नख्खु जेलमा माईला लामासँगको एकघण्टा

1009

मोहन गोले तामाङ

सबैको जनजिब्रोमा बसेको एउटा राष्ट्रिय सेलिब्रेटीको नाम हो माईला लामा । जो जनताको सबैखाले दुःख, पीडाको गीत गाउँदै र त्यसबाट उन्मुक्ति खोज्दै हिंड्ने प्रिय जनकलाकार हुन् । जसले दर्जनौ गीत लेखे । त्यसमा संगीत भरे । जनताको वस्ती वस्तीमा पुगेर भोकभोकै गीत गाए । योभन्दा पनि अर्को परिचय साँस्कृतिक कार्यक्रम सञ्चालन गर्दागर्दै दर्शक, श्रोतालाई कहिले धुरुधुरु रुवाए त कहिले एकैछिनमा रोइरहेका मान्छेहरुलाई आँशुसरी पारेर हँसाए । यस्ता अद्भुत कला, क्षमताका धनी र भिन्न प्रतिभा भएका ब्यक्तित्व हुन् माइला । पारिवारिक ब्याकग्राउण्डको बारेमा मलाई त्यति धेरै जानकारी छैन तर उनले दशबर्षे माओवादी जनयुद्धमा सक्रिय सहभागिता जनाए । त्यसक्रममा हातका केही औलाहरु काम नलाग्नेगरी गुमाएका छन् । आँखाको ज्योति र कानको श्रवण शक्ति समेत गुमेको छ । संसदीय ब्यवस्थासँग सम्झौता गरेर माओवादी पार्टी १२ बुँदे सम्झौतालाई टेकेर शान्ति प्रक्रियामा आयो । तर शारीरिक अवस्था कमजोर भएपनि उनको मुटु बलियो थियो र चेतना दर्बिलो थियो । उनलाई संसदीय राजनीतिको फोहोरी खेलमा चित्त बुझेन । त्यसैले अर्को क्रान्तिको लागि बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध हुन पुगे । उनै माईला लामा साउनको पहिलो साता भक्तपुर स्थित आफन्तको घरमा सुतिरहेको अवस्थामा मध्यराती पक्राउ परे । शायद अरु नेता पक्राउ पर्दा त्यति धेरैको सहानुभूति आए जस्तो लाग्दैन तर उनको पक्राउपछि सामाजिक सञ्जालमा ब्यापक असन्तुष्टि छायो । युद्धकालमा हालका गृहमन्त्री रामबहादुर थापासँगै खिचिएको माइलाको फोटोहरु सामाजिक सञ्जालमा केही समय भाइरल बनिरह्यो । देश, बिदेशबाट माइलालाई गणतन्त्र ल्याउन खेलेको भूमिकालाई कदर गर्दै रिहाई गर्न अनुरोध गरियो । निश्चय नै त्यो आग्रहभित्र माइलाको गीत, संगीतको तागतले काम गरेको होला अनि कार्यक्रममा श्रोता, दर्शकलाई प्रभावित पार्न सक्ने जादुमयी कलाको शक्ति पनि होला । यसरी परिवर्तनको लागि आफ्नो जीवन समर्पण गरेका एउटा होनहार कलाकार माइला लामा आफूसँगै युद्ध लडेका सहकर्मीहरुको सरकार हुँदाहुँदै पनि आज नख्खुको बन्द कोठाभित्र थुनिएका छन् ।

