क. प्रचण्ड ! जिब्रो जहाँबाट लर्बरियो, त्यहीबाट सच्याउनोस्

776

मोहन गोले तामाङ

असार १० गते म पूर्वी एशियाको क्षेत्रीय सम्मेलनमा भाग लिन थाइलैण्डको बैंकक पुगेको थिएँ । राती होटेलमा बसेर फेसबुक हेर्दै जाँदा एउटा अनलाईन समाचार देखे । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग सम्बन्धित समाचारको शिर्षक थियो– मैले बिप्लवलाई काठमाडौं ल्याएको हुँ, तामाङनी केटीलाई जस्तै मुम्बई पु¥याएको होइन । उहाँले चितवन स्थित भरतपुर महानगरपालिकाको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यो प्रसंग जोड्नुभएको रहेछ । यो प्रसंग बिद्रोही नेकपाका महासचिव बिप्लवले केही बर्ष अगाडि आफूसँगको भेटमा बोलेको भनिएको छ तर बिप्लवले बोले कि बोलेनन्, यो विषय प्रचण्डलाई मात्रै थाहा हुने कुरा हो । किनकि हामीसँग त्यसको रेकर्ड छैन र शायद अरु देखिजान्ने, सुनिजान्ने साक्षी पनि छैनन् । पत्रकारले समाचारको शिर्षक बंग्याएका हुन् कि भनेर भिडियो पनि हेरे, मज्जैले टाउको तन्काएरै गर्वका साथ बोल्नु भएको देखियो । उहाँ जस्तो भाषण कला भएको नेता नेपालमा कमै देख्छु । नेपाली राजनीतिका एक चतुर खेलाडी क. प्रचण्डको जिब्रो कसरी लर्बरियो ? भिडियो हेरेर म अचम्मित भएँ ।

समाचार र भिडियो हेरेपछि यस्तो सन्दर्भ प्रचण्डले नै कसरी जोड्नु भयो होला भन्ने मनमा लागिरह्यो । नुवाकोटकै तामाङ केटीकै किन उदाहरण दिईयो ? भनेर सञ्जालमा कारण खोतलौ कि भन्ने पनि लाग्यो तर कसैले नउठाएको विषयमा म एउटा जिम्मेवार मान्छेले नै किन राखौ भनेर पोष्ट गरिन । त्यसको भोलिपल्टदेखि यो विषय एकाएक सामाजिक सञ्जालमा भाइरल बन्न थाल्यो । मलाई पनि धेरैतिरबाट साथीहरुको फोन, मेसेज आयो । यो विषयमा घेदुङको धारणा के हो ? किन घेदुङ बोल्दैन ? भनेर साथीहरुले लगातार सोध्न थाल्नु भो । म १२ गते काठमाडौं आइपुगे । उपलब्ध साथीहरुसँग यस विषयमा केही समय छलफल चल्यो र सल्लाहकार ज्यूहरुसँग पनि परामर्श लिने कुरा भयो । केही नेतृत्वसँग कुराकानी भएपछि हामी एउटा विज्ञप्ती जारी गर्नेमा पुग्यौ । त्यसअघि मैले घेदुङको तर्फबाट प्रचण्डकोमा डेलिगेसन जाने र उहाँको कुरालाई बाहिर ल्याएपछि पुग्छ भन्ने सोचेर पार्टी निकट केही तामाङ नेतृत्वसँग भेटघाट मिलाईदिन अनुरोध पनि गरे । उहाँसँग भेटघाटको समय मिलेको भए सम्भवतः यो केस त्यही दिन सकिन्थ्यो होला । तर उहाँहरुबाट प्रचण्डसँग भेटघाट सम्भव नहुने भनेपछि विज्ञप्ती जारी गर्ने बाहेक हामीसँग अरु उपाय भएन ।

जसअनुसार असार १३ गते अध्यक्ष क. प्रचण्डलाई यस सम्बन्धमा स्पष्ट पार्न र गल्ती सच्याउन अनुरोध गर्दै विज्ञप्ती जारी गरियो । सामाजिक सञ्जालमा संयमित ढंगले प्रस्तुत हुन साथीहरुलाई आग्रह पनि गरिएको छ । विज्ञप्तीमा महासचिव बाबु घिसिङ ज्यूको हस्ताक्षर छ तर ड्राफ्ट मैले नै गरेको हुँ । घेदुङको प्रायः हरेक डकुमेन्टमा महासचिव ज्यूको नै हस्ताक्षर रहने चलन बसाएका छौ । एउटा साझा संगठनले जारी गर्ने डकुमेन्टमा सबैको सल्लाह र सन्तुलित भाषाको पनि खोजी गर्नुपर्ने हुँदा केही ढिला भएको भने सही हो । यसैलाई लिएर केही अनलाईन मिडियाले अघिल्लो दिन विज्ञप्ती जारी नगर्ने कुरा भएको थियो । बिदेशीको दबाबमा परेर घेदुङ अध्यक्ष मोहन गोलेले विज्ञप्ती जारी ग¥यो । महासचिव बाबु घिसिङले अध्यक्षको निर्देशनपछि फटाफट विज्ञप्ती टाइपु गर्न थाल्नु भयो । यस्ता एकदमै कपोलकल्पित, निराधार र अन्दाजको भरमा समाचार लेखे । म पत्रकार साथीहरुलाई आग्रह गर्छु– यसखालको आधारहीन समाचार नलेख्नोस् । यसले तपाईको पत्रकारिता पेशाको इमान्दारितामा प्रश्न उठ्छ र तपाईको मिडियाको वजन पनि घट्छ । म पनि १० बर्षभन्दा बढी पत्रकारिता गरेरै आएको मान्छे हुँ । केसम्म लेख्नु मिल्छ ? र के लेख्नु मिल्दैन ? त्यो मलाई राम्रो ज्ञान छ । हामी कसैको दबाबमा काम गर्ने संगठनको मान्छे होइनौ ।

