कातिक १४ गते हेटौडामा विशाल प्रदर्शन हुने

694

२२ असोज, काठमाडौं ।
नेवाः ताम्सालिङ समन्वय समितिले कातिक १४ गते हेटौडामा विशाल मानव सागर ओराल्ने भएको छ । यसको लागि काठमाडौंबाट एकहजार बढी मोटरसाईकल ¥याली सहित हेटौडा स्थित मुख्य मन्त्रीको कार्यालय परिक्रमा गराउने समितिले तयारी गरेको छ ।
प्रदेश नं. ३ लाई बहुपहिचानको आधारमा नेवाः ताम्सालिङ प्रदेश नामाकरण गराउन दबाब स्वरुप मोटरसाईकल ¥याली सहितको प्रदर्शन गर्न लागेको हो । प्रदर्शनलाई ब्यापक बनाउन मकवानपुर र चितवन जिल्लाहरुबाट उल्लेख्य संख्यामा सहभागिता गराउने समितिको तयारी छ ।
हामी बिशाल ¥याली सहित मुख्यमन्त्री ज्यूलाई ज्ञापन पत्र बुझाउँछौ, समितिका संयोजक तथा नेवाः देय दबूका केन्द्रीय अध्यक्ष नरेशकुमार ताम्रकारले भने– त्यसपछि २ घण्टा हेटौडा बजार ठप्प बनाएर जनसभा सञ्चालन गर्नेछौ । यसबाट पनि मागको सुनुवाई नभए ३ नं. प्रदेश बन्द सम्मको कार्यक्रम सञ्चालन गर्ने ताम्रकारले बताए ।
प्रदर्शनलाई ब्यापक बनाउन समितिका अर्का संयोजक तथा नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङ यस अघि नै चितवन जिल्लामा पुगेर घेदुङका सबै समितिहरुलाई विशेष निर्देशन दिइसकेका छन् ।
चितवनको राप्ती र खैरहनी नगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गोलेले अस्तित्व रक्षाको अन्तिम संघर्षमा जुट्न सबैलाई आग्रह गरे । उनले भने– ३२ इन्ची छाती हुने हिम्मतदार तामाङका छोराछोरीहरु मैदानमा आउनोस् । २, ४ जना लुतेहरु पुच्छर लुकाएर भाग्दैमा क्रान्ति रोकिदैन ।
३ नं. प्रदेश तामाङ र नेवार समुदायको ऐतिहासिक भूगोल भएको भन्दै विगतमा संघर्ष समिति र नेपाल सरकारबीच भएको सहमति अनुसार नेवाः ताम्सालिङ प्रदेश नामाकरण हुनुपर्ने समितिले दाबी गर्दै आएको छ ।
संसदीय अंकगणितको बलमा पहिचान मेट्ने प्रयास गरिए त्यसले स्थायी द्वन्द्व निम्त्याउने पूर्व कानून राज्यमन्त्री दिलमान पाख्रिनले बताए । दुई तिहाईको गणित जनताकै मतबाट बनेकोले त्यो कुनैपनि बेला तासको महल झैं ढल्ने उनको भनाई थियो ।
त्यसैगरी पूर्व उर्जा राज्य मन्त्री सुर्यमान दोङले पहिचानकै लागि १० बर्षसम्म माओवादीले जनयुद्ध लडेको बताए । उनले भने, यदि न्यायपूर्ण आवाजलाई नसुन्ने हो भने चिहानबाट शहिदको कंकाल उठाएर ल्याइनेछ ।
अहिलेसम्म प्रदेश नं. ४, ५ र ७ को नामाकरण भईसकेको छ भने प्रदेश नं. १ लाई किरात नामाकरण गर्न छलफल भइरहेको छ । ती प्रदेशहरुको नाम क्रमश गण्डकी, कर्णाली र सुदूरपश्चिम राखिएका छन् । आदिवासी जनजाति समुदायले ती नामहरुमा पञ्चायती गन्ध मिसिएको भन्दै अस्वीकार गर्ने बताउँदै आएको छ ।