सप्तरीमा पुगेर अध्यक्ष गोलेले भने, अब तामाङको क्रान्ति राजनीतिकतर्फ मोडिनुपर्छ

452

असोज ९, सप्तरी ।
नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङले तामाङ समुदायको सबैखाले सामाजिक, साँस्कृतिक आन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्न अब ढिला नगरी राजनीतिक क्रान्तिमा होमिन आग्रह गरे । घेदुङको सप्तरी जिल्ला भेलालाई गत बिहीबार सम्बोधन गर्दै गोलेले सो आग्रह गरेका हुन् । उनले भने– हामी समुदायगत रुपमा राजनीतिक रुपले उठ्न नसक्दा राज्यसत्ताले साह्रै हेप्यो ।

जुन चिजले हेप्यो, त्यसैको बिरुद्धमा लडेर मात्र मुक्ति पाउन सकिने उहाँको निष्कर्ष थियो । उनले भने, टुँडिखेलमा डम्फू बजाएर मुक्ति पाईदैन, डम्फूको काइरन जोगाउन पनि राजनीति नै गर्नुपर्छ । राजनीतिक लडाइँबाट सत्ता नजितेको भए बाहुनको संस्कृति हाम्रोभन्दा पनि गएगुज्रेको अवस्थामा पुग्ने गोलेले दाबी गरे ।

सम्बोधनको क्रममा तामाङ भाषाबाट समेत बीचबीचमा बोलेका गोलेले अगाडि भने– ह्याङ ह्राङ्बान आदिवासी जनजातिरी सुचिकृत मुबा मगर, गुरुङ, राई, लिम्बु थेन नेवारदा च्यागोदा । थे जुगुला अबस्था खान मुला, अनि ह्याङ तामाङला अवस्था खान मुला ? उहाँको प्रश्न थियो ।

तिनी तामाङदा जि, आइरक थुङ्सी न्होङ्बा रो । स्कुलरी निबा बेलारी तारगा सेसी ब्रासी न्होङ्बा रो बिसी आरोप मुला । उनले त्यसलाई ठाडै अस्वीकार गर्दै भने– थे आहिन, ह्याङ्दा राजनीतिसे चु हालतरी दोनालाबा हिन्ना । स्यान् जनजातिदा जंगे राणासे सोबा मुलुकी ऐनरी नमासिन्या मतवाली अनिम तामाङ्दा सेबारी मिल्ताबा, चुङ्बारी मिल्ताबा मासिन्या मतवालीरी बर्गिकृत लासी ह्याङ्दा खाइमाई तोर निबारी आपिन्नी । त्यही दिनबाट तामाङको दुर्दिन सुरु भएको उहाँले ठोकुवा गरे ।

देशको राजधानी काठमाडौं वरिपरि रहेको दुई मुख्य समुदाय तामाङ र नेवारको राजनीतिक, सामाजिक, शैक्षिक, आर्थिक लगायत हरेक अवस्थामा आकास जमिनको फरक हुनु राज्यसत्ताको बिभेदकारी ब्यबहार जिम्मेवार रहेको बताउँदै गोलेले यदि हामीमाथि त्यसखालको विभेद नभएको भए तामाङहरु नेपालकै सर्बोत्कृष्ठ जाति हुने दाबी गरे ।

अहिले आदिवासी जनजातिहरु बिगतको सहमति, सम्झौता बमोजिम संविधान संशोधनमार्फत ११ प्रदेश निर्माणको लागि आन्दोलन गरिरहेको उनले बताए । छिमेकी मुलुक भारतमा संविधान जारी हुने बखत १४ प्रदेश बनाइएको थियो, अहिले त्यहाँ २९ प्रदेश बन्यो । तर नेपालमा १४ प्रदेशबाट बहस प्रारम्भ गरेर ७ प्रदेशमा झार्नु उल्टो बाटो भएको उनको भनाई थियो । ताम्सालिङ प्रदेश निर्माणको सवाल माटोको लडाइँ भएको हुँदा यो कहिल्यै नहार्ने गोलेको उद्घोष थियो ।

