चरणको बसाई र जो जितेनन् उनीहरुसँग पनि अर्को बसाई गर्नुपर्ला । घेदुङ जस्तो थुप्रै जातीय संस्थाहरु छन् । उनीहरुसँग पनि अनुभव सेयरिङ गरेर अघि बढ्नुपर्ला । त्यो एउटा छलफल गर्दा राम्रो होला ।
मुख्य कुरा चै अब हामीले अहिले साझा स्वायत्त आन्दोलन र दिनदिनैको जनताको मुद्दाहरुलाई उठाउने गर्नुप¥यो । तामाङके हो ? अरु के हो ? त्यसलाई उठाउँदा ठिक होला । अहिले देशैभरि किसानको समस्या छ । जस्तो भोजपुरमा जाँदा त्यहाँको स्थानीयले बाँदरको समस्या छ भन्यो । यस्तो समस्यालाई उठाउनु पर्छ । हामीले नेवाः ताम्सालिङको कुरा उठायौ । त्यसमा स्वायत्त ताम्सालिङ र स्वायत्त नेवा प्रदेश भनेका थियौ ।
अर्को यो संसदले ५ वर्ष पूरा गर्छ जस्तो लाग्दैन । अब बढीमा ७ वर्षमा एउटा ठुलो आन्दोलन हुन्छ होला । त्यो बेलाको लागि हामी गोल गर्न तयार हुनुपर्छ र त्यसको लागि अहिलेदेखि नै होमवर्क गर्नुपर्ला । हिजोको आन्दोलन अहिले स्वात्तै सुक्यो । अब त्यसलाई मलजल गर्नका लागि छलफल गर्नुपर्छ । यो व्यक्तिले थालेर हुँदैन । घेदुङले नै थाल्नुपर्छ । अब तपाई हामी २, ३ चरणमा बसौ । हारेकाहरुसँग पनि बसौ, जितेकाहरुसँग पनि बसौ । घेदुङको अबको संघीय कार्यसमितिको बैठकमा साथीहरुको के कुरा आउँछ ? त्यसले एउटा वेआउट निकाल्नुपर्छ ।