राष्ट्रवादको आवरणमा जातिवादको खेती

389

मोहन गोले तामाङ

जुनबेला मधेशी र आदिवासी जनजातिहरु पहिचान र अधिकारको लागि आन्दोलनमा मर्दै थिए, पहाडमा बस्ने एकाथरी मनुष्यजनले मरिरहेका मान्छेप्रति सहानुभूति देखाएनन् । उल्टै दमनकारी खड्गप्रसादको जय जयकार गरे । किनकि उनले स्वायत्तताको माग राख्ने मधेशीलाई बिहारी भनेका थिए । पहिचान माग्ने आदिवासी जनजातिलाई बाँदर हुन भनेका थिए । प्रहरीको गोली खाने मधेशी युवाहरुलाई जेठको हुरीमा झरेको कलकत्ते आँपसँग तुलना गरेका थिए । मधेशीलाई यसअघि धोती सम्म भनेको सुनिन्थ्यो तर आफ्नै देशका नागरिकलाई कुनै पनि शासकले बिहारी नै भन्ने हिम्मत गरेका थिएनन् । जनजातिलाई तिघ्रे र खर्पने सम्म भनेको राममणि आदिको लेखोटमा देख्छु तर बाँदर नै भनेर जनावरसँग तुलना गर्न सकेका थिएनन् । उनले सके । कसैले बोल्न नसकेको कुरा उनले आफ्नै मुखबाट बोलेर सुनाईदिए । उनको यो बाणबर्षामा एकाथरी अहंकारवादी दुनियाँले मज्जा मान्दै भने– खड्गप्रसाद क्या राष्ट्रवादी नेता ।

