एउटा अभियन्ताको आत्मकथा “सपना र संघर्ष”

मोहन गोले तामाङ

नेपालको पूर्वी जिल्ला भोजपुरको आहालेमा वि.सं. २०१९ सालमा जन्मिएका कुमार योन्जन तामाङ एक सामाजिक र राजनीतिक अभियन्ता हुन् । गाउँकै विद्यालयबाट शिक्षा आरम्भ गरेका योन्जन काठमाडौं छिरेपछि कानुनमा स्नातक उतिर्ण गरी नेपालको सामाजिक र राजनीतिक आन्दोलनमा जोडिन पुगे । उनले पुस्तकमा लेखेका छन्– “विस्तारै जीवनले रंगीन सपनाहरू देख्न थालेको थियो तर मुख्य सपना एउटै थियो, विभेदहरूको अन्त्य गर्ने र वर्ग विहीन समाज बनाउने” (पृ. ७६) । यही लेखाईबाट नै उनी समाज रुपान्तरणमा दिलैदेखि लागेका विशुद्ध अभियन्ता हुन् भन्ने प्रमाणित हुन्छ । संघर्षको दौरानमा उहाँ नेपाल तामाङ घेदुङको केन्द्रीय अध्यक्ष समेत बन्नुभयो (२०६८–२०७२) । यसबाहेक उनले अन्तरिम संविधान, २०६३ को मस्यौदा समिति सदस्य भएर काम गर्नुका साथै प्रशासकीय अदालतको न्यायधीश (२०६९–२०७५) बनेर सेवा गर्ने अवसर पनि उपयोग गरे । योसँगै विद्यार्थी कालमा राजनीतिक चेत उघ्रेसँगै नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध भई त्यसको विभिन्न तहमा बसेर उहाँले पु¥याउनु भएको राजनीतिक पुँजी अझ दर्बिलो छ । हुन त उनले पत्रकारिता र अधिकारर्मीको रूपमा पनि काम गरे तर त्यो राजनीतिक उद्देश्य पूर्तिकै लागि सहायक काम मात्र थियो जहाँ उनी लामो समय जमेनन् । यसर्थ, उनी राजनीतिक र सामाजिक अभियन्ता दुवै हुन् । उनको नेपालमा मानवअधिकार (२०४५), तामाङ राष्ट्रिय मुक्ति मोर्चाको नीति र कार्यक्रम (२०५५), ताम्सालिङ ः चुनौती र सम्भावनाहरू (२०६४), नयाँ नेपालको खाका (२०६५) नामका पुस्तक÷पुस्तिकाहरू र सयौ लेख, रचनाहरू विभिन्न अनलाईन र पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् । यसरी संघर्ष र इमान्दारिताको कोणबाट हेर्दा उनको व्यक्तित्व निश्चल र उच्च रहेको देखिन्छ ।

योन्जनको जीवनले ६ दशक पार गर्दा समेत कुनै तडकभडक र ऐशआराम कहिल्यै खोजेनन् । सरल, सादगी र मितव्ययी जीवन बाँचिरहे र सधैँ भनिरहे– नेतृत्वले जनता जसरी बाँच्छन् त्यसरी बाँच्न सिक्नुपर्छ । यसैले उनको जीवनको सपना भिन्न थियो र त्यहीँ भिन्न सपनाले अरुको भन्दा भिन्न जीवन जिउन पनि सिकायो । जसलाई त्रिपक्षीय फ्युजन गर्दा आज पाठकको हातमा यो पुस्तक सपना र संघर्ष आइपुगेको छ । यो कृति त्यही व्यक्तिको अन्तर्कथा हो । सिर्जनालाई भावना र आवेगको मात्र विषय नबनाएर सामाजिक तथा सांस्कृतिक चेतना र जागरणको विषयका रूपमा हेर्ने योन्जन समाज र समयप्रति सचेत स्रष्टा हुन् । उनी आफ्नो जीवन कथामा पनि आफूले गरेको संघर्ष र समाज परिवर्तनको सपना कोर्छन् । जुन विषयको उठान गर्छन्, त्यसलाई गहिराईसम्म पुगेर पाठकलाई चित्त बुझाउनु योन्जनको लेखकीय वैशिष्ट्यता हो । जुन विषयमा लेख्नुपर्ने छ, त्यसको गहन अध्ययन गरी प्रामाणिक रूपमा प्रस्तुत हुनु उनको लेखनी कला निकै अब्बल देखिन्छ ।

