स्थानीय निर्वाचनमा तामाङ प्रतिनिधित्वको स्थिति र दायित्व

मोहन गोले तामाङ

२०६२/६३ को जनआन्दोलनपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन, २०७९ सम्पन्न भयो । यो आलेख तयार पार्दासम्म ७५२ स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ । एक स्थानीय तहमा बिबादको कारण पुनः मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरिसकेको छ । हालसम्म प्राप्त घोषित परिणाममा नेपाली काङ्ग्रेस ३२९ स्थानीय तह जितेर पहिलो पार्टी बनेको छ भने क्रमशः नेकपा एमाले दोस्रो (२०५), नेकपा माओवादी केन्द्र तेस्रो (१२१), जसपा चौथो (३०), नेकपा एस पाँचौ (२०) र लोसपाले १६ स्थान जितेर पाँचौ ठुलो दल बनेको छ । यो निर्वाचनमा स्वतन्त्र उमेदवारहरूले पनि राम्रै जित हासिल गरेका छन् । देशकै मुटु काठमाडौं महानगरपालिका, पूर्वको लालकिल्ला भनेर चिनिने धरान उपमहानगरपालिका र नेपालगञ्ज उपमहानगरपालिकामा समेत स्वतन्त्र उमेदवारले बाजी मारे । यसलाई राजनीतिक विश्लेषकहरूले अर्थपूर्ण रूपमा हेरेका छन् र विभिन्न कोणबाट व्याख्या, विश्लेषण गर्ने काम भइरहेको छ ।

दोस्रो स्थानीय तहको निर्वाचनसम्म आइपुग्दा लामो समय सत्ताको तिनै तह (संघ, प्रदेश र स्थानीय) मा आफ्नो प्रतिनिधित्व र पहुँच स्थापित गर्न नसकेको यो देशको पाँचौ ठुलो जनसंख्या ओगटेको तामाङ समुदायले यसपटकको निर्वाचनमा आफ्नो प्रतिनिधित्व बढाएका छन् । २०७४ मा सम्पन्न पहिलो स्थानीय तहको निर्वाचन र भर्खरै सम्पन्न दोस्रो स्थानीय तहको निर्वाचनलाई हेर्दा तामाङहरूले सत्तामा आफ्नो उपस्थिति सशक्त बनाउँदै जान खोजेको देखिन्छ । अझैपनि तामाङ जनताको जातीय जनसंख्याको अनुपातमा समानुपातिक प्रतिनिधित्व त हुन सकेको छैन तर पनि प्रयास सराहनीय छ । तामाङ समुदायको राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङको पहलकदमी र तामाङ जनतामा विस्तारै पलाउँदै गएको राजनीतिक जागरणले यसरी प्रतिनिधित्व बढेको तामाङ अगुवाहरू बताउँछन् । अझै कतिपय ठाउँमा दलहरूले तामाङ–तामाङ बिचमा नै चुनाव लडाइदिने र बहुमतीय निर्वाचन प्रणालीको गुह्य तथ्य तामाङ नेतृत्वले बुझ्न नसक्दा कतिपय ठाउँको निर्वाचन हार्न पुग्यो र थुप्रै सिट गुमाउन पुगे । हामीले यस सम्बन्धमा खबरदारी पनि ग¥यौ तर आंशिक सफलता मात्रै पायौ ।

