रसुवामा ल्होछार जागरण साँस्कृतिक कार्यक्रम सम्पन्न

361

रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं–४, मनीगाउँमा ल्होछार जागरण साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । यही माघ २० गते अर्थात तामाङ संबत २८५३ तापा लाको च्युअी ब्रे कुनु सम्पन्न भएको कार्यक्रम छेदिङमो तामाङ युवा समाजको आयोजनामा भएको हो ।
कार्यक्रमलाई संबोधन गर्नुुहुँदै कार्यक्रमका विशिष्ट अतिथि नेपाल तामाङ घेदुङका केन्द्रीय भाषा, लिपी तथा साहित्य विभाग प्रमुख काजीमान थिङ तामाङले राज्यको उत्पीडनका कारण तामाङ समुदायको मौलिक पर्व रीतिथिति, परम्पराहरू लोप हुँदै गएकोले साँस्कृतिक पुनर्जागरण अभियान संचालन गर्नुपरेको बताउनु भयो । तामाङ समुदायमा सोनाम ल्होछारबारे देखिएको विवादको बारेमा प्रष्ट्याउनु हुँदै तामाङ ल्होछार माघ कि फागुनमा भनेर विवाद नगर्न आग्रह गर्नुभयो ।
‘तामाङ भाषामा माघ र फागुन भन्ने नै छैन’ थिङले भन्नुभयो– ‘यो विक्रम संबतको महिना हो’ तामाङमा वर्षको पहिलो महिनालाई ख्रेला भनिन्छ, ख्रेलाको छिपागी कुनु अर्थात ख्रेलाको १ गते हाम्रो ल्होछार हुन्छ जुन मञ्जुश्री तामाङ चन्द्रपात्रो ज्योतिष विज्ञानको आधारमा हुन्छ’ उहाँले बताउनु भयो ।
खि सोनाम ल्होछार २८५४ आगमनको अवसरमा देश तथा परदेशमा ल्होछार साँस्कृतिक जागरण कार्यक्रमहरु संचालन भइरहेको छ । यसले तामाङ समुदायको घर–घरमा ल्होछार पु¥याउन र मनाउन महत्वपुर्ण सन्देश प्रवाह गरेको उहाँले जानकारी दिनुभयो ।
छेदिङमो तामाङ युवा समाजका अध्यक्ष बिक्रम थिङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य दावा तामाङ, विद्यार्थी घेदुङका केन्द्रीय सदस्य शुकसागर तामाङ, आमा छोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ, नेकपा एमालेका काजीमान वाईवा, नेपाली काँग्रेसका रेशम लामा र नेकपा (माओवादी केन्द्र) का मानवीर विश्वककर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
त्यसैगरी उत्तरगया–४ का वडा अध्यक्ष केशर बहादुर ब्लोन, स्थानीय शान्त ग्लान, पुत्तलीमाया थिङले पनि ल्होछार र ल्होछार पर्वको महत्वको बारेमा धारणा राख्नु भएको थियो ।
कार्यक्रममा नेपाल तामाङ संस्कृति घेदुङका केन्द्रीय सचिव शिखर मोक्तान, दिपा दोङ, विशाल योञ्जन, रितु वाईवा, किर्ति तामाङ लगायतले सांगितिक प्रस्तुतिबाट मनोरञ्जन प्रदान गरेको थियो ।