दिदी बहिनी अफसेटद्वारा डिमाई साइजमा हलुका कागजमा प्रकाशित लेखक कुमार योन्जन तामाङको यो पुस्तक सपना र संघर्ष (२०७८) को पूरै ३६२ पृष्ठको संरचनामा मूल विषयवस्तु समेटिएका छन् । २०७८ फागुन २९ गते नेपाल तामाङ घेदुङको नवौ सङ्घीय महाधिवेशनको उद्घाटन समारोहको अवसर पारेर यो पुस्तकलाई उनले लोकार्पण गरेका हुन् । आत्मकथामा आधारित यो पुस्तकभरि उनी आफ्नो जीवनलाई मात्रै अघि बढाउँदैनन् कि समाजमा आफूले देखेका विकृति, विसंगतिको विरुद्धमा पनि त्यत्तिकै खरो रूपमा उत्रिन्छन् । विषय सूचिबाहेक ६ पृष्ठमा लेखकले आफ्ना सरल भनाईहरू राखेका छन् । भोजपुर जिल्लाको बोखिम आहाले गाउँबाट १२, १३ वर्षको उमेरमा तुम्लिङटार विमानस्थलमा हवाइजहाज हेर्न गएको केटोको कथा घर छाड्दाको पहिलो रहरको प्रसंगबाट सुरु भएको यो पुस्तकमा पान्धारे आहालेको पानी, गाउँमा विद्रोह, स्कुलमै थुनिएपछि, जब गाउँको बत्ति निभ्यो, गुमनाम पहिचान, आपाले बर्षेनि पुछ्नुहुने त्यो तस्वीर, फलामे ढोका पार गरेपछि, जब रङ लाग्न थाल्यो, उपत्यका बन्द र जेलयात्रा, डिप्रेसनको तड्पन, हिरासतमा एक महिना, कागजको थाकमाथि निदाउँदा, टाँडीको कुखुरा खोरले बनाएको इतिहास, हिरासतमा लक्ष्मी शर्माको भाषण, गाउँमा लाखाङ बन्यो, हिउँले छोपेको दिन, लखनौको विघटन बैठक, संकटकालको औडाहा, पूर्ण तामाङको कथा, अनलाइनको भोक, आफ्नै घर पनि यातनागृह, आमाको स्मृतिमा, ३१ वर्षपछि सपरिवार गाउँ, समाज बदल्न हिँड्दा, अधुरो सपना, नेपालमा रैथाने आन्दोलनको कथा, जसले आफैलाई चिनेनन्, बुढेसकालको जोहो र बिट मार्दामार्दै जस्ता ३० वटा खण्डमा जीवनकथा उनिसकेपछि पुस्तक टुंगिन्छ । आफ्नै जीवनगाथा हुनाले अन्तिममा उनले बुढेसकालको जोहो शीर्षकमा आफैलाई फर्केर मज्जासँग हेर्दै खुशी मानेका छन् । लेख्छन्– पागल जसरी आदर्श र मुद्दाको पछि भाग्दाभाग्दै घरपरिवार र बालबच्चाहरूको खुशी र सपनाको भने यादै गरिएनछ । अहिले सम्झन्छु, क्या जिन्दगी बाँचिएछ (पृ. ३०७) ।

पुस्तकको प्रत्येक खण्डको सुरुवातमा दुनियाँका विशिष्ट व्यक्तित्वहरू कन्फ्युसियस, ओशो, माओ, अब्दुल कलाम, मार्टिन लुथर किङ, बुद्ध, गान्धी, सुकरात, नेपोलियन बोनापार्ट, रबिन्द्रनाथ टैंगोर, जर्ज बनार्ड साँ, भीमराव अम्बेडकर, कार्ल माक्र्स, अल्बर्ट आइन्स्टाइनका अभिव्यक्तिहरूलाई राख्नु यस पुस्तकको सर्वाधिक प्रशंसनीय पक्ष हो । यसबाट पाठकलाई अन्य कृतिको समेत ज्ञान प्राप्त भएको छ । पाठको बिचबिचमा पनि त्यस्ता भनाईहरू पर्याप्त आएका छन् । यसले सम्बन्धित विषयलाई अझ गहकिलो बनाइदिनुका साथै लेखक कुन दर्शन, विचार र सिद्धान्तबाट प्रभावित छ भन्ने प्रष्ट भएको छ । यो पुस्तक नेपालको वास्तविक यथार्थता र एउटा अभियन्ताको संघर्षको सुन्दर संयोजन भएर शब्दचित्रको रूपमा पाठकसामु आइपुगेको छ ।

