सातौ तामाङ ज्ञान महोत्सवमा मेरो लिखित धारणा

सातौ तामाङ ज्ञान दिवस
(तामाङ मुक्ति आन्दोलनको बाटो)
६ भदौ २०७९, काठमाडौं

विषय प्रवेश ः–
मेरो तीन कुरा छन् । समय ५ मिनेटको दरले १५ मिनेट जति लाग्छ होला । पहिलो कुरा, यस्तो ज्ञान महोत्सव जस्तो कार्यक्रमको बारेमा छ । दोस्रो कुरा, तामाङ आन्दोलनमा सामाजिक संस्था र राजनीतिक संस्थाको भूमिकाको बारेमा छ । तेस्रो कुरा, तामाङ मुक्ति आन्दोलनका निष्कर्षका तर बिट राम्रोसँग मार्न नसकेको कुराहरु छन् ।

पहिलो कुरा ः–
यो तीन दिनको बहसले सत्तालाई गर्ने कति प्रश्न निर्माण ग¥यो ? कति प्रश्नको बारेमा समुदायलाई सुसूचित गरायौ ? त्यसको बारेमा यो बहसको सफलता र असफलताको मापन हुने हो । म यो किन भनिरहेको छु भने यस्तो फेस्टिभल उत्पीडित राष्ट्रको फेस्टिभल हो । उत्पीडित राष्ट्रसँग कैयौ जीवन अभ्यासको ज्ञान हुन्छ । त्यसलाई उजागर गर्ने, प्रवद्र्धन गर्ने प्रयोजनको लागि यस्ता महोत्सव सम्पन्न हुनुपर्छ । सत्ताले तयार गरेको जितारुको भाष्यलाई बखान मात्रै गरियो भने यसले सफलता प्राप्त गर्दैन । तर त्यस्तो नभईकन हामीले एकले अर्कोमाथि गुनासो सुनाएर तीन दिन बिताउँदैछौ । मोहन गोलेमाथि, अमृत योन्जनमाथि, परशुराम तामाङमाथि, घेदुङमाथि प्रश्न गरेर, गुनासो सुनाएर दिनहरु बितायौ भने यसले सफलता प्राप्त गर्दैन । यसले उत्पीडित समाजमा अझ कुण्ठा, असन्तुष्टि र आपसी द्वन्द्व जन्माउँछ । जसले शासक वर्गको डिभाइड एण्ड रुलको फर्मुलालाई नै सहयोग पु¥याउँछ ।

म यो किन भनिरहेको छु भने, यस्तो फेस्टिभलमार्फत हामीले जति धेरै प्रश्न ग¥यौ, त्यत्ति नै हाम्रो मुक्ति आन्दोलनको मार्ग प्रष्ट हुँदै जान्छ । त्यति नै छिटो सम्भावित क्रान्ति निम्तिन्छ । अभियन्ताको ड्युटी सम्भावित क्रान्तिलाई नजिक्याउने हो । सके आफ्नै जीवनकालमा क्रान्ति सम्पन्न गरेर मुक्ति प्राप्त गर्ने हो । नसके अर्को पुस्तालाई हस्तान्तरण गर्ने हो । म कहिलेकाहीँ सुन्छु होइन, अलि बढी नै सुन्छु । हाम्रो अग्रजहरु यस्तो कार्यक्रममा भन्नुहुन्छ– संविधानमा भाषासम्बन्धी यस्तो व्यवस्था गरेको छ । निर्वाचन आयोगको ऐनमा समावेशी प्रतिनिधित्वको बारेमा यस्तो लेखिएको छ । नेताहरु आआफ्ना पार्टीको राजनीतिक रुझान अनुसार भन्नुहुन्छ कि हाम्रो पार्टीको विधान र घोषणापत्रमा यस्तो कुरा छ । हामीले हिजोका दिनमा यस्तो गरेका थियौ । मौजुदा संविधान, ऐन, कानुन सबै मान्ने हो भने मुक्ति आन्दोलन नै हुँदैन । चुनावमा भोट हालेर पनि मुक्ति आन्दोलन हुँदैन । त्यसैले हाम्रो प्रतिकूल लेखिएका संविधान, ऐन, कानुनको बारेमा समुदायलाई सुसूचित गराइरहनु पर्छ ।

