सोनाम ल्होछार पर्वबारे उठेका भ्रम र वास्तविकता

5088

मोहन गोले तामाङ

विषय प्रवेशः
सोनाम ल्होछार पर्व नजिकिएसँगै तामाङ समुदायभित्र बहस सुरु हुने गरेको छ । यो तामाङ समुदायभित्र आजसम्म निको हुन नसकेको पुरानै रोग हो । ग्याल्बो र सोनामको पुरानै बहस त छदैछ, त्यसमाथि यसबर्ष ल्हो फिर्ने दिन नेपालको पञ्चाङ्ग पात्रोको सौरमास माघ ४ हो कि सोनाम ल्होछार निर्धारण गर्ने सोनाम लोथो (कृषि पात्रो) को चन्द्रमास ख्रे–ला छेपागी (फागुन ४) हो भन्ने नयाँ श्रृङ्खला पनि थपियो । यो भनेको ल्होछारको तिथि निर्धारण अरुले बनाएको सम्वत्लाई मुख्य आधार बनाउने कि तामाङ विश्वास र मान्यताबाट चलेको आफ्नै सम्वत्लाई मुख्य आधार बनाउने भन्ने बीचको बहस हो । स्वस्थ बहस हुनु, चर्चा गरिनु, छलफल हुनु र चित्त माझामाझ गर्नु नै निष्कर्षमा पुग्नु हो भन्ने मेरो बुझाई रहेको छ । तर यहाँ तीनखाले मान्छेको बुझाई र गतिविधिले हाम्रो सामाजिक एकतामा बाधा पु¥याइरहेको मैले पाएको छु । एउटा निकै ठूलो समूह छ, जो ज्योतिष विज्ञानको नियम केही बुझ्दैनन् । म पनि बिगतमा यही समूहको सदस्य थिएँ । जसले आँखा अगाडि बिक्रम सम्वत्को क्यालेण्डर देखेको छ, उनीहरु अन्धासुरमा माघ ४ भनिरहेका छन् । अर्को पक्ष छ, ज्योतिष परम्परा बुझ्ने विज्ञको विगतमा खडेरी परेको कारण अड्को फड्को तेलको धुप भन्या जस्तो उसैलाई विज्ञ ठानेर काम चलाइयो तर आज समयक्रमले सोनाम लोथो सहित ज्योतिष विद्हरु प्रस्तुत भइसकेपछि आफू खुम्चिएको चिन्ताले पोलिएर तथानाम बर्बराई रहेका छन् । तेश्रो निकै सानो पक्ष छ, जो पर्वको नाममा टुँडिखेल मैदानलाई कमाउ धन्दाको रुपमा प्रयोग गर्ने र सामाजिक कामको आवरणमा ब्यापार गर्नेहरु छन्, तिनलाई ल्होछारको नाममा बर्षभरिको लागि खाने अन्न जोहो गर्नु छ । उनीहरुबाट पनि तामाङ एकतामा निरन्तर खलल पुगिरहेको छ । समग्रमा समस्या यहि दुई तीन पक्षबाट भएको हो भन्ने लाग्छ ।
रह्यो कुरो, बिगतमा यस्तो हुँदा घेदुङले किन सल्टाउने काम गरेन र अहिले किन कुरा उठायो भन्ने छ । तर हाम्रो सामूहिक छलफलको निष्कर्ष के हो भने समस्यालाई लामो समय पाल्नु हुँदैन । यस्तो समस्या पालिरह्यो भने त्यसले एकदिन हामी आफैलाई खान्छ । छोपेर धेरै समय राख्यो भनेर गन्हाउँछ । यस्तो समस्यालाई हामीले बेलैमा समाधान गरेर आउने पुस्तालाई बिबादरहित संस्कृति हस्तान्तरण गर्न सक्नुपर्छ । यो गर्न सकेनौ भने हाम्रो पुस्ता असफल पुस्ताको रुपमा तामाङ इतिहासमा दर्ज हुनेछ । र मैले बुझेको यस्तो महान प्रक्रियामा सयका सय मान्छेको समर्थन हुनुपर्छ र सर्व स्वीकृत हुनुपर्छ भन्ने धारणा पनि गलत हो जस्तो लाग्छ किनकि यो कहिल्यै हुन सक्दैन । कोही अज्ञानताको कारणले त कोही रिसइवी साँध्ने उद्देश्यले एक न एकजना विपक्षमा उभिएकै हुन्छ । सबैलाई चित्त बुझाउँछु भनेर हाम्रा अग्रजहरु लागेर बिगतमा निर्णय गर्न नसकेको भए सम्भवत अहिले हामी तामाङहरु सोनाम ल्होछारलाई लिएर यहाँसम्म आइपुग्ने थिएनौ । नाम नलिउ, अहिलेपनि सानो सङ्ख्यामा केही मान्छेहरु बाहिरै छन् । यसरी हिम्मतका साथ काम गर्दा आज हामीलाई हाम्रा अग्रजहरुले सबैखाले डकुमेन्ट तयार गरेर हस्तान्तरण गर्नुभएको छ । हामी हिजो हिन्दू संस्कृतिमा रुमल्लिरहेका थियौ, आज हामीसँग जन्मदेखि मृत्युसम्मको तामाङ संस्कार संस्कृति निर्देशिका छ । हिजो दशैं र तिहारमा रमाईरहेका थियौ, आज आफ्नै मौलिक परम्पराको सोनाम ल्होछार संस्कृति छ । हिजो भाषा थियो तर लिपि थिएन, आज तामयिग लिपि छ । ती डकुमेन्टहरुलाई कार्यान्वयन गरेमात्र हाम्रो जिम्मेवारी पुरा हुन्छ । अब कुनै नयाँ डकुमेन्ट बनाउनु पर्दैन । शायद मलाई लाग्छ, कुनै आदिवासी समुदायमा यसरी सबैखाले डकुमेन्ट तयार पारेर हस्तान्तरित भएको इतिहास छैन । त्यस अर्थमा म मेरो ब्यक्तिगत तर्फबाट हाम्रा अग्रजहरु खासगरी परशुराम तामाङ, महेन्द्रजंग तामाङ, धनप्रसाद तामाङ र कुमार योञ्जन जसले जोखिम मोलेरै जीवनको महत्वपूर्ण समय यो प्रक्रियाको विकासको निम्ति खर्च गर्नुभयो । उहाँहरुप्रति शीर निहुराउन चाहन्छु र त्यो दस्तावेजलाई पूर्ण रुपमा पालना गर्दै कार्यान्यन गर्न हरहमेशा प्रतिवद्ध रहने विश्वास दिलाउन पनि चाहन्छु ।
तसर्थ, घेदुङले संस्थागत रुपमा स्थापित गरेको मूल्य/मान्यतामाथि एकदुई जना मान्छेले बुझेर या नबुझेर कसैले प्रश्न उठायो भन्दैमा हामी सम्झौता गर्न सक्दैनौ । अब हामी जहाँ पुग्यौ, हाम्रा अग्रजहरुले जहाँ पु¥याउनुभयो, त्यहाँबाट फर्किने ठाउँ छैन । फर्किनु प¥यो भने जसरी गएका थियौ, त्यही प्रक्रियाबाट मात्रै फर्किन सकिन्छ । यो नियम हो । दुईजना मान्छे रिसायो भनेर एकैचोटि हाम फालेर फर्कन खोज्यौ भने दुर्घटनामा पर्छौ । प्रक्रियाको हिसावले हामी त्यस्तो ठाउँमा पुगि सक्यौ, कसैले ए तँ फर्किहाल भन्दा अब फर्किन मिल्दैन । त्यसैले बरु शीर काटियोस्, त्यो स्वीकारिएला तर हाम्रो मान्यता लेनादेना भएको स्वीकार्न सकिदैन । अहिले ज–जसले यो बहसमा बुझेर या नबुझेर थप अतिरञ्जित बनाउने प्रयास गरिरहेका छन्, उनीहरुको कुन स्वार्थ छ ? मलाई थाहा छैन तर जसको यो प्रक्रियामा विगतमा २ कौडीको लगानी छैन, उसले ठूलो स्वर गरेर समाज विभाजित गर्न खोज्दाको नाङ्गो प्रहसन देख्दा भने अत्यन्तै दुखित छु । अब्राहम लिङ्कनले भनेका थिए– सबैलाई केही समय, केहीलाई सधैंका लागि मुर्ख बनाउन सकिएला तर सबैलाई सधैंका लागि मुर्ख बनाउन सम्भव छैन । अहिले हामी प्रक्रियालाई संस्थागत गर्ने क्रममा रहेको हुँदा लिङ्कनको भनाई अनुसार केहीले अहिले सबैलाई केही समयका लागि मुर्ख बनाउने कोशिसमा छन् । तर भ्रमको भविष्य हँुदैन । धागो चुडिएर उडेको बेलुन हेर्दा हामीलाई लाग्छ, यसले आकाश नै छेड्छ होला तर त्यो केही समयमा नै फुट्छ । बिगतमा यस्ता बेलुन धेरै उडे, उडाइए र धेरै फुटेको पनि देखिसक्यौ ।
यहाँहरुलाई जानकारी छ, नेपालको आदिवासी समुदायहरुमध्ये तेस्रो ठूलो समुदाय तामाङ जाति आफ्नो भिन्न विशिष्ट संस्कृतिले अति धनि र सम्पन्न छन् । हामी भिन्न भाषा, लिपि, संस्कृति, भेषभुषा, परम्परा र सभ्यता भएको कारण नै सम्पन्न भएका हौ । हामीसँग समयलाई बुझ्ने हाम्रो आफ्नै विश्वास र तथ्यसँग सबभन्दा नजिक रहेको मन्जुश्री सम्वत् छ । अरुभन्दा भिन्न हुनुको प्रमाण नै यही हो । हामीसँग सम्वत् हुँदैन थियो, भाषा हुँदैन थियो, भेषभूषा हुँदैन थियो, संस्कृति हुँदैन थियो भने तामाङ भनेर गर्ब गर्नुको कुनै औचित्य हुँदैन थियो । यो हाम्रो पुर्खाले बचाएर हस्तान्तरण गरेको साँस्कृतिक सम्पति हो । यो सम्पति खोस्न बिगतमा राज्य लाग्यो । मैले बिगतमा राज्यले गरेको दमनको सबै इतिहास पल्टाएर यहाँहरुलाई भनिरहनु पर्दैन किनकि धेरै कुराको बारेमा यहाँहरु आफै जानकार हुनुहुन्छ । तरपनि पुर्खाले कति लडेर यसलाई बचायो होला, एकपटक सम्झिनोस साथीहरु । फेसबुकमा दुईवटा अक्षर लेखेर बिरोध जनाउनु सजिलो छ तर संरक्षण गर्नु निकै चुनौती छ । बाबुले कमाएको सम्पति उडाउनु छोरालाई सजिलै हुन्छ तर आफैले कमाउनु निकै गाह्रो हुन्छ । आज यही सम्पति छ र त हामी तामाङ र ताम्सालिङको कुरा गरिरहेका छौ । त्यसैले मेरो यहाँहरुलाई आग्रह छ– एकपटक ठण्डा दिमागले सोच्नोस, अध्ययन गर्नोस र तब बोल्नोस । हचुवाको भरमा मोहन गोले मुर्दाबाद नभन्नोस । केहीले दलाई लामाको १० करोड पैसा खाएको सम्मको आरोप लगाएका छन् । यदि म/हामी गलत छु, छौ भने कसैले मुर्दाबाद भन्नै पर्दैन, गम्भीर पश्चातापका साथ म मुर्दा बन्न तयार छु । म २, ४ लाख पैसा कमाउने, काठमाडौमा घर जोड्ने उद्देश्यले घेदुङको अध्यक्ष बन्न आएको होइन । ताम्सालिङमा अर्को स्वायत्त सिंहदरबार बनाएर त्यहाँ तामाङको छोराछोरीलाई मुख्यमन्त्री बनाउने लक्ष्यका साथ अघि बढेको हुँ । मलाई १० करोडमा बेच्न खोज्नेलाई चिन्छु तर नाम सार्वजनिक गर्दिन । त्यसैले मेरो आग्रह छ, मलाई त्यति सस्तोमा नबेचिदिनोस् । मेरो चेतना पैसामा किनबेच हुँदैन । यो शब्द लेख्दै गर्दा तपाईको फेसबुक कमेन्ट सम्झेर मेरो आँखा रसाएका छन्, कम्प्युटरको किबोर्डमा ब्यस्त औलाहरु थर्थराएका छन् । हो, ज्योतिष विज्ञानलाई बुझ्ने सवालमा मेरो चेतना निम्छरो छ होला, स्वीकार्छु तर म विश्वस्त छु– हामीले घेदुङको २०१३ सालदेखिको लाईन छोडेको छैन । हामी त अग्रजहरुले कोर्नुभएको रेखालाई अझ ठूलो बनाउँदैछौ र सबैलाई यही बाटोमा हिड्न आग्रह गर्दैछौ । यसै सन्दर्भमा यहाँहरु कतिसम्म बुझ्नु हुन्छ थाहा छैन तर मैले एउटा संगठनको अध्यक्ष भएको नाताले यहाँ सोनाम ल्होछारबारे फैलिएको भ्रम र वास्तविकताको बारेमा आफ्नो चेतनाले देखेको केही कुराहरु राख्न चाहन्छु । गल्ती भए जान्नेहरुले सच्याइ दिनुहोला ।

मञ्जुश्री सम्वत् ः
तामाङको सभ्यता र संस्कृतिमा महामञ्जुश्री (जसलाई ज्याम्पाल याङ पनि भनिन्छ) को ज्यादै ठूलो महत्व रहेको छ । यो ल्हो परम्परा र सो अनुसारको ज्योतिष ज्ञानको योगदान उनै महामानव मञ्जुश्रीको देन हो । जसलाई तामाङ समाजले इष्ट देवताको रुपमा मान्दै शुभ, अशुभ विभिन्न कार्यमा समेत मञ्जुश्रीको पूजा गर्दछन् । तामाङ समुदायले मञ्जुश्रीलाई ज्ञानको देवताका रुपमा मात्र नभएर आफ्नो पूर्खाको रुपमा पनि मान्छन् किनकि महामञ्जुश्रीलाई जलमग्न काठमाडौ उपत्यकालाई मानव वस्तीयोग्य बनाउने महान् बोधिसत्व बुद्धका रुपमा पनि चिनिन्छ । जसले काठमाडौ खाल्डोको पानी चोभारको गल्छीबाट बाहिर पठाई मानव वस्ती योग्य बनाएपछि उत्तरी क्षेत्रबाट मञ्जुश्रीसँगै आएका ब्यक्तिलाई राजा बनाएर छाडेको र ती राजा बनाइएको छ्योचेन (धर्माकर) नाम गरेको ब्यक्ति तामाङ भएको केही इतिहासकारको दाबी सत्यको नजिक छ ।