गाउँकै विद्यालयमा माध्यमिक शिक्षा पूरा गरेपछि २०३६ साल जेठमा उनी उच्च शिक्षा अध्ययनको लागि काठमाडौं छिर्छन् । कक्षा ९, १० मा पढ्दा नै राल्फाली सांगितिक समूहको कार्यक्रम देखेर त्यसबाट प्रभावित भएका योन्जन काठमाडौं ल क्याम्पसमा भर्ना भएपछि कलाकारले भने जस्तै एकदिन राता मान्छे बन्ने सपना बुन्न थाल्छन् । स्ववियु सहसचिवको जिम्मेवारी लिएका योन्जनको पञ्चायत विरोधी विद्यार्थी आन्दोलनमा दिनहुँ बन्द, हड्तालमा सहभागी हुनु, प्रहरीबाट छलिएर भाषण गर्नु, पर्चा छर्नु र रातीराती वाल पेन्टिङ गर्नु नै उनको दिनचर्या बन्यो । यसैक्रममा २०३७ साल मंसिर २७ गते उपत्यका बन्द कार्यक्रमको बेलामा अकस्मात उनी पक्राउ पर्छन् र महेन्द्र पुलिस क्लबको जुडो हलमा लगेर कठोर यातना दिइन्छ । पैताला ठाडो पारेर बाँसको भाटा र रबरले पिट्ने अनि कपाल समातेर जुरुकजुरुक उचाल्दा पनि उनी मनमा विद्रोहको आगो बाल्छन् र मनमनै भन्छन्– एकदिन हाम्रै अगाडि यो निरंकुश सामन्ती सत्ता ढल्नेछ, हामी ढालेर मात्रै विश्राम लिनेछौ (पृ. ९३) ।

वि.सं. २०३८ सालमा नेकपा चौमको सदस्यता लिएका योन्जन पञ्चायत विरुद्धको संघर्षमा पटक पटक जेल र हिरासतमा बसे । उनले कहिल्यै पद र अवसर खोजेनन् । २०४६ सालपछि झिल्को प्रकाशनसँग जोडिएर जनादेश साप्ताहिकको कार्यकारी सम्पादक बनेर काम गरे । २०५१ साल जेठ महिनाको उद्युम गर्मीमा चितवनस्थित टाँडीको कुखुरा खोरमा १६ दिनसम्म पार्टीको सम्मेलन चल्यो । पार्टीले दीर्घकालीन सशस्त्र संघर्षमा जाने योजना बनाएको थियो । सम्मेलनमा लामो मन्तब्य राखेर उत्पीडित जातिहरूको जातीय स्वशासन, अग्राधिकार र आत्मनिर्णयको अधिकारको एजेण्डालाई पास गर्न प्रमुख भूमिका निर्वाह गरे । त्यसपछि नै नेकपा माओवादीले भातृसंगठनको रूपमा अखिल नेपाल जनजाति संघ गठन ग¥यो र उनी त्यसको महासचिव बने । द्वन्द्वकालमा खुल्ला बसेर काम गर्ने जिम्मेवारी लिएका योन्जनले माओवादी जनयुद्धको क्रममा गैर न्यायिक हत्या र गिरफ्तारीले तीव्रता पाउन थालेपछि बुद्धिजीवी संगठनदेखि मानअवधिकारकर्मीको रूपमा रहेर पनि काम गरे । संकटकालको बेलामा पनि जाजरकोट र रुकुम पुगेर गिरफ्तारीमा परेका व्यक्तिहरूको बारेमा बुझ्ने र जीवनरक्षाको लागि प्रशासनलाई ध्यानाकर्षण गराउनु आफैमा चुनौतीपूर्ण काम थियो ।

भूमिगत कालमा पार्टीमा उपत्यका इन्चार्ज भएर काम गरेका योन्जन २०५६ सालमा ६ महिनाको लागि इन्टर्नशीप कोर्षका लागि बेलायतको लण्डन गए । उनलाई त्यहाँ बस्ने, पैसा कमाउने पर्याप्त अवसर थियो तर त्यता लागेनन् । कोर्स सकेर पार्टीमा काम गर्न उत्साहपूर्वक फर्किदा पार्टीले उनलाई जिम्मेवारीबाट हटाइसकेको थियो । उनले लेखेका छन्– एउटा मीठो सपना थियो मनमा तर जब नेपाल आएर मैले आफूलाई पार्टीको क्षेत्रीय ब्युरोबाट हटाएको थाहा पाएँ, साँच्चै दुःख लाग्यो । मैले मेरो आस्थाको घर गुमाएको थिएँ (पृ. १५९) । पार्टीलाई सोधेरै बेलायत गएका उनलाई किन हटाइयो ? त्यसको कारण लामो समयसम्म थाहा भएन । धेरैपछि मात्र थाहा भयो कि उनलाई बाबुरामको मान्छे भनेर चिनाइदो रहेछ । उनी लेख्छन्– मेरो ठुलो कमजोरी नै गुटमा नलाग्नु भयो । मलाई गुटे आँखाले हेर्न कहिल्यै छाडिएन । तर गुटले २, ४ जना मान्छे बन्लान्, गुटको स्वार्थसिद्ध होला तर पार्टी बन्दै बन्दैन (पृ. २८९) ।