राज्यले तोकेको सीमाभित्र रहेर, राज्यको डकुमेन्टको ब्याख्या मात्रै गर्ने र उसको लक्ष्मण रेखा नाघ्नु हुँदैन भन्ने कुरा बुद्धिजीवीको काम हो । यसले बौद्धिक हस्तक्षेप हुँदैन । बुद्धिजीवीहरु प्रायः आफ्नो पापी पेटको लागि बोल्छन् । तर बौद्धिकहरु समग्र जनता, उत्पीडित समुदायको पक्षमा बोल्छन् । सबैजना एकातिर हुँदा पनि बौद्धिक एक्लै एकातिर उभिन्छ । त्यसैले हामीले त्यस्ता बौद्धिकहरु जन्माउन सकिरहेका छैनौ कि जस्तो पनि लाग्छ । तरपनि मलाई यस्तो कुराले अप्ठ्यारो पार्दैन किनकि जनजाति अवस्था नै यस्तै हो । जसले आफैभित्र द्वन्द्व मच्चाएर समय बिताउँछ । हामीले अहिले पनि धेरै प्रश्न घेदुङलाई गरिरहेका हुन्छौ । घेदुङ सत्ता त होइन, घेदुङ आफै प्रश्न सोध्ने, राज्यसत्तासँगको अन्तर्विरोध सिर्जना गर्ने सामूहिक फोरम हो । यो सत्ताको स्थायी प्रतिपक्षी संगठन हो । बरु यसमार्फत हाम्रो साझा प्रश्नहरु छताछुल्ल बनाउन सक्नुपर्छ र एकदिन त्यो प्रश्नै प्रश्नको घेराभित्र परेर यो राज्यसत्ता या त सुध्र्रिनु बाध्य पर्छ या त पतन हुनेछ । जसरी जनताको प्रश्नले राजतन्त्र समाप्त भयो । राणातन्त्र सकियो । विश्वमा ठुलाठुला बादशाहहरु ढले । सबै उत्तर दिन नसकेपछि प्रश्नले ढलेका हुन् । त्यसैले प्रश्न ठुलो कुरा हो ।

त्यसैले हाम्रो यस्तो बसाइहरु, हाम्रो यसखालको पर्वहरुले तामाङ राष्ट्रलाई जुन सत्ताले वर्षौदेखि आन्तरिक उपनिवेशको शिकार बनाइरहेको छ । त्यसको मुद्दाहरु साझा मुद्दालाई छताछुल्ल बनाउने, समुदायलाई सुसूचित गराउने खालको हुनुपर्छ । जसले गर्दा हाम्रो ज्ञानलाई ग्रहण गर्न यो सत्ता बाध्य बनोस् । जबसम्म हाम्रो ज्ञानलाई यो सत्ताले ग्रहण गर्न बाध्य हुँदैन । राजनीति (राज्यको नीति) भित्र हाम्रो ज्ञानले प्रवेश पाउँदैन या यो त्यसभित्र पस्दैन । त्यो बेलासम्म यो कार्यान्वयनमा जाँदैन । यो कार्यान्वयनबारे कुनै योजना बन्दैन । चरिला कमाई, दोङला माई भन्ने गीत जस्तो मात्रै हुन्छौ । हामीले गीत मात्रै गाइरहन्छौ कुनै चेन्जेज आउँदैन । यस्तो काम नोलेज इन्टरटेनमेन्ट मात्रै हुनेछ ।

कुनैबेला युरोपमा पोपहरु स्वर्ग जाने प्रमाणपत्र बेचेर धन बटुल्थे । त्यसको विरुद्ध मार्टिन लुथर किङहरुले ज्यानको पर्वाह नगरी धर्ममाथि प्रश्न सोध्ने आँट गरे । आदर्श राज्यको परिकल्पना गरे । त्यसले गर्दा आज युरोप साँच्चैको युरोप बन्न सफल भयो । इटालीका विश्वविख्यात कवि दाँते सुधारको कुरा गर्दा २० वर्षसम्म भाग्दै हिँडे । अन्तमा जित दार्शनिकहरुकै तर्क र प्रश्नको भयो । चर्चका धर्म गुरुहरु हारे । राज्य स्वीकार गर्न बाध्य भयो । त्यसकारण आदिवासीको ज्ञानलाई कंक्रिट गर्ने भनेको राज्यसत्तारुपी यन्त्रले मात्रै सम्भव छ । बुद्धले २५०० वर्षअघि प्राप्त गरेको ज्ञानलाई पनि सम्राट अशोक र त्यस कालखण्डका सामन्तहरुले स्वीकार नगरेको भए आज बौद्ध दर्शनको क्षेत्र यति विराट हुने थिएन । उहाँले त्यसबेला केही हदसम्म सम्झौता पनि गर्नुभयो । अरु धर्म दर्शनहरु मुस्लिम, क्रिस्चियन, हिन्दूजमको पनि कुरा राज्यले मान्यता दिएकै कारण यति धेरै जमेका हुन् ।