उहाँसँग मेरो यसअघि प्रत्यक्ष भेटघाट भएको थिएन तर दुईवटा कार्यक्रममा उहाँको प्रस्तुति हेरेपछि म प्रभावित भएको थिएँ । त्यसैले पनि उहाँ पक्राउ परेको समाचार सुन्नासाथ उहाँलाई कस्तो अवस्थामा राखिएको होला ? कहाँ र कसरी भेट गरेर उहाँको अवस्थाबारे बुझ्ने भन्ने खुल्दुली लागिरहेको थियो । यहि क्रममा मानवअधिकार तथा शान्ति समाज केन्द्र (काहुराष्ट) का केन्द्रीय सदस्य तथा अधिवक्ता बैकुण्ठ दाहाल जो मेरो राजनीतिक गुरु पनि हुनुहुन्छ । उहाँले काठमाडौं आएको बेलामा माईला लामालाई भेट गर्न जाऔ भन्नुभयो । उहाँ स्थापनाकालदेखि नै काहुराष्टलाई सक्रिय बनाउन लागिरहनु भएको ब्यक्ति पनि हो । साउन १९ गते दिउँसो ३ बजेतिर हामी नख्खु कारागार ललितपुरतर्फ लाग्यौ । हाम्रो साथमा अरु दुईजना साथीहरु रामभक्त बोम्जन र तुलसी अधिकारी पनि हुनुहुन्थ्यो । नख्खु कारागार पुगेर कारागार प्रमूखलाई माईला लामा भेट्ने कुरा ग¥यौ तर उहाँले सिडिओ सावको आदेश बिना भेट्न मिल्दैन भन्नुभयो । हामीले केही समय भेट्न पाउनुपर्ने तर्क त ग¥यौ तर त्यसदिन हाम्रो तर्कले काम गरेन । त्यसपछि निराश हुँदै फर्कियौ । तर उहाँले माथिल्लो तहमा जानकारी गराएर भेट गर्न दिने, नदिनेबारे खवर गर्छु भन्ने आश्वासनसम्म दिनुभयो । फर्किदा बाटोमा काहुराष्टका केन्द्रीय अध्यक्ष बिष्णुपुकार श्रेष्ठ लगायत केही जिम्मेवार ब्यक्तिहरुलाई भेट गर्न नदिएको भनेर फोनमार्फत जानकारी पनि गरायौ । तर भोलीपल्ट साउन २० गते जेलरबाट भेट गर्न मिल्ने खबर आयो । हामी चारैजना दिउँसो १२ बजे नख्खु कारागार पुग्यौ । कारागार प्रमूखले माईला लामालाई भेट गर्ने समय मिलाउनुअघि एकजना कर्तब्य ज्यान मुद्दामा अदालतको फैसलाले थुनामुक्त गर्ने आदेश पाइसकेका ब्यक्तिको समस्या सुनाए । उनी तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका वडा नं. ७ बस्ने नरबहादुर गुरुङको छोरा बर्ष ३५ का गौबहादुर गुरुङ रहेछन् । उनी हल्का सुस्त मनस्थितिको पाइयो । जसलाई २०७४/०१/१० गते उच्च अदालत पोखराले अभिभावक वा संरक्षकको जिम्मा लगाई थुना मुक्त गर्नु भन्ने आदेश भएपनि कोही आफन्त बुझ्न नआएपछि दुई बर्षदेखि त्यतिकै कारागारमै राखिएको रहेछ । उनलाई जिम्मा लगाउन नसक्दा कारागारमै अरुको खाना खुवाएर पाल्नु परेको समस्या सुनियो । करिब एकघण्टा उसलाई कसरी आफन्तको जिम्मा लगाएर पठाउने भन्ने सम्बन्धि जेलरसँग विभिन्न उपायहरुको बारेमा छलफल भयो । बैकुण्ठ दाईले केही कानूनी उपायहरु बताउनुभयो । मैले गुरुङ समुदायको राष्ट्रिय संस्थालाई जानकारी गराउँछु भने ।
त्यसपछि कारागार प्रमूखबाट माईला लामालाई बोलाउने निर्देशन भयो । हामी उहाँकै कार्यकक्षमा पर्खिरह्यौ । फोटो खिच्न मिल्दैन भनेर जेलरले पहिले नै हामीलाई सचेत गराए । करिब १५ मिनेटपछि माईलालाई लिएर सशस्त्रको डिएसपी साव आउनुभयो । संगीतमा ब्यस्त रहेकोले केही ढिला भएको उहाँले सुनाउनु भयो । जेलमा बस्दा पनि उहाँको मुहारमा कुनै चिन्ता छचल्किएको थिएन, उत्तिकै हँसिलो मुद्रामा हुनुहुन्थ्यो । बैकुण्ठ दाईसँग पुरानो चिनजान भएकोले दुवैजनाले अंकमाल गरेर खुशी साटे । मसँग प्रत्यक्ष भेटघाट भएको थिएन तर परिचय दिएपछि तपाईको नाम घेरैपटक सुनेको उहाँले बताउनु भयो । पहिलो, हामीले उहाँको स्वास्थ्य स्थितिको बारेमा सोध्यौ । दोस्रो, उहाँको मानवअधिकारको स्थितिको बारेमा बुझ्न चाह्यौ । कसरी पक्राउ पर्नुभयो र जेलमा बन्दी भएर बस्दा कस्तो महसुस गरिरहनु भएको छ ? राजनीतिक बन्दीलाई गर्ने यहाँको ब्यबहार कस्तो छ ? आदि सोध्यौ । तेस्रो, सरकारले बार्ताको कुरा गरिरहेको छ । यसमा तपाईको धारणा के हो र मुलुकको अवस्था कस्तो देख्नुहुन्छ ? भनेर सोध्यौ । चौथो, नेपालमा धेरैपटक क्रान्ति भएपनि जनताले धोका मात्रै पाइरहेका छन्, बिप्लबले धोका दिँदैन भनेर कसरी बिश्वास गर्ने ? आदि प्रश्नहरु गरेपछि उहाँ धाराबाहिक रुपमा बोल्न थाल्नुभयो । बोलिरहँदा लाग्थ्यो, माईला लामा हामी ४ जनाको बीचमा मात्रै बोलिरहेका छैनन् । उहाँ हजारौ दर्शकको अगाडि उभिएर कुनै जनसाँस्कृतिक कार्यक्रमको उद्घोषण गरिरहेको छ झैँ अनुभूति हुन्थ्यो । बोलीमा क्रान्ति सम्पन्न भएरै छाड्ने दृढ विश्वास भेटिन्थ्यो ।

