घेदुङ २० लाख तामाङको साझा घर हो ः उपसभामुख राधिका तामाङ

२१ साउन २०७९, काठमाडौं ।
बागमती प्रदेशको उपसभामुख राधिका तामाङले नेपाल तामाङ घेदुङ संसारभरि छरिएर रहेका २० लाख तामाङको साझा घर भएको बताउनु भयो । उहाँले अगाडि भन्नुभयो, तामाङ समुदायको सामाजिक, सांस्कृतिक, राजनीतिक आन्दोलनको साझा अगुवाई गर्ने यो संस्थासँग सबैको आस्था जोडिएको छ ।

नेपाल तामाङ ताम्बा घेदुङ सङ्घीय कार्यसमितिले निर्माण गरेको साङ्सेरकेम ह्वाई नामक भिडियोलाई आज घेदुङ हलमा आयोजित समारोहमा सार्वजनिक गर्दै उहाँले सो कुरा बताउनु भएको हो । पहिचानको बारेमा गलत ब्याख्या भइरहेको भन्नुहुँदै उपसभामुख तामाङले हामी तामाङहरु आफै पनि बहकिएर यसखालले कुराको पछि लागिरहेको प्रति दुःख व्यक्त गर्नुभयो ।

राज्यले आदिवासी समुदायको उत्पादनलाई पोखाउने र बहुराष्ट्रिय कम्पनीको उत्पादनलाई प्रवद्र्धन गर्ने हुँदा तामाङ लगायतको संस्कृति, भाषा र उत्पादन सम्बन्ध ध्वस्त हुँदै गएको बताउनुभयो । यस्तो जटिल अवस्थामा उहाँले हाम्रो अलिखित इतिहासलाई दस्तावेजीकरण गर्दै अघि बढ्न सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रमका विशेष अतिथि नेपाल तामाङ घेदुङका सङ्घी अध्यक्ष मोहन गोले तामाङले आदिवासी समुदायमाथि चौतर्फी हमला भइरहेको बताउनुभयो । उहाँले एकातिर ब्रह्माणवादी राज्यसत्ताको प्रहार, अर्कोतर्फ पश्चिमा उत्पादनको व्यापारिकरण र धार्मिक अतिक्रमणले तामाङ जीवन दर्शन संकटमा परेको उल्लेख गर्नुभयो ।

अध्यक्ष गोलेले ३५०० वर्षदेखि हिन्दू अतिवादले निर्माण गरेको भाष्यविरुद्ध लड्न भर्खरै अभियान सुरु भएको भन्नुहुँदै यसको अन्त्य भइनसकेको जनाउनुभयो । जसरी खेतमा कुलोको पानी सिंचन हुन समय लाग्छ उहाँले भन्नुभयो, त्यसैगरी हिन्दू भाष्यद्वारा छोपिएको हाम्रो सभ्यतालाई पुनस्र्थापित गर्न पनि समय लाग्छ । उहाँले यो अभियानबाट अभियन्ताहरुले हिम्मत नहार्न आग्रह गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ लोक गायक चन्द्रकुमार मोक्तान, अन्तर्राष्ट्रिय तामाङ परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामा, घेदुङका पूर्व महासचिव बाबु घिसिङ, तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङ, संस्कृति घेदुङका अध्यक्ष छेवाङ तेन्जिङ लामा, युवा घेदुङका अध्यक्ष विलाम मुक्तान र सञ्चारकर्मी तीर्थ बलले समेत आफ्नो तर्फबाट भनाई राख्नुभएको थियो । उहाँहरुले तामाङ संस्कृतिलाई दस्तावेजीकरण गर्न अहिलेको डिजिटल युगमा घेदुङले युट्युव च्यानल सञ्चालन गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रम नेपाल तामाङ ताम्बा घेदुङको अध्यक्ष पासाङ मोक्तानको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सचिव टेक घिसिङ र स्वागत मन्तव्य संस्थाको उपाध्यक्ष धनकुमारी तामाङले गर्नुभएको थियो । सो कार्यक्रममा साङसेरकेम भिडियो बनाउन सहयोग गर्नुहुने सहयोगदाता महानुभावहरुलाई खादा र प्रमाणपत्रद्वारा सम्मान समेत गरिएको थियो ।

ताजा गतिविधि

लेखहरु