दोस्रो कुरा ः–
अहिले तामाङ मात्रै नभएर समग्र आदिवासी आन्दोलनको मुद्दा नितान्त राजनीतिमा आएर अडिएको छ । पहिचान, प्रतिनिधित्व, पहुँचको कुरा राजनीतिले सम्बोधन गर्ने विषय हुन् । यस्तो राजनीतिक मुद्दा छिनोफानो गर्ने, यसको लािग लड्ने हतियार सामाजिक संस्थालाई अघि सारेका छौ । जस्तो, जनजाति महासंघ र जातीय संस्थाहरु । मलाई गल्ती यहिँनेर भइरहेको छ जस्तो लाग्छ । किनकि यो सुधारवादी संस्था हो । यसले सुधार मात्रै गर्छ । अन्तिम क्रान्ति गर्दैन । हामी हातमा कच्चिया बोकेका छौ र बुढो सिमलको रुख काट मोहन गोले भनिरहेका छौ जस्तो लाग्छ । यसको लागि त हातमा बञ्चरो बोक्नु प¥यो नि । त्यो बन्चरो भनेको राजनीतिक दल हो । जनजाति महासंघहरु कच्चिया हुन् । कच्चियाले झाडी मात्रै फाड्छ । स्थापनाकालदेखि यहाँसम्म आउँदा घेदुङकै इतिहास ६६ वर्ष भयो । यसबिचमा झाडी त प्रशस्तै फाडेको छ त । राजनीति गर्ने नेता जति एक एकवटा पार्टीको टाङमुनि पसेर टाउको लुकाउने अनि लडाइँ चै मोहन गोलेले लडिदिनुपर्ने कसैले भन्छ भने यस्तो हुन्छ जस्तो मलाई लाग्दैन ।

अबको मुद्दा बोक्नको लागि उत्पीडित राष्ट्रलाई पनि एउटा पार्टी चाहियो । मधेशमा मधेशवादी दल नबनेको भए मधेश प्रदेश बन्दैनथ्यो । इन्डियामा विभिन्न प्रान्तमा प्रान्तीय पार्टीहरु अहिले सरकारमा छन् । तिनले प्रान्तीय मुद्दा बोकेको छ र त्यहाँ विकास भएको छ । त्यसैले ताम्सालिङमा पनि अब पार्टी चाहिन्छ । सामाजिक संस्थाले जोड्ने, भेला गर्ने, सचेत गर्ने मात्रै हो । निर्णायक आन्दोलन पार्टीले नै गर्नुपर्छ । त्यो अहिलेको मौजुदा पार्टीहरुबाट सम्भव छैन । घेदुङ के हो ? घेदुङलाई बुझ्ने सवालमा कतै कमजोरी पो भयो कि ? घेदुङ सामाजिक साधन हो, साध्य होइन । यो केही होइन भन्ने र यो सबैथोक हो । सुधारवादी काम गर्ने हो । क्रान्ति, उलटपलट गर्दैन । साध्य डाइनामिक हुनुपर्छ । साधन डाइनामिक हुँदैन । यो संगठनसँग बन्दूक र जेल छैन । बन्दूक नहुनेको संगठन यस्तै हुन्छ । आग्रह, अनुरोध गर्नुपर्छ । कतिपय सन्र्दभमा मान्दैन ।

