पुँजिवाद र कम्युनिष्ट चेतना

555

मोहन गोले तामाङ

गएको चैत महिनामा म नेपाल तामाङ घेदुङद्वारा आयोजित सिन्धुली जिल्लाको एक कार्यक्रममा सहभागी भएको थिएँ । उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेता तथा स्थानीय अगुवा कार्यकर्ताहरुको मन्तब्य सुन्दै गएँ । यसक्रममा नेकपाका एकजना प्रदेश स्तरको नेताले पहिचानको आन्दोलनप्रति कटाक्ष गर्दै भने– पुँजिवादले जाति–जाति बीच बिद्रोह गराउँछ र अशान्ति फैलाउँछ रे । मिलेर बसेको समाजमा द्वन्द्व बढाउँछ रे । उनले यसलाई पुष्टि गर्न अनेकन प्रायोजित हल्लाहरुको उदाहरण दिए । पुँजिवादी अर्थ ब्यवस्थाप्रति उनको निम्छरो तर्क सुन्दा मलाई मनमनै दया लागेर आयो । द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्ने कम्युनिष्ट पार्टी संसदीय आहालमा डुबुल्की मारेपछि उसका कार्यकर्ताहरुमा देखिएको बैचारिक दरिद्रताको उनी हजारौ मध्येका एकजना पात्र हुन् । अहिले उनको जस्तै पेटी बुर्जुवा कम्युनिष्ट चेतना अधिकांश नेता, कार्यकर्तामा देखिन्छ ।

सारमा यो चेत मिथ्या हल्लाको पछि दौडन्छ । यसले विश्व दुनियाँलाई आफ्नो आँखाले पढ्दैन । अर्काको आँखा सापटी लिन्छ र हेर्छ । अर्काको आँखाले हेर्दा रुसी महासंघको विभाजनलाई जातीय द्वन्द्व मात्रै देख्न पुग्छ । रुवाण्डा लगायत थुप्रै मुलुकमा भएको नरसंहारलाई जातीय कारण नै प्रमूख देख्दछ । रुसमा रुसी जातिहरु र रुवाण्डामा हुतु जातिहरुले अन्य अल्पसंख्यक जाति, समुदायमाथि गरेको विभेद र शोषणको यथार्थ चित्रलाई बुझ्ने कोशिस गर्दैन । माथिको गुरु नेताले जे पढायो, त्यही पढ्छ । यो मध्यम बर्गीय सुगा प्रवृति अहिले माथिदेखि तलसम्म ब्याप्त छ । जसले गर्दा नेपालमा राष्ट्रिय उत्पीडनको समस्या झन्झन् पेचिलो बन्दै गयो ।

यहाँनेर बुझ्नुपर्ने के हो भने पहिलो त क्रान्ति कसैले चाहेर हुँदैन । क्रान्ति मुलुकको अर्थ ब्यवस्थाले निर्धारण गर्ने विषय हो । २०६२/६३ को पछिल्लो जनआन्दोलन सम्पन्न हुनुअघिसम्म नेपालमा सामन्तवादी अर्थतन्त्र थियो । त्यो कालखण्डमा हामीले बर्गीय संघर्ष ग¥यौ । गरिबी, अभाव र भोकमरी बिरुद्ध लड्यौ । सामन्तवादलाई परास्त गर्न नै २००७, २०४६ र २०६२/६३ समेत तीनवटा ऐतिहासिक जनक्रान्ति सञ्चालन ग¥यौ । यसबाहेक २०३६ सालको जनमत संग्रह, २०५२ को माओवादी सशस्त्र जनयुद्ध र झापामा मालेले मान्छे काटेको समेत जोड्ने हो भने अझ थुप्रै बिद्रोहको संख्या थपिन आउँछ । यसक्रममा हजारौ नेपाली जनताले बलिदानी दिए । अन्तमा, माओवादी जनयुद्ध र सात दलको शान्तिपूर्ण संघर्षको दिल्ली फ्युजनबाट आागो झोसिएपछि मात्र सामन्तवादको नायक वंशगत शाही राजतन्त्र समूल रुपमा खरानीमा परिणत भयो ।