उनै महामञ्जुश्रीले आजभन्दा २८५३ बर्ष अगाडि बालकको रुपमा आगमन भई ८४ हजार ज्योतिष शास्त्रका ग्रन्थहरुको धर्मदेशना गर्नुभएको थियो । उहाँले पहिलो चोटी मंगलबार काठ पुरुष, मुसा बर्षमा पञ्चसिर्ष डाँडामा देशना गर्नुभएको कुरा तिब्बती मेन्चीखाङको पात्रो (चि) मा पनि हरेक वर्ष उल्लेख गरिएको हुन्छ । यहाँ हामी के प्रष्ट हुनुपर्छ भने सम्वत्को सुरुवात कुनैपनि ऐतिहासिक घटनाबाट सुरु हुन्छ । जस्तोः नेवार समुदायको कछला प्रतिपदाबाट सम्वत् फिर्ने नेपाल सम्वत्को प्रारम्भ शंखधर साख्वाले ऋण मोचन गरेको दिनबाट सुरु भएको मानिन्छ । त्यस्तै किराती पहिलो राजा एलम्बरबाट एले सम्वत्को प्रारम्भ भयो, जो ५ हजार बर्ष पुरानो मानिन्छ । भारतीय राजा बिक्रमादित्यले चलाएको सम्वत् बि. सं. पनि लगभग २१ सय बर्ष पुरानो हुन लाग्यो । त्यसैले महामानव मञ्जुश्रीको धर्मदेशना पनि एउटा ऐतिहासिक परिघटना थियो र यसैलाई आधार मानेर मञ्जुश्री सम्वत्को प्रारम्भ गरिएको हो ।

ल्हो (सम्वत्) फिर्ने जन विश्वासः
तामाङ समाजामा माघमा ल्हो फिर्ने जनविश्वास छ । माघ महिनालाई तामाङले ख्रे–ला भन्दछन् र पहिलो महिना ताक् (बाघ) र अन्तिम महिना लाङ (गाई) बर्गको रुपमा चिनिन्छ । ख्रे (माघ) बाघ महिना हो । तर यो तामाङको ख्रे–ला (महिना) ठ्याक्कै बिक्रम सम्वत्को माघ १ गतेबाट सुरु हुँदैन । ग्रिगोरियन पात्रो अनुसार फेब्रुरी ४, ५ लाई मध्यबिन्दू पारेर जनवरी २१ तारेखदेखि फेब्रुरी २० तारेख भित्र चन्द्रमास माघ (ख्रेला छेपागी) को प्रतिपदा पर्दछ । अर्थात जनवरी २१ तारेखभन्दा तलको तारेखमा माघ (ख्रेला) चन्द्रमास माघको तिथि पर्दैन भने फेब्रुरी २१ तारेखदेखि माथिको तारेखमा माघ शुक्ल पक्षको प्रतिपदा हुँदैन । यो नै तामाङले मान्ने तत्व ज्योतिषमा आधारित सोनाम लोथो (कृषि पात्रो) को सैद्धान्तिक परम्परा हो । तामाङहरु तिथिमा चल्ने समुदाय भएको हुँदा त्यो ख्रे महिना विक्रम सम्वत्मा धेरै माघ र कहिलेकाही फागुन महिनाबाट पनि सुरु हुन्छ । यसबर्ष फागुन ४ बाट सुरु हुँदैछ । हाम्रो समाजमा हिन्दू राज्यसत्ताले थोपरेको विक्रम सम्वतको खस भाषाबाट राखिएको महिनाको नामको प्रभाव बढ्दै गएपछि तामाङले आफ्नै भाषाबाट महिना, बारको गणना गर्न बिर्सियो र ख्रे–ला छेपागीबाट ल्हो फिर्छ भन्नुको सट्टा माघरी ल्हो दोबा, ल्हो पोवा भन्न थाल्यो । ल्हो दोबा चै आफ्नै भाषामा भन्यो तर महिनाको नाम माघ चै ख्रेको सट्टा खस भाषाबाट उच्चारण ग¥यो । आजकल सहरमा बस्ने तामाङले पंखा घुमेन भन्दा फेन घुमआतानी भनेको जस्तै हो यो ।
माघ शुक्ल प्रतिपदा (छेपा गी) तिथिलाई ल्हो फिर्ने दिनको रुपमा निर्धारण नगर्दासम्म माघ १ गतेबाटै गणना पनि गरिन्थ्यो । बिस्तारै यो प्रभावले यतिसम्म हाम्रो समाजमा घर ग¥यो कि हामी आफ्नो चाडपर्व, ल्हो जस्तो साँस्कृतिक कुराहरु पनि राज्यले बनाएको क्यालेण्डरमा खोज्न थाल्यौ । घेदुङले प्रकाशन गरेको क्यालेण्डर कतिपय ठाउँमा पुग्न सकेन, पु¥याउन सकिएन होला त्यसमा संगठनको पनि कमिकमजोरी रह्यो होला तर जसको घरमा घेदुङले प्रकाशन गरेको तामाङ क्यालेण्डर झुण्डिएको छ, त्यहाँ प्रष्टसँग २८५३ ल्हो (बर्ष) को अन्तिम महिना तापा–ला (महिना) को अन्तिम दिन विक्रम सम्वत्को फागुन ३ गते परेको देख्न सकिन्छ । यसबाट २८५४ ख्रे–ला छेपागी अर्थात ल्हो फिर्ने दिन फागुन ४ गते पर्छ भनेर प्रष्ट हुँदाहुँदै पनि हामी आफ्नो क्यालेण्डर नहेरेर विक्रम सम्वत्को क्यालेण्डरमा ल्होछार खोज्ने काम गरिरहेका छौ । बिक्रम सम्वत्को क्यालेण्डरमा सोनाम ल्होछारको बिदा जनाउनु थालेको धेरै बर्ष भएको छैन । २०५१ सालबाट ल्होछार पर्वले राजकीय मान्यता पाएसँगै क्यालेण्डरमा बिदा जनिन थालेको आजसम्म २४ पटक मात्र भयो । त्यो क्यालेण्डरमा सोनाम ल्होछार पर्वको बिदा जनाउनु अघि पनि तामाङले ल्होछार मान्दै आएका थिए । बिगतमा ल्होछार मान्ने हाम्रो मुख्य आधार केलाई बनाइन्थ्यो भन्ने सवालमा समुदायलाई बुझाउने प्रक्रियामा अलि कम महत्व दियौ कि जस्तो पनि लाग्छ । त्यसैले वि. सं. को क्यालेण्डर हाम्रो परामर्श अनुसार नसच्याइएसम्म त्यसलाई मुख्य आधार बनाइनु गलत हुन्छ । यसरी जसो जसो बराजु, उसो उसै नाति भन्या जस्तो गरी गइयो भने हाम्रो मौलिकता नै सिद्धिन्छ । विक्रम सम्वत् अनुसार यस बर्षको माघ ४ त हाम्रो गणनामा २८५३ बर्षको अन्तिम महिना तापा–ला को ङि (२) गते मात्रै पर्छ (हेर्नुहोस् तामाङ भित्तेपात्रो–२८५३) । यो त विक्रम सम्वत्को चैत २ गतेबाट नेपालको नयाँ बर्ष सुरु हुन्छ भन्नु जस्तै हुन्छ । अहिलेपनि कतिपय ठाउँमा ल्होछारको अवसरमा आयोजना गरिएको कार्यक्रमको ब्यानरमा हाम्रो सम्वत् २८५४ राखिएको छैन तर डम्फू साँझ २०७४, ल्होछार महोत्सव २०१८, कसैले त अझ हिमालय साँझ जस्ता शब्दहरु ठूलो ठूलो अक्षरमा राखिएको छ । तामाङले मान्ने सोनाम ल्होछार हो तर सोनामलाई कतिपय ब्यानरमा राखिएको छैन भने कतिपय ब्यानरमा सानो अक्षरमा राखिएको देखिन्छ । टुँडिखेलमा यति नाच्यौ कि ल्हो फिर्ने दिन अर्थात सोनाम ल्होछारको मुख्य तिथि नै त्यही नाच्ने दिन हो भनेर समुदायले बुझ्यो । ल्होछार भनेको नाच्ने, गाउने पर्व मात्रै हो भन्ने धारणाको विकास भयो । हामीले हाम्रो सम्वत् २८५४, हाम्रो ल्होछार सोनाम, हाम्रो तिथि ख्रे–ला छेपागी भनेर सुरुदेखि नै बुझाउँदै लगेको भए सम्भवत अहिले यति धेरै भ्रम सिर्जना हुने थिएन । यस्तै कमजोरी थपिदै गयो र त्यसलाई एकैपटक चिर्न खोज्दा अहिले समस्या देखिएको हो । त्यसैले अबका दिनमा बैशाख, जेठ, असार भनेर विक्रम सम्वत्को १२ महिनाको नाम गणना गरे जस्तै मञ्जुश्री सम्वत् अनुसार ख्रे, बेने, नाम्दुङ, दुगु, ड्वाफ्रे, ब्येल्बो, गोने, यान्दे, म्हेनिङ, सोकराती, बोअीतापा र तापा–ला भनेर १२ महिनाको नाम गणना गर्न सिक्नुप¥यो । आफ्नो चन्द्र पात्रो हेर्नु जान्नु प¥यो । अभ्यास छैन भने बानी बसाल्नु प¥यो । तामाङ भाषाबाट महिना, बार, ल्होको नामहरु अनिवार्य जान्नु पर्छ । यो नबुझ्नाले नै अहिले फेसबुकमा बिचित्रको तमासा देख्नु परेको छ ।
हाम्रो आस्था र विश्वासमा चल्ने पुरानो चाडपर्व, ल्हो गणनाको पद्धति पञ्चाङ्ग निर्णायक समितिले तोकिदिन सक्दैन । किनकि विक्रम सम्वत्भन्दा मञ्जुश्री तत्व ज्योतिष परम्परामा आधारित सम्वत् ७८० बर्ष पुरानो हो । पञ्चाङ्ग समितिले छापेको पात्रोमा जिवा, लाङ, ताक्, योयी, डुक, डुल, ता, ल्हुक, टे, ज्या, खि, फाग् भनेर हाम्रो ल्हो परम्परा लेखिएको हुँदैन । जुन पात्रोलाई ल्होखोरको सामान्य नियमले छुँदैन भने त्यस्तो पात्रोमा हाम्रो तिथि खोज्नु नै बेकार छ । त्यसैले अरु सरकारी बिदा, राज्यको पर्वहरु र कार्यक्रम हेर्नको लागि बिक्रम सम्वत्को क्यालेण्डर उपयुक्त हुन्छ तर हामी तामाङ समुदायको नितान्त मौलिक संस्कृतिमा आधारित पर्व, ल्हो परम्परा, घर बनाउने, परदेश जाने जस्ता साईत निकाल्ने कुराहरु, बिबाह, छेवार, पास्नी जस्ता संस्कारको उपयुक्त दिन निकाल्ने आदि कार्यहरु भने आफ्नै पात्रोमा हेर्नुपर्छ । तामाङको ग्रहदशा हेर्ने विज्ञान चन्द्र पात्रो हो, सौर्य पात्रो होइन । वि. सं. को पात्रो बनाउने आर्य समुदायको आगमन हुनु बर्षौ अघिदेखि नै नेपालमा तामाङ थियो र त्यस अघिदेखि नै तामाङले ल्होको आधारमा बर्ष, महिना गणना गर्दथ्यो । आजभोली कसैको उमेर कति भयो ? भनेर सोध्नुप¥यो भने विक्रम सम्वत्को साल सोधिए जस्तै पहिले पहिले र अहिले पनि प्रचलनमा रहेको के छ भने तामाङ समाजमा कुन ल्होको हो भनेर सोधिन्छ । उसले माथिको जनावरको नाममध्ये एउटा बताएपछि सोध्नेले उसको उमेर सिधै पत्ता लगाउथ्यो । त्यसबाट उसको ग्रहदशा, भविष्यफल आदिको जानकारी दिइन्थ्यो । अहिले जस्तो साल सोधिरहनु पर्दैनथ्यो । यही नै हाम्रो विज्ञान हो र ल्हो परम्परामाथिको विश्वास हो ।
केही मान्छेहरु जानेर या नजानेर अहिले सौर्य पात्रोमा लेखिएको विक्रम सम्वत्को माघ शुक्ल प्रतिपदा (जुन माघ ४ गते परेको छ) लाई सोनाम ल्होछार मान्नुपर्ने काँचो कुरा गरिरहेका छन् । विक्रम सम्वत्को माघ शुक्ल प्रतिपदा त चन्द्र पात्रो अनुसार पौष शुक्ल प्रतिपदा मात्र हो जुन हाम्रो पात्रो अनुसार एकमहिना अघि लेखिदियो । हाम्रो सम्वत् अनुसार वि. सं. को फागुन ४ नै ख्रे–ला छेपागी (माघ शुक्ल प्रतिपदा) हो । त्यो फागुन शुक्ल प्रतिपदा होइन । सोनाम ल्होछार मान्ने चीनको नयाँ बर्ष कहिले पर्छ भनेर गुगलमा सर्च गरेर हे¥यौ भनेपनि नयाँ बर्षको स्प्रीङ फेस्टिबल फागुन ४ (फेब्रुरी १६) मै लेखिएको पाइन्छ । अघि पनि भने ज्योतिष परम्परा सम्बन्धि सामान्य हेक्का नराख्दा हामी ठूलो भ्रममा प¥यौ । नबुझी बोल्नु भनेको निन्द्रामा बर्बराउनु जस्तै हो जुन कुरामा दम हुँदैन । ब्युँझिएपछि के बोल्यो भन्ने थाहा हुन्न । अहिले फेसबुकको कमेन्ट पढ्दा धेरै मान्छे निन्द्रामा बोलिरहेको जस्तो लाग्छ । अर्कोतर्फ बडाले जो ग¥यो, त्यो हुन्छ सर्व सम्मत भने जस्तो राज्यले लेखिदिएपछि सबैकुरा मान्नुपर्छ भन्ने दास मानसिकताबाट मुक्त हुन नसक्दा पनि यो भइरहेको छ । हाम्रो अनुरोध के हो भने, यसरी कोही पनि नबोलौ । बरु अर्थहीन बोल्नुको सट्टा त्यो बोल्ने समय अध्ययन गरौ । यसरी तपाईको अध्ययन पुरा भएको दिन आफैलाई थाहा हुनेछ कि घेदुङले किन यस्तो साहसिक निर्णय गरेको रहेछ भन्ने वास्तविक कुरो । त्यसपछि हामी स्वतः आधारहीन तर्क छाडेर सत्य, यथार्थ र मौलिकताको बाटो हुँदै तामाङ जीवन समात्न पुग्छौ ।
