शेरबहादुरदेखि बिजय लामा प्रकरण ः पुरानै कथाको पछिल्लो इपिसोड

667

मोहन गोले तामाङ

जंगे राणाले जारी गरेको १९१० को मुलुकी ऐनले तामाङलाई मासिन्या मतवाली अर्थात अछुतभन्दा एक स्टेप माथिको दर्जामा राख्यो । तामाङ जस्तै अरु जनजातिहरु राई, मगर, गुरुङ र लिम्बुलाई नमासिन्या मतवालीमा राखियो । राणाहरुको शासनकाल १०४ बर्षसम्म यो कानूनलाई कठोर रुपमा लागू गरियो । पञ्चअपराध गरेमा बाहुनलाई चारपाटा मात्र मुडिन्थ्यो भने तामाङको टाउको गिडेर छुट्याइन्थ्यो । राणा शासनको लामो कालखण्डमा पढ्न, लेख्न त अरुलाई पनि प्रतिवन्ध थियो तर तामाङहरुलाई सेनामा भर्ति हुन समेत प्रतिवन्ध लगाइयो । दरबार बनाउने, मर्मत गर्ने कामको लागि तामाङ युवाहरूलाई भर्ना गरी जंगी जगन्नाथ नामको पल्टन खडा गरे । तर तामाङ जवानहरूलाई सेनाको मान्यता समेत नदिई पीपा÷गोश्वाराको दर्जामा राखियो । हाल उक्त पल्टनलाई बन्दोबस्ती अड्डा नामाकरण गरिएको छ । यसैगरी दरबारमा राणाजीको लागि हुक्का/तमाखु भरिदिने हुक्के, राणाको सवारी भएको बखत छाता ओढाईदिने, घोडाबाट झर्दा ढाँड थापिदिने छाते, बैठक कोठा सफा गर्ने, कुर्सी मिलाउने बैठके, राणाको छोराछोरी हुर्काउने सुसारेमा तामाङ युवा÷युवतीलाई प्रयोग गरियो । दरबारको भ¥याङको प्रत्येक सिडिमा बिबाह नगरी केटी बस्ने तामाङ युवतीहरुलाई राखिन्थ्यो र उनीहरुको सम्बेदनशील अंगमा समात्दै राणाजीहरु सिडी ओहोरदोहोर गर्थे ।

यसले गर्दा तामाङहरु राजनीतिक, सामाजिक, शैक्षिक, आर्थिक हरेक अवस्थामा पछाडि परे । यसको असरले गर्दा राजधानी नजिकै भएर पनि तामाङहरुको आर्थिक अवस्था अहिलेपनि कर्णालीको भन्दा तल छ । राज्यले छुवाछुतपूर्ण ब्यबहार गरेर आर्थिक रुपमा उठ्नै नदिएको दलित समुदायको हाराहारीमा तामाङको अवस्था देखिन्छ । पाँचौ ठूलो भाषिक समुदाय भएर पनि साक्षरता दरको स्थान ५८ औं स्थानमा छ । नेपालको साक्षरता दर ५३.७% पुग्दा ३४.४०% तामाङहरू मात्र पढ्न, लेख्न जान्दछन् । ३८.१०% तामाङ बालबालिकाहरू स्कुल जान सकिरहेका छैनन् । स्कुल गएकामध्ये पनि १७.३% ले मुस्किलले माध्यमिक शिक्षा उतिर्ण गर्छन् भने ०.७% मात्र प्रमाणपत्र तह र स्नातक तहसम्म पुगेका छन् । नेपालको गरिबी दर ३०.८% तर तामाङको गरिवी दर दोब्बर बढी ६१% रहेको छ । शिशु मृत्युदर प्रति हजारमा १४२ जना, बाल मृत्युदर ९८ जना र आयुदर ५२ बर्ष रहेको छ जुन अन्य जाति, समुदायको तुलनामा ज्यादै बढी हो । एउटै भूगोलमा बस्ने अर्को आदिवासी जनजाति समुदाय नेवारको हरेक अवस्था बाहुनको हाराहारीमा हुनु र तामाङ समुदायको हरेक अवस्था दलितको हाराहारीमा हुनुबाट तामाङमाथि गरेको ऐतिहासिक अन्याय मुख्य कारण हो । यसरी तामाङको जीवन बत्ति मुनिको अँध्यारो जस्तो भयो ।

