यसरी फागुनमा ल्हो फिर्दैछ

5058

मोहन गोले तामाङ
पृथ्वीले सुर्य र चन्द्रमाले पृथ्वीको परिक्रमा गरिरहने कुरा हामी सबैलाई थाहा छ । पृथ्वीबाट सुर्य र चन्द्रमाबाट पृथ्वीको दुरी अलग अलग छ । त्यस्तै यी दुवै ग्रहको घुम्ने बाटो र गुरुत्वाकर्षण शक्ति समेत एउटै नहुँदा पुरै परिक्रमा गर्दा लाग्ने समय पनि एउटै हुँदैन । पृथ्वीले सूर्यको परिक्रमा गर्न ३६५ दिन लाग्छ भने चन्द्रमाले पृथ्वीको परिक्रमा गर्न ३५४ दिन मात्रै लाग्छ । परिक्रमा गर्ने क्रममा यी दुवै ग्रह (पृथ्वी र चन्द्रमा) आफैं पनि घुम्दै परिक्रमा गर्ने हुँदा पृथ्वीमा दिन र रात हुन्छ । आ–आफ्नै मार्गबाट घुमिरहने क्रममा बर्षमा एकपटक सुर्य, पृथ्वी र चन्द्रमामा त्रिकोणात्मक छायाँ पर्न जान्छ । त्यतिबेला पृथ्वीबाट सुर्य र चन्द्रमाको केही भाग देखिदैन । जसलाई हामी धार्मिक मान्यता अनुसार ग्रहण लागेको भन्छौ ।
सुर्य र चन्द्रमाको यही गति र प्रभावको आधारमा ल्हो (बर्ष), ला (महिना) र दिनहरु निर्धारण गरिन्छ । सुर्यको गतिको आधारमा बन्ने पात्रोलाई सौर्य पात्रो (Solar Calender) चन्द्रमाको गति र प्रभावको आधारमा बन्ने पात्रोलाई चन्द्र पात्रो (Lunar Calender) भनिन्छ । हामीसँग प्रचलनमा रहेको विक्रम सम्वत्को क्यालेण्डर सौर्य सिद्धान्त अनुसार बन्दछ भने मञ्जुश्री सम्वत्को क्यालेण्डर चन्द्र सिद्धान्त अनुसार बन्दछ । चन्द्र पात्रो अनुसार ३५४ दिनको एकबर्ष हुने हुँदा यसमा २९ देखि ३० दिनसम्मको एकमहिना बनाइन्छ । चन्द्रपात्रोमा साढे २३ घण्टाको एकदिन र साढे २९ दिनलाई एक महिना मानिन्छ । त्यसैगरी सौर्य पात्रो अनुसार ३६५ दिनको एकबर्ष हुने हुँदा कम्तिमा २९ दिन र बढीमा ३२ दिनसम्मको एक महिना बनाइएको हुन्छ । यसमा २४ घण्टाको एकदिन र साढे ३० दिनलाई एकमहिना मानिन्छ । यसरी साढे ३० दिन र साढे २९ दिनको महिना मान्ने भिन्न परम्परा हुँदा महिना दिनमा नै यी दुई पात्रो बीच एकदिनको फरक पर्छ । यसरी १२ महिनामा सुर्य पात्रो र चन्द्र पात्रोमा ११ देखि १२ दिनको फरक पर्न जान्छ । तर फरक फरक सिद्धान्त अनुसार पात्रो बनेपनि यो नियम एकअर्कोसँग अन्तरसम्बन्धित हुँदा यसलाई अनिवार्य मिलान गर्नुपर्छ ।
सौर्य बर्षभन्दा चन्द्रबर्षमा प्रत्येक बर्ष ११ दिनको कमी हुँदा यसलाई अरु पात्रोसँग संयोजन गर्न साढे ३२ महिनामा एउटा मलमास (अतिरिक्त महिना) थप्नै पर्छ किनकि साढे ३२ महिनामा सौर्य पात्रोको दिनभन्दा चन्द्रपात्रोको दिन ३० दिन कम भइसकेको हुन्छ । यसकारण चन्द्रपात्रोमा प्रत्येक तेस्रो बर्षमा मलमास पर्न जान्छ । यदि यो समयभित्र चन्द्रपात्रोमा अतिरिक्त महिना थप गरिएन भने बर्षेनी ११ दिन थपिदै जाँदा झन् गञ्जागोल पर्न जान्छ । त्यसकारण चन्द्रपात्रो अनुसार यस बर्षको मञ्जुश्री सम्वत् २८५३ ज्या ल्होको छैठौ महिना ब्येल्बो (असार) मा अतिरिक्त महिना (मलमास) ३० दिन थपिएर ३८४ दिनको एकबर्ष हुन पुग्दा सोनाम ल्होछार–२८५४ खि/नागी ल्होको पहिलो दिन ख्रेला छेपागी तिथि बिक्रम सम्वत्मा तोकिएको तिथिभन्दा एक महिना पछाडि पर्न गएको हो । फेरि यस्तो तिथि तलमाथि पर्ने चन्द्रपात्रोमा मात्रै होइन, सौर्य पात्रोमा पनि देखिन्छ । जस्तोः कहिलेकाही