उहाँले आफ्नो स्वास्थ्य स्थिति ठीकै रहेको जानकारी गराउनु भयो । उहाँमा सुगर, प्रेसरको समस्या रहेनछ । आँखा र कानको समस्या माओवादी जनयुद्धकै भएकोले त्यो अलि बढेको महसुस गर्नुभएकोले कारगार प्रशासनमा यसअघि नै चेकअपको लागि अनुरोध गरिसक्नु भएको थियो रे । त्यो कुरा हामीलाई अघिल्लो दिन पनि कारागार प्रमूखले जानकारी गराउनु भयो तर उहाँ कुन डाक्टरसँग, कुन हस्पिटलमा जाने भन्ने प्रष्ट हुनु भएपछि लाने भनेका छौ भन्नुभयो । दोस्रो दिन पनि माइला लामाले हाम्रो अगाडि जेलरलाई त्यही आग्रहको कुरा सुनाउनुभयो । उहाँले भन्नुभयो– मलाई अस्पताल लैजादा प्रहरीले माईला लामा कतै भाग्ला कि बाटोमा गाडिबाट हाम फाल्छ कि भनेर कुनै चिन्ता लिनु पर्दैन । किनकि माईलाको संघर्ष राज्यसँग हो । प्रहरीसँग कुनै दुश्मनी छैन । त्यसैले प्रहरी दाजुभाईको जागीरलाई अप्ठ्यारोमा पारेर म कतै भाग्ने वाला छैन । यसमा ढुक्क हुनोस् ।

उहाँलाई बाध्यबादनका सामाग्री हारमोनियम र बाँसुरी पनि उपलब्ध गराईएको रहेछ । त्यसबाट जेलमा रहेका अरु कैदीबन्दीहरुलाई संगीत सिकाउने, आफू पनि सिक्ने र नयाँ गीतहरु लेख्ने साथै संगीत गर्न सजिलो भएको उहाँले बताउनु भयो । यसबाट उहाँ मुक्त भएका बखत थुप्रै अझ खारिएका जनताका गीतहरु लिएर आउने सम्भावना देखिन्छ । तर त्यति धेरै कैदी बन्दीहरु हुँदाहुँदै पनि राज्यले उत्पादनमूलक काममा नलगाएर त्यतिकै राखिरहेकोमा भने उहाँले गहिरो चिन्ता ब्यक्त गर्नुभयो । देशैभरिका बन्दीहरुलाई बेकारमा राख्नु हुँदैन, काम दिनुपर्छ । यो कुरा राज्यको कानमा पु¥याईदिन उहाँले आग्रह गर्नुभयो । अहिले सत्तामा रहेका नेताहरु पनि धेरै जना नख्खु कारगारमा बसेको तर जेललाई सुधार गृहको रुपमा विकास नगरेकोमा उहाँले चासो ब्यक्त गरेपछि बैकुण्ठ दाईले अब ती नेताहरु फेरि पक्राउ परेर आए जेलमा राख्नु हँुदैन, ट्वाइलेटमा राख्नुपर्छ भन्नुभयो । माईला, हामी सबैजना एकछिन हास्यौ ।

