पवित्र वस्तु खादा र यसको महत्व

762

मोहन गोले तामाङ

बौद्ध धर्मावलम्बी र अन्य समुदायले समेत विभिन्न शुभ कार्यमा स्वागत, सम्मानको लागि प्रयोग गरिने वस्तु खादा हो । यो सेतो, रातो, पहेँलो, निलो र हरियो रंगको हुन्छ । भिन्नाभिन्नै रंगले भिन्नाभिन्नै महत्व दर्शाउँछ । खादाको साईज भने कुनै लामा हुन्छन् त कुनै छोटा पनि हुन्छन् । नेपालमा २०४६ सालको परिवर्तनपछि यसको प्रयोगमा ब्यापकता आयो । यसलाई बौद्ध धर्मावलम्बी बाहेक गैर बौद्ध धर्मावलम्वीले समेत विभिन्न शुभ कार्यमा प्रयोग गरे । लगभग तीन दशक खादा सबैको साझा वस्तु बन्यो, कसैले यस सम्बन्धमा प्रश्न उठाएनन् । तर पछिल्लो चरणमा बुझेर या नबुझेर केही मान्छेहरु खादा बहिष्कार गर्नेदेखि यसको सट्टामा ढाकाको गलबन्दी समेत प्रयोग गर्न थालेका छन् । बुद्ध जयन्तीको अवसरमा यसबर्ष बुद्धकै जन्मस्थल लुम्बिनीमा समेत थाकका थाक ढाकाको गलबन्दी पु¥याएको देखियो । देशकै कार्यकारी प्रमूख प्रधानमन्त्री केपी ओलीले समेत सार्वजनिक कार्यक्रममा खादाको भरमग्दुर विरोध गरे । सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिकाका वडा अध्यक्ष नेत्रबहादुर कार्कीले पनि आफ्नो वडा क्षेत्रभित्र खादा प्रयोगमा प्रतिवन्ध लगाए । उनको यो निर्णयको संसारभरिका तामाङ संघ÷संस्थाहरुबाट सर्वत्र आलोचना भयो । केही समय अघि चितवन जिल्ला स्थित एउटा पार्टीको कार्यक्रममा पनि खादा बहिष्कार गरेको भन्ने सुनियो । यसको पनि त्यस समयमा विरोध भएको थियो ।

वास्तवमा यति लामो समयसम्म सबैले स्वीकार गरेको पवित्र वस्तु खादामाथि पछिल्लो चरणमा किन प्रहार भइरहेको छ ? यसरी निरन्तर राजनीतिक रुपले प्रहार हुनु भित्रको उद्देश्य के हो ? खोजीको विषय बनेको छ । प्रधानमन्त्रीले खादाबाट प्रदुषण हुने आशय ब्यक्त गरेका थिए भने वडा अध्यक्ष कार्कीले जारी गरेको पत्रमा स्थानीय फूल, दुबो, गुराँस, सुनाखरीलाई प्रवद्र्धन गर्ने भन्ने उल्लेख थियो । केहीले विदेशी वस्तु आयात नगरेर स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने हास्यास्पद नारा लगाए । जुन देशमा सियोदेखि नूनसम्म र कन्दनीदेखि बाहुनले फेर्ने जनै धागोसम्म विदेशबाट आयात गर्नुपर्छ भने एउटा वस्तु खादाको प्रतिवन्ध लगाएर कति पैसा बाहिर जानुबाट रोक्नु खोजेको हो ? सामान्य चेतले नबुझ्ने कुरो यो छ । यसबाट प्रष्ट हुन्छ कि प्रधानमन्त्री बाणीदेखि वडाअध्यक्षको उर्दीसम्म दुवैको भित्रि सार उद्देश्य भनेको संस्कृतिमाथिको नाङ्गो आक्रमण हो । स्थानीयताको प्रवद्र्धन र प्रदुषणको कुरा त दुनियाँलाई देखाउने तिनको बहानावाजी मात्र हो ।

जसले खादाको महत्वलाई बुझ्न सकेनन् । खादामा अंकित सांकेतिक शुभ चिन्हहरु र सम्भोटा लिपिमा लेखिएका शुभ अक्षरहरुलाई बुझ्ने कोशिस नगर्दा ब्यर्थमा एकाथरी मान्छेहरु खादाको विरोध गरिरहेका छन् । खादामा कुनै धर्म वा समुदाय विशेषको बर्णन गरिएको नभई समस्त प्राणी हितको लागि शुभ शब्दहरु लेखिएको हुन्छन् । त्यहाँ शुभ चित्रहरु कोरिएका हुन्छन् । खादामा लेखिएको अक्षर सम्भोटा लिपिको हुँदैमा भोटे अक्षर हो भनेर कोही तर्सिनु पर्ने कारण छैन । त्यसो त अंग्रेजी अक्षरदेखि झनै तर्सिनुपर्ने हो ।

