तामाङ साँस्कृतिक भवनको लागि १२ लाखको प्रतिवद्धता, संयोजकमा टासी लामा

तामाङ साँस्कृतिक भवन निर्माणको लागि अन्तर्राष्ट्रिय तामाङ परिषद्को खाडी तथा मध्यपूर्वी क्षेत्रीय सम्मेलनबाट विभिन्न तामाङ संघ/संस्थाहरुले १२ लाख रकम तत्काल उपलब्ध गराउने प्रारम्भिक प्रतिवद्धता ब्यक्त गरेका छन् ।

खाडी राष्ट्र ओमनको मस्कटमा गत नोभेम्वर २९ मा सम्पन्न क्षेत्रीय सम्मेलनमार्फत सो प्रतिवद्धता ब्यक्त भएको हो । यसरी प्रतिवद्धता ब्यक्त गर्ने तामाङ संघ/संस्थाहरुमा तामाङ समाज युएई रु. ५ लाख, प्रवासी तामाङ समाज कतार रु. ५ लाख र नेपाल तामाङ घेदुङ बहराईन रु. २ लाख रहेको छ ।

यसैगरी नेपाल तामाङ घेदुङ कुवेत र नेपाल तामाङ समाज ओमनले संस्थामा छलफल गरी तत्काल भवन निर्माणको कोषमा सहयोगको प्रारम्भिक प्रतिवद्धता गर्ने जनाएको छ । भवनको लागि नेपाल तामाङ घेदुङ कुवेतले यस अघि नै रु. १३,३७,२१३/– रुपैयाँ जम्मा गरिसकेको छ । सम्मेलनले नेपालको ताम्सालिङ क्षेत्रमा तामाङ पहिचान, ऐतिहासिक गौरब र एकताको प्रतिकको रुपमा तामाङ साँस्कृतिक भवन निर्माण अभियान बर्ष २०२०–२०२२ घोषणा गर्न पनि परिषद्को केन्द्रीय सचिवालयलाई आग्रह गरेको छ ।

खाडी तथा मध्यपूर्वी क्षेत्रका विभिन्न मुलुकहरुमा रोजगारीको सिलसिलामा रहेका तामाङ दाजुभाई तथा दिदीबहिनीमाथि आइपरेका विभिन्न प्रकारको समस्यामा सहयोग पु¥याउन क्षेत्रीय स्तरमा तामाङ उद्दार तथा विपद् ब्यवस्थापन कोषको लागि प्रारम्भमा रु. ३,००,०००/– लाख रुपैयाँको कोष निर्माण गरेको छ ।

सम्मेलनमा खाडी क्षेत्रका युएई, ओमन, कतार, कुवेत, बहराईन समेत ५ वटा देशको प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उक्त सम्मेलनले अन्तर्राष्ट्रिय तामाङ परिषद्को उपाध्यक्ष सोनाम दोङ तामाङको अध्यक्षतामा ८ सदस्यीय क्षेत्रीय समन्वय समिति गठन गरेको छ । समितिको सचिवमा सुरेन्द्र थिङ तामाङ (युएई) र सदस्यहरुमा क्रमशः धिरेन तामाङ (कतार), सुरेश ग्याबा तामाङ (कुवेत), राम लामा (ओमन) र अनिता तामाङ (महिला, ओमन) रहेका छन् । इराक र साउदी अरबको प्रतिनिधित्व हुन नसकेको हुँदा पछि पदपूर्ति गर्नेगरी खाली राखिएको अध्यक्ष सोनाम दोङले बताए ।

कार्यक्रमको अन्तमा सम्मेलनले ६ बुँदे घोषणापत्र जारी गरेको छ । घोषणापत्रमा ताम्सालिङ आन्दोलनको लागि सहयोग उपलब्ध गराउने, तामाङ संस्कृतिको संरक्षण/सम्वद्र्धन गर्न एक देश, एक साँस्कृतिक संयन्त्र निर्माण गर्ने, प्रत्येक बर्ष एक देश, एक तामाङ साँस्कृतिक पुनर्जागरण अभियान तथा तामाङ भाषा, लिपि विकासको कार्यक्रम सञ्चालन गर्ने र तामाङ समुदायको शैक्षिक अवस्थामा सुधार ल्याउन सबै राष्ट्रिय सदस्य संस्थाहरुले शैक्षिक सहयोग कोषको स्थापना गर्ने उल्लेख छ ।

यसैबीच नेपाल तामाङ घेदुङको आज बसेको १९ औ सचिवालय बैठकले तामाङ साँस्कृतिक भवन निर्माणको लागि जग्गाको स्रोत ब्यवस्थापन गर्न अन्तर्राष्ट्रिय तामाङ परिषद्को बरिष्ठ उपाध्यक्ष तथा प्रवास समन्वय विभाग प्रमूख टासी लामालाई संयोजकको जिम्मेवारी तोकेको छ ।

