घेदुङको नवौं महाधिवेशन २०७६ फागुनमा हुने

370

२० फागुन, २०७५ काठमाडौं ।

नेपाल तामाङ घेदुङको नवौं संघीय महाधिवेशन आगामी २०७६ फागुनमा हुने भएको छ । घेदुङको आज सम्पन्न सचिवालय बैठकले उक्त मिति तोकेको हो ।
सचिवालय बैठकले तोकेको मितिमा महाधिवेशन सम्पन्न गर्न स्थान छनौट गर्नुपर्ने भएको हुँदा सो को लागि घेदुङले आगामी जेठ १८ गते छैठौ संघीय कार्य समितिको बैठकबाट टुंगो लगाउने निर्णय गरेको छ ।

बैठक अघि घेदुङले महाधिवेशन सम्पन्न गर्न उपयुक्त भौतिक संरचना भएको स्थानको छनौट गर्ने तथा ब्यवस्थापनको जिम्मेवारी लिनसक्ने जिल्लालाई जिम्मेवारी दिने तयारी गरेको घेदुङले जनाएको छ ।

कुनैपनि जिल्लाले महाधिवेशन गर्न चाहेमा ४० प्रतिशत खर्चभार ब्यहोर्नु पर्ने र तीन दिनसम्म प्रतिनिधि÷पर्यवेक्षकलाई बस्नको लागि उपयुक्त भौतिक संरचना भएको स्थान समेत दुवै हुनुपर्छ, घेदुङका महासचिव बाबु घिसिङले भने– यो महाधिवेशनमा स्थानीय तहबाट समेत प्रतिनिधित्व हुने भएकोले हाम्रो अनुमानमा एक हजारको हाराहारीमा प्रतिनिधि, पर्यवेक्षक संख्या पुग्नसक्छ ।

घेदुङको गतबर्ष ललितपुरको कोन्ज्योसोममा सम्पन्न विधान सभाले सांगठनिक संरचनालाई संघीय ढाँचामा परिवर्तन गरेसँगै महाधिवेशनमा प्रतिनिधि संख्या बृद्धि हुने भएको छ ।
महाधिवेशन अघि प्रदेश, स्थानीय समिति र भातृसंगठनको अधिवेशन सक्नुपर्ने भएकोले यस बीचमा सबै संगठनहरुको सम्मेलन सम्पन्न गर्ने घेदुङको तयारी छ ।

यसको लागि घेदुङले आगामी ६ महिनाभित्रमा भातृसंगठनहरु, स्थानीय समितिहरुको अधिवेशन सक्ने र आगामी २०७६ मंसीर महिनाभित्रमा सातवटै प्रदेश समितिको समेत अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ ।