सामन्तवाद, पुँजिवाद र नारी सौन्दर्य चेत

183

मोहन गोले तामाङ

केही दिन अघि म काठमाडौैको ब्यस्त बजार क्षेत्र न्यूरोडबाट सुन्धारातर्फ क्रस गर्दै थिएँ । २ जना टिन एजर केटीहरु मेरो सामुन्ने आइपुगे । उमेरले १५ नाघेका र २० नकटेको जस्तो देखिन्थ्यो । उनीहरुको पहिरनमा मेरो आँखा गयो । एउटीले छोटो जिन्स हाफपेन्ट लगाएकी थिई भने अर्कीले घुँडामाथि र मुनिको भागमा झुर्ना भएर प्वाल परेको पाईन्ट लगाएकी थिईन् । त्यो कपडा पुरानो भएर च्यातिएको नभई नयाँमै प्वाल पारिएको थियो । माथिल्लो भागमा दुवैको काखी र नाईटो नछोपिने हरियो र पहेँलो रंगवाला भेष्टको पहिरन थियो । केश दुवैको पुरै अमेरिकने कलर । शीरदेखि पाउँसम्म कपडा लगाएको गाउँले पहिरन हेर्ने बानी परेको मेरो चेतनाले आजपनि यसखालको भड्किलो पोशाकमा नारीहरुलाई देख्दा मनमनै अनेकन प्रश्न गर्छ । त्यस्तो दृष्य देखेपछि म अझैपनि लजाउँछु र अन्यन्त्र आँखा डुलाउँछु ।

म २०२८ सालतिर पहाडको अति नै भोक, अभाव र रोगबाट समस्याग्रस्त गाउँमा जन्मेको हुँ । थोरै थाहा पाउँछु– २०३९/४० सालतिर नेपालमा जुनबेला सामन्तवाद मौलाएको थियो । त्यसताका गरिब, दुःखी, दलित, जनजाति समुदायका मान्छेहरु समाजमा अपहेलित भएर बाँच्नु पथ्र्यो । समाजमा धनी र आडम्बरीहरुको बोलवाला थियो । म किशोरवस्थाको ती दिनहरुलाई आजपनि उत्तिकै सम्झिन्छु– त्यसबेला नारीहरु बर्षदिनमा एकपटक तिजको दिनमा रमाईलो गर्थे । दिनभरि भोकभोकै पतिको दिर्घायुको नाममा पानी पनि नपिईकन ब्रत बस्ने र रातभर जाग्राम बस्थे । महेन्द्रले गाएको गीत जस्तै पत्नी मरेर गएपनि पति बाँच्नुपर्छ भन्ने समय थियो त्यो । जाग्राम बस्दा उनीहरु निन्द्रा हटाउन संगिनी गाउँथे । एकैखाले विभेद, शोषण र उत्पीडन भोगेका महिला साथी, संगीहरु एकसाथ दुःख साटासाट गर्दै गाईने गीत हुनाले संगीनी भनिएको होला भनेर म अड्कल काट्छु । संगिनीमा उनीहरुको गीत हुन्थ्यो– एकै जोर परेवा दाईजो देउ माईती राजा…………………। माईतीलाई राजा भनेर सम्बोधन गर्नुको अर्थ यहाँनेर उसलाई ठूलो मान्छे बनाएर परेवा दाईजो जसरी भएपनि लिइछाड्ने चेलीको एकमात्र उद्देश्य देखिन्छ । पूर्वी पहाड र तराईमा परेवा प्रजातिको चरा देवीदेवताको नाममा पूजाआजा गरिने र मासुको लागि बिक्री समेत हुने हुँदा धेरैले पाल्ने गर्छन् । त्यसताका परेवा, कुख्रा, बाख्रा छोरीचेलीको पेवा हुन्थ्यो । यस्ता जीवहरुको पेवापात धेरै हुने चेलीहरुलाई राम्रो मानिन्थ्यो । पेवापात हुने अबिबाहित चेलीको छिटै बिबाह हुने र बिबाहितलाई पनि घरमा दाईजोवाला श्रीमति भनेपछि हेलाहोचो नगर्ने चलन थियो । त्यसैले मेरो बिचारमा सजिलै दिन पनि सकिने हुनाले चेलीले माईतीसँग परेवा दाईजो मागेको हुनुपर्छ । संगीनी गीत निकै लामो हुन्थ्यो तर यसभन्दा अरु गीतको शब्दहरु मलाई याद छैन । यस्ता गीतहरु बाहुनी, क्षेत्रीनी महिलाहरुले बढी गाउँथे । जनजाति समाजमा सम्भवतः महिलामाथि विभेद कम भएको कारणले पनि यस्ता गीतहरु गाइएको सुनिदैन थियो । उनीहरु बर्षभरिको आफ्नो पीडालाई माइतीघर आएको बखत गीतमार्फत यसरी ब्यक्त गर्थे ।
त्यसताका नारीले रमाईलो गरे, खुशीले हासेमा समाजले छिल्लिएकी, नकच्चरी, बेस्या आदिको रुपमा चित्रित गथ्र्यो । उनीहरुले खुलेर रमाईलो गर्नु पुरुषबाट टाढा अर्थात नदेखिने हुनुपथ्र्यो । पुरुषको अगाडि रमाईलो गर्न बर्जित जस्तै थियो । उनीहरु खुशीले आफ्नो मनको कुरा खोल्ने भनेको रत्यौली खेल्ने दिन मात्र हुन्थ्यो । रत्यौली भनेको बेहुलाको बिहे घरमा जन्ती गएको रात मात्रै नारीहरु भेला भएर रमाईलो गर्ने एक प्रकारको पर्व जस्तै हो । त्यस दिन गाउँका सबै पुरुषहरु जन्ती जाने हुँदा गाउँमा महिलाहरु मात्रै हुने भएकोले उनीहरुलाई बोल्न, हास्न, नाच्न छुट हुन्छ भनिन्थ्यो । त्यसैले रत्यौली खेल्ने बेहुलाको घरमा त्यस रात पुरुषहरु जानु हुँदैन भनिएपनि हामी लुकीछिपी जान्थ्यौ र हेथ्र्यौ । उनीहरु कहिले गीत गाउने, कहिले नाच्ने त कहिले केराको थामको घोडा बनाएर चढ्ने गर्थे । यसरी एकदिन भएपनि रत्यौली आफ्नो दुःख बिर्सने थलो बन्थ्यो । पछिल्ला दिनहरुमा बिहे घरबाट गएकै दिन बेहुली लिएर जन्ती फर्किन थालेपछि रत्यौली संस्कृति पनि हराएर गयो ।