हिन्दूहरुको पर्व दशैंको महत्वपूर्ण तिथि अष्टमी, नवमी नै हराउन पुग्छ । असोजमा पर्ने दशैं कार्तिकमा पर्छ । तर कुनै हिन्दूले हाम्रो तिथि हरायो भनेर खोजी गर्दैनन् । किनकि उनीहरु आफ्नो सिस्टमको बारेमा जानकार हुन्छन् । हिन्दू समुदाय मात्रै होइन, यो सवालमा शेर्पा समुदाय समेत सचेत छन् । जस्तोः २०६९ सालमा शेर्पाको ग्याल्बो ल्होसार माघ २९ गते सोनाम ल्होछारसँगै परेको थियो तर विक्रम सम्वत्को क्यालेण्डरमा फागुन २९ गते ग्याल्बोको बिदा जनाइएको थियो । जसअनुसार राज्यले फागुन २९ गते सार्वजनिक बिदा दियो । प्रधानमन्त्री, राष्ट्रपतिबाट शुभकामना सन्देश समेत दिइयो तर शेर्पा समुदायले पहिले नै पर्व मानिसकेका थिए । यसमा उनीहरु कसैले पनि आपत्ती जनाएनन् ।
हामी तामाङ समाजको चन्द्रपात्रोमा त तिथि हराएको पनि होइन, सरेको मात्रै हो । तर हामीमा ठूलै हल्लीखल्ली भयो । घेदुङको नेतृत्वमा बस्नेहरुले इतिहासमा ठूलै अपराध गरे जस्तै प्रचार गरियो । जिन्दावाद र मुर्दावादको नारा लाग्यो । यसमा हामी हाम्रो पात्रोको नियमभन्दा अन्य पात्रोको नियम, सैद्धान्तिक आधारको बारेमा बढी जानकारी राख्ने हुँदा पनि थप अतिरञ्जित हुनपुगेको हो कि जस्तो लाग्छ । चन्द्रमासको प्रतिपदा सम्बन्धमा ग्रिगोरियन पात्रोले फेब्रुरी ४, ५ लाई मध्यबिन्दू मान्दछ । यस अनुसार जनवरी २१ देखि फेब्रुरी २० भित्र मात्रै चन्द्रमास माघ (ख्रेला छेपागी) को प्रतिपदा पर्दछ । अर्थात हजारौ बर्षसम्म पनि जनवरी २१ भन्दा तल र फेब्रुरी २० देखि माथिको दिनमा माघ शुक्ल पक्षको प्रतिपदा पर्दैन । यो नै तामाङले मान्ने तत्व ज्योतिषमा आधारित सोनाम लोथो (कृषि पात्रो) को सैद्धान्तिक परम्परा हो । तर यस्तो महत्वपूर्ण विषयमा हामीसँग सामान्य ज्ञान पनि नहुँदा यसपटक विक्रम सम्वत्को क्यालेण्डरमा परेको जनवरी १८ (माघ ४) मा बेतुकको तर्क गरिरहेका छौ ।
अहिले रुपमा हेर्दा हामी तामाङ तामाङ बीच बिबाद भइरहेको जस्तो देखिएपनि सारमा समुदायलाई फुटाउने यस्तो काम राज्यले गरिरहेको छ । राज्यले मान्यता दिएको बिक्रम सम्वत्को क्यालेण्डर बनाउने पञ्चाङ्ग निर्णायक समितिमा तामाङ समुदायका ज्योतिषविद्हरु नराखिनुको कारण यस्तो कमजोरी दोहोरिदै आएको छ । किनकि पञ्चाङ्ग समितिको बाहुनहरुलाई तामाङको ल्हो परम्परा (जिवा, लाङ, ताक्, योयी, डुक………) को बारेमा केही थाहा हुँदैन । राज्यले कहिले थाहा नभएर र कहिले जानाजान जनजाति अवस्थाको असंगठित समुदायमा भ्रम छरिरहेको हुन्छ । यो उसको फुटाउ र शासन गर भन्ने फर्मुलाकै एउटा सुत्र हो । जुन गुह्य कुरो थाहा नपाउँदा हामी राज्यले जे ग¥यो त्यो सर्वसम्मत हो भन्छौ । रातारात बोली फेरिएर आफू अर्कै भइसकेको थाहा पाउदैनौ । यसरी इतिहासमा राज्यले जहिलेपनि जनताको जनबोली नष्ट गरेर सत्ताबोली फिट गर्ने, लोकस्मृति मेटाएर सत्ता स्मृति कायम गराउने खेल खेलिरहन्छ । आदिवासी जनजाति अवस्थाका मानिस भएको मुलुक नेपालमा हिन्दू सत्ताले यस्तो काम गर्छ भने विदेशमा गोरा (बेलायती) सत्ताले यस्तो काम गर्दछ । समयक्रम अनुसार उसले नयाँ नयाँ त्रुप बनाउँदै जान्छ । एउटा कार्डले काम गरेन भने अर्को कार्ड फ्याक्छ । यसरी राज्यले