ल्होछार नेपालको साँस्कृतिक राष्ट्रिय पर्व हो ः उपसभामुख राधिका तामाङ

21

घ्याङलेक सिन्धुली । प्रदेश नं. ३ का नवनियुक्त उपसभामुख माननीय राधिका तामाङले ल्होछार तामाङको मात्रै नभएर नेपालको साँस्कृतिक राष्ट्रिय पर्व भएको बताउनु भएको छ । सिन्धुलीको घ्याङलेक गाउँपालिका–४, गोपेमा योलाहोइसेर तामाङ समाजद्वारा फागुन १ गते आयोजित ल्होछार पुनर्जागरण बृहत साँस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै संबोधनको क्रममा सो–धारणा राख्नु भएको हो ।
उपसभामुख नियुक्त पश्चात पहिलो पटक सार्वजनिक समारोहलाई संबोधन गर्ने अवसर ल्होछार कार्यक्रम जुरेकोमा खुशी ब्यक्त गर्नुहुँदै ल्होछार पर्वलाई प्रबद्र्धन गर्न लागि पर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
धर्मनिरपेक्षता, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भनेकै सवै जाति, भाषा, धर्म, संस्कृति राष्ट्रको समान र साझा पहिचान भएकोले त्यस मान्यताबाट राज्य पछाडी नहट्ने पनि उपसभामुख तामाङले बताउनुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान कार्यान्वयनको चरणमा रहेको समुदायले आफ्नो हकअधिकारलाई स्थागत गर्न खबरदारी भने निरन्तर जारी राख्न आग्रह पनि गर्नुभयो ।

कार्यक्रमका विशेष अतिथि नेपाल तामाङ घेदुङ केन्द्रीय भाषा, लिपी तथा साहित्य विभाग प्रमुख काजीमान थिङले ल्होछार माघ कि फागुन, सोनाम कि ग्याल्बो भनेर अनावश्यक विवाद नगर्न समुदायलाई आग्रह गर्नुभयो । ‘तामाङले मान्ने सोनाम ल्होछार हो, मञ्जुश्री तामाङ संबत अनुसार पहिलो महिना ख्रे हो, ख्रेला छिपागी कुनु अर्थात ख्रेला १ गते ल्होछार नयाँ वर्ष हुन्छ,’ थिङले भन्नुभयो ‘त्यो भनेको वि.संम्बतमा कहिले माघ कहिले फागुनमा हुन्छ ।’ मुख्य कुरा ख्रेलाको १ गते कहिले हो भनेर बुझौ, ल्होछार माघमा कि फागुनमा भरेर अनावश्यक विवाद नगरौ’ उहाँले भन्नुभयो ।
योलाहोइसेर तामाङ समाजका अध्यक्ष रुपेश मोक्तानको अध्यतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य डिवि स्याङतान, घ्याङलेक गाउँपालिकाका उपाध्यक्ष दुर्गादेवी सुनुवार, माओवादी केन्द्र घ्याङलेकका संयोजक शंकरमान ग्लान, समाजसेवी उत्तर वाईवा, शिक्षक बुद्धिजीवि शम्सेर सुनुवार लगायतले शुभकामना मन्तव्य राख्नुभयो ।

राष्ट्रिय तथा स्थानीय कलाकारहरु बिशाल कल्तान, गोकुल तामाङ, सुविना लो, संजय थोकर, नविन लामा लगायतको सांगितिक तथा नृत्यको बेजोड प्रस्तुति रहेको कार्यक्रममा घ्याङलेक गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको संचालन बुद्ध पाख्रिन गरेका थिए ।