राजधानीको टुंगो लागेपछि नामाकरणको विषय टुंगो लगाइनेछः मुख्यमन्त्री पौडेल

16
UML PP leader Dor Mani Paudel pose for a portrait after being appointed as Chief Minister of Province 4 in Hetauda, on Sunday. February 11, 2018. Photo: Prakash Dahal

१४ कातिक, काठमाडौं ।
प्रदेश नं. ३ का मुख्य मन्त्री डोरमणि पौडेलले राजधानीको विषय टुंग्याएपछि मात्र नामाकरणको विषयलाई टुंगो लगाउने बताए । नेवाः ताम्सालिङ समन्वय समितिको प्रतिनिधि मण्डलसँगको भेटमा मुख्यमन्त्री पौडेलले उक्त जानकारी गराएका हुन् ।

उहाँले राजधानीको विषयलाई १५ दिनभित्रमा टुंगो लगाईने र त्यसपछि नामाकरणको विषयमा छलफल हुने बताए । तपाईहरुले भनेको कुरालाई पनि हामी अस्वीकार गर्दैनौ, पौडेलले भने– धेरै नामहरु आउँछन्, त्यसलाई छलफलबाट साझा सहमतिको आधारमा टुंगो लगाईनेछ ।

भाषाको विषयमा भाषा आयोगले निर्धारण गरे अनुसार टुंगो लगाउने मुख्यमन्त्री पौडलेले बताए । यसैगरी विशेष, संरक्षित र स्वायत्त क्षेत्रको सन्दर्भमा चेपाङ संरक्षित क्षेत्र लगायत निर्माण गर्न आयोग बनाएर टुंगो लगाउने भनिएपनि त्यो अघि नबढेको उहाँले प्रष्ट पारे ।

यसैगरी सभामुख सानकुमार श्रेष्ठले नामाकरणको विषय मुख्यमन्त्री र सभामुखको मात्रै निर्णायक भूमिका नभई सम्बन्धित दल र सांसदको मुख्य भूमिका हुने बताए । सभामुख श्रेष्ठले आफूहरु लबिङ गर्ने नभई टेबल गर्ने भूमिकामा मात्र रहेको प्रष्ट पारे । उहाँले नियमावली अनुसार प्रदेशमा ११० जना सांसद रहेकोले ७३ जनाको दुईतिहाई बहुमतबाट पारित हुने जानकारी गराए ।

हामी अरु प्रदेशतिर नामाकरणको विषयलाई कसरी टुंगो लगाउँछ भनेर त्यो पनि हेर्दैछौ, श्रेष्ठले भने– यसलाई एकैपटक लाने कि छुट्टाछुट्टै लाने, सरकारले लाने कि सांसदले लाने भन्ने विषयमा अझै छलफल भएको छैन ।

समितिबाट गएको प्रतिनिधि मण्डलले मुख्यमन्त्री, प्रदेश सभामुख र मन्त्रीहरुलाई समेत भेटेर आफूले उठाएको मुद्दाको सम्बन्धमा जानकारी गराएका थिए । उनीहरुले मुख्यगरी प्रदेशको नामाकरण, सरकारी कामकाजको भाषा, मातृभाषी शिक्षा नीति र कम जनसंख्या भएको समुदायको स्वायत्तताको विषयमा प्रदेश सरकारले गरेका पछिल्ला अपडेटको बारेमा जिज्ञासा राखेका थिए ।

यसैगरी समितिका संयोजकद्वय नेवाः देय दबूका केन्द्रीय अध्यक्ष नरेश ताम्रकार र नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङले नेवाः ताम्सालिङ समन्वय समितिले सञ्चालन गरेको संघर्षको कार्यक्रमहरुको सम्बन्धमा समेत मुख्यमन्त्री र सभामुखलाई जानकारी गराए ।

उनीहरुले नेवाः ताम्सालिङ समन्वय समितिबाट उठाएको मुद्दालाई बेवास्ता गरिए शान्ति कायम नभई मुलुक दीर्घकालीन द्वन्द्वमा फस्ने सम्बन्धमा सचेत गराएका थिए ।
प्रतिनिधि मण्डलमा नेवाः ताम्सालिङ समितिका सल्लाहकार तथा लोककवि राजभाई जकमी, लोकतान्त्रिक नेवाः दबूका केन्द्रीय सदस्य भगवान शाक्य, संघीय समाजवादी नेवाः संघका अध्यक्ष सत्यनारायण डंगोल, नेपाल तामाङ घेदुङका सचिवालय सदस्य रामभक्त बोम्जन लगायतको उपस्थिति रहेको थियो ।