यसरी २०५७ सालपछि उनी साँच्चै राजनीतिक रूपमा बिटुलो जस्ता भए । घरमा बस्ने अवस्था थिएन । माओवादी जनयुद्धको कारण देउवा सरकारले संकटकाल घोषणा गरेको थियो । राज्यपक्षले उनलाई माओवादीको आरोप लगाउँथ्यो तर आफ्नै पार्टीले भने उनलाई चिन्दैनथ्यो । त्यसबेला थुप्रै नेताहरूले हाम्रो पार्टीमा आएर काम गर्नोस् भन्यो, पद र अवसरको चाङ देखायो । तर उनी संकटकाल छल्नको लागि लामो समय पूर्वी नेपाल हुँदै भारतको आसाम, दिल्लीतिर भौतारिएर हिँडेपनि कहिल्यै त्यस्तो आशक्तिको पछि लागेनन् । पार्टीको जिम्मेवारीमा पनि नरहनु, घरमा पनि बस्न नसक्नु त्यस्तो अवस्थामा पनि विभिन्न अनलाइनमा पार्टीकै पक्षमा कलम चलाएर बसे । नेपाली पोष्ट डट कममा बबुल लामाको नामबाट दर्जनौ लेखहरू प्रकाशित गरे ।

राजनीतिमा जोडिन नसकेपछि २०६० सालदेखि नेपाल तामाङ घेदुङको भाषा साहित्य विभाग प्रमुख भएर सामाजिक अभियन्ताको रूपमा काम गरे । घेदुङको २०६४ को महाधिवेशनबाट महासचिव हुँदै २०६८ को सातौ महाधिवेशनबाट अध्यक्ष बनेर तामाङ लगायत समग्र नेपालको आदिवासी जनजाति आन्दोलनको केन्द्रविन्दूमा रहेर त्यसको नेतृत्व गरे । २०६८ माघ १९ गते ल्होछार समारोहमा दोलखा जाँदा सवारी दुर्घटनामा परेर लामो १८ दिनको अस्पताल उपचारपछि घरमा फर्किए । ठुलै दुर्घटनाबाट बचेको कारण यसपछिको समयलाई उनी नाफाको जीवन भन्न चाहन्छन् । सकेसम्म जिम्मेवारी लिएर काम नगर्ने तर लिइसकेपछि मेहनत गर्ने स्वभावका योन्जन सामाजिक आन्दोलनमा पनि उत्तिकै सक्रिए भएर लागे । उनको उर्वर जीवनमा पसिना बगाएको पार्टीले भावी दिनमा उनको मूल्याङ्कन कसरी गर्ला थाहा छैन तर आदिवासी जनजाति आन्दोलनमा उनी विर्सन नमिल्ने नाम हुन् । उनले जनजाति आन्दोलनमा गहिरो पदचाप छाडेका छन् । २०६६ माघ ११ गते ताम्सालिङ आन्दोलनको क्रममा बानेश्वर प्रहरीले पक्राउ ग¥यो तर हिरासत कक्षभित्रै ताम्सालिङ प्रदेश जिन्दावादको नारा लगाए । ताम्सालिङ संघर्ष समिति गठन गरेर पहिचानको आन्दोलनलाई उनकै पालामा शिखरमा पु¥याउने काम भयो । प्रस्तुत पुस्तकमा तामाङ समाजको स्वहाँगा प्रणाली, तामाङ जातिको परम्परागत संस्थाहरू, तामाङ सांस्कृतिक जागरण अभियान, तामयिग लिपिको विकास, तामाङ आन्दोलनमा घेदुङको भूमिका आदिबारे राम्रो विश्लेषण गरिएको छ । यसरी उनले घेदुङ र तामाङ समाज बुझ्न चाहनेको लागि समेत पुस्तकमा राम्रो खुराक पस्किएका छन् । उनी लेख्छन्– हजारौ वर्षको निरन्तरको जीवन संघर्षबाट मात्र एउटा विशिष्ट भाषा, संस्कृति र सभ्यताको विकास हुन्छ । त्यही उसको समुदायको अस्तित्व हो, पहिचान हो । त्यही देशको विविधता हो (पृ. १६६) ।

