नायिका मिरुना र लामा फुर्वाको केसमा मेरो भूमिका

मोहन गोले तामाङ

चलचित्र कबड्डी–४ की नायिका मिरुना मगर र लामा फुर्बा तामाङको केसको बारेमा अघिल्लो दिनदेखि नै सामाजिक सञ्जालमा आइरहेको कुरालाई मैले हेरिरहेको थिएँ । तर सामान्य केस होला भनेर वास्ता गरिनँ । तर जेठ १६ गते साँझ ७ः०० बजेदेखि भने धेरै ठाउँबाट फोन आउन थाल्यो । मेसेन्जरमा त्यत्तिकै कुराहरू आयो । सामाजिक सञ्जालमा सबैले त्यो घटनाको भिडिओ सेयर गरेको देखेँ । यस घटनालाई लिएर म र म आबद्ध संस्थालाई पनि जोडेर प्रश्न गर्न थालियो । यसपछि यस कुरालाई अलिक सिरियसली लिएँ । राती ९ः०० बजेसम्म मेरो मोवाइलमा धेरै फोन आइसकेको थियो । बौद्ध महासंघको उपाध्यक्ष खेन्पो कमल भण्डारीको पनि फोन आयो । लामाको रिहाइको लागि पहल गरिदिनु प¥यो भन्ने सबै साथीहरूको अनुरोध आएपछि भने मैले केही गर्नैपर्छ भन्ने लाग्यो ।

त्यसदिन धेरै राती भइसकेकोले टिममा साथीहरूसँग कुरा गर्नु उचित लागेन । सुतिसकेका होलान् भन्ने लाग्यो । महासंघको पूर्व महासचिव तथा जनजाति अभियन्ता आङकाजी शेर्पालाई फोन गरेँ । उहाँ सोलुखुम्बु जिल्लामा पुग्नुभएको रहेछ । जहाँ पुगेपनि समस्यामा तीव्र एक्सनमा जाने उहाँको स्वभाव छ । उहाँसँग नै फोनमा कुराकानी भयो । उहाँलाई पनि यो केसबारे त्यत्ति धेरै जानकारी रहेनछ । उहाँले कलाकार दयाहाङ राई, पत्रकार विश्व लिम्बू, काठमाडौं जिल्लाको सिडिओ र लामा हिरासतमा रहेको विशालबजार प्रहरी वृतको डिएसपीको फोन नम्बर उपलब्ध गराउनुभयो । तत्कालै कलाकार दयाहाङ राई, डाइरेक्टर रामबाबु गुरुङ र पत्रकार विश्व लिम्बूसँग कुरा भयो । पत्रकार विश्व लिम्बूजी नायिका मिरुनाको आफन्त नै पर्ने रहेछ । उनको आमा पनि लामो समय आदिवासी जनजाति चलचित्रको क्षेत्रमा काम गरेको भन्ने थाहा पाएँ । अर्को अभियन्ता सन्जोग लाफामगरलाई पनि मेसेज गरेँ तर उनले राती रिप्लाई गरेनन् । शायद सुतिसकेको भएर हुनसक्छ । उहाँहरूले स्थिति अप्ठ्यारो बन्दै गएकोले लामाको रिहाई गर्न भूमिका खेलिदिनु प¥यो दाई भन्ने कुरा गर्नुभयो । जेठ १६ गते नै उनलाई रिहाइको लागि आफूहरू गएपनि प्रहरीले नछाडेको कलाकार दयाहाङ राईले बताए । यस सम्बन्धमा पीडित भनिएकी कलाकार मिरुना मगर के भन्छिन् ? त भनेर जान्न चाहेँ । नायिका मिरुनासँग त मेरो कुरा भएन तर पत्रकार विश्वजी र कलाकार दयाहाङबाट उनले पनि लामालाई रिहाई गर्न नै चाहेकिछिन् भन्ने बुझेँ । उनले नचाहेको भए म महिलाको केससँग जोडिएको यो कुराको पछाडि लाग्ने थिइनँ । यत्तिबेलासम्म कबड्डी फिल्म चलेको हलहरूमा भोलि प्रदर्शन गर्ने, विरोध जनाउने कुराहरू सामाजिक सञ्जालमा आइसकेको थियो । म त्यसलाई पनि हेरिरहेको थिएँ । ओहो स्थिति असहज होला कि ? धार्मिक सद्भाव पो भड्किन्छ कि ? भन्ने लाग्यो । यस्तोमा एउटा सामाजिक अभियन्ताको नाताले केही त गर्नैपर्छ भन्ने सोचेँ । भोलि १० बजे नै विशालबजार जानुपर्छ भनेर कलाकार दयाहाङ राई, फिल्मको डाइरेक्टर, पत्रकार विश्व लिम्बू र खेन्पो कमल भण्डारीलाई भनेँ । उहाँहरू पनि तयार हुनुभयो ।

