कातिक १४ को मोटरसाईकल ¥याली तिहारपछि हुने

288

१३ कातिक, काठमाडौं ।

नेवाः ताम्सालिङ समन्वय समितिले कातिक १४ गते हेटौडामा गर्ने भनिएको मोटरसाईकल ¥याली सहितको मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम तिहारपछि हुने भएको छ । नेवाः ताम्सालिङ समन्वय समितिको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको समितिका सदस्य सचिव तथा नेपाल तामाङ घेदुङका महासचिव बाबु घिसिङले बताए ।
यस अघि समितिले कातिक १४ गते मोटरसाईकल ¥याली सहित मुख्य मन्त्रीलाई ज्ञापन पत्र बुझाउने र हेटौडा मुख्य चौकमा जनसभा सम्पन्न गर्ने निर्णय गरेको थियो । कार्यक्रमको लागि २ र ३ नं. प्रदेशबाट उल्लेख्य संख्यामा नेवार, तामाङ लगायत अन्य पहिचान पक्षधर समुदायको सहभागिता गराउने तयारी पनि गरिएको थियो । तर उक्त मितिमा प्रदेशको संसद बैठकको समय नमिलेपछि कार्यक्रम सारिएको समितिका संयोजक तथा नेवाः देय दबूका केन्द्रीय अध्यक्ष नरेश ताम्रकारले बताए ।
सोमबार बसेको बैठकले कातिक १४ गते नेवाः ताम्सालिङ समन्वय समितिको एक प्रतिनिधि मण्डल हेटौडा पुगेर मुख्यमन्त्रीसँग भेट गरी आफूहरुले उठाएको प्रदेशको नामाकरण, भाषाको सवाल र कम जनसंख्या भएका आदिवासी समुदायको स्वायत्तताको मुद्दाको बारेमा छलफल गर्ने ताम्रकारले बताए ।
यसका साथै समितिले यस बीचमा प्रदेश सांसदहरुसँग आन्तरिक रुपमा प्रदेश नामाकरणको विषयमा छलफल गर्ने भएको छ । तिहार र छठ पर्वपछि प्रदेश संसद चालु भएको अवस्था पारेर लगत्तै यसअघि घोषित मोटरसाईकल ¥याली गरिने समितिले जनाएको छ ।
नामाकरणको लागि दबाब दिन आपूmहरु उल्लेख्य संख्यामा हेटौडामा जाने तयारी गरेको नेपाल तामाङ घेदुङ प्रदेश नं. २ का अध्यक्ष डेनोक मोक्तानले बताए । यसैगरी ३ नं. प्रदेशका सबै जिल्ला समन्वय समितिहरु र २ नं. प्रदेश अन्तर्गतका सप्तरी, सर्लाही, धनुषा, बारा, महोत्तरी, पर्सा र रौतहटबाट समेत हजारौको संख्यामा ¥यालीमा सहभागिता रहने बुझिएको छ ।
ऐतिहासिक सभ्यताले विकास गरेको पहिचानका आधारमा ३ नं. प्रदेशको नामाकरण नेवाः ताम्सालिङ नराखिए त्यसले स्थायी द्वन्द्व निम्त्याउने पहिचानको लागि आन्दोलनरत नेताहरुले चेतावनी दिइसकेका छन् ।
अहिलेसम्म प्रदेश नं. ४, ६ र ७ को नामाकरण भईसकेको छ भने प्रदेश नं. १ लाई किरात–कोशी या किरात–सगरमाथा नामाकरण गराउने विषयमा छलफल भइरहेको छ । नामाकरण गरिएका तीनवटा प्रदेशहरुको नाम क्रमश गण्डकी, कर्णाली र सुदूरपश्चिम राखिएका छन् । आदिवासी जनजाति समुदायले ती नामहरुमा पञ्चायती गन्ध मिसिएको भन्दै ३ नं. प्रदेशलाई त्यसखालको नाम राख्न नहुनेमा लबिङ गर्दै आएका छन् ।