लोकसंस्कृतिलाई विस्थापित गराएर त्यस ठाउँमा सत्ता संस्कृति स्थापित गराउनु खोज्दा हामी मान्छेको स्वरुपमा तामाङ भएपनि हाम्रो हेराई, बोलाई, सुनाई सत्ताको लगामबाट परिचालित भयो । जसले गर्दा आफ्नो ल्हो गणना पद्धती, महिना, बारको नाम बिर्सियौ । ख्रे–लारी ल्हो दोबा भन्ने जनबोलीको ठाउँमा माघरी ल्हो दोबा भन्ने सत्ता बोली बोल्न थाल्यौ । यो एकपटक होइन, पुस्तौ बोल्यौ । यसरी क्रमशः सत्ताले सत्य बनायो । कसैले पनि यसरी अर्काको भाषा सापटी लिएर आफ्नो सम्वत् फिरेको कुरा गर्दैन । जस्तोः विक्रम सम्वत्मा बैशाख १ गते, अंग्रेजी सम्वत्मा जनवरी फस्ट नै भनिन्छ । मैले अहिलेसम्म अंग्रेजी सम्वत् पुषबाट सुरु हुन्छ र विक्रम सम्वत् अप्रिलबाट वा तामाङको महिना दुगुला गीबाट सुरु हुन्छ भनेको सुनेको छैन । ल्होछारको बहस सुरु भएपछि धेरै जना जान्नेदेखि नजान्ने सम्मले हाम्रो बाजेले माघरी ल्हो दोबा भनेको भन्ने तर्क ल्याए । आधुनिक राज्यसत्ता निर्माण भएयता एउटा बाजे मात्रै होइन, थुप्रै बाजेहरु खस भाषाको प्रचारको शिकार हुनुभएको इतिहास साक्षी छ । शाहवंशीय इतिहास हेर्दा पनि १२ पुस्ताले नेपालमा शासन गरे । उनीहरुले हिन्दू धर्म र खसभाषालाई राज्यधर्म र राज्य भाषा बनायो । यसबाट हाम्रो पनि कम्तिमा ८ वटा बाजे, बज्यैहरुले यस्तै माघे कुरा गरे होलान् । तर बाजेहरुले गल्ती बोल्नै सक्दैनन् र गल्ती बोलेको भएपनि त्यो सही नै हुन्छ भनेर मानिरहनु फेरि अर्को हामी भविष्यका बाजेहरुको लागि ठूलो गल्ती हुन्छ । १९ औ शताब्दीको बाजेहरुको लागि त यो सह्य नै होला तर हामी २१ औ शताब्दीको कम्प्युटर युगका बाजेहरु यसबाट सजिलै भाग्न मिल्दैन । किनकि हामी कालो गाईले हरियो घाँस खाएर सेतो दूध कसरी दियो होला भनेर प्रश्नको उत्तर नखोज्ने अध्यात्मिक बाजे होइनौ, भौतिकवादी बाजे हौ । कुनैपनि समस्याको हामी द्वन्द्ववादी ढंगबाट हल खोज्छौ ।
त्यसैले सत्य लुकाएर टुँडिखेलमा तामाङ नचाइरहनु भावी पुस्तालाई धोका दिनु हो भन्ने निष्कर्षका साथ हामी यो निर्णयमा पुगेका हौ । हामी २, ४ जना ब्यक्तिको सनक र रिसइवीका कारण यो निष्कर्षमा पुगेका होइनौ । घेदुङले २५, २६ बर्ष लगाएर स्थापित गरेको मूल्य÷मान्यतालाई उजागर गर्ने हिम्मतका साथ पुगेका हौ । आज केही रातो बस्त्रधारी तामाङ तिब्बती भोटे राजाको सम्वत् बोकेर ग्याल्बो भन्दै हिडेका छन् । केही तामाङ दिउँसै लालटिन बालेर भारतीय बिक्रमादित्यको सम्वत्मा तामाङको ल्हो परम्परा खोज्दै छन् । उत्तरतिर विकास भएको, उचाईमा विकास भएको सभ्यतालाई दक्षिणतिर, गहिराईतिर खोज्नु जस्तो मुर्खता अरु केही हुन सक्दैन । भिरमा फाल हान्न खोज्नेलाई रोक्न नसक्नु हाम्रो कमजोरी भयो होला तर आम तामाङ समुदायलाई आफ्नै मौलिक बाटोमा हिड्नको लागि आग्रह गर्नै पथ्र्यो । यो ग¥यौ भन्ने लाग्छ । सूचना सम्प्रेषण गर्ने सवालमा ढिला भयो होला, यसप्रति आलोचित पनि छौ । ज्योतिष शास्त्रीय कुरा, खगोलशास्त्रसँग सम्बन्धित कुरा बुझ्नलाई गा¥हो हुन्छ । हामीलाई पनि बुझ्नलाई समय लाग्यो । नबुझुञ्जेल बोलेनौ पनि । त्यसैले आग्रह छ– बुझेर बोलौ, नबुझी आफैलाई हिलो छ्यापेर सामाजिक सञ्जाल फोहोर नपारौ । थुजेछे ।।