घेदुङको सांगठनिक संरचना संघीय ढाँचामा बन्ने

456

२६ चैत, काठमाडौं ।
नेपाल तामाङ घेदुङको सांगठनिक संरचना संघीय ढाँचामा बन्ने भएको छ । घेदुङको चैत २३ र २४ गते कोन्ज्योसोम गाउँपालिका चौघरे, ललितपुरमा सम्पन्न राष्ट्रिय विधानसभाले संघीय ढाँचामा जाने विधान पास गरेको हो ।
नेपाल तामाङ घेदुङले आज सोमबार आफ्नै सभाहल पुतलीसडकमा पत्रकार सम्मेलन गरी कोन्ज्योसोम घोषणापत्र सार्वजनिक गर्दै सो को जानकारी गराएका हुन् । ४६ जिल्लामा संगठन विस्तार गरेको घेदुङको विधानसभामा ४० भन्दा बढी जिल्ला, ६ वटा प्रदेश समिति र ४ वटा प्रवास समिति समेतबाट २०० जना प्रतिनिधिहरुको सहभागिता रहेको घेदुङका महासचिव महितकुमार तामाङले बताए ।
घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङले घोषणापत्र सार्वजनिक गर्दै भने– अब घेदुङको संघीय कार्यसमिति, प्रदेश कार्यसमिति, स्थानीय कार्यसमिति, वडा कार्यसमिति समेत ४ तह र विदेश स्थित रोजगारीको सिलसिलामा रहेका तामाङहरुको संगठन प्रवास कार्यसमितिको रुपमा रहनेछन् ।
घेदुङको चितवनमा सम्पन्न आठौ राष्ट्रिय महाधिवेशनले मुलुकमा संघीयता कार्यान्वयन भएपछि राज्यको संरचना अनुसार संगठनको संरचना पनि बदल्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार मुलुकमा तीन तहको निर्बाचन सम्पन्न भई सरकार समेत गठन भइसकेको विशिष्ट परिस्थितिमा विधानसभाबाट सांगठनिक संरचना संघीय ढाँचामा लगेको घोषणापत्रम उल्लेख छ ।
पाँच पृष्ठ लामो घोषणापत्रमा प्रथम खण्डमा प्रस्तावना, दोस्रो खण्डमा विधानसभाबाट परिमार्जित घेदुङको सांगठनिक संरचना, तेस्रो खण्डमा सामूहिक प्रतिवद्धताहरु र चौथो खण्डमा सरकारसमक्ष विभिन्न मागहरु समेटिएका छन् ।
विधानसभामा सहभागी प्रतिनिधिहरुले तामाङ समुदायमाथि हुने सबैखाले विभेद, अन्यायको विरुद्ध सामूहिक रुपमा एकठाउँमा उभिने प्रतिवद्धता ब्यक्त गरेका छन् । त्यसैगरी ताम्सालिङ प्रदेश निर्माण र तामाङ भाषा, संस्कृति प्रवद्र्धन तथा विकासको लागि निरन्तर संघर्षलाई जारी राख्दै राज्यपक्ष गम्भीरताका साथ प्रस्तुत नभए बिद्रोहमा समेत जानुपर्ने बताएको छ ।