नेपालको राजधानी काठमाडौं उपत्यका र त्यस वरपर रहेको ९ वटा जिल्लालाई प्रमूख थलो बनाएर बसेको तामाङ समुदायमाथि शासकहरुले यसरी निर्मम ढंगबाट दमन, शोषण गर्नुको पछाडि केही कारणहरु थिए । पहिलो त तामाङले पृथ्वीनारायण शाहको गोर्खाली फौजी अभियानमा अन्य जनजातिले जसरी सहयोग गरेनन् । किनकि यो अभियानले आफ्नो अस्तित्व समाप्त पार्छ भन्ने विषयमा तामाङ पूर्खा जानकार थिए । उनीहरुले आफ्नो गणराज्यलाई गोर्खे आक्रमणबाट बचाउन सक्दो प्रतिरोध गरे । यसक्रममा थुप्रै ठाउँमा लडाइँ भएका छन् र तामाङ जनताले अन्तिम समयसम्म लडे । जसले गर्दा तामाङ समुदायमाथि पृथ्वीनारायण शाहको कुदृष्टि रह्यो । जुन चश्मालाई पछिल्ला शासकहरुले पनि फेरेनन् । आजसम्म सोही नजरले हेरिरहेका छन् । दोस्रो, इतिहासको विभिन्न कालखण्डमा तामाङहरुले स्वतन्त्रताको लागि बिद्रोह गरेका छन् । राजा रणबहादुर शाहको शासनकाल वि. सं. १९३८ र राजा गिर्वाणयुद्ध विक्रम शाहको शासनकाल बि. सं. १९४२ मा सेनामा भर्ति भएका तामाङहरूले पाँच बर्षको अन्तरालमा लगातार दुईपटक सैनिक विद्रोह गरे । तर सफल भएनन् । विद्रोहमा उत्रिएका तामाङ सैनिकहरूको त्यसबेला निर्ममतापूर्वक हत्या गरियो । विद्रोहका कारण सबै तामाङ सेनालाई खारेज नगरेपनि अधिकार कटौती गरी हातहतियार बोक्न नपाउने बनाए । यसबाट तामाङहरुले बिद्रोह गर्छन् र राज्य खोस्छन् भन्ने त्रास सधैं शासकलाई परिरह्यो । यसपछि पल्टनमा तामाङहरुलाई भारी बोक्ने, पाल टाँग्ने, दाउरा खोज्ने र रसदपानी ओसारपसार गर्ने आदि काममा मात्र लगाइयो । तेस्रो, आफूहरुमाथि समुदायगत रुपमा विभेद गरेपछि नेपाल र तिब्बत बीचको युद्धमा चिनियाँ फौज बेत्रावतीसम्म आइपुग्दा रसुवा र नुवाकोटका तामाङहरूले रोकेनन् । चिनियाँ फौज काठमाडौं पस्ने भय बढेपछि नेपाल सरकार बेत्रावती सन्धि गर्न बाध्य भयो । जुन सन्धिमा तामाङ बसोबास रहेको क्षेत्र केरूङ र कुतिको दक्षिणी भाग तिब्बतलाई छाडिदियो । यसबाट तामाङहरूको माङ्ह्युल क्षेत्र अर्थात मूख्य भूमि नै टुक्रियो । युद्ध समाप्त भएपछि तिब्बती फौजलाई नरोकेको आरोपमा त्यस क्षेत्रका तामाङहरुमाथि राणा शासकले नरसंहार नै मच्चायो । कतिपय तामाङहरु आफ्नो किपट थलो छाडेर भागे । त्यस काण्डमा शिवपुरी उत्तरका कतिपय तामाङ बस्ती उजाड बनेको इतिहासकारहरु बताउँछन् । पुरूषहरूलाई मारिदिए । आइमाईहरूलाई दासी बनाए भने कतिपयलाई तिब्बतमा पु¥याएर बिक्री गरे । यस घटनामा राणाहरुले ५ सय बढी तामाङहरूको सामुहिक हत्या गरेको अनुमान छ ।