यसपछि मात्रै अर्थ राजनीतिज्ञहरु सामन्तवादी युगको अन्त भएको निष्कर्षमा पुगे । त्यसयता नेपाल अहिले सामन्ती संस्कृति सहित पुँजिवादी युगमा प्रवेश गरेको छ । सामन्ती संस्कृति सहितको पुँजिवाद किन भनियो भने सामन्ती संस्कृति भनेको सोच, चिन्तन, प्रवृति र मनोविज्ञान पनि हो । जुन श्रीपेचवाला राजाबाट अहिले श्रीपेच बिनाको राजारानीमा सर्लक्कै सरेको छ । पुँजिवादी अर्थ ब्यवस्थामा सामन्ती युगमा झैं गरिबी, अभाव र भोकमरी बिरुद्धको बर्ग संघर्ष हुँदैन । किनकि अबको दिनमा काम गर्ने मान्छे भोकै मर्ने अवस्था छैन । यस चरणमा असमानता र विभेदका मुद्धाहरु प्रमूख बनेर आउँछन् । स्वतन्त्रता, स्वायत्तता, समानता र आत्मनिर्णयको अधिकारको सवालहरु यस युगको प्रमूख मुद्दा हुन्छन् ।

सामन्तवादी राज्य ब्यवस्थाले दबाएका जाति (राष्ट्र) हरुले पुँजिवादी ब्यवस्थामा राष्ट्रिय उत्पीडनका मुद्दालाई प्रमूख रुपमा उठाउँछन् । बहिष्करण बिरुद्ध हुने यो समानताको संघर्षलाई नश्लीय चश्माले हेर्ने कम्युनिष्ट चेतना मुलुकलाई अघि बढाउन नदिने बाधक दृष्टिकोण हुन् । यो चेतनाले मुलुकलाई पुँजिवादी क्रान्ति पुरा गरेर समाजवादतर्फ अघि बढ्न दिँदैन ।
हामीलाई थाहा छ, कम्युनिष्ट पार्टीका नेताहरुले बर्गीय समस्या हल भएसँगै जातीय समस्या पनि हल हुने हल्ला पिटेका थिए । हामी निम्न चेतनाका विद्यार्थीहरु हो भन्यौ र उनको स्कुलमा भर्ना भयौ । क्रान्ति पनि भए तर समस्या हल भएन । यो त अझ बल्झिएर पो गयो । किनकि नेपालको कम्युनिष्टले बर्गको स्रोत नै पहिचान नगरी क्रान्ति सञ्चालन गरेका रहेछन् । नेपालको बर्गको स्रोत बर्ण थियो । जंगबहादुर राणाको मुलुकी ऐनले त यसलाई कानूनी रुपमा नै मान्यता दियो । उनले जारी गरेको १९१० को मुलुकी ऐनमा तागाधारी, मतवाली र अछुत समेत तीन श्रेणीको मानिसको ब्यवस्था ग¥यो । पेशाको आधारमा मानिसलाई ब्राम्हाण, क्षेत्री, बैश्य र शुद्रमा विभाजन गर्ने हिन्दू बर्णाश्रम ब्यवस्थाप्रतिको पढाई कमजोर हुँदा अर्थात त्यसतर्फ नियोजित रुपमा बुझ्न नचाहँदा नेपालको जातीय समस्या हल हुन सकेन । त्यसैले सामन्तवादी ब्यवस्थामा निरुपण हुन बाँकी समस्याहरु पुँजिवादी ब्यवस्थामा बहसको रुपमा अगाडि आउँछन् । यसलाई कसैले आश्वर्य मान्दछ भने त्यो लोकतन्त्र र समानता विरोधी तर्क हो ।

सामन्तवादी अर्थ ब्यवस्थामा प्रमूख मानिएको मालिक, ईश्वर र राजा÷महाराजाहरु पुँजिवादमा बिबादमा पर्छन् । सामन्ती राजा र मालिकसँग सर्वहारा जनताले सिधा आँखा जुधाएर प्रश्न गर्नु अनि ईश्वर र परलोक कहाँ छ ? देखाईदेउ भन्नु लोकतान्त्रिक पुँजिवादको विशेषता हो । सामन्तवादले हतियारको रुपमा प्रयोग गरेको अलौकिक धर्मलाई विज्ञानसम्मत ढंगबाट पुँजिवादमा परिक्षण हुन्छ । परिक्षामा प्रमाणित नभएको विषयलाई पुँजिवादी चेतनाले स्वीकार गर्दैन । शासक जातिको हवेलीमा बसेर जितारुहरुको बखान हुने गरी एकतर्फी रुपमा लेखिएको इतिहासमाथि पुँजिवादी ब्यवस्थामा प्रश्न उठाइन्छ । एउटा जात, एउटा भाषा र एउटा संस्कृति मात्रै नेपाली मान्छे, नेपाली भाषा र नेपाली संस्कृति मान्ने भाष्यलाई पुनर्परिभाषित गरिनुपर्ने मागहरु उठ्छन् । पुँजिवादमा ढाका टोपी र दौरासुरुवाललाई मात्रै राष्ट्रिय पोशाक नमानेर बख्खु र धोतीको पनि सम्मान हुनुपर्ने कुरा उठ्छ । यी सवाललाई लिएर गरिब, निमुखा, हेपिएका दलित, जनजाति, मधेशीको आवाजहरु बाहिर आउँछन् । यो पुँजिवादको चरित्र हो । समतामुलक समाज निर्माणको लागि दबिएको समुदायले प्रश्न उठाउनु जातिवाद होइन । पुँजिवादको चरित्र नै तर्क र प्रश्न हो, अन्ध समर्पण होइन । यसरी जनताले एकपछि अर्को निरन्तर प्रश्न सोध्ने र शासकले उत्तर दिँदै जाने क्रममा समाज नयाँ नयाँ विकल्पसहित अघि बढ्छ र त्यसले समाजवादी यात्रा तय गर्छ । प्रश्न गर्न नपाउने ब्यवस्था दास युग र सामन्ती युगमा थियो । ती कालखण्डमा मालिकले बोलेको कुरा कसैले काट्नु मिल्दैन थियो । राणाकालमा राणाजीहरुको बोली नै कानुन बन्थ्यो । आज मुलुकको कार्यकारी प्रमूख प्रधानमन्त्री खड्गप्रसाद ओली प्रश्न सोध्ने जनतालाई अरिंगाल जसरी जाईलाग्न कार्यकर्तालाई निर्देशन दिन्छन् । तर एउटा भिन्न क्षमताका बालक आदित्य दाहाललाई नयाँ अवतारी देवताको रुपमा प्रदर्शन गर्छन् । यो सामन्ती संस्कृतिको निरन्तरता हो । यहिनेर पुँजिवाद र कम्युनिष्ट चेतनामा तालमेल नमिलेको प्रष्ट देखिन्छ ।