पहिलो स्थानीय तह निर्वाचन, २०७४ मा तामाङ उमेदवारहरूले ३ मेयर, २९ अध्यक्षसहित ३२ प्रमुख र ४ उपमेयर, २३ उपाध्यक्षसहित २७ उपप्रमुख जितेको थियो भने यसपटकको निर्वाचनमा १० मेयर, ३२ अध्यक्षसहित ४२ प्रमुख र १३ उपमेयर, ३१ उपाध्यक्षसहित ४४ उपप्रमुख पदमा विजय हासिल गरेको छ । यसलाई हेर्दा नगरपालिका प्रमुखमा १० स्थान बढाएको छ भने उपप्रमुखमा १७ स्थान बढाएका छन् । त्यस्तै पहिलेको तुलनामा वडा अध्यक्ष पदमा समेत उल्लेख्य संख्यामा लगभग ४०० वडा जितेको अनुमान छ । पहिलो निर्वाचनमा तामाङको करिब २ लाख ५० हजार जनसंख्या रहेको प्रदेश नं. १ मा धनकुटा नगरपालिकाबाट मात्र एकजना तामाङ उमेदवार (चिन्तन तामाङ) ले चुनाव जितेको थियो तर यसपटक धनकुटा, उदयपुर, संखुवासभा, झापा, इलाम, ओखलढुंगा, सोलुखुम्बु समेत गरी ५ जना प्रमुख र २ उपप्रमुख पदमा निर्वाचित भएका छन् । यसअघि मधेश प्रदेशबाट प्रमुख, उपप्रमुख दुवै पदमा तामाङ निर्वाचित हुन सकेको थिएन तर यसपटक सर्लाही, बारा र रौतहटबाट ५ उपप्रमुखमा जित हासिल गरेको छ । यसअघिको निर्वाचन, २०७४ मा बागमती प्रदेशबाट ३१ जनाले प्रमुख र २७ जनाले उपप्रमुखमा जित हासिल गरेको थियो भने यसपटकको निर्वाचनमा ३५ प्रमुख र त्यत्ति नै संख्या ३५ उप्रमुख पद पनि हात पारेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने दुवै निर्वाचनमा कुनैपनि स्थानीय तहबाट तामाङले प्रमुख, उपप्रमुख पदमा विजय प्राप्त गर्न सकेनन् ।

पार्टीगत प्रतिनिधित्वको हिसाबले हेर्दा स्थानीय तहको निर्वाचन, २०७४ मा तामाङले नेपाली कांग्रेसबाट १२ अध्यक्ष र १ उपमेयर, ७ उपाध्यक्षसहित २० पदमा विजय हासिल गरेको थियो भने यसपटकको निर्वाचन, २०७९ मा २ मेयर, १३ अध्यक्षसहित १५ प्रमुख पद र ६ उपमेयर, १३ उपाध्यक्षसहित १९ उपप्रमुख गरी ३५ पदमा विजय प्राप्त गरेको छ । त्यस्तै नेकपा एमालेबाट २०७४ को निर्वाचनमा २ मेयर, ६ अध्यक्षसहित ८ प्रमुख र ३ उपमेयर, १२ उपाध्यक्षसहित १५ उपप्रमुख समेत २३ पदमा जितेको थियो भने दोस्रो स्थानीय तहको निर्वाचन, २०७९ मा ४ मेयर, ६ अध्यक्षसहित १० प्रमुख र ५ उपमेयर, ७ उपाध्यक्षसहित १२ उपप्रमुख गरी २२ पदमा विजय प्राप्त गरेको छ । यसपटक पहिलेको तुलनामा बढ्नुपथ्र्यो तर एमालेको सूर्य ध्वजावाहक तामाङ उमेदवारले एउटा पद कम प्राप्त ग¥यो । तेस्रो ठुलो दल नेकपा माओवादी केन्द्रबाट २०७४ को निर्वाचनमा १ मेयर, ९ अध्यक्षसहित १० प्रमुख पद र ३ उपाध्यक्षसहित १३ पदमा जित हात पारेको थियो भने यसपटकको निर्वाचनमा १ मेयर, १३ अध्यक्षसहित १४ प्रमुख पद र २ उपमेयर, १० उपाध्यक्ष समेत १२ उपप्रमुख गरी जम्मा २६ स्थानमा जितेको छ । यसअघिको २०७४ को निर्वाचनमा नयाँ शक्तिबाट १ अध्यक्ष जितेको थियो र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १ अध्यक्ष र १ उपाध्यक्ष पदमा विजय हासिल गरेको थियो । स्थानीय तहको निर्वाचन, २०७९ मा एकीकृत समाजवादीको कलम चिन्हबाट ३ मेयर पदमा तामाङले विजय हासिल गरेका छन् भने राप्रपा, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीबाट कुनैपनि तामाङले जित हात पार्न सकेनन् । खुशीको कुरा इतिहासमा नै सम्भवत् पहिलो पटक उपमहानगरपालिकामा पनि तामाङ महिला उमेदवारले सानदार मतका साथ मेयर पदमा बाजी मारिन् । त्यो अवसर हेटौडा उपमहानगरपालिकाको मिना लामालाई प्राप्त भयो ।