हामी तामाङ समुदायले घेदुङ जस्तो सामाजिक राष्ट्रिय संस्थाको मागबाट मात्र राज्यले सोनाम ल्होछार पर्वलाई राजकीय मान्यता दियो । त्यसपछि मात्र पञ्चाङ्ग समितिले विक्रम सम्वत्को क्यालेण्डरमा बिदा लेख्न थालेको हो । घेदुङले आन्दोलन गरेर नेपाल सरकारबाट बिदा नदिएको भए विक्रम सम्वत्को क्यालेण्डरमा सोनाम ल्होछारको विदा भनेर रातो अक्षरले लेखिने थिएन । किनकि उसलाई तामाङले मान्ने ल्हो परम्पराको बारेमा थाहा हुँदैन । त्यो नलेखिएको भए पनि हामी ल्होछार पर्व मान्थ्यौ । राज्यले बिदा दिँदा मान्ने, नदिँदा नमान्ने त हुन सक्दैन । त्यसैले हाम्रो आग्रह छ, हाम्रो ल्हो गन्ने परम्परा आफ्नोमा खोजौ, अर्काले पछि बनाइदिएकोमा खोजेर पहिलेको तामाङ परम्परा भेटिदैन । हामी पहिलेको हौ, अहिलेको होइनौ । अर्काकोमा कतै भेटिहाल्यो भनेपनि त्यो दुरुस्त आकृतिमा पाईन्न किनकि अर्काले लगेपछि त्यसमा उसैको परम्पराको रसायनले जोड्न खोज्छ र बिकृत बनाइसकेको हुन्छ । विक्रम सम्वत्को क्यालेण्डरमा जो माघ ४ मा सोनाम ल्होछार लेखिएको छ, त्यो महिना नपुगी एकमहिना अघि नै निस्कियो र बिकृत बन्यो । एकमहिनापछि हाम्रो तिथिमा निस्कनुपर्नेमा उसको तिथिबाट निचोरेर निकाल्दा यो अवस्था भयो ।
अर्को ल्हो फिर्ने दिन माघ शुक्ल प्रतिपदा माघमा मात्रै पर्छ, फागुनमा कहिल्यै पर्दैन भन्ने एकाथरी साथीहरुको जुन धारणा आइरहेको छ, त्यो गलत छ । चन्द्र पात्रो अनुसार यसपाली २०७४ को फागुन ४ मा मात्रै सोनाम ल्होछार परेको होइन, यसअघि वि. सं. को २०५२, २०५५ मा पनि फागुनमा ल्हो फिरेको थियो । त्यस्तै २०६३ को फागुन ६ गते, २०६६ को फागुन २ गते र २०७१ को फागुन ७ गते सोनाम ल्होछार परेको थियो । तर त्यतिबेला विक्रम सम्वत्कै क्यालेण्डरमा लेखिएको सार्वजनिक विदा अनुसार एकमहिना अघिको मितिमा सार्वजनिक समारोहको कार्यक्रम आयोजना गर्दा धेरैलाई वास्तविक ल्हो फिर्ने दिनको बारेमा जानकारी भएन । त्यतिबेला अहिले जस्तो सामाजिक सञ्जाल (फेसबुक) नहुँदा कुनैपनि कुरा तुरुन्तै भाइरल बन्दैनथ्यो । तर हाम्रो मान्यता के हो भने अब त्यस्तो कमजोरीलाई लुकाएर राख्नु हुँदैन । सच्याउनु पर्छ । त्यो सच्याउने प्रक्रिया अनि आम समुदायलाई सूचना दिने काम अलि ढिलो भयो होला, त्यो स्वीकार गर्छु तर यो हामीले गर्नैपथ्र्यो । अर्को यहाँहरुलाई म के आग्रह गर्न चाहन्छु भने यस्तो महत्वपूर्ण कामको लागि एकल निर्णयबाट हुँदैन, सामूहिक निर्णय हुनुपर्छ । यो बर्ष नेपालमा निर्बाचन बर्ष भएको कारण यहाँहरुले देखिरहनु भएको छ कि हामी घेदुङ परिवार तामाङ जिताऔ अभियानमा लाग्यौ । केन्द्रीय समितिको बैठक बसेर निर्णय गर्ने अवस्था थिएन । जेठमा बस्नुपर्ने राकास बैठक बल्ल असोज २८ गते बस्यो । त्यसले प्रष्टसँग ल्हो फिर्ने दिन ख्रेला छेपागी तिथि फागुनको ४ गते हो, त्योबेला घरघरमा ल्होछार मनाउने र मूल तिथिभन्दा एकमहिना अघिदेखि साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरेर ल्होछार सुरु भएको सन्देश दिने, शुभकामना आदानप्रदान गर्ने, आफ्नो पहिचान, अधिकारको कुरा उठाउन आम समुदायलाई आग्रह गर्ने निर्णय गरिएको थियो । त्यसपछि पनि हिन्दू चाडपर्वहरु, प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्बाचन परेको कारण एकैपटक मंसीर २८ गते ल्होछार मूल आयोजक समितिको बैठक बस्यो र त्यसले साँस्कृतिक कार्यक्रम पनि ख्रेला छेपा गी तिथिमै गर्ने, माघ ४ को बिदालाई फागुन ४ मा सार्न सरकारलाई आग्रह गर्ने निर्णय गरेर अघि बढेको हो । यसरी बिगतदेखिको कमजोरीलाई सच्याएर अघि बढ्नुपर्छ भन्ने सामूहिक निर्णयका साथ लागेको यहाँहरुलाई जानकारी गराउन चाहन्छु ।