उनी नेपालको जात व्यवस्था र भेदभावको विरुद्ध प्रतिरोध निस्कन जरुरी ठान्छन् किनकि माओवादी आन्दोलनले इतिहासका काला विरासतहरुलाई फाल्ने कुराको उठान त ग¥यो तर टुंगोमा पु¥याउन सकेन । जातीय विभेद र असमानताको जड अन्धविश्वास, भाग्यवाद र जातप्रथामाथि प्रहार त ग¥यो तर आफै सत्तिसाल भएर उभिन सकेन । समाज परिवर्तनका लागि उठाइएका झण्डा आफै सडकमा लम्पसार हुनुप¥यो । व्यवस्था पनि परिवर्तन भयो राजा पनि ढल्यो तर समाजबाट पुरातनवादी सोच र प्रवृतिहरु भने हटेनन् (पृ. ३४६–३४७) । आदिवासी जनजाति आन्दोलन उठ्न नसक्नुमा उनी आफ्नै आन्तरिक कारण मुख्य कमजोरी भएको स्वीकार्छन् । आदिवासी जनजातिले आफ्नो मुद्दालाई ठीक ढंगले पुष्टि गर्नुको सट्टा अरुलाई गाली गर्नुमा आफ्नो शक्ति लगायो । बाहिर आदिवासी जनजाति एक हौ भन्ने तर आफूभित्र एक हुन नसक्नु ठुलो समस्याको रूपमा देख्छन् । आफ्नाका अघि दम्भले फुल्ने, आफै ठुलो पल्टिनुपर्ने तर अरुको अघि मुसो झैँ लम्पसार हुने प्रवृतिबाट मुक्त नभए केही नहुने उनको तर्क छ । उनी कवितात्मक शैलीमा लेख्छन्–

सधैँ झोला अर्काकै बोकेपछि,
सधैँ गीत अर्काकै गाएपछि,
उन्नति तिम्रो हुन्छ कहिले भन त ?
आफ्नो खुट्टा टेक्छौ कहिले भन त ?
सधैँ अर्काकै निगाहमा बाँच्ने तिमी,
अन्ततः दास नभए हुन्छौ के भन त ? (पृ. २७७) ।

माओवादी शान्तिवार्तामा आएपछि २०६३ सालमै उनले तामाङ राष्ट्रिय मुक्ति मोर्चाद्वारा काभ्रेको धुलिखेलमा आयोजित एक कार्यक्रममा भनेका थिए– एक त कम्युनिष्टहरू सत्तामा पुगेपछि विजयी उन्मादले मात्तिन्छन् । दम्भ र महत्वकांक्षा व्यवस्थापन गर्न नसक्दा कम्युनिष्टहरू असफल भएका विश्वमा धेरै उदाहरण छन् । दोस्रो, बाह्य शक्तिहरूले क्रान्तिकारीहरूलाई फुटाउन धराशायी बनाउन भर मग्दुर प्रयास गर्छन् । विभिन्न नाममा नेतालाई उचाल्न, थेचार्न र पार्टी फुटाउन प्रयत्न गर्छन् र अन्तमा कम्युनिष्टको सत्ता पतन हुनेछ (पृ. २८४) । अन्ततः उनको भनाई सही सावित भयो । त्यसैले क्रान्ति अपूरो भएको ठम्याईका साथ उनले अधुरो सपनालाई दबाएर बाँच्न बाध्य भएका अधुरो पहिचानको सपना र समतामुलक समाज बनाउन, सपना साकार गर्न अब ब्युँझने तिनै नयाँ पुस्तालाई यो पुस्तक समर्पण गरेका छन् ।