दलीय प्रतिनिधित्वलाई हेर्दा दुवै निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट आफुले जितेको अनुपातमा धेरै तामाङले विजय प्राप्त गरेका छन् । यसलाई हेर्दा तामाङ समुदायको आस्था र विश्वास अलि बढी माओवादी पार्टीप्रति नै भएको प्रष्ट हुन्छ । अर्को, दुवै निर्वाचन परिणामबाट माओवादी पार्टी सहरमा भन्दा गाउँमा संगठित भएको देखिन्छ । नगर क्षेत्रमा माओवादीले कम मात्रै जित हात पारेको छ । राष्ट्रिय रूपमा दलले विजय हासिल गरेको सिटको अनुपातमा सबैभन्दा बढी तामाङ उमेदवारले नेपाली काङ्ग्रेस, त्यसपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट जित्नुपथ्र्यो तर तामाङको प्रमुख, उपप्रमुख पदमा विजयी भएको संख्यालाई हेर्दा पहिलो काङ्ग्रेस (३५), दोस्रो माओवादी (२६) र तेस्रो एमाले (२२) भएको छ । माओवादी पार्टीबाट २६ स्थानमा जित्दा दलले प्राप्त गरेको सिट संख्याको आधारमा एमालेले त्यसको दोब्बर र काङग्रेसबाट तेब्बर बढी सिटमा जित हात पार्नु पथ्र्यो । यसलाई हेर्दा ठुला दुई दलहरू काङ्ग्रेस र एमालेले टिकट दिन नै कन्जुस्याइँ गरेको हो कि भन्ने संकेत मिल्छ । ठ्याक्कै त्यस्तो नहोला तरपनि यसमा ती दलप्रति तामाङ जनताको शंकाको सुविधा छ । टिकट नै नदिएपछि स्वभाविक रूपले त्यो समुदायको प्रतिनिधित्व कम हुने नै भयो । पार्टीले सकेसम्म तामाङलाई टिकट नै नदिने र दिएपनि हार्ने ठाउँमा दिने भएको कारण तामाङ समुदायबाट अझै अपेक्षा गरे जस्तो विजय हुन सकेन । दलको यसखाले आग्रह, पूर्वाग्रहपूर्ण व्यवहारले राज्य समावेशी र लोकतान्त्रिक बन्ने प्रक्रियालाई अझ ढिला गरिदिन्छ । जुन तामाङ मात्रै होइन कि हामी सबैको लागि घाटा हो र यसले कुनै न कुनै ढंगबाट नेपालले अवलम्बन गरेको समावेशी लोकतान्त्रिक व्यवस्थाप्रति व्यवहारमा व्यंग्य प्रहार गर्दछ ।

आगामी दिनमा राज्यको तीनै तहमा तामाङ समुदायको प्रतिनिधित्व बढाउन यसपटक निर्वाचित जनप्रतिनिधिहरूले अत्यन्तै सचेततापूर्वक काम गर्नुपर्छ । जनता नै राजनीतिमा अघि बढ्न चाहने जनप्रतिनिधिको शक्तिको स्रोत भएकोले उनीहरू आफ्नो कार्यकालको ५ वर्ष निरन्तर जनताको सुखदुःखसँग जोडिएर काम गर्नुपर्छ । सस्तो लोकप्रियताको पछि लाग्नु हुँदैन । अहिले केही ठाउँमा देख्न सकिन्छ, तलवभत्ता नलिने, गाडी नचढ्ने जस्ता घोषणा । एउटा व्यक्ति गाडी नचढेर, एउटा व्यक्तिले तलव नलिएर के हुन्छ ? ९९ जना भ्रष्ट भएको देशमा एउटाको कामले कुनै कायपलट हुँदैन । राज्यले तोकेको सेवा, सुविधा लिएर जनमुखी काम गर्नुपर्छ । जनतालाई माया र नेतालाई आदर गर्दै आफू सम्बद्ध पार्टीको विचार, नीति, सिद्धान्त र दर्शनप्रति प्रतिबद्ध रहनु जरुरी छ । अन्यथा दलाल र भ्रष्टहरूको चंगुलमा फस्दै गयो भने उनीहरूको भावी राजनीतिक यात्रा त सुखद हुने छैन नै अरु अघि बढ्न चाहने तामाङ नेतृत्वप्रति पनि हिलो छ्यापेर जानेछन् । स्वतन्त्र उमेदवार बालेन शाह र हर्क साम्पाङको उदयले अबको निर्वाचनमा दलको चुनाव चिन्हले मात्रै जितिदैन भन्ने प्रष्ट भइसक्यो । त्यसकारण निर्वाचित भइसकेपछि जनप्रतिनिधिले दलको लक्ष्मण रेखाबाट माथि उठ्नुपर्छ । पार्टीगत, क्षेत्रगत र लैङ्गिक रूपले जनतालाई पालिका सरकारबाट प्रवाह गरिने सेवा, सुविधामा कसैलाई विभेद गरिनु हुन्न । जनतामा जनप्रतिनिधि शासक नभई सेवक हुन् भन्ने अनुभूति दिलाउनु पर्छ । ताकि जनतालाई मैले सही सेवक छनौट गरेछु भन्ने परोस् । किनकि जनता कुनै पार्टीको हुँदैनन् । जनतासँग नजोडिने जनप्रतिनिधिलाई उनीहरूले अर्को निर्वाचनमा गोप्य मतदानको प्रयोगबाट दण्डित गर्छन् । यसअघि २०७४ को निर्वाचनमा निर्वाचित थुप्रै तामाङ जनप्रतिनिधिहरू यसपटकको निर्वाचनमा दलबाट टिकट लिएर उमेदवार खडा भएका थिए तर पराजित भएका छन् किनकि उनीहरूको थुप्रै कमि, कमजोरी देखियो जसलाई जनताले नवीकरण गर्न चाहेनन् ।