भोलिपल्ट विहान वृत प्रमुख डिएसपीसापसँग पनि कुरा भयो । उहाँ एकदमै सकारात्मक हुनुहुँदो रहेछ । कुरा राख्ने बित्तिकै उहाँले म समस्या आएपछि समाधान खोज्ने मान्छे हुँ भन्नुहुँदै आउनुस् लामालाई छुटाउने कुरामा म सकारात्मक छु, दुई घण्टामा छुटाइदिन्छु भन्नुभयो । मैले खोजेको त्यत्ति नै थियो । विहान ९ः०० बजेसम्ममा घेदुङको साथीहरू पनि धेरैजनाको फोन निरन्तर आइरह्यो । धेरैजनासँग कुरा गर्नु सम्भव पनि थिएन । जजसले फोन गर्नुभयो, उहाँहरूलाई प्रहरी वृत विशाल बजारमै आउनुस् भनेँ । घेदुङको उपमहासचिव जगत दोङ र सङ्घीय सदस्य अमृत थिङ पनि आउनु भयो । म खेन्पो कमल भण्डारीसँगै गाडी चढेर न्यूरोड गएँ । जाँदाजाँदै यस्तो केसमा कानूनी व्यवस्था के छ भनी अधिवक्ता डा. कुन्साङ योन्जनजीसँग पनि कुरा गरेँ । उहाँले जो पीडित हो, उसले माफी दिएपछि यस्तो केस साह्रै जटिल हुँदैन भन्ने कुरा गर्नुभयो । अलिक आशावादी भएँ । साथै उहाँले यस्तो केसमा घेदुङको अध्यक्ष कहाँ हिँड्नुभएको हो ? भनेर सचेत पनि गराउनुभयो । हल्का ठिकै हो कि जस्तो पनि लाग्यो तरपनि सञ्जालमा पब्लिकको मसँग जोडिएर आएको प्रश्नले यसबारेमा मैले केही पहलकदमी लिनैपर्छ भन्ने लाग्यो ।

प्रहरी वृत विशालबजार पुगेपछि बाहिर केहीबेर हामी सबैजना बस्यौ । सही सापलाई वृत प्रमुखलाई भेट्ने समय मिलाइदिनोस् भनेँ तर उहाँले बस्दै गर्नोस न भनेर अल्मल्याउला जस्तो लागेपछि मैले डिएसपीसापलाई त्यहीँबाट फोन गरेँ । उहाँले आफ्नो कार्यकक्षमा बोलाउनुभयो । खेन्पो कमल भण्डारी, केही लामा गुरुहरू र म माथि गएँ । उहाँले लामालाई सम्मानपूर्वक राख्नुभएको कुरा गर्नुभयो । लामाको नियत गलत नभएको तर घटनामा उनलाई त्यत्तिकै छाडिएको भए स्थिति जटिल हुने थियो भन्नुभयो । साथै उहाँले मलाई बसेको ठाउँबाट उठाएर लामाबाट नायिका मिरुनालाई भएको यत्ति हो भनेर टच गरेरै देखाउनु भयो । डिएसपीसापले लामाको रिहाइको लागि सरकारी वकिलको कार्यालय हुँदै सिडिओ कार्यालयमा पठाउन कागज तयार गर्न लगाइसकेको हुँदा म लामा रिहाई हुने कुराले ढुक्क भएँ । त्यहाँ कुनै बादबिबाद र तर्क गरिरहनु आवश्यक लागेन । केही साथीहरूले सिसिटिभी फुटेज हेरौ भन्ने कुरा पनि गर्नुभयो तर रिहाइ नै हुने भइसकेपछि किन फुटेज हेर्ने, अब समस्या नखोतोलौ भनेर साथीहरूलाई सम्झाएँ ।

