तामाङ घेदुङ र नेवाः दबूको संयुक्त कार्यक्रममा कसले के भने ?

478

१८ साउन, २०७५ काठमाडौं ।
नेपाल तामाङ घेदुङ र नेवाः देय दबूले आज घेदुङको सभाहलमा नेवाः ताम्सालिङ प्रदेश नामाकरण र आदिवासी जनजातिको अधिकार विषयक कार्यक्रम सम्पन्न गरेको छ । नेवाः देय दबुको अध्यक्ष नरेशकुमार ताम्रकारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमूख अतिथि नेपाल आदिवासी जनजाति महासंघको अध्यक्ष जगतबहादुर बराम हुनुहुन्थ्यो ।
नेपाल तामाङ घेदुङका महासचिव बाबु घिसिङले सञ्चालन गर्नुभएको कार्यक्रममा अध्यक्ष मोहन गोले तामाङले स्वागत मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा आदिवासी जनजाति महासंघका संस्थापक सदस्य तथा पूर्व महासचिव परशुराम तामाङ, संघीय संसद सदस्य हितबहादुर तामाङ, राष्ट्रिय सभा सदस्य युटल लामा, पूर्व कानून राज्य मन्त्री दिलमान पाख्रिन, राजनीतिज्ञ सीताराम तामाङ, संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य लालबहादुर तामाङ, नेवाः ताम्सालिङ समन्वय समितिका सल्लाहकार राजभाई जकमी, जापानका लागि पूर्व राजदूत डा. गणेश योन्जन, घेदुङका पूर्व अध्यक्ष कुमार योन्जन, ताम्सालिङ संघर्ष समितिका अध्यक्ष जयप्रसाद गोले तामाङ, बरिष्ठ संगीतकार प्रदिप बोम्जन लगायतको उपस्थिति रहेको थियो ।

जगतबहादुर बराम, अध्यक्ष आदिवासी जनजाति महासंघ ।
यो सरकारले आदिवासी जनजातिको पहिचान त दिएन नै हिजो दिएको अधिकार समेत सबै खोसेको छ । यसको लागि अब काठमाडौमा बसेर मात्रै हुँदैन । अब मैदानमा ओर्लनु पर्छ, जिल्लामा जानुपर्छ, गाउँमा झर्नुपर्छ । त्यसको लागि हाम्रो माग र मुद्दाहरु लिएर जाने हो ।
गाउँमा जानको लागि सैद्धान्तिक आधार चाहियो, डकुमेन्ट चाहियो । त्यो डकुमेन्ट तयार गर्नको लागि साउन १९ र २० गते बृहत् राष्ट्रिय राजनीतिक सम्मेलनको आयोजना गरेका छौ । सम्मेलनबाट पारित डकुमेन्टलाई लिएर हामी लगत्तै गाउँ पस्दैछौ ।
हाम्रो समुदायलाई छुट्याएको कोटाबाट संघ र प्रदेश संसदमा प्रतिनिधित्व गरेका सांसदहरुले आज हाम्रो मुद्दाको पक्षमा बोलिरहेका छैनन् । त्यस्ता सांसदहरुलाई हामीले खबरदारी गर्नुपर्छ, त्यतिले पुगेन भने बहिष्कार समेत गर्छौ । त्यो अवस्था नआवोस् । ४ नं. प्रदेशलाई गण्डकी प्रदेश घोषणा गरेकोमा हामीले कालो दिनको रुपमा एक दिन बन्द ग¥यौ तर लोकतान्त्रिक आदिवासी जनजाति महासंघको नामबाट विज्ञप्ती जारी गरेर नै विरोध गर्न लगायो । ३ नं. प्रदेशमा पनि त्यस्तै हुनसक्छ । त्यसकारण नेवाः ताम्सालिङका साथीहरु अलि जुर्मुराउनु पर्ने भएको छ ।
हाम्रो पर्वको सार्वजनिक बिदा कटौती गर्दा हाम्रा सांसदहरुले संसद भवनमा आवाज निकाल्नु भएन । बरु गंगामाया अधिकार, डा. गोबिन्द केसीको नाममा विरोधका आवाजहरु उठाउनु भयो । यो विषयमा हामीलाई दुःख लागेको छ ।
आन्दोलनमा हामीले उठाएको कुराहरुमा दलहरुले सैद्धान्तिक सहमति गरेपनि ब्यबाहारिक कार्यान्वयन हुन नसकेको अवस्था छ । खेल त जित्यौ तर पुरस्कार अर्कैले थाप्यो । समानुपातिक प्रतिनिधित्वको ब्यवस्था भयो तर प्रतिनिधित्व कर्म र जन्मको विभिन्न आधारहरु सिर्जना गरेर उनैको प्रतिनिधित्व ग¥यो ।
आदिवासी जनजाति आन्दोलनको सम्बन्धमा फेसबुकमा चर्को कुरा गरेको सुनिन्छ । तर फेसबुकमा चर्को कुरा गर्नेहरु आन्दोलनमा आउदैन ।

