नेपाल तामाङ घेदुङ
नवौं सङ्घीय महाधिवेशन
काठमाडौं घोषणा–पत्र–२०७८
राज्यपक्षले तामाङमाथि गरेको उत्पीडन र विभेदको विरुद्ध सञ्चालित लच्याङ विद्रोह, पिपा विद्रोह र सामन्ती राज्यसत्ताको विरुद्ध सञ्चालित २००७ को जनक्रान्ति, २०५२ बाट सुरु भएको जनयुद्ध र २०६२÷६३ को जनआन्दोलन एवम् आदिवासी जनजाति आन्दोलनमा लोकतन्त्र, मानवअधिकार एवम् पहिचानका लागि वीरगति प्राप्त गर्ने तामाङ लगायत सम्पूर्ण ज्ञात–अज्ञात महान् अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धान्जली तथा घाइते, वेपत्ताहरूप्रति सम्मान व्यक्त गर्दै,
विगत वर्षमा भौतिक संसार छोडेर अमितावको सुखावति लोकमा लीन हुनुभएका नेपाल तामाङ घेदुङका सल्लाहकारहरू कमानसिंह लामा (पूर्व सांसद), वीरबहादुर लामा (पूर्व सांसद), रमेशराज लामा (पूर्व डिआइजी), पूर्व उपाध्यक्ष मणि पाख्रिन, अनुशासन तथा मूल्याङ्कन विभाग प्रमूख धावा वाङ्गेल मोक्तान (प्रेम लामा) र ५÷६ नं. प्रदेश समितिका अध्यक्ष विष्णुबहादुर तामाङ, लामा घेदुङका पूर्व सभापति कर्मसिद्धि लामा, पूर्वउपाध्यक्ष कुसुम लामा, वरिष्ठ कलाकार जयनन्द लामा र २००७ सालको जनक्रान्तिका सशक्त कमाण्डरहरू श्यामकुमार तामाङ र नरेन्द्र लामा लगायत जानकारीमा आएका÷नआएका सबै दिवंगत व्यक्तित्वहरूप्रति श्रद्धान्जली अर्पण गर्दै,
विश्व बहुध्रुवीय हुँदै गर्दा हाम्रा छिमेकी देशहरू महाशक्ति राष्ट्रको दौडमा अघि बढेको र हाम्रो जस्तो विकासमा पछि परेको मुलुकको आकाशमाथि दोस्रो शीतयुद्धको बादल मडारिरहेको वर्तमान परिस्थितिमा हाम्रो देशको सार्वभौमसत्ता रक्षा गर्ने र मुलुकलाई वित्तीय भूमण्डलीकृत नवउपनिवेशबाट मुक्त गर्ने हाम्रो अन्तर्राष्ट्रिय दायित्वप्रति प्रतिवद्ध हुँदै,
२०७२ सालमा नयाँ संविधान घोषणा भई हामीले सङ्घर्ष गर्दै आएको गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता तथा सङ्घीयता जस्ता मागहरू स्थापित भएपनि हामी उत्पीडित आदिवासी तामाङ राष्ट्रियताको मुक्तिको प्राथमिक माग – पहिचान, आत्मनिर्णयको अधिकार र सङ्घीयता अन्तर्गत स्वशासन–स्वायत्ततासहितको ताम्सालिङ प्रदेश स्थापना गर्ने आकाङ्क्षा सम्बोधन नभएको राजनीतिक स्थितिप्रति गम्भीरतापूर्वक मनन् गर्दै,
आदिवासी जातिको अधिकारसम्बन्धी राष्ट्रसङ्घीय घोषणापत्र, अन्तर्राष्ट्रिय श्रम संगठनको आदिवासी जनजाति अभिसन्धि–१६९, अन्य मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय अनुवन्ध, घोषणा, समझदारीहरूद्वारा मान्यता प्रदत्त पुख्र्यौली भूमिमाथिको आत्मनिर्णय, स्वशासन, स्वायत्तता, प्राकृतिक तथा आर्थिक स्रोत÷साधनमाथिको अधिकारप्रति सचेत रहँदै,
विगतका दिनमा नेपाल तामाङ घेदुङको महाधिवेशनहरू र अन्तर्राष्ट्रिय तामाङ परिषद्का महाधिवेशनहरूबाट पारित घोषणापत्र र प्रस्तावहरू कार्यान्वयन गर्ने दायित्वप्रति प्रतिवद्ध रहँदै मिति २०७८ फागुन २९ देखि चैत १ गतेसम्म काठमाडौंमा सम्पन्न नेपाल तामाङ घेदुङको नवौं सङ्घीय महाधिवेशनले १०१ सदस्यीय सङ्घीय कार्यसमिति गठन गरेको जानकारी गराउँदै सो अवसरमा निम्न १० बुँदे काठमाडौं घोषणा–पत्र जारी गर्दछ :-
(१) मुलुक सामाजिक न्याय र सुरक्षासहितको समाजवादी राज्य हुने संवैधानिक घोषणा भएको परिप्रेक्ष्यमा हाम्रो तामाङ किपटहरूमा आफ्नै स्वशासित आदिम साम्यवाद (समुदाय समाजवाद) को प्रथाजन्य कानून र नाङखोर (परम्परागत संस्था) को इतिहासलाई पुनःस्मरण गर्दै पुख्र्यौली भूमि “ताम्सालीङ” मा सङ्घीयताअन्तर्गत स्वायत्त प्रदेश र समुदाय समाजवादको स्थापना नै साँचो अर्थमा नेपाली चरित्रको समाजवाद र तामाङ राष्ट्र (जाति) को राष्ट्रिय मुक्ति हुने उद्घोष गर्दै नेपाल तामाङ घेदुङले तामाङ नाम्साहरूमा तत्कालै समुदाय समाजवादी स्वायत्तताको अभ्याशलाई पुनःस्थापना गर्ने घोषणा गर्दछ ।