आज जुन स्थानीय तहमा जनताको दैनिकीसँग जोडिएर काम गर्ने सरकार बनेको छ, यो कुनै राजा, महाराजा र अमुक व्यक्तिको हुकुमप्रमांगी र आदेशबाट आएको होइन । १० वर्षको माओवादी जनयुद्ध, २०६२÷६३ को जनआन्दोलन, मधेश विद्रोह र आदिवासी जनजातिको आन्दोलनको उपलब्धि हो । सरल भाषामा भन्नुपर्दा नेपाली जनताले लडेर ल्याएका हुन् । जसले लडे, उसलाई त्यसको मीठो फल चाख्न दिनुपर्छ । भान्छे भए भन्दैमा आफै हसुर्नेतिर लाग्नु हुँदैन । ती आन्दोलनमा हजारौ नेपाली जनताको छोराछोरीको रगत बगेको छ । जनप्रतिनिधि बस्ने कुर्सी शहिदको रगतसँग साटिएर प्राप्त भएको हो भन्ने कुरा सदैव मनन गरौ । यसर्थ, अब जनप्रतिनिधिलाई गल्ती गर्ने छुट छैन । उनीहरू चुक्नु हुन्न । इतिहासले सुम्पेको एउटा अवसरलाई चुकायो भने जनताको सपना तुहिन्छ । जनताको एउटा आशाको दीयो निभ्छ । लेनिनका अनुसार राज्य भनेको एउटा वर्गले अर्को वर्गलाई थिच्ने यन्त्र हो तर अबको राज्य संयन्त्र मानवीय विकास सुचाङ्कमा तल्लो वर्ग र दक्षिण एशिया सभ्यताको विकृत उपज वर्ण व्यवस्थाबाट विभेदमा पारिएको समुदायलाई न्याय दिने ढंगको हुनुपर्छ । विगतमा अढाइसय वर्ष केन्द्रीकृत राज्य व्यवस्थाबाट न्याय पाउन नसकेको उत्पीडित तामाङ समुदायको आड, भरोसाको रूपमा स्थानीय सरकार आएको छ । जनप्रतिनिधिले जनताले अपेक्षा गरे जस्तो काम नगरिदिँदा, जनतालाई कर मात्रै थोपर्दा गाउँ गाउँमा सिंहदरबार भन्ने भनाईलाई विगतमा सिंह मात्रै आएर गाउँमा डोजरे आतंक मच्चाएको अर्थ लगाइयो । सामाजिक सञ्जालमा यससँग सम्बद्ध केही कार्टुन चित्रहरू भाइरल बन्यो । यसको लागि नवनिर्वाचित जनप्रतिनिधिले जनताको आयस्तर हेरेर जति बढी आय त्यत्ति बढी कर र जति कम आय त्यत्ति कम करको नीति लागू गर्नसक्छ । यसले करको सन्तुलन पनि मिलाउँछ र यो समाजवादी समाज निर्माणको एउटा नमूना अभ्यास पनि हुनेछ । कुनै कामको लागि पालिका अन्तर्गतको सेवा प्रदायक कार्यालयमा पेश भएको जनताको फायल बिना कारण एकदिन भन्दा बढी रोकेर राख्नु हुन्न । कागजको प्रकृति हेरेर कि तत्काल काम गरिदिनुपर्छ कि यो तपाईको यो काम पुगेन, त्यो काम गरेर आउनुस् भनेर सेवाबाहकलाई फायल फिर्ता पठाउनु पर्छ । यसो गरिएन भने जनताको जनप्रतिनिधिप्रति विश्वसनीयता घट्नुका साथै कर्मचारीबाट करप्सन पनि हुने खतरा पैदा हुन्छ ।