दोस्रो, विभेद र असमानता बिरुद्धको यो संघर्ष कति लड्नुपर्ने हो ? थाहा छैन । किनकि हामीले सामन्तवादको बिरुद्ध नै ६० बर्षभन्दा बढी समय लड्यौ । नेपालको इतिहासमा प्रत्येक १० देखि ३० बर्षको बीचमा सत्ताले मुख धोएको देखिन्छ । जसरी हामी रातभरको लामो निन्द्रापछि आँखाको चिप्रा, मुहारको कलेटी फ्याक्न मुख धुन्छौ र फ्रेस हुन्छौ । त्यसैगरी सत्ताको मुहारमा पनि चिप्रा, कलेटी पर्छ । उसले पनि फ्रेस हुनुपर्छ । सत्ताले मुख धुने भनेको क्रान्तिबाट हो । सत्ता फ्रेस हुने माध्यम आवधिक निर्बाचन पनि हो तर नेपाली जनतामा पुरानो सामन्ती संस्कृतिको ह्याङओभर बाँकी छ । यसकारण युक्रेनमा कलाकार र पाकिस्तानमा खेलाडीले चुनाव जितेजस्तै नेपालको निर्बाचनबाट आश्वर्यजनक मत परिणाम तत्काल आइहाल्ने अवस्था छैन । २०६२÷६३ को जनआन्दोलनपछिको १२, १३ बर्षको बीचमा नयाँ शासकहरुको बदलिन नसकेको चरित्रको कारण सत्तामा थुप्रै चिप्रा, कलेटी परिसकेको छ र सत्ता फ्रेस हुनको लागि फेरि अर्को क्रान्तिको माग गरिसक्यो । कुनैपनि क्रान्ति ढिलो हुने र चाँडो हुने कुरा नेपाली समाजको चेतनामा भर पर्छ । तर प्रदेश स्तरको नेताको उक्त चेतलाई अध्ययन गर्दा यो समय ढिला हुने देखिदैन । किनकि यो मिलाउने नभई भिड्याउने सोच हो । आदिवासी जनजातिले उठाउँदै आएको पहिचानको सवाल कुनै जात बिरुद्धको संघर्ष होइन । नेपालमा ३१ प्रतिशत जनसंख्या रहेको खसआर्य समुदायको राज्यको हरेक अंग, तहमा अहिलेपनि दोब्बर बढी प्रतिनिधित्व छ । त्यसैले रुपमा हेर्दा बाहुन भर्सेज मधेशी या जनजाति जस्तो देखिएपनि सारमा यो संघर्ष ब्यवस्थाको बिरुद्ध सञ्चालन गरिएको संघर्ष हो । आजसम्म नबदलिएको राज्यको चरित्र बदल्ने आन्दोलन हो यो । किनकि विभेद र असमानताको अन्त्यपछि मात्रै पुँजिवादी क्रान्तिको पनि अन्त्य भई मुलुक समाजवादतर्फ अघि बढ्छ ।