अहिलेपनि उनै शक्तिवाला मनुवाले फैलाएको भ्रम दुनियाँमा बिक्दो छ । खड्गप्रसादलाई राष्ट्रवादी देख्ने यही नजर हो, जसले पञ्चायतमा महेन्द्रलाई ठूलो राष्ट्रवादी भन्थे । महेन्द्रको गीतमा लठ्ठ पर्थे । हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ भनेर नारा लाउने अनि राणादेखि राजासम्मलाई बर्षौसम्म काँध थाप्ने पनि यही जमात हो भनेर चिन्दा कति फरक नपर्ला । उनका बाजे पुस्ताले जंगे राणालाई राष्ट्रवादी भनेको म सहजै अन्दाज गर्छु । यो राष्ट्रवादमा ओत लाग्न नपाएकाहरु नयाँ नयाँ अवतारमा नयाँ नयाँ भाङका लड्डु लिएर बेलाबेला प्रकट हुन्छन् । क्रान्तिको नाममा जनताको छोराछोरी मराउँछन् र सत्तामा पुगेर ब्रम्हलुट मच्चाउने लाइसेन्स प्राप्त गर्छन् । २००७ सालमा प्रजातन्त्र नामको लड्डुले राणा आउट र राजालाई इन गरायो । २०४६ सालमा बहुदलीय ब्यवस्था नामको लड्डु बिक्रि गरेर निर्दलीय पञ्चायतको अन्त गरे । २०६२÷६३ मा समावेशी लोकतन्त्र नामको लड्डु बेचेर राजतन्त्र फ्याँके । पछिल्लो २०७४ को निर्बाचनमा पनि विकास र समृद्धिको लागि दुई तिहाई बहुमतको सरकार चाहियो भन्ने लड्डु राम्रै बिक्यो । यसरी प्रत्येक १० देशि ३० बर्षको बीचमा एउटा कुनै न कुनै नामको भाङको लड्डु बेच्ने ब्यापारीहरु नेपालमा सक्रिय भएको म पाउँछु । अहिलेपनि बिप्लव कामरेड दलाल सत्ता अन्त्यको नाममा अर्को लड्डु पेल्दैछन् । यसलाई जनताले किन्ने दिन उनी पनि सत्तामा पुग्छन् र अर्को पीके वा केपी बन्छन् । मैले यो ठोकुवा किन गरे भन्दा अहिलेसम्मको अभ्यासमा भएको यही नै छ । उनी पनि कुनै भिन्न धातुको रसायनबाट बनेको मान्छे होइनन् । यही लोभीपापी नेपाली समाजमा हुर्किएको एउटा बिद्रोही चेतका राजनीतिक पात्र हुन् । फेरि अहिलेसम्मका यी सबै नामधारी भाङ ब्यापारीको जरा खोतल्दा एउटै बंश जोडिन्छ । अब यो बंशप्रति नै विश्वास गर्ने कि नगर्ने ? आदिवासी नेतृत्वमा बहसको एउटा विषय बनेको छ । किनकि धेरैवटा आन्दोलनबाट उत्पीडित समुदायले पाएको धोकाको निष्कर्ष हो यो ।
लाग्दो हो, खड्गप्रसादले अलि नयाँ खालको राष्ट्रवाद ल्याए, तर होइन । उनले ल्याएको राष्ट्रवादी फसलको बीउ त राजा महेन्द्रले २०१७ सालमै रोपेका थिए । जुन राष्ट्रवादले ढाका टोपी नलाउनेलाई नेपाली नागरिकताको प्रमाणपत्र दिदैनथ्यो । तामाङ भाषा बोलेको सुन्दा तिब्बती र मैथिली भाषा बोल्दा बिहारीको ट्याग लाउथ्यो । उनले त्यही बीउको फसल काटेर खादैछन् । त्यसैले सारमा ओली राष्ट्रवादले महेन्द्रीय राष्ट्रवादको सीमा तोड्न सक्दैन । उसको आधार यही हो । यो राष्ट्रवादप्रति बिमति राख्नेलाई अरिंगाल झैं जाइलाग्न ऊ कार्यकर्तालाई खुलेआम निर्देशन दिन्छ । सारमा यसले मुलुकको विविधतालाई सम्पतिको रुपमा ग्रहण गर्दैन । बाधा र बोझको रुपमा लिन्छ । राज्यको साधन, स्रोत सबैमा वितरण गर्दा मुलुक बिखण्डन हुने देख्छ । गोरुको पर्वलाई बिदा दिन्छ तर आदिवासी जनजातिको पर्वलाई दिएको १ दिन बिदा पनि समृद्धिको बहानावाजीमा कटौती गर्छ । आदिवासीले पवित्र वस्तुको रुपमा प्रयोग गर्दै ल्याएको खादालाई विस्थापित गर्न ढाकाको टालो प्रयोग गर्नु भन्दै सार्वजनिक रुपमा उर्दी जारी गर्छ । जनजातिलाई विकास गर्न गठित आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई खारेज गर्न उद्यत हुन्छ । किनकि प्रतिष्ठान खारेज गरिए त्यहाँ उसले प्रतिष्ठान ऐन अनुसार सूचिकृत ५९ आदिवासी जनजातिको मान्यता प्राप्त सूचिकरण भताभुंग हुने देखेको छ । संविधानले ब्यवस्था गरेको समानुपातिक प्रतिनिधित्वमा जन्म र बिबाहको दोहोरो मापदण्ड कायम गर्छ र आफ्नै श्रीमति, नातागोता, भाई, भतिजा, साली, ज्वाँईलाई नियुक्त गर्ने माध्यम बनाउँछ । आफैले हस्ताक्षर र अनुमोदन गरेको आइ. एल. ओ. १६९ र आदिवासी सम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणापत्र जस्ता अन्तर्राष्ट्रिय मानवअधिकारका दस्तावेजहरुलाई निष्क्रिय बनाईदिन्छ । आदिवासीमा सुचिकृत थुप्रै कम जनसंख्या भएका समुदायलाई अल्पसंख्यकमा सूचिकरण गर्छ र मासिक २ हजार भत्ताको मन्द बिष खुवाएर बोल्न नसक्ने बनाईदिन्छ । आपूmभन्दा भिन्न अस्तित्व भएकालाई सिध्याउने, तिनलाई निषेध गर्ने यस्ता थुप्रै उपद्रो कर्महरु यो राष्ट्रवादको नियमित कार्यक्रम हो । जसलाई सत्ताको भजन गाउने मण्डली समूहको आँखाले देख्दैन । यसलाई देख्न उनको डबलीबाट स्वतन्त्र भएको घोषणा गर्ने हिम्मत गर्नुपर्छ ।