वर्गीय, जातीय मुक्तिका लागि हिँडेका योन्जनले आफ्नो व्यक्तिगत र पारिवारिक समस्यालाई कहिल्यै ध्यान दिएनन् । यतिसम्म कि जनादेश पत्रिकामा कार्यकारी सम्पादक भएर काम गर्दाको दिनमा पार्टी र पत्रिका कतैबाट पनि पैसा आउँदैनथ्यो । उनको परिवारको सुत्केरी हुने दिन नजिक आइसक्दा समेत खर्चको व्यवस्थापन हुन सकिरहेको थिएन । पैसा कमाउने दाईहरू हुँदाहुँदै पनि उनले कहिल्यै कुनै दाईको घरमा दुःख पोख्न गएनन् । उनी लेख्छन्– एकदिन महेश्वरजीले हिसिलाजीलाई मेरै अघि भन्नुभयो, जनादेशमा हामीले कति दिन कहिलेसम्म यसरी काम गर्ने हो ? कुमार दाईको भाउजु सुत्केरी हुने बेला भाछ । हामी पाँच हजार पनि व्यवस्था गर्न सक्दैनौ । पार्टी छ भनेर कसरी भन्ने ? यस्तो बेला पनि सहयोग गर्न नसके कहिले गर्ने ? (पृ. ११४) । यसरी घर बनाउँदाको ऋण, कमाई नहुँदा खाएको ऋण, ऋणको महिनैपिच्छे तिर्नुपर्ने ब्याजको आर्थिक समस्याले नराम्ररी पिरोलिँदा पनि घर बेचेर डेरामा सरे तर कसैसँग हात थाप्न गएनन् (पृ. २२९) । पछि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई आफैले फोन गरेर न्यायधीश नियुक्तिमा जानुप¥यो भनेपनि उनले सुरुमा अस्वीकार गरे । पछि घरपरिवार र साथीहरूको दबाबमा मात्रै प्रशासकीय अदालतको न्यायधीश बनेको उनले लेखेका छन् ।

जीवनका उकाली ओरालीलाई सुसेल्दै जहाँ पुगेपनि लेखक योन्जन आफ्नो आपाआमा र आफू जन्मेको गाउँठाउँ कहिल्यै विर्सन सक्दैनन् । आपाआमाप्रति उहाँको अपार श्रद्धा छ । उहाँको आपा दुर्ग बहादुर तामाङ आफैमा समाज परिवर्तनको विम्ब पात्र हुनुहुन्थ्यो जसले गाउँम मुखियाको घरमा सित्तैमा काम गर्ने झारा प्रथाको विरुद्ध लड्नुभयो । सम्भवतः उनमा पनि त्यहीँ गुण सरेको हुनुपर्छ । उनी लेख्छन्– आमाआपाको चरचरी फुटेको हातखुट्टा र उमेरमै मुजा परेको निधार देखेर हीनतावोध नगर किनकि ती तिमै्र लागि संघर्ष गर्दा बनेका हुन् । बरु तिनको हमेसा कदर गर, सेवा गर । यही तिम्रो धर्म हो (पृ. १९८) । त्यस्तै भोजपुर बजारदेखि ४० मिनेटको बाटोमा पुगिने पान्धारे आहाले गाउँ उनी कहिल्यै विर्सदैनन् । काठमाडौं हुँदै प्लेनको पखेटा हालेर दिल्ली र लण्डन उडेपनि लाखाङ बनाउने बहानामा होस् या ल्होछार मान्ने बहाना बनाएर ८, १० वर्षको अन्तरालमा उनी एकपटक टुप्लुक्क गाउँ पुग्छन् । पुस्तकमा लेखक पान्धारे आहालेको पानी पिउँदै ढुंगे डाँडोमाथि बसेर पढेको, गाईवस्तु चराएको र ओडारेखेतको रखवारी गरेको झलझली सम्झन्छन् । उनको बाल्यकालको धेरै समय तिनै डाँडाकाँडा, उकालीओरालीहरूमा खेलेरै बिते । त्यसैले त उनी लेख्छन्– हामी जहाँ पुगेपनि घर, गाउँ र यहाँका सपनाहरूसँग रमाउँछौ, यति मीठो सपना कहीँको लाग्दै लाग्दैन । अहिले हामीसँग तिनै सम्झनाहरू मात्रै बाँकी छन् ।