जहाँनिया राणा शासनको अन्त्यपछि नेपालमा थुप्रै परिवर्तनका संघर्षहरु भए । ती सबै संघर्षमा तामाङहरुले इमान्दारिताका साथ लडे । यसक्रममा निर्दलीय पञ्चायती ब्यवस्थाको अन्त भयो । एकात्मक, केन्द्रीकृत राज्य ब्यवस्थाको अन्त भयो । बंशानुगत शाही राजतन्त्रको अन्त भयो । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य ब्यवस्थामा रुपान्तरित भयो । संविधानले नै बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक, बहुधार्मिकताको विविधतालाई स्वीकार ग¥यो । तर राज्यको तामाङप्रति हेर्ने दृष्टिकोण आजसम्म फेरिएको छैन । पूर्व कानुन मन्त्री शेरबहादुर तामाङले बंगलादेशमा एमबिबिएस पढ्न जाने नेपाली छात्राहरुले भोग्नुपरेको समस्यालाई लिएर एउटा कार्यक्रममा गम्भीर चिन्ता ब्यक्त गरेका थिए । उनले यसखालको बिकृती हटाउन आफू लाग्ने प्रतिवद्धता ब्यक्त गरे । केही गरौ भन्ने उद्देश्यका साथ ओली नेतृत्वको मन्त्रीमण्डलमा सामेल हुन पुगेका तामाङको यो प्रतिवद्धता आफैमा राम्रो थियो । तर उनले बोलेको विषय राम्रो हुँदाहुँदै पनि अर्थको अनर्थ लगाइयो । योजनावद्ध रुपमा केही पार्टीका र केही बाहिरी रुपमा स्वतन्त्र भनेर चिनिन चाहने महिलाहरुलाई उचालियो र राजीनामा दिन बाध्य पारियो । अहिले भर्खरै बायु सेवा निगमका प्रवक्ता बिजय लामालाई टेलिभिजनको अन्तर्वार्तामा बोलेको विषयलाई लिएर निलम्बन गरियो । उनले अन्तर्वार्तामा आफू अलिक थकित र तनाबमा छु भनेका हुन् । यस्तो थाकेको मान्छेले काम गर्न सक्दैन भनेर स्पष्टिकरण सोधियो । मान्छे इन्जिन त होइन । थाक्छ, निन्द्रा लाग्छ, तनाबमा पर्छ । कुराकानीको क्रममा मलाई यस्तो भएको छ भनेर भन्न पनि नपाउने कस्तो मुलुक हो नेपाल । यसरी एकपछि अर्को गर्दै श्रृंखलावद्ध रुपमा तामाङ फिगरहरुमाथि आक्रमण भइरहेका छन् । जब कि ओली गृहबाट पालित पोषित सरकारका प्रवक्ता गोकुल बासकोटाज्यू हजार पटक जिब्रो चिप्ल्याएर पनि ओलीकै तुजुकमा ब्यंग्यबाणको नक्कल गरिरहेका छन् । पार्टीका महासचिव बिष्णु पौडेल बालुवाटार जग्गा प्रकरणमा मुछिएर पनि छाती चौडा पारेर हिंडिरहेका छन् । नेपाली राजनीतिमा बासकोटा र पौडेल जस्ता यस्ता थुप्रै गन्दे पात्रहरु छन् जो जनतामा डुङ्डुङ्ती गन्हाइरहेको छ । सामाजिक सञ्जालमार्फत सारा जनताले तिनको क्रियाकलाप देखेर उल्टी गरिरहेका छन् तर राज्यलाई गन्हाउँदैन । जसलाई गन्हाउनु पर्ने हो, उसैलाई नगन्हाएपछि कसले कारवाही गर्ने ? उसको नाली दुर्गन्धलाई प्रधानमन्त्री ओली र सरकारका प्रवक्ता बासकोटाजी अत्तरको बासना हो भन्दै ढाकछोप गर्छ र उल्टै क्षतिपूर्ति दिनुपर्ने तर्क राख्छ ।

वास्तवमा यो नै जातिवादको उच्चतम रुप हो । आफ्नोलाई छोप्नु र अर्काकोलाई नङ्ग्याउनु जातिवादको चरित्र हो । यसले आफ्नो अनुहारमा लागेको धुलो पुछ्नतिर लाग्दैन, ऐना फुटाउनतिर लाग्छ । राज्यको नश्लवादलाई चिन्ने भनेको नै यस्तै रबैयाबाट हो । यहाँ स्वयम्भूको दुईटा आँखाले न्याय, अन्याय छुट्याई हेर्छ भनेर गीत गाइन्छ तर यथार्थमा त्यो होइन । ब्रम्हाजीको मुखबाट जन्मेका सन्तानले न्याय, अन्याय छुट्याएर हेर्ने गरिन्छ । किनकि कार्यपालिका, ब्यवस्थापिका, न्यायपालिका सबैमा उनैको टुप्पी एकछत्र फैलिएको छ । उसले छुट्याउने न्याय, अन्यायमा उहीँ द्वारबाट जन्मेका भनिएकाले मात्रै न्याय पाउँछन् । तिग्रा र पाइतालबाट जन्मेकाले न्याय पाउने आशा गर्नु साढें र स्यालको उखान मात्रै हो । बिगतमा यस्ता थुप्रै प्रतिभाहरुलाई सिध्याउने काम भयो । शेरबहादुर तामाङ र बिजय लामा प्रकरण पुरानै कथाको पछिल्लो इपिसोड मात्र हो । हामी राजनीतिक रुपले सक्षम नहुञ्जेलसम्म यस्ता इपिसोड निरन्तर आइरहने छन् । राणाकालीन समयमा शासकीय नजरले अपराध ठहर गरेमा तामाङले मृत्युदण्डको भागीदार बन्नुपथ्र्यो, गणतन्त्रमा पदबाट बर्खास्तगी गर्छन् । सजायको रुप फेरिएको छ तर प्रकृति एउटै छ ।