लामालाई तीन महिना भित्रमा उपयुक्त ठाउँमा तामाङ साँस्कृतिक भवन निर्माण गर्न जग्गा तथा त्यसको लागि स्रोत ब्यवस्थापन गर्न जिम्मेवारी दिइएको घेदुङका महासचिव महितकुमार तामाङले बताए । घेदुङले बिगत लामो समयदेखि भवन निर्माणको पहल गर्दै आएको भएपनि जग्गा ब्यवस्थापन हुन नसक्दा काम अघि बढ्न सकेको थिएन ।

साँस्कृतिक भवनको लागि जग्गा खरिद गर्न सकेमा भवन बनाउन रकमको आवश्यकता नहुने संयोजक लामाको भनाई रहेको छ । उनले संस्थाको नाममा जग्गा खरिद गरेर नेपाल सरकारको सहयोगबाट भवन निर्माणको कार्य सम्पन्न गर्ने प्रतिवद्धता ब्यक्त गरे । यसको लागि सरकारको सम्बन्धित निकायसँग आफूले कुरा गरिसकेको पनि लामाले बताए ।

हेर्नुहोस्, ओमन घोषणापत्रको पूर्णपाठ ः–

अन्तर्राष्ट्रिय तामाङ परिषद्
खाडी तथा मध्यपूर्वी प्रथम क्षेत्रीय सम्मेलन
ओमन घोषणा पत्र–२०१९

तामाङ सभ्यताको उद्गम भूमि नेपालको ताम्सालिङबाट ऐतिहासिक उत्पीडन, विभेद तथा शोषणको कारण रोजगारीको सिलसिलामा खाडी तथा मध्यपूर्वी क्षेत्रको विभिन्न मुलुकमा कार्यरत तामाङ दाजुभाई तथा दिदीबहिनीहरुको समस्यामा हातेमालो गर्ने सामूहिक प्रतिवद्धता ब्यक्त गर्दै,

सन् २००२ मा स्थापित अन्तर्राष्ट्रिय तामाङ परिषद्ले विभिन्न समयमा जारी गरेको घोषणा–पत्र तथा पछिल्लोपटक भारतको पर्यटकिय शहर दार्जिलिङ, मिरिकमा सम्पन्न ऐतिहासिक चौथो सम्मेलनबाट पारित विशेष प्रस्ताव तथा कार्य योजनाको मूलभावनालाई आत्मसात् गर्दै,

तामाङ जीवनलाई समाप्त पार्न दिनप्रतिदिन बढ्दै गईरहेको हिन्दूकरण, खसकरण, पश्चिमाकरण, तिब्बतीकरण र बाह्य संस्कृतिकरणको अतिक्रमण तथा विश्व भूमण्डलीकरणबाट तामाङ जातिको विशिष्ट साँस्कृतिक पहिचान (भाषा, धर्म, संस्कृति, परम्परा) लाई जीवन्त राख्दै तामाङको मौलिक ज्ञान, परम्परालाई बचाउने र भावी पुस्तालाई हस्तान्तरण गर्ने दृढ संकल्प गर्दै,

तामाङ समुदायको एकताको आधार अन्तर्राष्ट्रिय तामाङ परिषद् ९क्ष्त्ऋ० लाई सबैको अन्तर्राष्ट्रिय साझा संगठनको रुपमा विकास गरी खाडी तथा मध्यपूर्वी क्षेत्रको तामाङ संघ÷संस्थाहरुलाई समेटेर एकताको माध्यमबाट तामाङ समुदायको सुखदुःखमा क्षेत्रीय समन्वय समितिमार्फत एकआपसमा समन्वय, सहकार्य गर्दै अघि बढ्ने सामूहिक प्रतिवद्धता जनाउँदै,

हामी खाडी तथा मध्यपूर्वी क्षेत्रको २९ नोभेम्वर, २०१९ मा सम्पन्न ऐतिहासिक प्रथम क्षेत्रीय सम्मेलनबाट निम्न बुँदाको ओमन घोषणा पत्र जारी गर्दछौ ः–
१.तामाङ समुदायको ऐतिहासिक आदिम भूमि नेपालको ताम्सालिङ क्षेत्रमा तामाङ पहिचान, ऐतिहासिक गौरव र एकताको प्रतिकको रुपमा तामाङ साँस्कृतिक भवन निर्माणको लागि साँस्कृतिक भवन निर्माण अभियान बर्ष – २०२०–२०२२ घोषणा गर्न परिषद्को केन्द्रीय सचिवालयलाई आग्रह गर्दछौ । यो काम सुरु गर्नको लागि यस क्षेत्रबाट १२ लाख रकम तत्काल उपलब्ध गराउने प्रारम्भिक प्रतिवद्धता ब्यक्त गर्दछौ ।