बौद्ध धर्मग्रन्थ पहिले भारतका पण्डितहरु नै तिब्बत पुगेर अनुवाद गरेका हुन् । नालण्डा विश्वविद्यालयका थुप्रै आचार्यहरुको यसमा ठूलो भूमिका छ । पछि तिब्बतका अनुवादकहरु भारत गएर संस्कृत र पाली भाषा अध्ययन गरी तिब्बती भाषामा अनुवाद गरेपछि यसले अझ ब्यापकता पायो । यसमा भारतका महासिद्ध गुरु पद्मसम्भवको सबैभन्दा ठूलो योगदान छ । सातौ शताब्दीदेखि सुरु भएको अनुवादबाट तिब्बतमा धेरै धर्मग्रन्थहरु तिब्बती भाषामा अनुवाद भए । त्यही लिपिमा तयार भएको ग्रन्थहरु नेपालमा आयो । नेपालको नश्लीय राज्य ब्यवस्थाले यसको आफ्नै देशीय भाषामा अनुवाद गर्ने ब्यवस्था मिलाएन । सम्भवत यो ब्यवस्था मिलाएको भए हामी आज आफ्नै लिपिमा पढ्न पाउँथ्यौ होला । त्यसैले कुन लिपिमा लेखियो भन्दा पनि के लेखिएको छ ? त्यो पक्ष महत्वपूर्ण हो । बाहुनले ओढ्ने रामनामी बर्कोमा संस्कृत भाषाबाट मन्त्रहरु लेखिएका हुन्छन् । संस्कृत भाषाको अक्षर देख्दैमा अर्को भाषा बोल्ने समुदाय तर्सिनु पर्दैन । यो धर्म निरपेक्ष, संघीय, गणतान्त्रिक मुलुकको बहुलताभित्र बस्ने जनताले सोच्ने चित्त होइन । मुख्यतः त्यहाँ के लेखिएको छ भन्ने कुरोको चुरो खोज्नु जरुरी छ । यति बुझ्ने प्रयत्न ग¥यौ भने धार्मिक, साँस्कृतिक सहिष्णुताको प्रवद्र्धनमा टेवा पुग्नेछ ।

खादालाई बुद्धको न्हाम्सा अर्थात पवित्र वस्त्रको रुपमा लिइन्छ । खादामा सम्भोटा लिपिमा निम्न शान्ति र सुभ शब्दहरु लेखिएका हुन्छन्ः (१) टासी देलेक फुन्सुम छ्योकऊ (यसको अर्थ होः सुख, शान्ति, शुभ राम्रो कुराले सधैं भरिपूर्ण होउन्) । यसमा अरु थप आशिर्वादहरु पनि लेखिएका हुन्छन्ः (२) ङिन्मो देलेक छेन्देलेक, ङिम्हे घुङयाङ देलेग सिङऊ (यसको अर्थ होः बिहानको शुभ, मध्य दिनको शुभ र रातको शुभ रहोस्) । (३) ङिन्छेन् ताक्तु देलेगपा, कोन्छ्योग सुम्गी टासी श्योगऊ (यसको अर्थ होः दिन र रात सबै राम्रो भई त्रिरत्नको शुभ रहोस्) । (४) पोन्लोप मिडल ल्हेन्चीघ ढोघ, कुछे मिग्युर स्रा तेन्ङा, स्हाङ्से टोग्युन मिछेकी ला छ्योइफेल टाशी श्योगऊ (यसको अर्थ होः गुरु मण्डल र हामीबीच केही गडबढी नभई सधैं मित्रता र साथ रहिरहोस्, आयु र शरीर कहिल्यै नष्ट नहोस्, गाँज बलियो एवम् अटल होस्, राम्रो होस्, हृदयदेखि नै कर्म गर्न मन लागिरहोस्, अनन्तसम्म सुख, शान्ति र धर्म फैलिएर जाओस्) । यस्ता पुन्य, शुभ शब्दहरु खादामा लेखिएका हुन्छन् ।
यसको साथै कतिपय खादामा ओम मणि पद्मे हुँ ह्री जस्तो मन्त्र पनि लेखिएको हुन्छ । जसअनुसार (१) ओमको अर्थ मन, वचन र शरीर शुद्ध हुने हो । (२) मणिको अर्थ अमूल्य रत्न हो । (३) पद्मेको अर्थ कमलको फूल हिलोमा फुलेर पनि शुद्ध रहने हो । (४) हुँको अर्थ मणि र कमल जस्तो हो र (५) ह्रीको अर्थ स्वयम् अवलोकेतेश्वरको चित्त हो । यो मन्त्रको जप गर्नाले समेत देवलोक, असुरलोक, मनुष्यलोक, पशुलोक, प्रेतलोक र नर्कलोकमा पुर्नजन्म लिनुपर्ने कष्टको ढोका बन्द हुन्छ भनिएको छ । विद्वान राजनीति विश्लेषक प्रा. डा. सुरेन्द्र केसीले त ओम मणि पद्मे हुँ को मन्त्र समेत प्रकृति पुजक खसहरुको हो भनेर दाबी गर्नुभएको छ । तसर्थ, यस्तो तन्त्र÷मन्त्र युक्त खादा लगाउने वा धारण गर्ने मान्छेको सधैंभरि कल्याण हुन्छ भन्ने जनविश्वास रहेको छ ।