नेपालको पाँचौ ठुलो तामाङ समुदाय जो सङ्घीय राजधानी काठमाडौं नजिकै आफ्नो बसोबासको थलो भएर पनि उनीहरूको राजनीतिक, सामाजिक, शैक्षिक, आर्थिक अवस्था ज्यादै कमजोर छ । तथ्याङ्कले भन्छ, नेपालको सबैभन्दा सम्पन्न प्रदेश बागमती जसको गरिबी १२.२ प्रतिशत मात्र छ । सबैभन्दा विपन्न प्रदेश कर्णाली जसको गरिबी ५१.२ प्रतिशत रहेको छ । तर बागमती प्रदेशमा आफ्नो मुख्य थलो बनाएको तामाङ जाति जसको कुल जनसंख्याको ७३ प्रतिशतभन्दा बढी बसोबास रहेको छ तर सम्पन्न प्रदेशमा बस्ने तामाङ समुदाय ६१ प्रतिशत गरिबीको रेखामुनी हुनु विडम्बनापूर्ण देखिन्छ । तामाङको साक्षरता दर ५८ औं स्थानमा हुनु यो अशुभ सुचक हो । यो कसरी भयो ? र यसलाई कम गर्न कस्तो कार्यक्रम सञ्चालन गर्नुपर्छ भन्ने बारे न राज्य, न पार्टी कसैको ध्यान गएको पाइन्न । बसोबासको हिसाबले सम्पन्न प्रदेशलाई मुल थलो बनाएका तामाङ समुदाय यहाँको अर्को मुख्य आदिवासी नेवारको हाराहारीमा उनीहरूको आर्थिक, शैक्षिक, सामाजिक, राजनीतिक हैसियत हुनुपथ्र्यो तर त्यसो हुन सकेन । यसको मुख्य कारण तामाङ जनता होइनन् । राज्यले राणाकालमा लगभग १०० वर्ष मासिन्या मतवाली (मार्न मिल्ने, बेच्न मिल्ने, सित्तैमा काम लगाउन मिल्ने) मा बर्गीकृत गरेपछि त्यसबाट सिर्जित खाल्डो पुरिन नसकेको हो । १०० वर्ष विना पारिश्रमिक सित्तैमा झाराप्रथा अन्तर्गत काम गर्ने समुदायको अवस्था राज्यले समृद्धिको ऐलान गरेको भरले दुई, चार वर्षमा नै फर्किदैन । यसको लागि जरुर समय लाग्छ । अब त्यो खाल्डो पुर्ने दिशामा स्थानीय सरकारले गम्भीरताका साथ काम गर्नुपर्छ ।

निर्वाचित जनप्रतिनिधिको काम भनेको स्थानीय क्षेत्रको विकास र शान्ति सुव्यवस्था कायम गर्नु मुख्य दायित्व र जिम्मेवारी हो । विकास भनेको बाटो बन्नु, मोबाइलको टावर खडा गरिनु, विजुली बत्ति बल्नु, डाँडामा भ्युटावर र चौकमा मन्दिर बन्नु मात्रै होइन । कुनै जमानामा यो नै विकासको मानक थियो । जुनबेला एउटा गाउँबाट अर्को गाउँमा जोड्ने बाटो थिएन । जुनबेला उज्यालोको लागि गाउँमा टुकी बत्ति बालिन्थ्यो । जुनबेला आफन्तसँग कुरा गर्नु महिनौ दिनपछि प्राप्त हुने पत्र कुरेर बस्नुपथ्र्यो । तर पुँजीवादी युगमा यस्तो संरचनाको निर्माणले मात्रै विकासको परिभाषा पुग्दैन । विकास त्यहाँको जनताको शिक्षा, स्वास्थ्य, आत्मसम्मान, सामाजिक सुरक्षा, मेलमिलाप, स्वनिर्भरता, मुर्त÷अमुर्त संस्कृति, कला आदिको सम्बद्र्धन, प्रवद्र्धन जस्ता कुराहरू पनि पर्दछन् । यातायात, विजुली, सञ्चार सबै कुरा छ तर त्यहाँको जनताको भाषा, संस्कृति, कला, जीवन परम्परा लोप भइसकेको छ र त्यहाँ जातिजातिबिच द्वन्द्व, विभेद, निजी सम्पत्तिको असुरक्षा, आतंक र बोक्सीको आरोपमा एकल महिला मारिनुपर्ने जस्ता अवस्थाहरू विद्यमान छन् भने त्यसलाई विकास मानिदैन । खुशीसहित बाँचेको सभ्य, सम्मानित र सुसंस्कृत मानव समाज निर्माणको पक्ष पनि विकासको मुख्य सूचक हुन् । आज युरोप, अमेरिका मान्छे किन जान चाहन्छन् र अरु त्यस्तै समृद्ध थुप्रै देशमा किन जान चाहँदैनन् किनकि त्यहाँ खुशी छ । मानिसको अन्तिम लक्ष्य खुशी र शान्ति हो ।