यसपछि मैले डिएसपीसापसँग हिरासतमा लिइएका लामालाई एकपटक भेट्ने अनुरोध गरेँ । मेरो विचारमा लामाको मेन्टालिटीमा कुनै समस्या छ कि भन्ने लागेको थियो । किनकि यौनजन्य दूव्र्यवहार नै हो भने त यसरी सार्वजनिक स्थलमा नर्मल मान्छेले त गर्दैनन् भन्ने लागेको थियो । तर लामालाई भेट्दा त्यस्तो केही देखिएन । उनी विगत १८ वर्षदेखि फर्पिङमा बसेर बौद्ध दर्शन अध्ययन गरिरहेका र अहिले श्रामणेर भइसकेका रहेछन् । पश्चिम मुगुको वासिन्दा भएकोले बोल्ने लवजमा उताको स्थानीय शैली भने थियो जुन काठमाडौंको जस्तो सललल थिएन । मैले उनलाई घटना के भएको हो ? भन्नुस् भनेँ । उनले आफ्नै तरिकाले यसरी सुनाए ।

फुर्वा लामाले यसरी भने– दयाहाङ राई मेरो मनपर्ने कलाकार हुन् । त्यसैले विदाको दिन पारेर उहाँको फिल्म हेर्न आएको थिएँ । फिल्म हेरिसकेपछि बाहिर निस्कँदा हिरोनी मिरुना मगरसँग सबैले फोटो खिचिरहेको देखेँ । मलाई पनि फोटो खिच्न मन लाग्यो । मेरो मोबाइलको क्यामेरा त्यत्ति राम्रो थिएन । मेरो एउटा हातले सेल्फी फोटो खिच्न मोबाइल समातेको थियो । उहाँलाई दुईपटक नजिकैबाट हातले हल्का छोएर मेडम यता फर्किनुस् न भन्दै बोलाएँ । उहाँको ध्यान अन्तैतिर बढी मोडिएको थियो । एकपटक मतिर हेर्नुभयो तर फोटो खिच्दा मोबाइलको क्यामेरा हल्लिएर राम्रो आएन । फेरि फोटो खिच्न उहाँलाई मेडम यता फर्किनुस् न भन्दै एउटा हातमा मोबाइल र अर्को हातले उहाँलाई इशारा गरिरहेको थिएँ । दर्शकको भिड धेरै थियो । उहाँलाई सबैले फोटो खिच्न खोजिरहेका थिए । मेरो कुरालाई ध्यान दिइरहनु भएको थिएन । यत्तिकैमा भिडले मलाई पछाडिबाट धक्का लगायो । म अनकन्ट्रोल भएँ । एउटा हातमा फोटो खिच्न तयारी अवस्थामा राखेको मोबाइल बचाउने कि आफै सम्हालिने भन्ने अवस्थामा लड्न लागेपछि सहाराको लागि उहाँको पछाडिको भागमा मैले समात्न पुगेँ । त्यसपछि मलाई गाली गर्नुभयो । थप्पड मार्नुभयो । कान समातेर उठबस गराउनुभयो । भिडका मान्छेहरू सबैले मलाई नै खाउँला जसरी हेर्न थाले । म कहिल्यै पनि यस्तो केसमा नपरेको मान्छे बेस्सरी डर लाग्यो । बोल्न खोज्दा आवाज नै आएन । श्वास रोकिए जस्तो भयो । मैले नियतवस उहाँलाई छोएको होइन पनि भन्न सकिनँ । भएको यत्ति हो ।