तामाङ समुदायभित्र जन्मिएका यस्ता थुप्रै उदाउँदो प्रतिभाहरु छन् । जसलाई ब्राम्हाणतन्त्रले राम्रोसँग काम गर्न दिँदैन । न आफू काम गर्छ, न अरुलाई नै काम गर्न दिन्छन् । नेपाल विद्युत प्राधिकरणका एम. डि. कुलमान घिसिङ थुप्रै कमिसनखोरहरुको तारो भएर पनि आजपर्यन्त मुश्किलले टिकिरहेका छन् । दर्जनौ पटक उनलाई रुवाउने काम भयो । पार्टीमा लागेका अरु थुप्रै तामाङ नेताहरु छन् जसले कुन हविगतमा पद टिकाई रहेका छन्, म एक्लै गम खाएर सोचमग्न हुन्छु । तामाङलाई यसरी श्रृंखलावद्ध रुपमा सिध्याउदै आएको राजनीतिले हो । तामाङ जस्तै अरु आदिवासी नेतृत्वलाई आक्रमण गरिहाल्न शासकहरु यति विघ्न हतारिदैनन् किनकि उनीहरु समुदायगत रुपमा राजनीतिमा अगाडि छन् । जहाँ उसले बढी जोखिम मोल्नु पर्छ । तर तामाङलाई दूधमा परेको झिँगा झैं ठानेर मिल्काइन्छ किनकि उसको राजनीतिक धरातल बलियो छैन ।

शासकहरुले नाकको उचाई नापेर छानीछानी गरिने यसखालको कारवाहीले राजनीतिक पार्टी उभोँ लाग्दैन । यसले निर्बाचनको बेला पाएको जनाधारलाई खस्काउँछ । सामाजिक सञ्जालमा ब्यक्त अभिब्यक्तिले धेरथोर नेकपाको क्षयीकरण भइरहेको संकेत मिल्छ । तर सत्ताको अन्धो कुर्सीले यो देख्दैन । पहिलो संविधानसभामा ठूलो दल बनेको माओवादीको यस्तै रबैयाले गर्दा दोस्रो संविधानसभाको निर्बाचनमा तेस्रो दल बन्यो । त्यसबेला पार्टी अध्यक्ष प्रचण्डलाई मत परिणाम स्वीकार गर्न समेत गाह्रो भयो । यसको घाटा पूर्ति गर्न उसले कुनै बेला बर्ग दुश्मनको रुपमा चिनाएको एमालेसँग मिल्नु प¥यो । १७ हजार जनताको रगतको टाटा सुक्न नपाउँदै सत्ता र शक्तिको लागि लाज पचाएरै जनयुद्ध शब्द उच्चारण गर्न गाह्रो मान्ने ओलीसँग घाँटी जोड्नु प¥यो । लाज पचाउन नसक्ने गोपाल किराती, मोहन बैद्य, आहुती र बिप्लवहरु सम्झौताबाट अलग्गिए । यस्तै गतिविधिले नेकपाको भोलीको साईज निर्धारण गर्छ । हाम्रो काम त खबरदारी गर्ने हो । सच्चिने उसले हो । सच्चिएन भने यसलाई जनताले आन्दोलन या निर्बाचनको माध्यमबाट दण्डित गर्छन् । जनताले दुई तिहाईको बहुमत दिएर ठूलो पार्टी बनाएको नेकपाप्रति जनताको केही आशा अवश्य मरेको छैन होला । यसलाई नेतृत्वले निराशामा परिणत नगरोस् ।

लेखक नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष हुन् ।