तर आजको नारीहरु तिजमा एकै जोर परेवा दाईजो देउ माइती राजा…………भन्दै संगिनी गाउँदैनन् । कोमल वलीको गीतमा पोइल जान पाम् शिब, पोइल जान पाम् भन्दै नाईटो देखाएर नाच्छन् । पानी पनि नखाई ब्रत बस्ने नारीहरुमा जुस, फलफूल खाँदा हुन्छ भन्ने मान्यताको विकास भइसकेको छ । शायद पेटभरि भातै खाएर ब्रत बस्ने दिन पनि त्यति धेरै टाढा छ जस्तो लाग्दैन । २०४० सालदेखि २०६० साल लगभग २० बर्षको बीचको अवधिमा नारी चेतनामा यति परिवर्तन आइसक्यो । यो सामन्तवादी संस्कृतिको अन्तपछि पुँजिवादी संस्कृतिले ल्याएको परिवर्तन हो । सामन्तवादी राज्य ब्यवस्थामा नारीहरु शीरदेखि पाउँसम्म ढाकिएको कपडा लाउँथे । नारीको खुट्टाको छेपारी देखिनु पनि त्यसताका अनौठो मानिन्थ्यो । तर उनीहरुको शरीर पुर्ण रुपमा पुरुषको कब्जामा हुन्थ्यो । स्त्री शरीरलाई नानी जन्माउने इन्जिनको रुपमा मात्र लिइन्थ्यो । पल्लो घरको लोग्नेले श्रीमतिलाई कुट्यो भने वल्लो घरको मान्छे नारी चिच्याहट सुनेर पनि उसैको स्वास्नी हो, जे गर्छ गरोस् भन्दै कान थुनेर बस्थ्यो । हिन्दू समाजले बिबाहमै बाबुले छोरीलाई मारे पाप पाले पुन्य भनेर छाकजुठो बारेर नै कन्यादान गर्छन् । मतलव त्यस कालखण्डमा नारीहरु बिबाह मण्डपमा घुमेकै दिनदेखि पुरुष अधीनको वस्तुमा रुपान्तरित हुन्थ्यो । अहिलेका नारीहरु पुरुषको त्यसखाले बाघे पञ्जाबाट मुक्त त भएका छन् तर ताप्केबाट उफ्रेको माछी भुङ्ग्रोमा भने झैं दलाल पुँजिवादले उनीहरुको शरीरमा नराम्रोसँग ब्यापार गरिरहेको छ । नारी सौन्दर्य चेतले नबुझेको पक्ष हो यो ।