यस अघि मात्रै होइन, पछि पनि जस्तोः वि. सं. २०८२, २०८५, २०९० र २०९३ मा पनि फागुन महिनामा नै सोनाम ल्होछारको तिथि पर्दैछ । यसबर्ष हामीले यो गल्तीलाई नसच्याउने हो भने सधैभरि भ्रम रहिरहने भो र केहीले धमिलो पानीमा माछा मारिरहने भयो । त्यसैले यसलाई प्रष्ट पार्नैपर्छ भनेर लाग्दा विभिन्न तर्क/बितर्क आए । चुप लागेर माघ ४ मै ल्होछार मानेको भए हुन्थ्यो होला तर समस्या ज्यूँ का त्यूँ रहन्थ्यो । अहिले जो सामाजिक सञ्जालमा मोहन गोले मुर्दाबाद सम्मको आरोप/प्रत्यारोप छ । मैले यो बहसलाई अन्यथा मानेको छैन । यो साँस्कृतिक सुद्धिकरणको एउटा महाअभियान हो । सफा गर्ने क्रममा अहिले हामी बीचको फोहोरमैला निस्किदैछ । जोसँग बढी फोहोर छ उबाट अलि बढी नै निस्केको छ भने कम फोहोरमैला भएकोबाट कम नै निस्केको देखिन्छ (अझै हेर्नुहोस फेसबुक स्टाटस र कमेन्टहरु) । कमजोर चेतनाहरुबाट फोहोर निस्किदा मुर्दाबाद भन्दै निस्कँदो रहेछ तर अन्ततः यो जिन्दाबादमा परिणत हुने निश्चित छ । यो निस्किनुपर्छ र तामाङ समाज क्लियर हुनैपर्छ ।
यसरी तिथि अनुसार कहिले सोनाम ल्होछार फागुनमा पुगेर ग्याल्बोसँग मिसिन पुग्छ भने कहिले ग्याल्बो पनि सोनाम ल्होछारको मितिमा आइपुग्छ । यसअघिको मितिमा हेर्ने हो भने २०५३, २०५६, २०५८, २०६१, २०६४, २०६९ मा ग्याल्बो ल्होसार सोनाम ल्होछारकै तिथिमा परेको थियो । २०६९ को ग्याल्बो ल्होसार माघमा सोनामसँगै शेर्पा समुदायले मनाइसकेका थिए तर विक्रम सम्वत्को क्यालेण्डमा फागुनमा बिदा लेखिएको कारण राष्ट्रपति, प्रधानमन्त्री कार्यालयबाट शुभकामना सन्देश आउँदा त्यतिबेला शेर्पा समुदाय अचम्मित भए । एकमहिना अघि पर्व मानिसकेपछि शुभकामना आएको भन्दै धेरै पत्र–पत्रिकामा समाचार पनि आयो । यसपछि २०७५, २०७७, २०८०, २०८३ मा पनि ग्याल्बो सोनामको मितिमा आएर मिसिन्छ । यसलाई हेर्ने हो भने शेर्पा समुदायले धेरै पटक ग्याल्बो ल्होसार सोनाम ल्होछारको मितिमा आएर मानेका छन् तर उनीहरुले सोनाम ल्होछार मानेको कहिल्यै भनेनन् । माघ महिनामा परेपनि ग्याल्बो नै भने । तर हाम्रो पात्रोको तिथि यसबर्ष फागुनमा पुग्दा घेदुङले सोनाम ल्होछार छाडेर ग्याल्बो ल्होसार मनाउन गयो भन्ने सम्मको अत्यन्तै तल झरेर केही साथीहरुले भ्रमको खेती गर्नुभयो । जुन संस्थाले तीन दशकभन्दा लामो समयदेखि संघर्ष गरेर सोनाम ल्होछारलाई स्थापित गरायो, राज्यबाट पर्वलाई राजकीय मान्यता दिलायो । उही संस्थामाथि यसखालको एकमहिना नटिक्ने सस्तो आरोप लगाउनु अत्यन्तै दुःखको कुरा हो । मेरो आग्रह छ, यतिसम्म तल नझरौ ।

सौर्य पात्रो र चन्द्र पात्रोमा भिन्नताः
माथि पनि चर्चा गरियो कि ल्होछार केवल नयाँ बर्ष र साँस्कृतिक पर्व मात्र नभएर एउटा सम्वत् पनि हो । दक्षिण ज्योतिष शास्त्र अनुरुप पनि शिशिर ऋतु अन्त्य भएको र बसन्त ऋतुको सुुरुवात भएको तथा छोटो दिन अन्त्य भई लामो दिन शुरु हुन गएकोले वैज्ञानिक ढंगबाट पनि नयाँ सम्वत् प्रारम्भ भएको मानिन्छ । हामीमा चलनचल्तीमा रहेको दुईखालको पात्रोमध्ये सुर्य पात्रोलाई कारची भनिन्छ भने चन्द्र पात्रोलाई नाग्ची भनिन्छ ।
सुर्य पात्रो गणितिय ज्योतिष विद्यामा आधारित पात्रो हो जसले ग्रह, नक्षेत्रको गति, स्थिति, ऋतु परिवर्तन, तिथि, मिति, समय, महिना निर्धारण गर्नुका साथै कृषि कार्यको लागि मौसमबारे जानकारी दिन्छ । तर चन्द्र पात्रो बौद्धयान, महायानले चलाउने चिनियाँ ज्योतिष परम्परामा आधारित पात्रो हो । यो अन्धविश्वास नभएर चन्द्रमाको गति र प्रभावको आधारमा चल्ने एउटा विज्ञान हो ।
चन्द्र पात्रो पाँचवटा ज्योतिष परम्परा, पाँच महत्वपूर्ण तत्वको आधारमा बनेको हुँदा यो सबै हिसावले पूर्ण छ भनेर हामी दाबी गर्छौ । जुन तत्वले तामाङ जीवन प्रक्रियालाई सञ्चालन गर्छ । जसमा तत्व ज्योतिष, जातक ज्योतिष, बिबाह ज्योतिष, बैद्य ज्योतिष र मृत्यु ज्योतिष जस्ता मानिसको जीवनमा अति आवश्यकीय जानकारीको तत्वहरु छन् । जस्तोः तत्व ज्योतिषले बर्ष, ग्रह, तिथि, मिति, नक्षेत्रको जानकारी दिन्छ । जातक ज्योतिषले मानिसको भविष्यवाणी गर्दछ । बिबाह ज्योतिषले बिबाह, ग्रह आदिबारे बताउँछ । बैद्य ज्योतिषले कुन मान्छेलाई कुन रोग लाग्छ, रोगको उत्पति तथा रोगको उपचारबारे जानकारी दिन्छ र मृत्यु ज्योतिषले मानिसको मृत्यु, जन्म हुने, लास छुन मिल्ने नमिल्ने आदिबारे जानकारी दिन्छ । यो चन्द्रमाको गति, नक्षेत्रहरुको चाल एवं त्यसले समयमा पार्ने प्रभाव (क्रिया÷प्रतिक्रिया) को आधारमा निकालिने ज्योतिष ज्ञानको फल अनुसार मानिसको जीवनमा पनि असर पर्छ भन्ने मान्यतामा आधारित छ । यो विज्ञान सम्मत पात्रोलाई हामीले हाम्रो जीवनमा प्रयोग ग¥यौ भने जो कोहीको जीवनमा दुःख, बिघ्न बाधाहरु आइपर्दैन भन्ने तामाङ समाजको बिश्वास रहेको छ ।