अब हामीले आफ्नै बैचारिकी खडा गर्नुपर्छ । आफ्नै नेतृत्वमा संघर्षलाई अघि बढाउनु पर्छ । अर्काले खडा गरेको वैचारिकीमा धेरै बहस ग¥यौ । माक्र्सवाद, लेनिनवाद, माओवाद, उदारवाद, समाजवाद, साम्यवाद, जनवादमा धेरै नेतृत्वले केश फुलाए, जीवन विताए तर तामाङवादमा केश फुलेन । जबसम्म हाम्रो आफ्नै वैचारिकी, हामी आफ्नै नेतृत्वमा विद्रोह हुँदैन । त्योबेलासम्म हाम्रो आफ्नो भन्ने केही हुने छैन । आफ्नै खुट्टामा उभिएको आन्दोलनको विकास नगरेसम्म केही हुन्न । म आशावादी छु, त्यो वैचारिकी खडा हुने दिन ब्रह्माणवादी राज्यसत्ताको नश्लीय दुनियाँमा एउटा सानो सानो भुकम्प जान्छ । अहिले मलाई हिजोको आन्दोलन आज खोइ ? भन्ने प्रश्न सोधेको पनि सुन्छु । घेदुङमा बसेको कारणले भन्नैपर्ने हुन्छ । हिजोको आन्दोलन सांस्कृतिक जगमा टेकेको राजनीतिक प्रदर्शन थियो । त्यो दीर्घकालीन हुन्न । अब राजनीतिक जग खनौ । अब हामी अभियन्तामा के प्रष्ट हौ भने जसलाई सुधार मात्रै चाहिएको छ भने त्यस्तो मान्छेहरु सामाजिक संस्थामै बसौ । जसलाई राजनीतिक क्रान्तिको आवश्यकता छ उसले आफ्नै वैचारिकीमा भिन्न राजनीतिक शक्ति निर्माणको लागि लागौ ।

अहिले हाम्रो कार्यभार पुस्ता र प्रवृति दुवै फ्याक्नु हो । अमेरिकामा २ पटकभन्दा कोही राष्ट्रपति हुँदैनन् । रुजबेल्ट मात्र ४ पटक राष्ट्रपति भए । भारतमा नै लोकतन्त्र आएको ७० वर्षको इतिहास हेर्दा थाहा हुन्छ कि त्यहाँ लोकतन्त्रको अभ्यास हुँदैछ तर नेपालमा ८० वर्षको बुढाहरु ५ पटकसम्म प्रधानमन्त्री बन्दैछन् । यो भनेको पूस्तैनी राजतन्त्र त अन्त्य भयो तर लोकतन्त्रमा हुने राजतन्त्रकै अभ्यास हो । नयाँ पुस्ता भन्नेको वैचारिकी पनि उस्तै छ । वैकल्पिक शक्ति भन्नेलाई पनि देख्यौ । त्यसैले पुस्ता र प्रवृति दुवै फ्याक्न जरुरी छ । मुख्यतः आफ्नै नेतृत्व नभएसम्म हुँदैन ।

अन्तिम कुरा ः–
तामाङ मुक्तिको आन्दोलनलाई अघि बढाउने तीन शक्तिहरु हुन् । (१) नेपाल तामाङ घेदुङ जस्तो सामाजिक संस्थाहरु, (२) तामाङ र ताम्सालिङको लागि खोलिएको राजनीतिक दलहरु, (३) विभिन्न दलमा रहेका तामाङ भातृसंगठनहरु । यो तीन पक्षबीचमा अहिले सहकार्य छैन । दलको तामाङ भातृसंगठन पार्टीको भोट बैंक सुरक्षा गर्न लागे । त्यसबाट पार्टीमा लागेका व्यक्ति मोटाउने काम मात्रै भयो । समुदाय दुब्लायो । अर्को तामाङको लागि खोलिएको राजनीतिक दलहरु संविधान निर्माणपछि अहिले सकियो । ती कुनै आकारमा देखिएको अवस्था छैन । त्यसैले यतिबेला घेदुङ जस्तो सामाजिक संस्थामाथि प्रश्न बर्षिएको छ । अहिले आदिवासी जनजाति समुदाय अर्काको पार्टीमा बसेर राजनीतिक अभ्यास गर्दैछन् । कोही बाहुनले नेतृत्व गरेको पार्टीमा छन् त कोही मधेशीले नेतृत्व गरेको पार्टीमा छन् । नियम के छ भने, हरेक पछाडि परेको समुदायले अर्को विकसित समुदायबाट नै सिक्दै अगाडि बढ्ने हो । यसको अर्थ उनीहरु अर्काको घरमा बसेर राजनीति सिकिरहेका छन् । तर यो चरण लामो समय जादैन । पुस्तौ पुस्ता अर्काको घरमा बसेर साध्य हुँदैन र एकदिन त्यस्तो दिन आउँछ– अर्काको घर छाडेर आफ्नै घर निर्माणमा जुट्छ । त्यत्तिबेला जनजातिको पनि आफ्नै राजनीतिक पार्टी हुन्छ । सत्तामा आफैले नीति निर्माण गर्ने र आफैले निर्णय गर्ने तहमा पुग्छन् ।