लामाले यी कुराहरू बताउँदै गर्दा मलाई उसले बनावटी कुरा भनिरहेको जस्तो लागेन । मैले उनको अनुहार पनि पढेँ । मेन्टालिटी पनि ठिक रहेछ । त्यस्तो केही असाधारण जस्तो व्यवहार पाइएन । त्यसपछि म बाहिर निस्केर साथीहरूलाई लामा त निर्दोष रहेछ, भूलचुकमा यस्तो भएको रहेछ है भनेँ । एकछिनमा डिएसपीसापले लामालाई सिडिओ कार्यालय पठाउने कुरा भयो । प्रहरीकै गाडीमा मलाई पनि जान अनुरोध गर्नुभएको थियो तर मेरो कार्यालयमा काम पनि भएकोले म गइनँ । खेन्पो कमल भण्डारीलाई त्यसतर्फ पठाएँ । म लामालाई त्यहाँबाट पठाएपछि घेदुङ कार्यालय बौद्धतिर हिँडे । के. एल. टावरमा प्रदर्शन भइरहेको रहेछ । त्यहाँ झरेर केही कुरा राखौ कि जस्तो लागेको थियो तर भिडमा प्रस्तुत हुनु ठिक हुँदैन भन्ने लागेर सरासर हिँडे । साथीहरूले फोन गर्दा लामा अब केही समयपछि छुट्दै हुनुहुन्छ, अब आन्दोलन नगर्नुहोला भनेँ । आफ्नो ग्रुपमा पनि यही कुरा राखेँ । त्यसको केही समयपछि सिडिओ कार्यालयबाट फुर्वालाई सामान्य धरौटीमा छाडिएछ । मेरो यो घटनामा सहभागिता भनौ या मैले खेलेको भूमिका भनौ यत्ति हो । सिडिओ कार्यालयबाट बाहिर निस्केर साथीहरूले एउटा मिलापत्रको कागज गरेछन् । त्यो मलाई थाहा छैन । म गएको भए कागज अलि दुवैपक्षलाई जितजित हुने किसिमले बनाइदिन्थेँ ।

कागजको व्यहोरा पढ्दा एकदमै कच्चा मान्छेले लेखेको जस्तो थियो । कागजको लेखाइले लामालाई अलिकति तल पारिएकै हो । यसबारेमा मैले खेन्पो कमल भण्डारीसँग पनि कागज कसले लेखेको हो ? भनेर सोधेँ । उहाँले लेखनदासको नाम बताएनन् तर हतारमा त्यस्तो भएको मात्र भने । पछि सामाजिक सञ्जालबाट त्यो कागज पत्रकार विश्व लिम्बुले लेखेको भन्ने पत्ता लाग्यो । वास्तवमा सिडिओ कार्यालयबाट फुर्वा रिहाइ भइसकेपछि यो कागज गरिरहनु आवश्यक पनि थिएन । अहिले यो केसमा जत्ति पनि कुराहरू आइरहेका छन् । यही कागजले गर्दा नै अलि बढी भएको हो जस्तो लाग्छ । कागज गर्नुको उद्देश्य दुईपक्षको मन मिलाउनु थियो । उद्देश्य गलत थिएन तर कागजको पेट बोलीले आशय गलत देखिन पुग्यो । कागजमा साक्षी बस्नेहरू पनि कुनै कानुनी पृष्ठभूमिको मान्छे नभएकाले यसले समाजमा कस्तो सन्देश जान्छ भन्ने हेक्का नराखिएको पनि होला । कलाकार, लामा गुरुहरूले कागजको लेखाईले के अर्थ लाग्छ भन्ने तर्फ ख्याल नगरिएका हुन् । कहिलेकाँही राम्रो गर्न खोज्दा झन् नराम्रो हुनपुग्छ । त्यही कागजलाई पोष्ट गर्दै केही जिम्मेवार साथीहरूले नै लामाले माफी माग्यो, मिरुनाले माफी दिइन् भनेर लेखेको पनि देखियो । तर यसमा दुवै पक्षको कमि, कमजोरी भएको छ र यो कागजमा दुवै पक्षको जितको अवस्था झल्किनु पथ्र्यो ।