यसर्थ, हार्डवेयरको पाटोमा मात्रै नभएर सफ्टवेयरको क्षेत्रमा पनि जनप्रतिनिधिले उत्तिकै मिहनेतका साथ काम गर्नुपर्छ । मानव जीवनमा नै २० प्रतिशत क्यालोरी मष्तिस्कलाई आवश्यक पर्छ भने ८० प्रतिशत क्यालोरी भौतिक शरीर सञ्चालनमा खर्च हुन्छ । यो क्यालोरी हामीले खाने खानाबाट प्राप्त गर्दछौ । खाना खाइएन वा ढिला भयो भने हाम्रो सोच्ने शक्तिमा ह्रास आउन थाल्छ । यसैले मजबुत सफ्टवेयर बिनाको मान्छे चल्न नसके जस्तै पालिका जीवनको पनि सफ्टवेयरलाई मजबुत राख्न त्यहाँको जातजातिको मातृभाषा, संस्कृति, कला, धार्मिक आस्था, ऐतिहासिक सम्पदा, सामाजिक सुरक्षाको पाटोमा स्थानीय सरकारले काम गर्नु अपरिहार्य छ । अनुत्पादक क्षेत्रमा भन्दा उत्पादनशील क्षेत्रमा लगानी बढाउनु पर्छ । गाउँमा युवाहरू त्यत्तिकै बेरोजगार भएपछि कुलतमा लागेका धेरै देखिन्छन् । जसले समाजमा बेथिति निम्त्याउँछ । उनीहरूलाई उत्पादनशील काममा लगाएर सधैँ व्यस्त बनाइदिनुपर्छ । व्यापार घाटालाई सन्तुलनमा राख्नको लागि पालिकामा कति आयात र कति निर्यात भइरहेको छ भन्ने डेटा राख्नु जरुरी छ । सकेसम्म आयात कम गर्ने, निर्यात बढाउनेतिर लाग्ने र खाली जमिन बाँझो नराख्ने नीति लिनुपर्छ । पहिले सहरलाई गाउँको उत्पादनले धान्थ्यो र बित्तिय ब्यालेन्स मिलेको थियो तर अहिले गाउँ आफै वैदेशिक रोजगारीमा गएको छोराछोरीको रेमिट्यान्सको भर परेर बस्ने भएको छ ।

