नेवाः ताम्सालिङ समितिले सबै जिल्लामा धर्ना दिने

183

नेवाः ताम्सालिङ समन्वय समितिले आगामी २०७५ भदौ १३ गते ३ नं. प्रदेशको १३ वटै जिल्लाको प्रमूख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउने भएको छ । नेवाः ताम्सालिङ समन्वय समितिको आज नेवाः देय दबूको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
निर्णय अनुसार नेवाः ताम्सालिङ समन्वय जिल्ला समितिको संयोजनमा जिल्ला प्रशासन कार्यालय अगाडि एकघण्टा ब्यानर सहित धर्ना दिने र ज्ञापनपत्र बुझाउनुका साथै मुख्य चौकमा कोणसभा गर्ने भएको छ ।
समितिले विभिन्न जिल्लामा अभियानकर्मी नेता, कार्यकर्ताहरुलाई पठाउने निर्णय गरेको छ । जसअनुसार रसुवा जिल्लामा कुमार योञ्जन र अनुप सिं सुवाल, नुवाकोट जिल्लामा शाक्य सुरेन र बिजय लोप्चन, धादिङ जिल्लामा दिलमान पाख्रिन र राजभाई जकमी, दोलखा जिल्लामा रामकृष्ण ब्लोन र रञ्जना मास्के, मकवानपुर जिल्लामा जयप्रसाद गोले र भगवान शाक्य, सिन्धुली जिल्लामा मोहन गोले र माईलाबाबु द्यौला, रामेछाप जिल्लामा बाबु घिसिङ र सत्यनारायण डंगोल, सिन्धुपाल्चोक जिल्लामा दिलिप महर्जन र दावा लामा, काभ्रे जिल्लामा सुर्यमान दोङ र उमेश स्थापित पुग्नेछन् ।
यसैगरी अन्य जिल्लामा समेत प्रतिनिधि पठाईने नेवाः देय दबूका अध्यक्ष नरेशकुमार ताम्रकारले बताए ।