जनजातिको नेतृत्व मालिकको ब्रिफकेस बोक्नमै मक्ख छन् ः सिके लाल

505

१ भदौ, काठमाडौं ।
लेखक तथा राजनीतिक बिष्लेषक सिके लालले जनजातिको नेतृत्व मालिकको ब्रिफकेस बोक्नमै मक्ख परेको बताए । नेवाः ताम्सालिङ समन्वय समितिले आज कुपण्डोल स्थित सातोआकी भवनमा आयोजना गरेको सम्मानको राजनीति र संघीयता बिषयक पहिचान सम्वाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
प्रमूख बक्ता सिके लालले जनजाति आन्दोलनको भविष्यको बारेमा गम्भीर चिन्ता ब्यक्त गर्नुभयो । जनजातिका युवा पुस्ता यो देशमा बसेर भविष्य बर्बाद हुन्छ भन्दै बिदेशिएका छन् भने बयस्क पुस्ता पनि क्रान्तिबाट पलायन हुने क्रम बढ्दो छ । त्यसैले पहिचानको आन्दोलन अप्ठ्यारो स्थितिमा रहेको उहाँको धारणा थियो ।
उहाँले यस्तो अप्ठ्यारो स्थितिमा क्रान्तिलाई बचाउन जनजातिले मधेशी समुदायसँग मिलेर संघर्ष गर्नुपर्ने बताए । यसले मात्र खसआर्य बर्चस्व कम भई मुलुकमा समतामूलक समाज निर्माण हुने स्पष्ट पारे । जनजातिहरु आफैले मात्र संघर्ष गर्न सक्ने अवस्थामा नहुँदा कोहीसँग मिल्नुपर्ने उहाँको सुझाव थियो ।
४० मिनेट लामो आफ्नो बक्तब्य राख्ने क्रममा सिके लालले प्रत्येक ब्यक्तिको पहिचान हुने र त्यसको सम्मान हुनुपर्ने बताए । सम्मानको कुरा भनेको कुनैपनि मानिस कुन माटोमा हुर्कियो ? कुन भाषा बोल्यो ? कोसँग बस्दा गर्व अनुभूति ग¥यो ? र कुन समुदायसँग उसको सामिप्यता छ ? भन्ने कुराहरुसँग सम्बन्धित हुनाले यसको सम्मान गर्नुपर्ने उहाँको धारणा थियो ।
यसरी उ हुर्किएको माटो, पानी, रुखबिरुवा, समाजले विकास गरेको चाडपर्व, चरा/जनावरहरुसँगको अन्तरक्रिया, हावा र उसको धर्मसँगको सम्बन्ध आदिले नै समुदाय बनाउने बताए । उहाँले राज्य मान्छेको आवश्यकता अनुसार बनाइएको संयन्त्र भएकोले ती समुदायको प्राकृत सम्पर्कबाट विकसित वस्तुलाई सम्मान गर्नुपर्ने धारणा राखे ।
उहाँले एक अर्को प्रसंगमा जंगबहादुर राणाको जसको तरबार, उसको दरबार भन्ने उक्तिलाई जोड्दै लामो समय सत्ताधारी बर्गले जनतालाई दासको ब्यबहार गरेको बताए । समाजमा दुईखाले मान्छेमध्ये एउटा मालिक भए भने अर्कोलाई दास बनाइयो । दास अस्वीकार गर्नेहरु मालिकको दुश्मन भए । दुश्मन बन्दा मालिकबाट मारिने, नाककान काटिने, थातथलो गुम्ने, सर्वस्वहरण हुने हुँदा यो निकै चुनौती थियो ।
त्यसकारण विभिन्न कालखण्डमा कहिले शाहको नाममा कहिले राणाको नाममा जनजातिहरुले दासत्व स्वीकार गरे । दासहरु बाठा भए मालिकको बिरुद्ध संघर्ष गर्ने भएकोले उनीहरुलाई पढ्न नदिई, धनी बन्न नदिई सधैं पछौटेपनमा राखिएको र २००७ सालको जनक्रान्तिलाई उहाँले दासता बिरुद्धको बिद्रोह भएको बताए ।
उहाँले राजाको मुकुट फ्याकेपछि दासताको अन्त हुन्छ भनेर पछिल्लो क्रान्ति भएको तर गणतान्त्रिक युगमा सम्भ्रान्त बर्गले अर्कोखालको दासताको सुरुवात गरेको बताए । लामो समयको दासता भोगेको कारण जनजातिहरु चरलाई पिँजडामा रख्दा उड्न बिर्से जस्तै क्रान्ति गर्न बिर्सिएको तर्क राखे ।
उहाँले दया, मायाबाट अधिकार नपाईने ठोकुवा गरे । उनले भने– दयामाया, याचनाबाट भिख मात्र पाईन्छ । सुवेदार, खरिदार, जमदार, सुब्बाको भिख पाईन्छ तर पहिचान र अधिकार पाईदैन ।
बक्ता सिके लालले नेवाः ताम्सालिङ नाम सजिलै नपाईने बताए । दुई नम्बर प्रदेश बाहेक ६ वटा प्रदेशमा जातीय जनसंख्यादेखि प्रदेश सभामा उनीहरुको बाहुल्यता छ, यस्तो स्थितिमा शासकहरु नाम दियो भने जनजातिमा थप मनोबल बढेर जान्छ भन्ने त्रासबाट खोलानदीको नामबाट नामाकरण गर्न थालेको संकेत गरे ।
उहाँले ७ प्रदेशको संघीयता विगतको ५ बिकास क्षेत्रकै अवधारणामा आधारित भएको बताए । यसले गर्दा नाम पनि बिगतमै राखिएका गण्डकी, कर्णाली आएको हो । बर्तमान शासकहरुको लागि संविधान, संघीयता, समावेशी/समानुपातिक प्रतिनिधित्व र नागरिक समानताको सवालहरु उनीहरुको चासोको विषयमा नपर्ने भएकोले संघीयतालाई बिद्रुप बनाइएको धारणा राखे ।
अहिले केन्द्रमा अधिकार थोपर्ने, जनतालाई मनलाग्दो कर बढाउने, प्रदेशलाई अधिकार नदिने जस्ता काम गरेर नेपालको नाम मात्रको संघीयतालाई पनि शासकहरु बदनाम गर्न लागेको बताए । यसरी संघीयताको सामान्य सिद्दान्त पनि नराख्ने खतरा बढेकोतर्फ उहाँले सबैलाई सचेत गराए ।
उक्त पहिचान सम्वाद कार्यक्रम नेवाः देय दबूका अध्यक्ष नरेशकुमार ताम्रकार र नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।