हामी ३५ सय वर्षअघि स्थापना भएको विचारको साम्राज्य ध्वस्त गर्न लागिरहेका छौ । ब्रह्मवाद, आत्मवाद, वर्णवाद, भाग्यवाद, पितृवाद । यही हो समाजलाई अधोगतिमा धकेल्ने तत्व । जसलाई गोर्खाली सामान्ती राज्यसत्ताले पनि मान्यता दियो । यसलाई नष्ट नगरेसम्म समाज अघि बढ्दैन । हामी समाजपयोगी रंगीन विचारलाई प्रत्यारोपण गर्ने क्रममा छौ । यो समय लाग्छ । जसरी एउटा कोठामा स्वीच दबाउँदा बत्ति बलेजस्तो छिटो दर्शन जन्मिँदैन । त्यो दर्शनको अन्त्य पनि छिटो हुँदैन । यो विचार हाम्रो मन मष्तिस्कमा सिमेन्ट र बालुवाको जमट जस्तो जमेर बसेको छ । पहिलो त यो जाम भएको कुविचारलाई फ्याक्नै समय लाग्छ । यसले निर्माण गरेका लाखौ भाष्यहरु चुँडाल्ने क्रममा छौ जसको सुरुवात भएको छ । यसले हाम्रो मौलिक दर्शन छोपिएको छ । त्यसलाई खोतल्ने, उधिन्ने, निकालेर समुदायलाई देखाउने क्रमको सुरुवात भएको छ । आदिवासी समूह कलेक्टिभ समूह हुन् तर आफ्नो अस्तित्व र पहिचान खोज्ने क्रममा एकपटक यो माइक्रो लेबलसम्म पुग्छ । जस्तो अहिले देख्न सक्छौ कि गोले समाज, योन्जन समाज, घिसिङ समाज । यो निश्चित समयसम्म यो लेबलमा रहेर काम गर्छ । जब सबैको माइक्रो लेबलहरु मिल्छन्, सबैको जरा एउटै भएको भेटिन्छ । र यसरी हराउनुको कारण यही राज्यसत्ता हो भन्ने सामूहिक महसुस हुन्छ । त्यसपछि यो फेरि कलेक्टिभ भएर आउँछ र एउटा साझा तामाङ नेसनको रुपमा उभिन्छ । त्यसबेला तामाङ मुक्ति आन्दोलन निर्णायक चरणमा प्रवेश गर्छ ।

तामाङ मुक्ति आन्दोलनको जीत सुनिश्चित छ । किनकि यो अहिले माटोसँग जोडिएर आएको छ । माटो भनेको ताम्सालिङ हो । दुनियाँमा कहिल्यै पनि माटो हार्दैन । सुरु कहिलेदेखि हुन्छ ? त्यो अहिले भन्न सकिन्न । त्यो हाम्रो काम गराइमा भर पर्छ । अहिले काठमाडौं गाउँ नजाने र गाउँ काठमाडौं आउन नमान्ने एउटा समस्या छ । यसले तामाङ आन्दोलनमा ग्याप सिर्जना गरेको छ । गाउँको ज्ञानलाई काठमाडौले पक्रन सकेको छैन । यो पश्चिमा मुभमेन्टतिर बढी गइरहेको छ । भनेको, लामो समय ग्याप हुँदा अर्कै अर्कै लिक समात्न पुग्दो रहेछ । यसलाई नजोडिकन क्रान्ति सम्भव हुँदैन ।

अन्तिममा, मेरो आग्रह के हो भने, म जस्तो अभियन्ताहरु भनेको समाजको स्पीकर हो । हामी समाजको आवाजलाई राज्यसामू र तामाङ जनता सामू लान्छौ । तपाईहरु जस्तो बौद्धिक भनौ या बुद्धिजीवी मात्रै भनौ यहाँहरुको काम भनेको स्पीकरमा राम्रो कुरा बजोस् भनेर ज्ञान भरिदिने हो । यस्तो कार्यक्रमले हामीलाई सामुदायिक मुद्दाहरुको बारेमा सचेत गरिदिनोस् । असन्तुष्टि पोखिदिनु भयो भने त्यसले निराशा निम्त्याउँछ ।

मोहन गोले तामाङ
अध्यक्ष, नेपाल तामाङ घेदुङ ।

ताजा गतिविधि

लेखहरु