२.खाडी तथा मध्यपूर्वी क्षेत्रका विभिन्न मुलुकहरुमा रोजगारीको सिलसिलामा रहेका तामाङ दाजुभाई तथा दिदीबहिनीमाथि आइपरेका विभिन्न प्रकारको समस्यामा सहयोग पु¥याउन क्षेत्रीय स्तरमा एक तामाङ उद्दार तथा विपद् ब्यवस्थापन कोष निर्माण गर्नेछौ । साथै प्रारम्भमा रु. ३,००,०००/– लाख रुपैयाँको कोष निर्माण गरियो ।

३.तामाङ सभ्यताको आदिम भूमि नेपालको ताम्सालिङ क्षेत्रलाई संघीय, लोकतान्त्रिक, गणतन्त्र नेपालमा आत्मनिर्णको अधिकार सहितको ताम्सालिङ प्रदेश निर्माण गर्न नेपाल तामाङ घेदुङ, ताम्सालिङ संघर्ष समिति सहित विभिन्न संघ/संस्थाहरुको पहलमा भएको आन्दोलनलाई दीर्घकालीन रुपमा विकास गर्ने मिरिक सम्मेलनको निर्णयप्रति ऐक्यवद्धता जनाउँदै उक्त आन्दोलनमा सबैखाले साथ, सहयोग, समर्थन उपलब्ध गराउँदै जाने प्रतिवद्धता ब्यक्त गर्दछौ ।

४.खाडी तथा मध्यपूर्वी क्षेत्रको सबै तामाङ संस्थाहरुले तामाङ भाषा, संस्कृतिको संरक्षण÷सम्वद्र्धन गर्न चोहोको नेतृत्वमा ताम्बा, लामा र बोन्बो सम्मिलित एक देश – एक साँस्कृतिक संयन्त्र निर्माण गरी परिषद्ले पारित गरेको तामाङ साँस्कृतिक निर्देशिका अनुरुप प्रत्येक बर्ष एक देश – एक तामाङ साँस्कृतिक पुनर्जागरण कार्यक्रम र तामाङ भाषा तथा तामयीग लिपि विकासको कार्यक्रम सञ्चालन गर्नेछौ । आगामी २०२२ सम्ममा कम्तिमा सबै संस्थाका कार्य समिति सदस्यहरुलाई अनिवार्य रुपमा तामयीग लिपि पढ्न, लेख्न सक्ने बनाउनेछौ ।

५.तामाङ समुदायको शैक्षिक अवस्थामा सुधार ल्याउन सबै राष्ट्रिय सदस्य संस्थाहरुले शैक्षिक सहयोग कोषको स्थापना गरी खाडी तथा मध्यपूर्वी क्षेत्रीय समन्वय समितिले छुट्टै कार्यविधि बनाई अन्तर्राष्ट्रिय तामाङ परिषद्सँगको सहकार्यमा ब्यवस्थित रुपमा सञ्चालन गर्नेछौ ।

६.अन्तर्राष्ट्रिय तामाङ परिषद्को यस क्षेत्रको तामाङ संघ–संस्थाहरुबीच संस्थागत रुपमा आपसी समन्वय, सहकार्यलाई आगामी दिनमा मजबुत बनाई सामूहिक ढंगबाट अघि बढ्न परिषद्को विधान–२००२ (दोस्रो संशोधन–२०१८) बमोजिम सम्मेलनले युएई, ओमन, इराक, कतार, कुवेत, बहराईन, साउदी अरबका राष्ट्रिय सदस्य संस्थाहरुको प्रतिनिधित्व रहने गरी ८ सदस्यीय खाडी तथा मध्यपूर्वी क्षेत्रीय समन्वय समिति गठन गरेको घोषणा गर्दछौ ।

अन्तमा, अन्तर्राष्ट्रिय तामाङ परिषद्को खाडी तथा मध्यपूर्वी प्रथम क्षेत्रीय सम्मेलन सम्पन्न गर्न ब्यवस्थापन तथा आतिथ्यता जस्तो महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक निर्बाह गर्नुहुने नेपाल तामाङ समाज ओमन परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । थुजेछे ।।
घोषणापत्र जारी गर्ने संस्थाहरु ः
१. तामाङ समाज युएई,
२. प्रवासी तामाङ समाज कतार,
३. नेपाल तामाङ घेदुङ बहराईन,
४. नेपाल तामाङ घेदुङ कुवेत,
५. नेपाल तामाङ घेदुङ साउदी अरब,
६. तामाङ समाज ओमन,
७. नेपाल तामाङ घेदुङ कुर्दिस्तान, इराक ।
२९ नोभेम्वर, २०१९ , मस्कट, ओमन

ताजा गतिविधि

लेखहरु