एकअर्को प्रसंगमा उनले सत्ताले नपत्याएको यहीं तामाङ समुदायलाई मुलुक बनाउने जिम्मा दिए १० बर्षमा कायापलट गर्ने बताए । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई कार्यकारी प्रमूखको जिम्मेवारी दिएपछि ३ बर्ष अगाडि १८ घण्टासम्म लोडसेडिङ खेपेको मुलुकलाइ लोडसेडिङ मुक्त गराई घाटामा गएको प्राधिकरणलाई ७ अर्ब २० करोड नाफामा लगेको प्रसंगलाई पनि उनले जोडे ।

पार्टीको नेताहरु कमिसन र भ्रष्टाचारको दलदलमा फसेर पुँजिवादी क्रान्तिको हावादारी नारा बाँडिरहेको उनको आरोप थियो । पुँजिवादी क्रान्तिलाई पुरा गरेर मुलुकलाई समाजवादतर्फ लाने हो भने ठूलाठूला राष्ट्रिय उद्योगहरुको सञ्चालन गर्ने जिम्मा तामाङलाई दिन गोलेले आग्रह गरे ।

भेलालाई नेपाल तामाङ घेदुङका संघीय बरिष्ठ उपाध्यक्ष बेली लामा र संघीय सचिव रामकृष्ण ब्लोन लगायत अन्य आदिवासी जनजाति संघ, संस्थाका प्रमूख तथा प्रतिनिधिले समेत सम्बोधन गरेका थिए । जिल्ला अध्यक्ष सन्तमान गोले तामाङको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन सचिव सुर्यमान सिङ्दान तामाङले गरेका थिए ।

दिउँसो १२ बजे सप्तरी स्थित अग्नी साइर कृष्ण सवरण नगरपालिका बीरेन्द्र बजारबाट जिल्लाको विभिन्न स्थानीय तहबाट आएका प्रतिनिधिहरु विभिन्न नाराहरु लगाउँदै ¥याली सहित कार्यक्रम स्थलमा पुगेका थिए । त्यसपछि कार्यक्रम उद्घाटन र विभिन्न बक्ताहरुको शुभकामना मन्तब्य पश्चात सोही स्थानमा साँझ साढे ५ बजेबाट बन्द सत्र सुरु गरिएको थियो ।

घेदुङको संघीय अध्यक्ष मोहन गोले, बरिष्ठ उपाध्यक्ष बेली लामा र सचिव रामकृष्ण ब्लोनलाई अध्यक्ष मण्डलको रुपमा काम गर्न हलले ताली बजाएर समर्थन जनाएपछि बन्द सत्र सुरु गरियो । बन्द सत्रमा जिल्ला सचिव सुर्यमान तामाङले जिल्लाको रिपोर्ट प्रस्तुत गरेका थिए भने सप्तकोशी नगर घेदुङ बाट पूर्णबहादुर तामाङ, कञ्चनरुप नगर घेदुङबाट गोपाल तामाङ, अग्नी साईर कृष्ण सवरण नगरबाट सन्जमान तामाङ, रुपनी नगरबाट लालबहादुर योन्जन, सम्भुनाथ नगरबाट पदम तामाङले आफ्नो संस्थाको सांगठनिक गतिविधि तथा कार्यक्रमको बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदन प्रस्तुत भईसकेपछि प्रस्तुत प्रतिवेदनमाथि अध्यक्ष गोलेले थप सल्लाह, सुझाव दिनुहुँदै समसामयिक विषयमा प्रशिक्षण दिएका थिए । सचिव रामकृष्ण ब्लोनले सञ्चालन गरेको बन्द सत्रको समापन बरिष्ठ उपाध्यक्ष बेली लामाले गरेका थिए ।