अहिले केही मान्छेले सामाजिक सञ्जालमा मेरो पनि नाम जोडेर लेखेको देख्दा दुःख लागेको छ । जसले दुवै पक्षको माग बमोजिम फुर्वा लामाको रिहाई हुनुपर्छ भनेर प्रहरी वृत्तसम्म पुगेर सहजिकरण ग¥यो, उसैलाई गाली गरेको छ । कागजमा म साक्षी बसेको भए पनि गाली गर्नु ठिकै हुन्थ्यो होला तर त्यहाँ बस्दै नबसेको मान्छेलाई गाली गर्नु ठिक होइन । प्रहरी चौकीसम्म पुगेर लामाको रिहाइको लागि पहल गर्दा पनि गाली खाने, पहल नगर्दा पनि झन् गाली खाने भनेपछि कसलाई के भन्ने ? म जस्तो सामाजिक अभिन्ता गाली खानकै लागि जन्मेको रहेछ कि जस्तो लागेको छ ।

कवि उपेन्द्र सुब्बाले पहिचानको आन्दोलनमा लाग्नु नै गलत रहेछ भन्ने निष्कर्ष निकाल्नुभयो । उहाँजस्तो मान्छेले यस्तो केसमा पहिचानको आन्दोलनलाई जोड्नु दुःख लागेको छ । तर म उहाँले जस्तो पहिचानको आन्दोलनसँग जोडेर यो घटनालाई हेर्दिनँ किनकि यो केस र पहिचानको आन्दोलनबिच तालमेल मिल्दैन । यो केसबारे निम्न बुझाई प्रष्ट पार्न चाहन्छु ः–

१. पहिलो, लामाले फिल्म हेर्न नै मिल्दैन भन्ने मलाई लाग्दैन । आजको स्वतन्त्रता उन्मूख दुनियाँमा हिजोका दिनमा लामालाई फिल्म हेर्न, फुटबल खेल्न, साइकल चलाउन मनाही थियो तर अब यस्ता कुरालाई निषेध गर्न हुँदैन । फिल्म हेर्न मिल्छ तर लामा भेषमै चैँ नगएको भए हुन्थ्यो कि ? भन्ने मेरो तर्क हो । अर्को, लामा हिरोनी मिरुनासँग नजिकिएर फोटो खिच्न यत्ति धेरै क्रेजी नभएको भए पनि हुने थियो । सेलिब्रेटीसँग फोटो खिच्नु आम प्रचलन भएपनि बौद्ध दर्शनको विद्यार्थी लामाले अलि सोच्नुपथ्र्यो कि ? तर जे भयो, भइसक्यो । उनको मनको ईच्छाको कुरा हो । उनको बुझाईले चाहना प्रकट ग¥यो त यसलाई पनि त्यत्ति धेरै अन्यथा नमानौ ।

२. दोस्रो, लामाले सेल्फी फोटो खिच्न खोजेकोमा अरु आम दर्शक झैँ माया गरेर नायिका मिरुनाले एउटा फोटो खिचिदिएको भए उनको पनि मनै रहन्थ्यो । किनकि कलाकारको सम्पत्ति भनेको नै पब्लिक हो । भिडमा बोली नसुनिने स्थितिमा कसैलाई बोलाउनु प¥यो भने हाम्रो समाजमा सम्बेदनशील केही अंग बाहेक अन्य अंगमा सामान्य हातले छोएर बोलाउनुलाई खासै नराम्रो मानिँदैन । यस्तो कुरालाई कसले कसरी लिन्छन् ? भन्ने कुरा मात्रै हो । भिडले ठेलिँदा लामाको हात उनको शरीरमा छुन पुग्यो । यसमा के भएको हो ? कसरी यस्तो भयो ? भनेर नायिका जस्तो मिरुनाले बुझ्ने कोशिस गर्नुपथ्र्यो । तर उनले त्यो बुझ्ने कोशिस गरिनन् र गाली गर्ने, थप्पड मार्ने, कान समातेर उठबस पनि गराइन् । कुटपिट, गाली र कान समाताई नै भवितब्यबाट हुन गएको यौनजन्य बुझिने हिंसामा यो लामालाई सबक पर्याप्त भइसकेको थियो । त्यसपछि छाडिदिँदा पनि हुन्थ्यो । कानुन हातमा लिएर थप्पड मारिसकेपछि पनि फेरि प्रहरीलाई बुझाउनु यो मिरुनाको अति भयो । आवेगमा नायिकाले यसबाट भोली उत्पन्न परिस्थिति के हुन्छ ? भनेर ख्याल गरिनन् । यदी कानुनी कार्वाही नै गर्ने भए उनले लामालाई थप्पड मार्नु हुँदैन थियो, कान समात्न लगाउनु हुँदैनथ्यो । पछि सहमतिको कागजमा मिरुनाले माफी दिएको भन्ने लेखियो तर ढिलोगरी दिइएको माफीलाई माफी भन्ने कि नभन्ने ? भन्ने प्रश्न उठेको छ । किनकि पब्लिकको प्रदर्शन नभएको भए उनी माफी दिन बाध्य हुने थिइनन् भन्ने घटनाक्रमले प्रष्ट पारेको छ ।