राज्यले प्रतिबन्ध लगाइसकेको अवस्थामा कसरी पक्राउ पर्नुभो भन्ने जिज्ञासामा उहाँले आफैले विश्वास गरेको मान्छेहरुको षडयन्त्रबाट सुतिसकेपछिको अवस्थामा पक्राउ गरिएको बताउनु भयो । यसरी कसैले सुराक नदिएको भए माईला लामालाई पक्राउ गर्न त्यति सजिलो नहुने उहाँको कुरा थियो । पक्राउ गर्दा कुनै दुब्र्यबहार भयो कि भन्ने प्रश्नमा उहाँले त्यस्तो दुब्र्यबहार केही नभएको बताए । केहीले कुमार पौडेललाई जस्तै इन्काउन्टर गर्छन् पनि भनिएको थियो । तर त्यस्तो केही भएन । बरु प्रहरी साथीहरुले पक्राउको क्रममा रमाईलो कुरा गरे– ५, ६ महिनादेखि धेरै दुःख गरेर माईला दाईलाई खोजिरहेका थियौ, बल्ल भेटियो भने । यहाँनेर जनताको प्रिय कलाकार त्यसमाथि पनि आँखाको ज्योति र कानको श्रवण शक्ति कमजोर भइसकेका माईलालाई शारीरिक यातना, दुःख दिनु प्रहरीलाई उपयुक्त नलागेको पनि हुनसक्छ । प्रहरीले धेरै दिनसम्म माइलालाई हिरासतमा राखेर सोधपुछ गर्न पनि सक्थ्यो तर उहाँलाई चाँडै नक्खु कारागार चलान गरियो ।

कुरा राख्ने क्रममा आफ्नो ब्यक्तिगत समस्यालाई उहाँले कहिल्यै ठूलो ठाने जस्तो हामीलाई अनुभूत भएन । त्यसलाई सामान्य रुपमा लिनुभयो । भेटघाटको छोटो समय उहाँले ब्यक्तिगत समस्यामा कम र राजनीतिक समस्यामा नै बढी खर्चनु भयो । उहाँको कुरा थियो– मर्न तयार भएको मान्छेहरुको लागि कैदी जीवन जीउनु ठूलो कुरा होइन । तर जब उहाँ पार्टीले गरेका गतिविधि, देशको दुरावस्था र बार्ताको प्रसंग उठेपछि भने अत्यन्तै चनाखो भएर प्रस्तुत हुन थाल्नुभयो । एनसेल टावरमाथि गरिएका विष्फोटनको बारेमा उहाँको स्पष्ट भनाई थियो– हामीलाई एनसेलका मान्छेहरुले पैसामा किन्न खोजियो । चन्दा नदिएको कारण टावर हानिएको हल्ला चलाइयो । तर त्यसो होइन । म आफैपनि उहाँहरुसँग छलफलमा बसेको छु । हामीले उनीहरुलाई प्रष्ट भन्यौ– राज्यलाई कर तिर । राजनीतिक पार्टीहरुलाई चन्दा दिएको आडमा कर नतिर्न मिल्दैन । कि कर तिर यदि तिर्न सक्दैनौ भने कम्पनी बन्द गर । हामीले भनेको यही हो । अझै उनीहरु कर तिर्दैनन् र अटेर गर्छन् भने उनीहरुमाथि अझै कारवाही भइरहनेछ ।

अर्को प्रसंगमा उहाँले भन्नुभयो– हाम्रो उदयमा प्रचण्डको अवसान छ । त्यसैले हामीबाट सबैभन्दा बढी डराएका छन् भने प्रचण्ड नै डराएका छन् । उहाँको आक्रोश थियो– यही संसदीय ब्यवस्थाको लागि हो भने हामीलाई किन युद्धमा लडाइयो । कसैलाई ऐसआरामको लागि अरबौ सम्पति जोड्नु थियो भने गरिब, दुःखी जनताको छोराछोरीलाई किन मारियो । यसकारण प्रचण्डबाट देश र जनताको लागि ठूलो धोका भएको छ । आखिर प्रहरी मरेपनि माओवादी मरेपनि सबै नेपाली जनता नै मरेका थिए । यही ब्यवस्थामा त चुनाबबाट पनि आउन सकिन्थ्यो होला । हाम्रो यसमा असहमति हो ।