संसारमा किन्नेहरू कहिल्यै धनी हुँदैनन्, बेच्नेहरू नै धनी हुन्छन् । पालिकाको जनशक्ति र स्थानीय उत्पादनको सम्भाव्यतालाई मध्यनजर गरी धेरैभन्दा धेरै सामान बेच्नेगरी उत्पादन बढाउनु पर्छ । राज्य संरक्षित दलाल, नोकरशाही पुँजीवादको कारण हाम्रोमा उपभोक्तावादी संस्कृति हावी छ । श्रम नगर्ने पार्टीका दलाल कार्यकर्ताले आफ्नो नाममा कम्पनी खोलेर राज्यको करोडौ रकम खोलामा बगाइदिन्छन् । नुवाकोटको शिवपुरी डाँडापर्तिर काङ्ग्रेसका युवा नेता गगन थापाले केही समयअघि बाख्रा पालन सुरु गरेको थियो तर अहिले बजेट पचाएपछि त्यहाँ बाख्रा त होइन कि खोरको समेत चिनोबानो छैन । पूर्व प्रधानमन्त्री झलनाथ खनालको सर्प खेती यस्ता थुप्रै नोकरशाहहरू छन् जो आफै श्रमिक होइनन् । राज्यको संयन्त्रलाई प्रभावमा पारेर स्रोतको दूरुपयोग गर्ने त्यस्ता साना नोकरशाहहरू स्थानीय तहमा पनि हुन्छन् । त्यसप्रति सचेत हुँदै वास्तविक श्रमिकलाई लगानी गर्नुपर्छ । हाम्रो अर्को समस्या भनेको उत्पादन, विनिमय र उपभोगको लामो चक्रमा राज्य कहिपनि उपस्थित हुँदैन । जसले गर्दा दर्जनौ छाडा विचौलिया नाघेर मात्रै किसानको उत्पादन उपभोक्ताको मुखमा पुग्छ । उत्पादक र उपभोक्तालाई सिधा जोड्न सक्यौ भने मात्रै जनताले खरिद गर्ने माल धेरै सस्तो पर्न जान्छ । त्यसको लागि स्थानीय सरकार ती सबै चक्रमा उपस्थित हुनुपर्छ । आकर्षक बोक्रामा सञ्चार माध्यमबाट हाइ भोल्टेजको विज्ञापनसहित गाडी चढेर आएको कोकोकोला, बियर, चाउचाउ, जंकफुड र हावा भरेर पठाएको चिप्स जस्ता खाद्य सामाग्रीले हामीलाई लुटिरहेको मात्र छैन । त्यसले हाम्रो स्वास्थ्य र रैथाने संस्कृतिलाई पनि विनाश गर्दैछ । अहिले तामाङको हरेक संस्कृतिमा बहुराष्ट्रिय कम्पनीको उत्पादन जम्बो कोक र डिउको रंगीन बोतललाई ताम्बा, लामा म्हेमे (बाजे) हरूले पवित्र खादामा सजाएर डाजाङमा राख्न थालेका छन् । हाम्रो बज्यैको शताब्दीऔ अघिको आविष्कार आइरक र बुजुप्रति नकारात्मक भाष्य निर्माण गरेर नयाँ पुस्ताको दिमागमा प्रत्यारोपण गरिएको छ । यसले भोलिको दिनमा कस्तो तामाङ बन्ने भन्ने कुराको निर्धारण गर्दछ । त्यसैले पिउँदा गुलियो, हल्का अल्कोहोलयुक्त कोकोकोला रूपमा जति राम्रो देखिन्छ ती त्यत्तिकै विषाक्त पनि छन् । त्यस्ता चिजहरू बाह्य संस्कृतिसहित भित्रिएका छन् । यस्ता कुराहरू जनताले बुझ्ने क्षमता राख्दैनन् । जिब्रोको स्वादलाई मात्रै बुझ्छन् । त्यसको ठाउँमा गाउँमै बन्ने लोकल पेय पदार्थको ब्रान्डिङ गर्ने कानुन बनाउने, स्थानीय आदिवासी उत्पादन मकै, भटमास, कोदो, फापर, जौ, कागुनी खेतीलाई प्रवद्र्धन ग¥यौ भने केही वर्षमा नै २०, २५ वर्ष पहिलेको अवस्था जस्तो गाउँको स्वरुपलाई परिवर्तन गर्न सकिन्छ । मानिस पनि स्वस्थ हुने, पैसा पनि बाहिर गएन, आम्दानी बढ्यो, संस्कृति पनि बच्यो, भएन त कमाल ।