(२) हाम्रो तामाङ पुख्र्यौली भूमि ९त्बmबलन ज्यmभ ीबलम०, जहाँ १६,४०० वर्षदेखि आवाद रहेको नयाँ वैज्ञानिक तथ्य प्रकाशमा आइसकेको हुँदा विद्यमान सङ्घीयता अन्तर्गत ३ नं. प्रदेशलाई नेवा–ताम्सालिङ प्रदेश नामाकरण गरियोस् भन्ने हाम्रो प्रस्तावको विरुद्ध बागमती प्रदेश नामाकरण गरेकोमा उक्त नाम एकमतले खारेज गर्दै ताम्सालिङ निर्माणका लागि यही भूगोल केन्द्रीत सङ्घर्ष सञ्चालन गर्ने घोषणा गर्दछ ।
(३) अमेरिकी परियोजना एमसीसी एक्ट, २००३ को उद्देश्य र प्रावधानहरू, अमेरिकी हिन्द प्रशान्त रणनीतिको प्रतिवेदन (जून, २०१९) र अमेरिकी अधिकारीहरूको स्पष्टिकरणबाट एमसीसी अनुदान परियोजना विशुद्ध आर्थिक अनुदान मात्र नभएर अमेरिकी राष्ट्रिय सुरक्षा र हितसँग प्रत्यक्ष रूपमा जोडिएको सामरिक तथा राजनीतिक प्याकेज भएको हुँदा यो नेपालको सार्वभौमसत्ता, स्वायत्तता (आत्मनिर्णयको अधिकार), सामुदायिक स्वार्थ, नेपालीहरूको स्वाभिमान र हित विरुद्ध छन् । तसर्थ, यस्तो परियोजनाप्रति हाम्रो असहमति छ ।
(४) नेपाल सरकारको सरकारी वार्ता टोली र ताम्सालिङ संयुक्त सङ्घर्ष समितिबीच मिति २०६५ चैत २९ गते भएको १९ बुँदे सम्झौता इमान्दारितापूर्वक कार्यान्वयन गर्न सरकारसँग आग्रह गर्दछ ।
(५) तामाङहरू निर्वाचनमा प्रयोग गरिने भोट बैंक मात्र होइनन्, देशका सार्वभौम नागरिक र स्वशासित अधिकार निहीत राष्ट्र ९ल्बतष्यल० पनि हुन् । आगामी वर्ष २०७९ मा नेपालको संघ, प्रदेश र स्थानीय समेत तीनै तहमा निर्वाचन हुँदैछ । समस्त तामाङहरूलाई यी निर्वाचनमा सक्रिय रूपमा भाग लिएर राज्यसत्ता, शासनसत्ता र पार्टी सत्ताको अभ्यासमा नेतृत्वदायी भूमिका खेल्न आग्रह गर्दछ ।
(६) नेपाल तामाङ घेदुङ, भाषा आयोग र स्थानीय सरकारको त्रिपक्षीय सहकार्यमा तामाङ मातृभाषा शिक्षाको अध्ययन, अध्यापन कार्य सामुदायिक विद्यालयहरूमा प्रारम्भ भएको वर्तमान परिस्थितिमा सोलाई आगामी दिनमा थप प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्दछ ।
(७) नेपाल तामाङ घेदुङले स्थापनाकालदेखि सञ्चालन गर्दै आएको सांस्कृतिक जागरणको अभियानलाई निरन्तरता दिँदै तामाङको परम्परागत संस्थाहरू (लामा, ताम्बा, बोन्बो र चोहो प्रणाली) को प्रभावकारिता र बहुराष्ट्रिय कम्पनीको उत्पादनको प्रयोगलाई न्यूनिकरण गर्दै हाम्रै परम्परागत ज्ञान, सीपमा आधारित उत्पादन प्रणालीलाई थप मजबुत बनाउँदै लाने घोषणा गर्दछ ।
(८) नेपाल तामाङ घेदुङको तामाङ सांस्कृतिक भवन निर्माण गर्ने वर्षौअघिको सपनालाई पूरा गर्न वर्तमान नेतृत्व पारदर्शी रूपमा दत्तचित्त भएर लाग्ने र यसको लागि सबैसँग सहयोगको आग्रह गर्दछ ।
(९) विगतमा विविध कारणले विभिन्न कार्यक्षेत्र बनाई सञ्चालन हुँदै आएका तामाङ संघ÷संस्थाहरूलाई एकै ठाउँमा आई एकीकृत तामाङ आन्दोलनको विकास गर्न सबैसामु हार्दिक आग्रह गर्दछ ।
(१०) विकासको नाममा तामाङलाई पूख्र्यौली भूमिबाट विस्थापन गर्ने तथा तामाङमाथि गरिने सबैखाले उत्पीडन र विभेदको विरुद्ध सामूहिक रूपमा प्रतिरोध गर्ने घोषणा गर्दछ ।
अन्तमा, नेपाल तामाङ तामाङ घेदुङको नवौं सङ्घीय महाधिवेशनलाई भव्य र सभ्य ढंगबाट सम्पन्न गर्न भौतिक, आर्थिक, नैतिक सहयोग, समर्थन गर्नुहुने देश, विदेशमा क्रियाशील तामाङ संघ÷संस्थाहरू, शुभेच्छुक महानुभावहरू, प्रतिनिधि, पर्यवेक्षक ज्यूहरू सबैलाई धन्यवाद ज्ञापन गर्दछौ । थुजेछे ।।
जारी मिति : २०७८ चैत ४ गते शुक्रबार ।
काठमाडौ, नेपाल ।