अर्को बुझ्नुपर्ने कुरा विक्रम सम्वत्मा ३६५ दिनको एकबर्ष हुन्छ भने मञ्जुश्री सम्वत्मा ३५४ दिनको एकबर्ष हुन्छ । वि. सं. को महिनाहरु २९ देखि ३२ दिनसम्मको हुन्छ भने म. सं. को महिनाहरु २९ देखि बढीमा ३० दिनको मात्र हुन्छ । मञ्जुश्री सम्वत्मा यसबर्ष मलमास परेको कारण ३० दिन थपिएर ३८४ दिनको एकबर्ष हुन पुगेको छ । हाम्रो छैठौ महिना ब्येल्बोलाई जाजा ब्येल्बो र ग्रेन ब्येल्बो भनेर राखिएको छ (हेर्नुहोस् घेदुङद्वारा प्रकाशित तामाङ भित्ते पात्रो) । यसरी सोनाम ल्होछार (ख्रेला छेपागी) तिथि बिक्रम सम्वत् र मञ्जुश्री सम्वत्मा एक महिनाको फरक पर्न गएको हो । यस्तो फेरि वि. सं. २०८२ मा पनि हुनपुग्छ । त्यसैले हाम्रो कुरा के हो भने राज्यले हाम्रो पर्वलाई स्वीकार गरेर सार्वजनिक बिदा दिइसकेपछि हाम्रो सम्वत् अनुसारको तिथिमा बिदा दिनुपर्छ ।

ग्याल्बो ल्होसार मानेको होइनः
ग्याल्बो ल्होसार परम्पराको इतिहास त्यति लामो छैन । तिब्बतमा ग्याल्बो ल्होसार १३ औं शताब्दीपछि मात्र मनाउन थालिएको हो । त्यस अघि ग्याल्बो ल्होछार भन्ने थिएन । खास गरेर ई. सं. १२२७ मा मंगोल बादशाह चेंगिज खाँले तिब्बतको मियाग प्रान्तमा आक्रमण गरी विजय प्राप्त गरेपछि युद्धका कारणले ल्होछार मनाउन नपाएका जनतालाई अब ल्होछार मनाऊ भनेर आज्ञा दियो र ग्याल्बो ल्होसार शुरु भएको मानिन्छ । राजाको आदेशमा त्यहाँको कुलिन, धनी, राजदरबारका कर्मचारी, लामा, भिक्षुहरुले मनाउन सुरु गरेको हुँदा यो आम समुदायको पर्व बन्न सकेन । तर सोनाम ल्होछार कृषि युगमा कृषि कर्म गर्ने तामाङ लगायत आम कृषकहरुको साझा पर्व बन्यो र अहिले संसारका धेरै देशमा यही पर्व मनाउछन् ।
माथि नै चर्चा गरियो कि सम्वत् या पर्व कुनै ऐतिहासिक परिघटनाबाट सुरु हुन्छ जुन घटनाले त्यहाँको जनतासँग प्रत्यक्ष÷अप्रत्यक्ष सम्बन्ध राखेको हुन्छ । यसरी हेर्दा ग्याल्बोसँग तामाङको कुनै खालको साइनो जोडिएको देखिदैन । ग्याल्बो ल्होसार मान्न आदेश दिने भोटको राजासँग नेपालको आदिवासी तामाङको कुनै सम्बन्ध छैन र नियमत बाह्य देशको नागरिकलाई अर्को देशको राजाको आदेश बाध्यकारी हुँदैन । उसको आदेश उही देशको जनताले मान्छ भने त्यसको हामीले सम्मान गर्नुपर्छ । प्रष्ट छ कि हामी उताको होइन, यताको हौ ।
तसर्थ उसको आदेशबाट तिब्बतको जनताले पर्व मान्न सान्दर्भिक होला तर यो पर्व नेपालको तामाङ जनताले मानिरहनु पर्दैन । यो मान्नु भनेको त तामाङले हिन्दूको पर्व तिहारमा बलिराजाको हुकुमले गर्दा आएको हामी भन्दै रातभरि देउसी खेलेको जस्तै हुन्छ । अर्काको लहै लहैमा लागेर तामाङसँग असम्बन्धित राजा बलिको आदेश मानेको जस्तै हो । जुन राज्य समुदायभन्दा भिन्न तामाङलाई सुहाउँदैन । यसो भन्दा कसैले सोनाम ल्होछारको सम्वत् पनि चिनियाँ विदेशी परम्परा भन्ने प्रश्न उठाउन सक्छ । यसलाई हामीले महामानव मञ्जुश्री जसले नेपालको खाल्डोलाई मानव वस्ती योग्य बनाउन खेल्नुभएको ठूलो योगदान र उहाँले त्यहाँ तामाङ पुर्खालाई राजकाज सञ्चालन गर्ने जिम्मेवारी दिएको सम्झिनुपर्छ र तिब्बतीयन मंगोल राजाको नेपालमा कुनै योगदान नभएको कुरालाई जोडेर हे¥यौ भने प्रष्ट हुनेछ । काठमाडौ जलमग्न भएको समयमा पनि त्यसदेखि उत्तरतर्फ तामाङको बसोबास रहेको इतिहासले पुष्टि गरेको छ । तर धर्म र संस्कृति अलग कुरा हुन् भन्ने सामान्य चेत नराख्नेहरु यसखालको भ्रमको छिटो शिकार हुने गरेको देखिन्छ । जुन भ्रमबाट हामी मुक्त हुनैपर्छ ।
सोनाम ल्होछार अब तामाङ समुदायको ल्होछारको रुपमा राज्यबाट मान्यता प्राप्त राष्ट्रिय पर्व भइसक्यो । ग्याल्बो ल्होछारलाई शेर्पा ल्होसारको रुपमा राज्यले मान्यता दिइसक्यो । तमु ल्होछारलाई गुरुङ समुदायको पर्वको रुपमा मान्यता पाएको छ । अतः अब पनि ग्याल्बो ल्होछार भन्नु तिब्बती र शेर्पाकृत हुनु शिवाय अरु केही होइन । हिजो भन्नु बहसको कुरा हुनसक्थ्यो तर अहिले आएर पनि ग्याल्बो ल्होछार भन्नु आफू तिब्बतीकृत भएर यो देशको भूमिपुत्र आदिवासी तामाङ समुदायलाई दिग्भ्रमित बनाउनु, विभाजित गर्नु या उक्त अधिकारबाट बञ्चित गर्नु बाहेक केही हुँदैन । त्यसबाट तामाङ समुदायलाई फाइदा हुँदैन । यस्तो काम नगरौ ।

ल्हो परम्पराको महत्वः
ल्हो परम्पराले तामाङ जीवनलाई भिन्न र जीवन्त बनाउन महत्वपूर्ण भूमिका खेल्दछ । तर हामीले यसको महत्वको बारेमा बुझ्न नसक्दा ल्होछारलाई घरघरमा मान्न सकेका छैनौ । दशैंमा सिङ्गै राँगा, सुंगुर घरभित्र हुल्छौ तर ल्होछारमा नाच्ने, गाउने र सामान्य भोज बाहेक अरु गर्दैनौ । यो पर्वको महत्व बुझ्न नसक्नुको परिणाम हो । हाम्रो तामाङ जीवनमा ल्हो परम्पराको ठूलो महत्व छ । ल्हो फिर्ने दिनको अवसरमै मानिसको ग्रहदशा फ्याक्ने, घरमा लुङ्दर/दज्र्यु फहराउने र विश्व शान्तिको लागि लामाद्वारा मन्त्रोच्चारण गरिन्छ । त्यसैले यो पर्वले धार्मिक महत्व राख्दछ । यो पर्वमा घर रंग्याउने, बाटोघाटो सफा गर्ने, आफन्त भेटघाट गर्ने, टीका लगाउने, आशिर्वाद लिने/दिने, तामाङ खानपीन खाने, नयाँ तामाङ भेषभूषा लगाउने, आशिर्वाद लिनेदिने र सामूहिक भोज जस्ता कार्यक्रम गरिने हुँदा यसले सामाजिक महत्व राख्दछ । तामाङ समुदाय कृषि पेशामा आश्रित भएको हुँदा यसले कुन समयमा कुन खेतिपाती लगाउने र कुनबेला कुन बाली सप्रिने, बिग्रने आदि कुराको जानकारी दिन्छ । यसको साथै नयाँ ल्हो फिरेसँगै तामाङहरु पुरानो ऋण तिर्छन् भने नयाँ कारोबारको समेत सुरुवात गर्ने भएकोले यो पर्वले आर्थिक महत्व राख्दछ ।
