घेदुङ शक्तिशाली पहाड हो, कुईनाले भत्काउन नखोजे हुन्छ

777

नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोलेले तामाङले घेदुङ आफैमा शक्तिशाली पहाड भएको बताउँदै कुईनाले भत्काउने प्रयास नगर्न आग्रह गरेका छन् ।
सिन्धुपाल्चोक जिल्लाको हिमाली क्षेत्र जुगल गाउँपालिका स्थित गुम्बा गाउँमा गत शनिबार ल्होछार समारोहलाई सम्बोधन गर्दै गोलेले यस्तो बताएका हुन् । उनले नेपाल तामाङ घेदुङ संसारको तामाङ समुदायको आस्था, विश्वास र भरोसाको उच्च पहाड रहेको दाबी गरे ।
घेदुङले तामाङ समाज निर्माणको क्रममा ६१ बर्षको इतिहास बनाइ सकेको छ, अध्यक्ष गोलेले अगाडि भने– यो संगठन आफैमा बलियो कंक्रिटको रुपमा परिणत भइसकेको हुँदा अब कसैले चाहेर पनि भत्किन सक्दैन ।
यसबर्षको खि ल्हो ख्रेला छेपा गी तिथि अर्थात विक्रम सम्वत्मा फागुन ४ गतेबाट सुरु हुने भन्दै उनले तामाङ समुदायको साँस्कृतिक पर्व सोनाम ल्होछारको तिथिको सम्बन्धमा कोही भ्रममा नपर्न आग्रह गरे ।
समाज बनाउने बेलामा कोही तामाङ तिब्बती भोटे राजाको सम्वत् बोकेर ग्याल्बो ल्होसार भन्दै हिड्नु र कोही भारतीय विक्रमादित्यले चलाएको सम्वत्मा ल्हो परम्परा खोज्नु दुःखद भएको उनको भनाई थियो ।