३. जब लामालाई अनुसन्धानको लागि प्रहरीले हिरासतमा लियो । त्यसपछि लामा कुटपिट काण्डको भिडियो भाइरल बन्यो । सबैले कबड्डीको नायिका मिरुनालाई फेसबुकमा गाली गर्न थाले । यसपछि मिरुना आफूले गरेको कामले आफै बुम¥याङ परेको महसुस गरिन् र उनैले रिहाइको लागि पहल गरिन् । त्यही क्रममा यो केस मसम्म आइपुगेको हो । सबैको अनुरोधमा लामाको रिहाइको लागि पहल गरेको हुँ । कागजमा के लेखियो ? के लेखिएन ? त्यो मैले पछि मात्र फेसबुकबाट नै थाहा पाएँ । त्यसकारण कागजबाट उत्पन्न समस्यामा मेरो नाम जोड्नु ठिक हुँदैन । कि मैले लामालाई छुटाउने पहल गर्नु नै गल्ती थियो भने त्यसमा मलाई दोषी बनाउन मिल्छ । यसमा यहाँहरूले भन्न सक्नुहुन्छ । जहाँसम्म मिलापत्रको कागजमा लेखिएको भाषाप्रति मेरा पनि असहमति छन् ।

अन्तमा, यहाँसम्म आउँदा जे भयो, हामी बिचमै भयो । समाजमा यस्ता कुराहरू भइरहन्छन् । मगर र तामाङ जनजातिहरू हामी सबै एकैखालको समस्या भोग्दै आएका समुदाय हौ । व्यक्तिको कारणले हामीबिचको समुदायगत सद्भाव भड्काउनु हुन्न । साथै यसले कलाकार मिरुना मगर र लामा फुर्वा तामाङको भविष्यमा पनि कुनैप्रकारको डिस्टर्व नपुगोस् भन्न चाहन्छु । उनीहरूको प्रगतीले हाम्रै समुदायले गौरव महसुस गर्ने हुन् । मिलापत्र गर्ने क्रममा केही शब्द चयनमा लेख्ने मान्छेले गल्ती गरेका छन् भने त्यसलाई सच्याउन सकिन्छ । तर आशय नै गलत हो भने यसलाई भने अलिक गम्भीर ढंगले हेर्नुपर्छ । यो मेरो निजी धारणा हो । तपाईहरूको धारणासँग सबैको धारणा ठ्याक्कै मिल्नुपर्छ भन्ने हुँदैन । असहमति, अन्तर्विरोधबाट सिर्जित द्वन्द्वले नै मानव सभ्यता यहाँसम्म आइपुगेको हो । द्वन्द्वात्मक भौतिकवादको नियमबाट हामी कोही अछूतो रहन सक्दैनौ । यो घटना पनि त्यसैको एउटा श्रृंखला हो । यस्तो घटनालाई हामीले पाठको रूपमा लिँदै आगामी दिनमा अघि बढ्नु नै सबैको लागि भलो हुनेछ । धन्यवाद ।।

ताजा गतिविधि

लेखहरु