त्यस्तै ल्होको पाँच प्रकृतिका खामहरु एक अर्कोसँग अन्तरसम्बन्धित छ । जस्तोः आगोले मुटुसँग, पानीले मृर्गौलासँग, माटोले आन्द्रासँग, हावाले श्वासप्रस्वास प्रक्रिया र काठले कलेजोसँग सम्बन्ध राख्दछ । यसरी पञ्च तत्वहरु पाँच ज्ञानेन्द्रीयसँग सम्बन्धित हुनाले यो परम्परा स्वास्थ्यको दृष्टिकोणले समेत अत्यन्तै महत्व राख्दछ । तामाङ बच्चामा धातु तत्वको कमी देखिएमा फलाम, सुनको जन्तर, चुरा, कल्ली लगाउने गरिन्छ । यो पर्वमा हिन्दू समाजको भन्दा भिन्न पहिचान बोकेको समस्त मंगोल सभ्यताको नै उजागर हुने भएकोले यसको साँस्कृतिक महत्व छ । त्यस्तै पर्वको अवसरमा तामाङ घेदुङ जस्तो साझा संस्थाको आयोजनामा साँस्कृतिक सभा, महोत्सव, भेला, अन्तरक्रिया जस्ता कार्यक्रमहरु सञ्चालन गरी ताम्सालिङ पहिचान, प्रतिनिधित्व र आफ्नो गुमेको हक, अधिकारको सवालमा आवाज उठाउने हुँदा यो परम्पराले तामाङ समुदायमा राजनीतिक महत्व समेत राख्दछ ।
साथै तामाङको प्रत्येक जीवनमा उसको ल्हो र खामको आधारमा उसको चरित्र र भविष्यको आँकलन गर्ने हुँदा बिबाह, नयाँ कामको थालनी आदिमा यो परम्परालाई आधार बनाईन्छ । बिबाह गर्ने केटा र केटीको ल्हो, खाम नमिलेमा बुढापाकाबाट बिबाहको लागि स्वीकृति दिइदैन । जन्मेदेखि मृत्युसम्म नै यो परम्पराले कुनै न कुनै रुपमा तामाङ जीवनलाई प्रभाव पारिरहेको हुन्छ । जसले यो विज्ञानलाई अन्धविश्वासको रुपमा हेरेर बेवास्ता गर्छ, उसको जीवन असफल भएको हामीले देखिरहेका नै छौ । त्यसैले यो परम्परालाई अलग राखेर तामाङ समाजको पूर्ण कद देख्न र पाउन सकिदैन । त्यसकारण यसलाई एकदिन टुँडिखेलमा नाच्ने, गाउने, रमाईलो गर्ने अर्थमा नबुझिदिनु होला । माघ ४ र फागुन ४ को बीचमा जन्म भएको बच्चामध्ये माघमा ल्होछार मान्नेको छोराछोरी कुकुर ल्होमा जन्मेको हुने अनि फागुनमा ल्होछार मान्नेको छोराछोरी चरा ल्होमा जन्मेको हुने हुन सक्दैन । भोली चरा ल्होमा जन्मेको मानिसलाई कुकुर ल्होमा जन्मिएको भनेर बर्ग नमिल्ने केटी वा केटासँग बिबाह भयो र उसको परिवारमा संकट आयो भने त्यसको को जिम्मेवार हुन्छ ? एकपटक सोचौ । यस्तो तामाङको जीवनमा दुरगामी असर पार्ने विषयलाई ख्याल ख्याल नठानौ ।

अन्तमा, यहाँहरुलाई मेरो आग्रह छ, सोनाम ल्होछार परम्पराबारे केही ब्यक्तिले फैलाएको भ्रमको पछि नलागौ । यो परम्परा तामाङ जीवन संस्कृतिको रुपमा तामाङ लगायत मंगोल समाजले विकास गरेको साँस्कृतिक, सामाजिक सभ्यता हो । हजारौं बर्ष पहिले नै यो परम्पराको विकास भयो र तामाङ समाज त्यही परम्पराबाट परिचालित भयो । हाम्रो जीवन र संस्कृतिको प्रत्येक घडी, प्रत्येक दिन त्यही परम्परा र विश्वासबाट सञ्चालित हुँदै आएको छ । यस्तो महत्व बोकेको पर्वलाई घरघरमा धुमधामका साथ मनाउनु पर्नेमा अझै हामी प्रचारात्मक आन्दोलनमा मात्रै सीमित छौ । २०४६ सालको परिवर्तनपछि त जोडतोडका साथ प्रचार गरियो । आज २६, २७ बर्ष भइसक्यो । अझै त्यो प्रक्रिया टुटेको छैन । परिणामत हाम्रो घरभित्र ल्होछार पस्न सकेन । घर नजिकको चौक, गुम्बासम्म त घेदुङले ल्होछारालाई जसो तसो पु¥यायो तर घरभित्र पसाउने काम भनेको त त्यहीको समुदायको हो । माओले भनेका थिए– साँस्कृतिक रुपान्तरणको सवाल भनेको आफ्नै शरीरमा आगो लगाउनु जस्तै जटिल प्रक्रिया हो । जसले त्यो हिम्मत गर्छ, उसले मात्रै समाज बदल्न सक्छ । हाम्रा अग्रजहरुले देखाउनुभएको बाटो अनुसार हामीले यो हिम्मत ग¥यौ । यसलाई टुँडिखेलमा भेला भएको मानिसको टाउको गनेर सफल र असफल भयो भनेर तुलना नगरौ । हिजो हिन्दू संस्कृतिमा हराईरहेको तामाङ समाजलाई त्यहाँबाट निकाल्न घेदुङले संस्थागत रुपमा ठूलो त्याग ग¥यो । दुईजना मान्छे करायो भन्दैमा त्यो नगरौ भनेको भए आज समाज यहाँ आइपुग्ने थिएन । जुन हिम्मतको फलस्वरुप आज समाज आफ्नै गोरेटोमा हिड्दैछ । तसर्थ, भ्रमको पछि नलागी वास्तविकता र यथार्थमा हामी तामाङ जीवन खोज्दै अघि बढौ । सबैलाई सोनाम ल्होछार– २८५४ को ज्यावाडान्बा । थुजेछे, फ्याफूल्ला ।।