प्रादेशिक श्रष्टा पुरस्कारबाट वाईबा सम्मानित

भेष लामा
प्रादेशिक श्रष्टा पुरस्कारबाट उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं. ५ निवासी साहित्यीक सर्जक गोबर्धन वाईबा सम्मानित भएका छन् । जेष्ठ व्यक्तित्व ८५ वर्षीय वाईबालाई प्रदेश नं. १ सरकारले गत असार २८ गते एक कार्यक्रमको आयोजना गरी १ नं. प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले ५० हजार नगद राशीसहित प्रमाणपत्रद्वारा सम्मान गरेको हो ।

प्रादेशिक श्रष्टा पुरस्कारबाट सम्मानित वाईबाको चिनारी कविता संग्रह (२०२३), संक्षिप्त वाईबा बंशावली (२०६२), जीवनको गोरेटोमा कविता संग्रह (२०६९), स्मृतिका प्रतिबिम्व (२०७१), न्युयोर्क डायरी–नियात्रा (२०७२) र दर्जनौ लेखरचना प्रकाशित भइसकेका छन् ।

वि.सं. १९९४ सालमा भोजपुर जिल्लाको बालंखामा जन्मिएका वाईबा वि.सं. २०२५ सालदेखि जनता प्रा.वि. जहडामा अध्यापनको सिलसिलामा उदयपुर जिल्लाको बेलका नगरपालिकामा आई स्थायी बसोबास गर्नुभएको हो । सानै उमेरदेखि वामपन्थी राजनीतिमा लागेका वाईबालाई तत्कालीन प्रधानपञ्चले शिक्षण पेशाबाट बर्खास्त गरेपनि पछि जिल्ला शिक्षा कार्यालय उदयपुरले प्रमाण नपुगेको कारण थमौती गरेको थियो ।

२०१५ सालको निर्वाचनमा डा. केआईसिंहको पार्टीमा लागेर राजनीतिमा होमिएका वाईबालाई निरंकुश पञ्चायती शासकले उहाँको उर्वर जीवनकालभरि फसाउनको लागि अनेक षडयन्त्र गरिरह्यो । केही नभेटेपछि वन मुद्दा समेत लगायो । वि.सं. २०२७ साल चैत १७ गते उहाँलाई तत्कालीन शासकले जंगल फडानी गरेको अभियोग लगाएर २ पटक पक्राउ गरी १४ महिनाभन्दा बढी समय जेलमा कोच्यो । जेलमा रहँदा समेत उहाँले अञ्चल कारागार राजबिराजमा कैदी बन्दीका लागि पाठशाला चलाएर शिक्षा दिने काम गर्नुभयो ।

जेलबाट मुक्त भएपछि उहाँले फेरि जहडा प्रा.वि. मा आएर प्रधानाध्यापकको रुपमा काम गर्न थाल्नु भयो तर पञ्चायती शासकको गाउँफर्क अभियान लागू भएपछि जिल्ला पञ्चायत सदस्य र गाउँफर्क अध्यक्षको साँठगाँठमा शिक्षक जागीरबाट फेरि बर्खास्त गरियो । उहाँलाई यी माओका सन्तान हुन्, अराष्ट्रिय तत्व हुन् भन्ने आरोप लगाइन्थ्यो । तर २०४६ सालको परिवर्तनपछि शिक्षकमा पद बहाली भयो र पुनः उदयपुर जिल्लाको कटुञ्जेबबला वडा नं. ६ स्थित लामीडाँडा प्राविमा प्रधानाध्यापकको रुपमा काम गर्न थाल्नुभयो र विभिन्न विद्यालयमा सेवा गरी २०६० सालमा शिक्षण पेशाबाट अवकाश लिनुभयो ।

आफूले गरेको कामबाट उहाँले कहिल्यै लाभको अपेक्षा नगरेको कारण राजनीतिमा उहाँ पार्टीको कुनै ठुलो पदमा पुग्न सक्नुभएन । उहाँ सधैँभरि भन्नुहुन्छ– समाज परिवर्तनको लागि काम गर्ने मान्छेले व्यक्तिगत लाभको अपेक्षा राख्नु राम्रो होइन । यसपटक प्राप्त गरेको प्रदेश सरकारको श्रष्टा सम्मान पुरस्कार पनि आफूले अपेक्षा नगरेको वाईबाले बताए ।

शिक्षण पेशा र राजनीतिको सक्रिय जीवनपछिका दिनमा पनि वाईबाले समाज सेवामा समेत उत्तिकै ध्यान दिनुभयो । उहाँले जनता मावि जहडामा दुई लाख रकमको छात्रवृति अक्षयकोष स्थापना गर्नुका साथै आवसीय पुस्तकालय स्थापना गर्नुभयो । २०७४ सालदेखि गाउले साहित्यिक फुलबारी त्रैमासिक पत्रिकाको प्रकाशक तथा व्यवस्थापक भएर काम गर्नुभयो । सूचनाको अभाव रहेको तत्कालीन समयमा २०२६ सालमा आफैले मासिक रु. ३० तलब दिनेगरी एकजना कर्मचारी नियुक्त गरी अञ्चल हुलाक कार्यालय बिराटनगरसँग आवश्यक समन्वयबाट गाउँमा हुलाक कार्यालय सञ्चालन गर्नुभयो । जुन आजसम्म पनि सञ्चालनमा रहेको छ ।

जिल्लाको पूर्वी गाउँपालिका बेलकामा बौद्ध धर्म तथा तामाङ संस्कृति उत्थानको लागि जग्गा व्यवस्थापन र आफैले एकलाख ५० हजार नगद सहयोग गरी गुम्बा निर्माण गर्नुभयो । गुम्बामा नियमित धुपबत्ती लगायतमा खर्च हुने कोष निर्माण गर्न एक लाख रकमको अक्षयकोष स्थापना गर्नुभयो । हाल उक्त गुम्बाबाट त्यस क्षेत्रका तामाङ लगायत अन्य समुदाय समेत लाभन्वित भएका छन् ।

ताजा गतिविधि

लेखहरु