परशुराम तामाङ, पूर्व महासचिव नेपाल आदिवासी जनजाति महासंघ ।
गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समानुपातिक समावेशिको मुद्धा हामी आदिवासी जनजातिले उठाएको मुद्धा हो । हिजो यो मुद्दा नबोक्ने राजनीतिक पार्टीहरु आज संघीयता, धर्म निरपेक्षता, समानुपातिक प्रतिनिधित्व र गणतन्त्र स्वीकार गरेका छन् । यो हाम्रो जित हो तर आज हारेकाहरु जितेका भन्छन् भने जितेकाहरु हारेका ठान्नु बिडम्बना हो ।
हामीले केही नपाएको भन्नु हुँदैन । केही पाएका छौ । पाएको ठाउँबाट संघर्षको थालनी गर्नुपर्छ । नेवाः ताम्सालिङको राजनीतिक सम्मेलनबाट साझा सहमति कायम गरी जे घोषणापत्र जारी ग¥यौ, त्यो घोषणापत्र हाम्रो प्रतिवद्धता पत्र हो । अहिले केही मान्छेहरु भित्र भित्र नेपाल मण्डल भन्दै हिडेका छन् । हामी संगठनले पास गरेको दस्तावेजभन्दा बाहिर जानु हुँदैन ।
इतिहासले स्थापित गरेको पहिचान नमान्ने हो भने भोलीको द्वन्द्व कल्पना गर्न नसकिने खालको हुनेछ । त्यो अवस्था आयो भने हाम्रो त केही जादैन तर सत्ता बर्गले ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ ।
हामीले भनेको नेवाः ताम्सालिङ बहु पहिचान हो । जुन पूर्व एमालेको मुद्धा हो भने माओवादीको पनि हो । आज संघीयतालाई पूर्ण रुपमा कार्यान्वयनमा लान हिच्किचाउँदा संविधान काम नलाग्ने भएको छ । संविधान संशोधन गर्नैपर्ने भएको छ । नत्र गलत सोचका साथ बनाएको संविधानको कारण संघीयता असफल हुँदैछ ।

सीताराम तामाङ नेता, नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी
आदिवासी जनजातिहरुले कहाँ जालास् हराउने बिलाउनेको घारीमा भन्ने जस्तो भएको छ । राजनीति गरेर नखाने भयो । अब सबैले राजनीति गरौ । सडक संघर्षमा निस्कौ । १००० जना मान्छेहरु सडकमा ओर्लिने हिम्मत गरौ । म सबैभन्दा अग्रपंक्तिमा हिड्न तयार छु ।
सडक आन्दोलनलाई अघि बढाउन सकेन भने हाम्रो माग पुरा हुँदैन । आज जो सत्तामा पुगेका छन् । सबै सडक आन्दोलनबाट नै गएका हुन् ।

दिलमान पाख्रिन नेता, नेपाली कांग्रेस
आदिवासी जनजातिहरुको छाता संगठन नेपाल आदिवासी जनजाति महासंघको प्रतिनिधिलाई बर्तमान प्रधानमन्त्री केपी ओलीले भेट गर्न दिएको छैन । यस्तो सरकारबाट हामीले हाम्रो पहिचान र माग पुरा हुन्छ भन्ने आशा छैन ।
आदिवासी जनजातिहरुलाई सिध्याउन थुप्रैलाई अल्पसंख्यक बनाइदिएको छ । थारुलाई त छुट्याइ नै सक्यो । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान समेत कोमामा छ । प्रतिष्ठान सकिएपछि जनजातिको सूचिकरण पनि सकिन्छ ।
यसकारण हाम्रो मागलाई पुरा गर्नको लागि अब भाषणले हुँदैन । गाउँमा जानुपर्छ, फिल्डमा जानुपर्छ । २, ४ जना शहिद बन्न तयार हुनुपर्छ । ढिला भइसक्यो, छिटो उत्रिनु प¥यो । मलाई कारवाही गरोस् पार्टीले, म तयार छु । कारवाही देखि डराएर हुँदैन । यसको लागि पार्टीभन्दा माथि उठ्नुपर्छ ।

हितबहादुर तामाङ सांसद, संघीय संसद
हामीले केही प्राप्त ग¥यौ तर सबै पाउन सकेनौ । ३ नं. प्रदेशको सबैलाई न्याय हुने नेवाः ताम्सालिङ प्रदेश नै हो । यो मुद्धामा साविकको माओवादीले मुद्धा छोडेको होइन तर समाउन भने नसकेको हो । समाउन नसकेको र छोडेकोमा फरक छ ।
विश्व आदिवासी दिवस सकिएपछि संविधान संशोधनको प्रक्रियाहरु सुरु हुन्छन् । सबैजना लागौ । प्रदेशका सांसदहरुलाई पनि आग्रह गरौ ।

लालबहादुर तामाङ नेता, संघीय समाजवादी फोरम नेपाल
अहिले हामी आदिवासी जनजातिहरु पहिचान पाएनौ भनेर कराइ रहेका छौ । तर भोट हाल्ने बेलामा पहिचान विरोधीलाई जितायौ । यो त्यतिबेलै गरेको गल्तीको कारण आज दुःख भोग्दैछौ ।