संघर्षको ६ दशक बिताएका लेखक योन्जनले पुस्तकको आखिरीतिर आफ्नो जीवनलाई पछाडि फर्किएर राम्रोसँग घोत्लिएका छन् । जिन्दगी बनाउन जाने चित्र, नजाने विचित्र भनेका उनको कथा पढ्दा साँच्चै विचित्रको लाग्छ । उनको ठम्याई छ– जीवनको अर्को नाम हो बग्दै जानु । जीवनको प्रयोगशालामा बग्दै जाँदा जीवनले भोग्ने अनगिन्ती ठक्करहरूले जीवनलाई पाठ पढाउँदै जाँदो रहेछ । त्यही पाठबाट सिक्दै जीवनको गति अघि बढ्दो रहेछ (पृ. ३६२) । उनी भन्छन्– जीवन पढ्ने होइन, भोग्ने पुस्तक रहेछ । यो माटोको भाँडो बनाउने चक्र जस्तै घुमिरहने चक्र रहेछ । आफ्नै जीवनलाई पछाडि फर्केर हेर्नु र विगतसँग सम्बाद गर्दै त्यसको राम्रा, नराम्रा पक्षलाई आफैले आत्मसमिक्षा गरेर पाठकलाई पनि आफ्नो समिक्षा गर्न उनले सुझाएका छन् । यसरी कृतिमार्फत आत्मसमिक्षा कमै मान्छेहरूले गर्छन् । तर उनले मज्जैसँग समिक्षा गर्दै उनकै भाषामा दूर पहाडबाट आएको एकजना फुटपाथे, सडकछाप मान्छे आफ्नो संघर्ष देखेर बेस्सरी रमाएका छन् । जीवनले मलाई सिकाएको कुरा हो, साँच्चो अर्थमा समाज बदल्छु भन्नेले पहिले आपैmलाई बदल्नु पर्छ । जसले आफूलाई बदल्न सक्दैन, उसले समाज पनि बदल्न सक्दैन (पृ. २४३) ।

जात व्यवस्था र धर्मप्रति उनको जड विश्वास छैन । जन्म कसैको बसमा हुँदैन । कुन कुल, कुन धर्म, कुन जात, कुन लिङ्ग, कुन विचार, कुन देश । यो सब पछि मान्छेले बनाएका र थपेका कुरा मात्र हुन् । केवल लिङ्ग मात्र जन्मसँग आउने हो । (पृ. ३०९) । धर्मको अर्थ समाजलाई जोड्ने हो । विभाजन गर्ने होइन । धर्मको अर्थ प्रेम हो, प्यार हो र समस्त जीवनको कल्याण हो । तर स्वार्थी लोभीपापीहरूले धर्मलाई उल्टो बनाईदिए । समाजलाई विभाजन गर्न वर्ण अनुसारको उचनिँचको निचतन कर्म गर्न लगाए । जो अमानवीय र विभेदकारी छ (पृ. ३१४) ।

अन्तमा, यो पुस्तक शोषण र उत्पीडनमा परेका वर्ग र समाजको मुक्तिको सपना देखेर संघर्षमा होमिएको एउटा सरल, सादगी र मितव्ययी जीवन बाँच्न चाहने अथक अभियन्ताको जीवनगाथा हो । जहाँ व्यक्तिचित्र मात्र नभई समग्र देशको जर्जर अवस्थाको चित्र पनि उतारिएको छ । नेपालको दूरदराज गाउँको प्राकृतिक, सामाजिक जीवनको चित्रण र समग्र मुलुकको राजनीतिक अन्तर्वस्तुको बारेमा समेत यस पुस्तकले राम्रो जानकारी प्रदान गर्दछ । पुस्तकमा गोरे बहादुर खपाङ्गी रामेछापमा जन्मिएको जस्ता सामान्य कमजोरी त छन् तर पुस्तक गज्जवको बनेर आएको छ । उनी हरेक विषयवस्तुलाई सामान्य प्रसंगबाट सुरु गर्छन् । जहाँ पाठकलाई शब्दजालभित्र फसेको अनुभूत हुँदैन । आफ्नै गाउँ, परिवेश, रनबनमा डुलिरहेको झैँ आभास हुन्छ । यत्ति धेरै कुरा जोडेर लेखिएपनि पुस्तकको कतिपय प्रसंगमा लेखकले एउटा विषय सुरु गर्छन् र कतिपय अवस्थामा अर्कैमा पुगेर टुंग्याउन पुग्छन् । यसो हुँदा पाठक एउटा दुलोबाट पसेर अर्कै दुलोबाट निस्केको जस्तो हुन्छ । तर जता लगेपनि उनी पाठकलाई थाहै नदिई गफैगफको सुरमा हिँडाउछन् जसले गर्दा पाठकले बाटो भुत्तिएको नै पत्तो पाउँदैनन् । कतिपय शीर्षकहरू यस्ता छन् कि लाग्छ लेखकले कुनै लेख लेखिरहेका छन् र आफ्नो विचार पोख्दैछन् । त्यत्तिबेला पाठकलाई कुनै वैचारिक पुस्तक पढ्दैछु भन्ने अनुभूत हुन्छ तर उनी त्यही लेखभित्र आफूलाई जोडिदिन्छन् । पत्रकार प्रतीक ङेसुरजीले हेर्नुभएको भाषिक शुद्धाशुद्धिको पक्ष धेरै हदसम्म सवल छ तर कतिपय तामाङ शब्दहरू आपा, आगु, ज्योज्यो, आस्याङको अर्थ खुलाएको भए गैर तामाङ पाठकको लागि अझ सहजता हुने थियो ।