अन्तमा, इतिहासमा आएको यो सुनौलो अवसरलाई निर्वाचित तामाङ जनप्रतिनिधिहरूले संयमित र धैर्यताका साथ आफ्नो ५ वर्षे कार्यकालमा के गर्ने भन्ने लक्ष्य र योजनासहित काम गर्नुपर्छ । काम नगर्दा असफल हुने त भयो नै धेरै काम गर्ने महत्वकांक्षा राख्दा पनि असफल भएका धेरै उदाहरणहरू छन् । ५ वर्षे अवधिमा जनप्रतिनिधिले करिब १८२५ दिन स्थानीय सरकारको कुर्सीमा बसेर काम गर्न पाउँछन् । यसको एकदिन पनि समय खेर फाल्नुहुन्न । यसले नै उनीहरूलाई सफलताको शिखरमा पु¥याउनेछ । हाम्रै छिमेकी मुलुक चीनमा केही दशकपछि विश्व अर्थतन्त्रको केन्द्रविन्दू सर्दैछ । यसको मुख्य कारण त्यहाँको कम्युनिष्ट पार्टी र सरकारको दृढ लक्ष्य नै मुख्य हो । चिनियाँ कम्युनिष्ट पार्टीले पार्टी स्थापना भएको वर्ष सन् १९२१ बाट १०० वर्ष सन् २०२१ सम्ममा समृद्ध र विकसित चीन बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो भने क्रान्ति सम्पन्न भएको वर्ष सन् १९४९ बाट १०० वर्ष सन् २०४९ सम्ममा विश्वको नं. १ मुलुक बनाउने प्रतिबद्धता जनाएको थियो । त्यहाँको सरकारले गरिबी, भ्रष्टाचार र प्रदूषणलाई समृद्धिको बाधक अर्थात दुश्मन सरह लिएर दु्रत गतिमा काम गर्छ । जसको कारण सन् २०५० सम्ममा चीन विश्वको शक्तिसम्पन्न मुलुक बन्ने प्रक्रियामा कुनै तागतले छेक्न नसक्ने देखिएको छ । सन् १२०० तिर नै मंगोल राजा चंगेज खाँले रेशम व्यापारको माध्यमबाट एशियाली कृषि पुँजीवादको नेतृत्व गरेको चीनको पुँजीवादी केन्द्र युरोपमा जेम्सवाटको वाष्पशक्तिको आविष्कारसँगै सन् १७५० तिर बेलायत केन्द्र बन्न पुगेको थियो । वाष्पशक्तिबाट चल्ने मेसिन नबन्दासम्म युरोपको अवस्था जर्जर थियो । भोकमरी र संक्रामक महामारीले युरोपमा करोडौ मान्छेको ज्यान गएको इतिहासमा पढ्न पाइन्छ । तर दोस्रो विश्वयुद्धको अन्त्य सन् १९४५ पछि यो आर्थिक सामरिक केन्द्रविन्दू अमेरिका पुग्यो । नाजी तानाशाह हिटलरले आफ्नो देशबाट यहुदी समाप्त गर्ने क्रममा लखेटेका वैज्ञानिक अल्वर्ट आइन्स्टाइनले अमेरिकामा बसेर अणुबमको सैद्धान्तिक आधार निर्माण ग¥यो । युद्ध अन्त्य गर्न जापानमा दुईवटा बम पड्काएपछि अमेरिका संसारको डन बन्यो । आज फेरि त्यो अर्थतन्त्रको केन्द्र चीनमा नै फर्कदैछ । चिनियाँ कम्युनिष्ट पार्टीको नेता देङ स्याओ पिङ तत्कालीन अमेरिकी राष्ट्रपति जिम्मी कार्टरको निमन्त्रणामा अमेरिका जाँदा त्यहाँको औद्योगिक विकास देखेर आफ्नो २ हजार इन्जिनियरलाई तालिम दिलाउन सफल भएपछि चीनमा उद्योगधन्दा खुल्न थालेको हो । त्यहीबाट चीनले विकासमा फड्को मार्न थाल्यो । यसर्थ, चीनको विकास र समृद्धिको यात्रामा देङलाई भुल्नु मिल्दैन । त्यस्तै आफ्नो क्षेत्रमा एउटा पात्र तपाई निर्वाचित जनप्रतिनिधिहरू पनि देङ जस्तै उदाहरणीय व्यक्ति बन्न सक्नुहुन्छ तर तपाईमा तीव्र इच्छाशक्ति हुनुप¥यो । तपाई आफ्नो पालिका र त्यहाँको जनताको विकासको लागि पागल बन्न तयार हुनुप¥यो । जसरी तामाङ कुलमा जन्मिएर दुनियाँलाई अचम्मित हुनेगरी नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले एउटा चमत्कार देखाए । अब अर्को जादु देखाउने पालो तपाई तामाङ जनप्रतिनिधिको हो । असम्भव केही छैन । हामीले त भन्ने मात्र हो, गर्ने यहाँहरूले हो । हामीले यही आशा र अपेक्षा लिएका छौ । आगामी दिनमा तामाङको नेतृत्वमा सञ्चालन भएको स्थानीय सरकार देशकै सबैभन्दा अब्बल र सर्वश्रेष्ठ सूचिमा परेको सुन्न र देख्न पाउँ । यहाँहरूलाई फेरिपनि बधाई र सफलताको शुभकामना पनि ।
लेखक नेपाल तामाङ घेदुङको सङ्घीय अध्यक्ष हुन् ।

ताजा गतिविधि

लेखहरु