संस्कृति घेदुङ तामाङ घेदुङको मियो होः घिसिङ

375

१४ माघ, २०७५ लमजुङ ।

नेपाल तामाङ घेदुङको संघीय उपाध्यक्ष कुमार घिसिङले संस्कृति घेदुङ तामाङ घेदुङको मियो भएको बताएका छन् । संकटकालको अवस्थामा पनि संस्कृति घेदुङले शान्तिको अभियान सञ्चालन गरेको भन्दै उपाध्यक्ष घिसिङले सबैले संस्कृति घेदुङलाई शिरोपर गर्दै अघि बढ्नुपर्ने बताए ।

नेपाल तामाङ संस्कृति घेदुङ लमजुङको आयोजना तथा सुन्दरबजार नगर संस्कृति घेदुङको ब्यवस्थापनमा सञ्चालित स्व. प्रितिमान बोम्जन तामाङ स्मृति दोस्रो खुल्ला एकल तामाङ फुटबल (काङबुल) प्रतियोगिताको गत माघ १२ गते उद्घाटन गर्दै घिसिङले सो कुरा बताएका हुन् ।

उहाँले संस्कृतिको मर्म बुझेर नै २०५१ सालमा आफ्नै नेतृत्वमा साँस्कृतिक समिति गठन गरेको स्मरण गर्दै २०५४ सालमा सम्पन्न चौथो सम्मेलनबाट भातृसंगठनको रुपमा आफूले पुनः नेतृत्व गरेको बताए ।

कला, संस्कृतिको माया गर्ने स्व. प्रितिमान बोम्जन जस्ता होनहार प्रतिभाको जन्म भएको कारण नै लमजुङ घेदुङको शीर उच्च रहेको उहाँको धारणा थियो । समाजमा धेरै मान्छेहरु जन्मिन्छ र मर्छ तर जो मरेर पनि बाँच्छ, त्यस्तो मान्छे बिरलै जन्मन्छन्, उनले भने– त्यस्तो बिरलै बाँच्ने मान्छे मध्येमा प्रितिमान बोम्जन एक हो ।

उहाँले यस्ता ब्यक्तित्वको सम्झनामा बर्ष दिनमा एकपटक कार्यक्रम गरेर मात्र नपुग्ने बताए । उनले जिल्लाको गाउँ गाउँमा प्रशिक्षण र तामाङ साँस्कृतिक पुनर्जागरणका कार्यक्रम सञ्चालन गर्न सकेमा मात्र यस्ता ब्यक्तिको सपना पुरा हुने विश्वास ब्यक्त गरे ।

संस्कृति घेदुङका जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका बोम्जन समाज सेवामा सक्रिय रहँदा रहँदै अल्पायुमा उहाँको निधन हुन पुगेको थियो । उहाँको सम्झनामा लमजुङ संस्कृति घेदुङले बर्षेनी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा तामाङ समाजका अग्रज ब्यक्तित्वहरु, नेपाल तामाङ घेदुङका पदाधिकारी तथा नेताहरु र खेलप्रेमी दर्शक महानुभावहरुको उल्लेख्य सहभागिता रहेको थियो ।