तेस्रो, पुँजिवाद आफैमा स्थायी ब्यवस्था होइन । यो मुठ्ठिभर सामन्तको हातमा रहेको पुँजि समाजको साझा नियन्त्रणमा जानु अघिको संक्रमणकालीन अवस्था मात्रै हो । त्यसैले कुनैबेला पश्चिमाहरुले अमर ठानेको पुँजिवाद आज एकाएक संकटमा पर्न थालेपछि पुँजिपतिको दानापानी खाएर बाँचेका बौद्धिकहरु घोरिन थालेका छन् । पुँजिवादले आफ्नो चिहान आफै खन्छ भन्ने माक्र्सवादी बिचार ब्यबहारमा लागू हुने भएपछि रुसी महासंघ ढल्दा ताली बजाउनेको पछिल्लो पुस्ता आज अत्तालिएको स्थितिमा हामी देख्न सक्छौ । नेकपाका दोस्रो नम्बरका अध्यक्ष क. प्रचण्डले एउटा कार्यक्रममा आफ्नै जुनीमा समाजवाद हेर्ने रहर छ भनेका थिए । तर उनको यो सपना पुरा हुने सम्भावना देखिदैन । किनकि संसदबादी बाटो रोजेको तत्कालीन माओवादी सुप्रिमो आफै बुर्जुवा संस्कृतिमा रुपान्तरित भइसकेका छन् । कुनैबेला एमालेलाई सके निल्ने, नसके मिल्ने भनेका प्रचण्ड आज ओलीको गर्भमा छन् । उनलाई ओलीको माकुरी जालोले चल्नै नसक्ने गरी कस्दै लगेको छ । उसको लागि पुँजिवाद सुनको अण्डा पार्ने कुखुरी समान हो । ऊ आफ्नो आरामको लागि नाफा आउन्जेल अर्थात दैनिक सुनको अण्डा दिउन्जेलसम्म कुखुरीलाई मार्नतिर लाग्दैन, बचाउनमै जोडबल गर्नेछ । उसँग अब पुँजिवादी कुखुरी काट्ने समाजवादी खुकुरी नै छैन । उनी सत्ता, शक्ति र सम्पतिको मोहमा यतिसम्म डुबेका छन् कि अब हिजोका सहयात्री मोहन बैद्य, विप्लव, गोपाल किराती र आहुती जस्तो भएर बाँकी जीवन बाँच्न सक्दैनन् । सत्तामा पुगेर आफ्नो बर्ग रुपान्तरण भएपछि उनको लागि अब नेपाली क्रान्ति सकियो । पुँजिवादको माखेसाङ्लोमा जेलिएर उनको क्रान्तिकारी चेतमा डर, त्रास र भयले घर गरेको छ । आत्माभित्र ईश्वरले बास गर्न थालेको छ । अबका दिनमा उनले स्वस्ती शान्तिको नाममा धर्म÷कर्ममा लाग्नु, दशैंमा सीतालाई टीका लगाएर आशिष दिनु र रोग निको पार्ने बहानामा तातोपानी कुण्डमा गएर पौडी खेलेको देख्नु कुनै अनौठो दृष्य हुने छैन ।

तसर्थ, पुँजिवादी आन्दोलनप्रति बुझ्ने र बुझाउने सन्दर्भमा मुलुकको ठूलो पार्टी नेकपाले बहस चलाउनु जरुरी छ । बजारमा माल बेच्न टाँगिएको थोत्रो होर्डिङ बोर्ड जस्तो बनाइसकिएको हसियाँ–हथौडा अंकित झण्डा बोकेको र भोट हालेको भरमा कम्युनिष्ट हुँदैन । कम्युनिष्ट चरित्र ब्यबहारमा लागू गर्न सक्नुपर्छ । चीनमा माओले क्रान्ति सम्पन्न भएपछि सबै किसान, मजदुरलाई समेत बैचारिक दर्शन पढाए । यसले कार्यकर्ताको निजी आचरणदेखि समाज र दुनियाँलाई बुझ्ने सवालमा एकरुपता ल्यायो । मान्छे उत्पादन र श्रममा विश्वास गर्ने भए । यो चेतनाले चीनलाई आर्थिक रुपमा अघि बढ्न दह्रो जनशक्तिको रुपमा काम ग¥यो । काम बलले होइन, चेतनाले गर्ने हो । तर हाम्रो देशका कम्युनिष्टहरु पछिल्लो जुनीमा मुक्ति पाईन्छ भन्दै सात दिनसम्म हरेराम हरेकृष्णको किर्तन मण्डलीमा भजन गाउँदै बस्छन् । श्रम बगाएर देश बनाउने समय कल्पनामा डुबेर बर्बाद पार्छन् । त्यसैले समयमै बहस नचलाउने हो भने नेकपा र राप्रपाको कार्यकर्तामा भिन्न रंग देखिने छैन । सचेत होऔ ।।

लेखक नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष हुन् ।