विज्ञप्ती जारी भइसकेपछि विदेश स्थित थुप्रै मुलुकमा क्रियाशिल तामाङ संस्थाहरुले समर्थनमा विज्ञप्ती जारी गर्नुभयो । यसप्रति म सबै संस्थाहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । केहीले त यस अघि नै विज्ञप्ती जारी गरि उक्त अभिब्यक्तिको गहिरो भत्र्सना गरिसकेका पनि थिए । मलाई लागेको थियो, तामाङ समुदायको यति गम्भीर विषयको कुरा उठ्दा तामाङहरु गुठी विधेयकमा नेवार समुदाय एकजुट भएजस्तै एकठाउँमा उभिनेछन् । तर त्यस्तो भएन । घेदुङले विज्ञप्ती जारी गरेपछि तामाङ समुदाय दुई धारमा विभाजित भयो । विज्ञप्तीमा धेरैको समर्थन रह्यो भने केहीले प्रचण्डको बचाउँ गरे । ब्यक्तिगत रुपमा मलाई र संस्थागत रुपमा घेदुङलाई गाली गर्ने धेरै देखियो । केहीले विदेशमा रहेका साथीहरुलाई पनि गाली गर्नुभयो । यसमा मेरो कुनै आपत्ती पनि छैन । किनकि हरेक नयाँ बहसमा पक्ष र विपक्ष देखिनु नियम संगत कुरा हो । यही द्वन्द्वपछि एउटा निष्कर्ष निस्किन्छ र समाज अघि बढ्छ ।

वास्तवमा मलाई के लाग्छ भने, दुनियाँमा हेर्दा मानिस मानिस बीचमा सूचना सम्पे्रषण गर्ने ३ तरिकाहरु प्रयोगमा छ । पहिलो अति गोप्य कुरा हुन्छन्, जो दुईजनाको बीचमा मात्र सम्प्रेषण गरिन्छ । त्यस्ता कुरा सम्प्रेषण गर्न २ जना बीचमा कानेखुशीको माध्यम अपनाईन्छ । दोस्रो २, ४ जना साथीहरुको बीचमा गफ वा छलफलको क्रममा ब्यक्त गर्ने कुरा हुन्छ र तेस्रो आम मासमा माईकबाट सबैलाई सुनाउने गरी बोलिने कुरा हुन्छ । दुईजनाको बीचमा गरिने कानेखुशी सम्बाद २, ४ जनाको बीचमा बोल्न मिल्दैन । बोलेमा गोपनियता भंग हुनजान्छ र त्यसले समस्या ल्याउँछ । त्यसैगरी २, ४ जनाको बीचमा गफगाफको क्रममा बोलिने कतिपय कुरा आम मासमा बोल्न मिल्दैन । यहाँ प्रचण्डले बिप्लवसँग २ जना बीचमा बोलेको कुरा आम मासमा बोलिदिए । भाषणमा अलि बहकिने प्रचण्डको यहाँ नै गल्ती भयो । उनले नुवाकोटको महिला मात्रै भनेका भए शायद तामाङ समुदाय यति धेरै आक्रोसित हुने थिएनन् होला । तर उनले लामो समय राज्यको उत्पीडन भोगेको तामाङ समुदायको पीडा बल्झिने गरी तामाङ केटी र मुम्बईको प्रसंग जोड्नुभयो । यसैमा एकाथरीको तर्क के छ भने प्रचण्डले त बिप्लवको कुरा बोलेका हुन्, माफी मगाउने हो भने बिप्लवलाई पो भन्नुपर्छ । बिप्लवले बोले कि बोलेनन् भन्ने एकमात्र साक्षी प्रचण्ड मात्रै हुन् । त्यो कुरा सुन्ने अरु छैनन् । यदि बिप्लवले प्रचण्डसँग त्यो कुरा बोलेको हो भनेर प्रमाणित हुन्छ भने उसप्रति पनि हामीले आपत्ती जनाउनु पर्छ । तर प्रचण्डको त हामीसँग रेकर्डेड भनाई छ । त्यसकारण यसले कोसँग, कुन बेलामा, कुन प्रसंगमा बोलिएको हो ? भन्ने कुराले अर्थ राख्दैन । यदि कसैले अर्काले बोलेको कुरालाई पो हाम्रो नेताले बोलेका हुन्, हाम्रो नेताको दोष छैन भन्छ भने त्यो फितलो तर्कले यहाँ प्रचण्डको बचाउ गर्न सकिदैन । दुनियाँको बदलिँदो चेतले मान्नेवाला छैन ।