पुँजिवादले नारी सौन्दर्यतालाई बहुराष्ट्रिय कम्पनीबाट उत्पादित तयारी माल बिक्रिको लागि प्रयोग गरेको छ । कुनैपनि बहुराष्ट्रिय कम्पनीको तयारी मालको विज्ञापनमा सामन्ती कालखण्डमा देखाउन नमिल्ने स्त्रीको भित्रि अंगलाई प्रदर्शन गर्न लगाईन्छ । उनीहरुलाई कहिले हातको दुईवटा औला ठड्याउने त कहिले क्याटवाक भन्दै अनेक हाउभाउमा नखरायुक्त तालिम गराइन्छ र टेलिभिजनको स्क्रीनमा नचाइन्छ । सामन्ती कालमा शरीरको भित्रि अंग देखिने गरी च्यातिएको कपडा लगाउनु दोषयुक्त मानिथ्यो । अझ हिन्दू शास्त्रीय मान्यताले त यसमा कडा आपत्ती जनाउँछ । तर पुँजिवादले नयाँ कपडा नै प्वाल पारेर उत्पादन ग¥यो र महिलाको घुँडाभन्दा माथि तिघ्राको सेतो मासु देखाउनु आधुनिक सभ्यता हो भनेर परिभाषित ग¥यो । सामन्तवादले बन्धनको रुपमा पहि¥याइदिएको चुरा, पोते, छड्के तिलहरी र कल्ली जस्ता गहनाहरु पुँजिवादले फुकालिदियो र नारीलाई नाङ्गो रुपमा प्रस्तुत ग¥यो । नारी यसैमा क्या स्वतन्त्र भएको अनुभूति गर्दै फुरुङ्ग भयो तर पुँजिले आफ्नो शरीरमा ब्यापार गरेको बुझेन । किनकि त्यस वापत उसलाई तयारी माल उत्पादकले पैसा दिएको छ । पुँजिवादले केही हजारको लगानीमा अरबौको ब्यापार गर्छ र नाफा कमाउछ । यो ब्यापारिक नीति हो । जो हामी बुझ्दैनौ ।

सामन्ती युगमा बिबाहका बखत आदिवासी समाजले छोरीलाई कुटो, कोदालो, हँसिया जस्ता सामानहरु उपहार दिन्थ्यो । अझ चेपाङ समुदायमा त चिउरीको बोट नै छोरीलाई दाइजो दिने चलन थियो । छोराछोरी जायजन्म भएपछि जब छोरीले घर गर्छ भन्नेमा माइती पक्ष विश्वस्त हुन्थ्यो तब बाख्रा, कुख्रा, गाईको बाच्छी दाईजो दिएर पठाइन्थ्यो । ती उत्पादनका अति आवश्यकीय साधनहरु छोरी भोकै नबसोस् र गरिखाओस् भनेर माइतीबाट दिइएको हो । आजको पुँजिवादमा मोबाईल, टेलिभिजन, कम्प्युटर, मोटरसाईकल जस्तो बिलासिताका महंगो सामानहरु उपहार दिइन थालेको छ । पहिले पहिले आफ्नै घरमा उत्पादित सामाग्री उपहार दिइन्थ्यो भने आज बहुराष्ट्रिय कम्पनीबाट निर्मित वस्तुहरु उपहार दिन थालियो । यसले गर्दा आजकल यस्ता महंगो दाईजो, उपहार दिन नसक्ने छोरीचेलीहरु घरेलु हिंसामा पर्ने गरेका घटनाहरु जताततै सुनिन्छ । मोटरसाइकल दाईजो नपाउँदा तेजाब खन्याएर श्रीमतिको हत्या गर्ने यो चेत बिदेशी सामान बेच्ने दलाल पुँजिवादले ल्याएको बिकृति हो ।

दलाल पुँजिवादले गर्दा यो सत्तालाई पनि दलाली बनायो । इन्डियामा बनेको ६० हजारको मोटरसाइकल २०० प्रतिशत भन्सार जोडेर २ लाखमा नेपाली जनतालाई बेच्ने केपी ओली सक्कली दलाली हुन् । जो आज अग्र्यानिक खाना खाइरहेका गाउँमा रारा चाउचाउको प्याकेट र कोकोकोलाको बोतल पुग्नुलाई विकास भन्दै समृद्धिको रटान लगाइरहेका छन् । यो सोच र चिन्तन बिल्कुलै गलत मात्रै होइन, उल्टो नै छ । भनेको यो पुँजिवाद नेपाली मौलिकतामा हुर्किएको छैन । त्यसैले यसले यहाँको सभ्यता चिन्दैन । पश्चिमाहरुको तयारी सामान बेच्न आयातित पुँजिवादमा नेपाली नारी आफ्नो पनमा जिउन सक्ने अवस्था छैन । नारी सौन्दर्य चेत पनि पुँजिवादी हावासँगै उडिरहेको छ । अब सजिलै फर्काउन सक्ने अवस्था पनि देख्दिन । नेपाली चेलीहरु नाताले हाम्रो आमा, दिदी, बहिनी, श्रीमति हुन् तर केशको रंगदेखि कपडाको स्टाइल र शरीरभरि खोपिएको ट्याटु हेर्दा नेपाली चेली भनेर चिनाउने संकेत पाईन छाड्यो । नारीहरु आजको दुनियाँमा नेपाली चेली भएर बाँच्ने अभ्यास गरिरहेका छैनन् । तसर्थ, यसले भावी दिनमा हाम्रो समाज कहाँ पु¥याउँला ? हामी कता हिडिरहेका छौ ? मेरो चिन्ता र चासो यहाँनेर हो । सुझाव र सल्लाह दिने अनि समाजलाई सही दिशामा अघि बढाउने जिम्मेवारी तपाईहरुको पनि हो । धन्यवाद ।।