बैंकक घोषणा पत्र जारी गर्दै पूर्वी एशिया सम्मेलन सम्पन्न

238

अन्तर्राष्ट्रिय तामाङ परिषद्को पूर्वी एशिया क्षेत्रीय सम्मेलनले ५ बुँदे बैंकक घोषणापत्र जारी गर्दै सम्मेलन सम्पन्न गरेको छ । पूर्वी एशियाको क्षेत्रीय सम्मेलन थाईलैण्डको पर्यटकीय सहर बैंककमा जुन २२ र २३ मा सञ्चालन भएको थियो ।

घोषणापत्रमा तामाङ सभ्यताको विकास भएको नेपालको ताम्सालिङ भूमिलाई संघीय गणतन्त्र नेपालमा ताम्सालिङ प्रदेश निर्माण गर्न एक्यबद्धता जनाउँदै सबैखाले सहयोग उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरेको छ । त्यसैगरी तामाङ जातिको हरेक अवस्थालाई आर्थिक रुपले सशक्त बनाउँदै लैजान पूर्वी एशिया अन्तर्गत तामाङ संघ÷संस्था क्रियाशिल रहेको मुलुकहरुमा एक संस्था–एक कोष बृद्धि कार्यक्रम र एक संगठन–एक विपद् कोष समेत निर्माण गर्ने भएको छ ।

पूर्वी एशियाको सबै मुलुकहरुमा ताम्बा, लामा र बोन्बोको नेतृत्वमा एक साँस्कृतिक संयन्त्र निर्माण तामाङ भाषा तथा लिपि विकासको कार्यक्रमलाई घोषणापत्रमा समेटिएको छ । भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय तामाङ गुम्बा तथा नेपालको ताम्सालिङ क्षेत्रभित्र तामाङ जातिको विविध पक्ष झल्किने तामाङ साँस्कृतिक भवन निर्माणको कार्यमा सहयोग जुटाउने प्रतिवद्धता ब्यक्त गरेको छ ।

यसैगरी तामाङ समुदायको स्वः विकास तथा समृद्धिको क्षेत्रमा टेवा पु¥याउन संसारभरि विभिन्न ब्यापार, ब्यवसायमा आवद्ध तामाङ ब्यापारीहरुको अन्तर्राष्ट्रिय भेला गराई एक लगानी कोष निर्माण गर्ने र तामाङ समुदायको विकास, समृद्धि तथा पूर्वी एशिया अन्तर्गत विभिन्न मुलुकमा बसोबास गर्ने तामाङ जातिको विविध खाले समस्या समाधान गर्न अन्तर्राष्ट्रिय तामाङ परिषद्को क्षेत्रीय समन्वय समिति मार्फत पहल गर्ने हङकङ तामाङ घेदुङका अध्यक्ष तथा क्षेत्रीय समन्वय समितिका सचिव विश्वनाथ घिसिङले बताए ।

सम्मेलनले अन्तर्राष्ट्रिय तामाङ परिषद्को उपाध्यक्ष अस्मिता वाईबाको अध्यक्षतामा पूर्वी एशिया क्षेत्रीय समन्वय समिति गठन गरेको छ । समितिको सचिवमा हङकङ तामाङ घेदुङको अध्यक्ष विश्वनाथ घिसिङलाई सचिवमा सर्वसम्मत चयन गरेको छ ।

यसैगरी सदस्यहरुमा बोइस लामा– तामाङ समाज थाइलैण्ड, स्नेहा लामा– तामाङ संघ कोरिया, फुर्बा मोक्तान– नेपाल तामाङ घेदुङ मलेसिया, हेमबहादुर तामाङ– तामाङ घेदुङ मकाउ र दिप लामा– तामाङ समाज म्यानमार रहनु भएको छ ।

अन्तर्राष्ट्रिय तामाङ परिषद्ले मिरिक सम्मेलनपछि पहिलोपटक क्षेत्रीय स्तरमा पूर्वी एशियाको सम्मेलन सम्पन्न गरेको हो । यसपछि अन्य ठाउँमा पनि क्षेत्रीय स्तरमा सम्मेलनको तयारी भइरहेको परिषद्का बरिष्ठ उपाध्यक्ष टासी लामाले बताए ।

सम्मेलनमा पूर्वी एशिया अन्तर्गतको मुलुकहरु थाइलैण्ड, जापान, हङकङ, मकाउ, कोरिया, म्यानमार र मलेसियाका प्रतिनिधिहरुले भाग लिएका थिए । यसक्रममा नेपाल तामाङ घेदुङबाट घेदुङका ४० भन्दा बढी अभियानकर्मीहरु र ताम्बा, लामा, बोन्बो सहित तामाङ कलाकारहरु प्रेम लोप्चन, सोनाम बज्यु र कृष्ण वाईबा समेतको उपस्थिति रहेको थियो ।