घेदुङले फाग् ल्होछारलाई आन्दोलन बर्षको रुपमा मनाउने

319

पुष १२, काठमाडौं ।
नेपाल तामाङ घेदुङले यस बर्षको सोनाम ल्होछार–२८५५ फाग्ड्वा ल्होलाई आन्दोलन बर्षको रुपमा मनाउने भएको छ । नेपाल सरकारले ल्होछारलाई दिँदै आएको सार्वजनिक बिदा कटौती गरेको विरोध स्वरुप घेदुङले साँस्कृतिक पर्वलाई समेत आन्दोलनको रुपमा मनाउन लागेको हो ।
नेपाल तामाङ घेदुङको पुष १२ गते बसेको १४ औं सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । घेदुङले यसबर्ष ल्होछारको लागि सोनाम ल्होछारको प्रवद्र्धन, हाम्रो साँस्कृतिक सरोकार, ताम्सालिङ प्रदेशको निर्माण, हाम्रो राजनीतिक आधार भन्ने मूल नारा तय गरेको छ ।
३ नं. प्रदेशलाई नेवाः ताम्सालिङ प्रदेश नामाकरण गराउन आन्दोलन गर्दै आएको घेदुङले यसबर्ष ल्होछारको अवसरमा पहिचान र अधिकारको सवाललाई छताछुल्ल पार्ने महासचिव बाबु घिसिङले बताए ।
उनले भने, हाम्रो साँस्कृतिक अधिकार खोसिएको बेला हामी यही मुद्दालाई लिएर जनतामा जादैछौ । सरकारले ल्होछारको बिदा कटौती गरिरहेको अवस्थामा पनि काभ्रे स्थित रोशी गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेकोमा भने बैठकले उक्त गाउँपालिका प्रमुख लगायतलाई धन्यवाद प्रस्ताव पास गरेको छ ।
यसैगरी बैठकले अन्तर्राष्ट्रिय तामाङ परिषद्को दार्जिलिङ, मिरिकमा सम्पन्न चौथो सम्मेलनको समेत समिक्षा गरेको छ । सम्मेलन सम्पन्न गरेकोमा आयोजक समिति, अखिल भारतीय तामाङ बौद्ध संघ परिवार, देश/विदेश स्थित विभिन्न संघ/संस्थाका प्रतिनिधि, अतिथि सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।
सम्मेलनको क्रममा ब्यवस्थापनमा थुप्रै कमिकमजोरी देखिएको भन्दै बैठकले नेपाल र अन्य मुलुकबाट सम्मेलन स्थलमा पुगेको प्रतिनिधिहरुमा पुग्न गएको असुविधाप्रति संस्थागत रुपमा क्षमा मागेको छ ।
सम्मेलनमा हामीले आमन्त्रण गरेको प्रतिनिधिहरुले धेरै दुःख पाएको र यस विषयलाई लिएर उद्घाटनदेखि बन्दसत्रमा समेत कुरा उठाउँदा पनि ब्यवस्थापन पक्षबाट सुनुवाई नहुँदा नैतिक हिसावले क्षमा मागेको घेदुङले जनाएको छ ।
यस्तै बैठकले नेपाल तामाङ संस्कृति घेदुङ, नेपाल तामाङ ताम्बा घेदुङ, ताम्बा संघ नेपाल, युवा घेदुङका उपाध्यक्ष बिलाम मोक्तान र कलाकार छेडुप लामाको भूमिकालाई विशेष धन्यवाद दिएको छ ।