आफ्नो घरपरिवार आपा, आमा, दाजुभाई, छोराहरू सबैको नाम यस पुस्तकमा जोडेका छन् तर उनको आफ्नै जीवन संगीनीको नाम भने यस पुस्तकमा छैन । उहाँको ६ दशकको सपना र संघर्षको आत्मकथामा यत्ति धेरै पाठकलाई जानकारी गराइसकेपछि त्यस्तो व्यक्तित्वको वैवाहिक जीवन, प्रेमकथा कस्तो होला ? भन्ने पनि पाठकले जान्न चाहन्छन् । तर उनले यो प्रसंगलाई उल्लेख नै गरेनन् । एकैपटक अस्पतालमा छोरा जन्मिएको प्रसंग उल्लेख गरिएको छ । यो पुस्तकभित्र यो पाटो पनि आएको भए अझ यो आत्मकथा प्रेमिल र खुल्ला हुने थियो । अर्को, उहाँको संघर्षपूर्ण जीवनकथामा नजिकबाट हरतरहले सहयोग पु¥याउने सहयोगी पात्र हुन्, उहाँको अर्धाङ्गिीनी अर्थात उहाँकै भाषा शब्दमा जहान । त्यो जहान भन्ने पात्रले उहाँलाई सफल बनाउन आधाभन्दा बढी काम गरेकिछिन् तर पुस्तकमा उहाँको नाम समेत छैन । यो उहाँको जहानप्रतिको अन्याय हो । अर्को, सपना विग्रेको कारणले डिप्रेसनमा गएको, आमाको मुख हेर्ने दिन, गुरु पद्मसम्भव प्रकट भएको, दिल्ली बस्दा सपनामा प्रचण्ड र बाबुराम देखेपछि नेपालमा भिडन्तको समाचार सुनेर आफै अचम्ममा परेको जस्ता प्रसंगहरू पनि पुस्तकमा उल्लेख गरिएका छन् । यसले लेखकको माक्र्सवादी बुझाईमा समस्या छ भन्ने देखाउँछ । यसले उहाँ जस्तो अनुकरणीय अभियन्ताको वैचारिकीमा विरोधाभाष जस्तो झल्कियो ।

समग्रमा पुस्तक पढ्दा नरिवल चपाए जस्तै चपाइरहुँ अर्थात् पढिरहुँ जस्तो लाग्छ । माध्यमिक तहको कक्षा ९, १० तिर त्यसबेलाको कोर्समा एउटा निवन्ध पढ्नुपथ्र्यो– घनघस्याको उकालो काट्दा । कुमार योन्जनजीको यो पुस्तक पढ्दा घनघस्याको उकालो हिँडे जस्तै लेखकसँग कतै हिँडिरहेको जस्तो अनुभूति हुन्छ । जहाँ लेखकको जीवनीसँगै उकाली, ओराली, घुम्ती पार गर्दै जाँदा पाठकलाई रत्तिभर थकानको महसुस हुँदैन । पाठकलाई पुस्तक नसकुन्जेलसम्म डो¥याईरहने यो लेखकको गज्जवको कला हो । यो पुस्तक एउटा समाज परिवर्तनको लागि हिँडेको अभियन्ताको जीवनकथा त हो तर यो जीवनकथामा मात्रै सीमित छैन । लेखकले यस पुस्तकमा पस्केका विभिन्न ३० वटा शीर्षकको विषयवस्तुमार्फत आफू जन्मेको गाउँको बखान मात्रै गरेका छैनन् कि समाजका तमाम शोषित, पीडित वर्ग, जाति, समुदायको लागि गरेको जातीय, वर्गीय संघर्ष, समाजको सामाजिक अन्तर्विरोधको यथार्थतालाई समेत राम्रोसँग पर्गेल्न सफल भएका छन् । यही द्वन्द्वात्मक गतिशीलताले पुस्तक पठनीय बनेको छ । अन्तमा फेरिपनि लेखकको निचोड लेख्न मन लाग्यो– हिजो हामी हिँड्दा जमिन थर्किन्थ्यो आज आफ्नै जिउ थर्किन थालेछ । सडकमा दाई, अंकल हुँदै बाबामा पदोन्नति हुने दिन आइसकेछ (पृ. ३०८) ।

ताजा गतिविधि

लेखहरु