तामाङ समुदायको राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङले विज्ञप्ती जारी गरेको आज लगभग हप्ता दिन हुन लागिसक्यो तर प्रचण्ड स्रोतबाट गल्ती सच्याउने बारे कुनै प्रतिक्रिया आएको छैन । हामी हेर्दैछौ र अझै पर्खदैछौ । सडकमा मान्छेको टाउकाहरु जम्मा पारेपछि मात्रै सच्याउने हो भने त्यो पनि गरौला । जजसले जेजे तर्क गरेपनि म एउटा निष्कर्षमा पुगे– १० बर्षको हिंसात्मक जनयुद्धमा १७ हजार नेपाली जनताको छातीबाट बगेको रगतले पनि प्रचण्ड दाहालको आत्माभित्रको ब्राम्हाणवादलाई बगाउन सकेनछ । किनकि कोही न कसैप्रति कुनै ढंगको पूर्वाग्रह छैन भने त्यो मान्छेको मुखबाट यसरी कुरा फुत्किदैन । यसले गणतान्त्रिक युगमा पनि शासकहरुको अझै तामाङ जनताप्रति हेर्ने दृष्टिकोण परिवर्तन भएको छैन भन्ने पुष्टि भएको छ । यदि बिप्लवले यही नै भाषा प्रयोग गरेका हुन् भने उसमा पनि ब्राम्हाणवाद जीवित छ भन्नुपर्छ । यसमा प्रचण्डले बिप्लवलाई र बिप्लवले प्रचण्डलाई दोष दिएर उन्मुक्ति पाउनेवाला छैन । ढिलोचाँडो प्रचण्डले यसलाई सच्याउनु पर्छ । जति ढिला ग¥यो, उहाँलाई त्यति नै घाटा हुनेछ । नेतालाई करेक्सन गर्ने सवालमा कार्यकर्ताहरु बाधक बन्नु हुँदैन । किनकि हाम्रो करबाट पालित पोषित नेतालाई सच्याउनु र खबरदारी गर्नु जनताको अधिकार र कर्तब्य दुवै हो ।

घेदुङको विज्ञप्तीपछि केही साथीहरुले मलाई भने– ३ नं. प्रदेशलाई नेवाः ताम्सालिङ नामाकरणको बहस चलिरहेको बेलामा यसरी प्रचण्डलाई प्रश्न गर्नु हुँदैन थियो रे । उहाँ तामाङसँग रिसाएर नेवाः ताम्सालिङ बिरुद्धमा गयो भने हाम्रो मुद्दा के हुन्छ रे । उहाँ उत्पीडित जाति, समुदायको लागि १० बर्ष जनयुद्ध लडेर आउनु भएको महान् मान्छे भएको हुँदा उहाँमाथि शंका गर्नु हुँदैन थियो रे । तर यथार्थ अलि फरक छ– उहाँले उत्पीडित समुदायको लागि लडेको प्रसंग फरक विषय हो र अहिले उहाँको अभिब्यक्तिले तामाङ समुदायको आत्मसम्मानमा चोट पुगेको कुरा फरक विषय हो । उहाँले १० बर्ष जनयुद्ध लडेको विषयले अहिले तामाङ समुदायमा चोट पुगेको कुरा छोप्न मिल्दैन । उहाँ जस्तो राजनेताले तामाङसँग रिसाएर नेवाः ताम्सालिङको बिरुद्धमा जाने, बदला लिनेतर्फ जान्छ भन्ने पनि मलाई लाग्दैन । यो त उसको स्कुलमा थोरै दिन पढेका कार्यकर्ताको कमजोर मानसिकताको गलत आँकलन मात्र हो ।

त्यसैले क. प्रचण्डलाई म फेरिपनि आग्रह गर्दैछु– हामी तामाङहरु बिगतमा जंगे राणाको कानूनले मासिन्या मतवाली (किनबेच गर्न मिल्ने र मार्न पनि मिल्ने) समूहमा बर्गिकृत गरिएका समुदाय हौ । जसले गर्दा हाम्रो आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक अवस्था डमाडोल पारियो । हामी इतिहासमा ठगिएका मान्छेहरु, अहिलेपनि मानवीय विकास सुचांकमा ज्यादै पछाडि छौ । ब्यक्तिगत रुपमा भन्नुपर्दा हाम्रो लागि केही गर्छ कि भन्ने मेरो थोरै आशा तपाईसँगै छ । नेपाली राज्यसत्ताको केन्द्रबिन्दूमा रहेको कारणले अझै तपाईप्रतिको विश्वास मरेको छैन । त्यसैले क. प्रचण्ड जिब्रो जहाँबाट लर्बरियो, त्यहीबाट सच्याउनोस् । यसैमा तपाईलाई फाईदा छ नत्र भविष्यमा त्यस्ता छाडा जिब्रोलाई इतिहासले दण्डित गर्न सक्छन् । धन्यवाद ।।