त्यसैगरी खादामा अष्ट मंगलम्को चित्र पनि छापिएको हुन्छ । ती अष्टमंगल चित्रको अर्थ यसप्रकार छन्ः (१) धुक (ह्रिन्छेन धुक)ः छाता अर्थात भगवानको छाता जो ज्ञानको सागर भएको व्यक्तित्वलाई ओढाइने गरिन्छ । (२) सुनको माछा (सेर्गी ङ्या)ः शुभको प्रतिक हो । (३) बुम्बा अर्थात कलश (घोइम्युङ)ः सम्पूर्ण इच्छा प्राप्ती हुने । (४) कमल (इहोङ कमल)ः हृदय आनन्दित पार्ने । (५) शंख (ङ्यान्डक धुङ)ः शक्तिशाली श्रवण अर्थात धर्मको ध्वनी वा आवाज गुञ्जिने । (६) स्वस्तिक चिन्ह (पल्बेहु)ः प्रेमको कहिल्यै अन्त नहुने अर्थात इच्छाएको प्राप्ती हुने र धेरै राम्रो हुने । (७) छाता (घ्याल्छेन)ः मानव जीवनको कहिल्यै अन्त्य नहुने र (८) धर्मचक्र÷खोर्लो (वाङ्ग्युर)ः शक्ति फैलाउने । यस्तो महत्वपूर्ण शुभ मंगलका संकेत चित्रहरु खादामा छापिएको हुनाले यसबाट ऊ दुःखमा पर्नु पर्देन ।

यसको साथै खादामा प्रयोग हुने पञ्च रत्नको पनि छुट्टाछुट्टै अर्थ र महत्व छ । (१) निलो रंग आकाशको प्रतिक हो । (२) पहेंलो रंग जमीन वा माटोको प्रतिक हो । (३) रातो रंग अग्निको प्रतिक हो । (४) सेतो रंग बादलको प्रतिक हो र (५) हरियो रंग जंगलको प्रतिक हो । पञ्च रंगले पाँच भौतिक तत्व (जो मानव जीवनको सृष्टिसँग सम्बन्धित छ) को बोध गराउँछ ।

तसर्थ, मानव कल्याणको लागि यस्तो महत्व बोकेको खादा बहिष्कार गर्नु भनेको शुभ संकेतलाई नै लत्याउनु हो । शुभलाई अस्वीकार गरियो भने अशुभ मात्र भोग्नुपर्छ । यसको विकल्पमा ढाकाको गलबन्दी प्रयोग गर्नुको त अझ कुनै अर्थ छैन । यति महत्वपूर्ण मन्त्रहरु लेखिएको खादासँग ढाकाको गलबन्दी तुलना गर्नै मिल्दैन । ढाकाको फूलबुट्टा देख्दा आँखालाई एकछिन तिरिमिरी पार्छ, त्यति हो । यसबाट कुनै शुभ हुँदैन । बरु यसमा प्रयोग गरिएको कृतिम लेपनवाला रंगले घाँटी चिलाउने र एलर्जी हुने सम्भावना बढ्छ । त्यसकारण खादालाई केवल आतिथ्यतामा गलाको शोभा दिनको लागि प्रयोग गरिने वस्तुको रुपमा मात्र नबुझौं । यसको धार्मिक, साँस्कृतिक र सामाजिक महत्व छ । सबैले बुझ्ने प्रयत्न गरौ । धन्यवाद ।।