प्रचण्डको अभिब्यक्तिप्रति घेदुङको आपत्ती

142

१३ असार, २०७६ काठमाडौं ।

तामाङ समुदायको राष्ट्रिय साझा संस्था नेपाल तामाङ घेदुङले नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को अभिब्यक्तिप्रति आपत्ती जनाएको छ ।

दाहालले केही दिनअघि भरतपुर महानगरपालिकाको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नुवाकोटको तामाङ केटीलाई बिबाह गर्छु भनेर काठमाडौं ल्याएपछि मुम्बई पु¥याए जस्तै भनेर बोलेका थिए । उक्त भनाई बिद्रोही नेकपाका महासचिव बिप्लवले भनेको कुरालाई प्रसंगवस जोडेको भनिएपनि यसखालको अभिब्यक्ति सार्वजनिक कार्यक्रममा बोल्नु नहुने घेदुङको निष्कर्ष रहेको छ ।

घेदुङका महासचिव महितकुमार तामाङद्वारा जारी विज्ञप्तीमा नेपाली राजनीतिमा उत्पीडित समुदायको आशाको केन्द्रविन्दू मान्दै आएको पूर्व प्रधानमन्त्री प्रचण्डले नै यसखालको उदाहरण दिनुले तामाङ समुदायको आत्मसम्मानमा गहिरो चोट पुगेको उल्लेख छ ।

घेदुङले उक्त अभिब्यक्तिको सन्दर्भमा आम तामाङ समुदाय समक्ष प्रष्ट पार्न र यसलाई सच्याउन दाहाललाई आग्रह गरेका छन् । साथै यस विषयलाई लिएर सामाजिक सञ्जालमा संयमित ढंगले प्रस्तुत हुन समेत घेदुङले सबैलाई अनुरोध गरेको छ ।

हेर्नुहोस् विज्ञप्तीको पूर्ण पाठ ः–
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले चितवन स्थित भरतपुर महानगरपालिकाद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेकपाका महासचिव बिप्लवसँगको बिगतको वार्तालापको प्रसंग जोड्दै “नुवाकोटको तामाङ केटीलाई बिबाह गर्छु भनेर काठमाडौं ल्याएपछि मुम्बई पु¥याए जस्तै” भनेर दिनुभएको अभिब्यक्तिप्रति तामाङ समुदायको राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङको गम्भीर ध्यानाकर्षण भएको छ ।
यसअघि प्रकाशित राष्ट्रिय दैनिक पत्रिका गोरखापत्रमा लोकसेवाको वस्तुगत प्रश्नोत्तरमा समुदायगत रुपले नै तामाङ जातिलाई अपराधी बनाउने हिसाबले प्रश्न सोधिनु, यसैगरी नेपाल टेलिभिजनबाट प्रसारित हास्य टेलिश्रृंखला भद्रगोलमा सुन तस्करी तामाङ भाषा बोल्ने पात्रलाई बनाउनु र पछिल्लो पटक पूर्व प्रधानमन्त्री जस्तो ब्यक्तिले समेत सोही आसयको प्रसंग जोडेर अभिब्यक्ति दिनुले राज्य र त्यससँग सम्बन्धित ब्यक्ति, निकायको तामाङ समुदायलाई हेर्ने दृष्टिकोण अझै पुरानै रहेको हाम्रो निष्कर्ष छ ।
नेपाली राजनीतिमा उत्पीडित समुदायको एउटा आशाको केन्द्रविन्दू मान्दै आएको पूर्व प्रधानमन्त्री प्रचण्डले नै बिगतदेखि शोषण, दमन र उत्पीडन भोग्दै आएको समुदायमा थप भ्रम र दुविधा उत्पन्न हुनेगरी तामाङ केटी र मुम्बईको प्रसंग जोड्नुभएपछि समस्त तामाङ समुदायको आत्मसम्मानमा गहिरो चोट पुगेको छ । नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त गणतान्त्रिक युगमा तामाङ जनतालाई हेर्ने दृष्टिकोण पनि बदल्न जरुरी छ ।
तसर्थ, प्रसंगवस जोडिएको उक्त अभिब्यक्तिको सन्दर्भमा प्रष्ट पार्न र यसलाई सच्याउन हुन नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गर्दछौ । साथै यो सवाललाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिक्काटिप्पणीहरु भईरहेका छन् । यस सम्बन्धमा हामी आफैभित्र विभाजित नभई संयमित ढंगले प्रस्तुत हुन समेत आम समुदायमा हार्दिक अनुरोध गर्दछौ ।