हामीले उहाँलाई बार्ताबाट शान्तिपूर्ण राजनीतिमा आउनुस् । तपाईहरु बार्तामा बस्न चाहदैन भन्ने सरकार पक्षको आरोप छ । कम्तिमा जनतालाई बिप्लव नेतृत्वको नेकपा बार्ता चाहन्छ भन्ने देखाउनको लागि पनि बार्तामा बस्नुपर्छ भनेर आग्रह ग¥यौ । उहाँले भन्नुभयो– हामी बार्ता बिरोधी होइनौ । तर सरकार बार्ता चाहँदैन । एकातिर बार्ताको ढोंग रच्छ, अर्कोतिर हाम्रो नेता, कार्यकर्ता साथीहरुको हत्या गर्ने, गिरफ्तारी गर्ने गरिरहेको छ । त्यसकारण सरकार बार्ता चाहिरहेको छैन । बार्ता साँच्चै गर्ने हो भने त हत्या, गिरफ्तारी बन्द गर्नुप¥यो । सरकारको तर्फबाट अफिसियल पत्र चाहियो भन्ने उहाँको तर्क थियो । जबसम्म अफिसियल पत्र पठाइदैन त्यो बेलासम्म बार्तामा हामी आउन सक्दैनौ । यो नाटक मात्र हुनेछ ।

नेपाली जनताले २००७ सालयता पटक पटक क्रान्ति गरेका छन् । तर धोका मात्र पाएको इतिहास साक्षी छ । बिप्लवले पनि भोली धोका दिँदैन भन्ने के छ ? भनेर सोध्यौ । उहाँले भन्नुभयो– विश्वास गर्ने कुरा हो यो । बिप्लवलाई प्रचण्डसँग बसेको भए थुप्रै अवसर प्राप्त हुन सक्थ्यो । मलाई पनि थुप्रै अवसर आएको थियो । एकपटक उपकुलपति पनि बनाइयो, ब्यवस्था नै ठीक नलागेपछि मैले अस्वीकार गरे । त्यसकारण हामीले पैसा र पदको लागि संघर्ष गरेका होइनौ । नेपाली जनताको जर्जर अवस्था, भ्रष्ट कर्मचारीतन्त्रमा आमूल परिवर्तन हुनुपर्छ भनेका हौ । पुँजिवादी ब्यवस्था रहेसम्म नेपाली जनताले सुख पाउने छैनन् । प्रधानमन्त्री केपी ओलीले जतिसुकै टुक्का जोडेर समृद्धि ल्याउँछु भनेपनि त्यो सम्भव छैन । यो सारा बिकृति, बिसंगति पुँजिवादी ब्यवस्थाले निम्त्याएको हो । हामी यसको अन्त्य चाहन्छौ र यो ब्यवस्थासँग सम्झौता गरेर जाने छैनौ ।

घेदुङ जस्तो सामाजिक संगठनको सन्दर्भमा उहाँको बुझाई बिदेशी शक्तिहरुले डलर देखाएर फसाउँछन् भन्ने रहेछ । यसमा सचेत हुन उहाँले मलाई आग्रह गर्नुभयो । मैले आपूm घेदुङको नेतृत्वमा आइसकेपछि राजनीतिक मुद्दालाई स्थापित गराउन लागि परेको बताउँदा उहाँ केही खुशी हुनुभयो । उहाँको खसनेपाली भाषा प्रस्तुति शैली देख्दा मलाई लागेको थियो, तामाङ भाषा बोल्नमा माइला लामालाई केही समस्या होला तर बिदा हुने बेलामा मैलेभन्दा पनि अझ राम्रोसँग तामाङ भाषामा केही शब्दहरु बोल्दै दरिलोसँग हात मिलाउनु भयो । यस्ता ब्यक्तित्वलाई आफैसँग लिएर जान पाए हुन्थ्यो भन्ने मनमा लागिरह्यो र छाड्न नसकेर केही समय हात समाइरहेँ ।
(माइला लामासँगको कुराकानीमा आधारित)