आखिर के हो त यो राष्ट्रवाद ? धेरैलाई अन्यौल छ । राष्ट्रवादलाई अंग्रेजीमा Nationalism भनिन्छ । राष्ट्र भनेको Nation हो र Nation भनेको जाति हो । यसर्थ, Nationalism (राष्ट्रवाद) भनेको जातिवाद हो । जातिवाद अन्तत फासिवादमा पुगेर बिसर्जित हुन्छ । मानव विकासको विभिन्न चरणमा देखिने यो एउटा प्रक्रिया हो । आदिम साम्यवादी युगको अन्त्य र दास युगको प्रारम्भिक चरणमा मानिसहरु लामो समय गोत्र (Clan) को रुपमा रक्त सम्बन्धको आधारमा जोडिने परिवारको रुपमा विभिन्न झुण्डमा बाँधिएर एकठाउँमा बसे । यसपछि दासयुगको अन्त्य र सामन्ती युगको प्रारम्भिक चरणमा यस्ता धेरैवटा रहनसहन, परिवेश, मनोविज्ञान मिल्ने परिवार, गणहरु मिलेर भिन्नाभिन्नै जाति बन्यो । जसलाई जनजाति (Nationalities) समुदाय भनियो । यसैगरी सामन्ती युगको अन्त र पुँजिवादी युगको प्रारम्भिक चरणमा विभिन्न उद्योगधन्दा खुलेसँगै कामको सिलसिलामा भिन्नाभिन्नै समुदायका मानिसहरु एकठाउँमा बस्नु पर्ने अवस्था सिर्जना भयो । यसक्रममा घुलमिलको कारण धेरैवटा जातिहरुको भाषा, संस्कृति, पहिचान लोप भएर नयाँ भाषा, संस्कृतिको रुपमा जन्म हुने, कतिपय बिलिन हुने र नयाँ जाति (Nation) को रुपमा विकास हुने क्रम बढ्यो । यसरी जनजाति (Nationalities) बाट राष्ट्र (Nation) को रुपमा विकास भएर जब राष्ट्र (Nation) ले लामो समय आधिपत्य जमायो, यसले बलियो र शासकको मनोविज्ञानले निर्धारण गरेको भाष्यमा सबैलाई हिडाउने प्रयास गर्दा यो विस्तारै बादको रुपमा विकास भयो । यही प्रभुत्वशालीहरुको बलमा स्थापित जातिवादलाई नै राष्ट्रवाद (Nationalities) भनियो । सबैलाई यही बाद स्वीकार गर्ने परिस्थिति निर्माण गरियो । नेपालमा हेर्दा दौरा, सुरुवाल र ढाकाटोपी राष्ट्रिय पोशाक बन्यो । बख्खु र धोती जातीय पोशाक भए । दशैं र तिहारलाई राष्ट्रिय पर्व मानियो । उद्यौली, उभौली र ल्होछारलाई जातीय पर्व भनियो । उनले बोल्ने खस भाषा नेपाली भाषाको पगरी गुथेर राष्ट्र भाषा बन्यो तर तामाङ भाषा जो खसभाषीहरुको प्रवेश हुनुभन्दा शताब्दीऔ अघिदेखि बोलीचालीमा थिए, त्यसलाई गाईखाने भाषा भनेर अपहेलित गरियो । त्यसैले यस किसिमको विभाजनको रेखा कोर्ने ओली राष्ट्रवाद सारमा खस, आर्यन जातिवाद हो । यो राष्ट्रवादले उसैको भाषा, संस्कृति, भेषलाई प्राथमिकतामा राखेर काम गर्छ ।

फेरि यो नेपालमा मात्रै होइन, संसारकै डरलाग्दो रोग हो । माओवादीका तत्कालीन सुप्रिमो क. प्रचण्डले जनयुद्धभरि खस अहंकारवादको विरुद्ध लड्न जनजातिलाई उक्साए तर सत्तामा पुगेपछि त्यसलाई जातिवाद देखेनन्, राष्ट्रवाद देखे । नेपालका केपीभन्दा जर्मनका नाजी तानाशाह हिटलर राष्ट्रवादको उग्र नारा लाउँथे । बहुसंख्यक हान जातिकै नेता माओत्सेतुङले चीनमा हान अहंकारवाद ब्याप्त छ, त्यसको डटेर सामाना गर्न निर्देशन दिएका थिए । सोभियत रुस महासंघ सम्भवत रुसी जातिहरु हरेक ठाउँमा हावी हुन नखोजेको भए अहिले पनि हामी लेनिनले जोडेको रुसी महासंघलाई विश्व मानचित्रमा देख्न पाउथ्यौ होला । सर्वियामा सर्व जातिहरु र रुवाण्डामा हुतु जातिहरुको जातिवादले त्यहाँका अल्पसंख्यकहरुमाथि समान ब्यबहार गरेको भए त्यहाँ नरसंहारकारी हिंसा भड्किने थिएन । यसलाई हेर्दा के देखिन्छ भने संसारभरि नै युद्ध, हिंसाको मुख्य स्रोत बहिष्करणलाई निरन्तरता दिने जातिवाद हो । जसलाई शासकहरु राष्ट्रवादको आवरणले छोप्छन् ।
त्यसैले यतिबेला नेपालमा खड्गप्रसाद प्रवृति राष्ट्रवादको आवरणमा जातिवादको खेती गरिरहेका छन् । यो जातिवादको खेती त्यो बेलासम्म फस्टाउनेछ, जुन समयसम्म यसमा लपेटिएको राष्ट्रवादको गुलियोमा न्यायप्रेमी जनता भुल्लिरहन्छन् । यो उदाङ्गो हुने दिन कसैले अनुमान गर्न नसक्ने दुर्घटनामा मुलुक फस्नेछ । यसप्रति बेलैमा सचेत होऔ । धन्यवाद ।।