बासमति चामल बेच्ने कामरेडी काइदा

238

मोहन गोले तामाङ
गाउँघरतिर एउटा चल्तीको उखान छ– बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन । माओवादी केन्द्रका सुप्रिमो कामरेड प्रचण्डले स्थानीय चुनावको बेलामा यो उखानलाई धेरै ठाउँमा किस्साको रुपमा जोड्दै भन्नुभयो– काङ्ग्रेस÷एमालेले पीठो बेचे, हामीले बासमति चामल बेच्न सकेनौ । चुनावी परिणाममा तेस्रो भएपछि चामल बेच्न नसकेको कुरा सही नै ठहरियो । हुन त उहाँको पोकोमा चामल थियो कि पीठो थियो, हामीले राम्रोसँग चाख्न पाएनौ । जब चाख्न खोज्थ्यौ, उहाँले भूस मिसाएर खानै नहुने बनाईदिनु हुन्थ्यो । तर जे होस् चामल नै थियो रे भन्नेमा विश्वास गरौ । चामल नबिक्दा आवेगमा सुप्रिमोले केन्द्रीय कमिटिको बैठकमै भनिदिनु भयो– यदि यस्तै हो भने म पार्टी विघटन गरिदिन्छु । यो उहाँको कार्यकर्ताप्रति आक्रोश मात्रै थिएन, पछि हट्ने संकेत पनि थियो किनकि यस्तै ढंगले अघि बढ्दा प्रदेश र संघको निर्बाचनमा उहाँले अझ चामल नबिक्ने स्थितिको सामना गर्नु पथ्र्यौ । कुनैबेला ६ सय सामानमा अढाई सयको हाराहारी बिक्री भएको उहाँलाई नाथे स्थानीय तहको साढे सात सयमा १०६ वटा मात्रै बिक्री हुँदा कम्ता पीडाबोध भएको थिएन । उहाँलाई उकुसमुकुस भएको थियो । यसबाट उहाँ एउटा निष्कर्षमा पुग्नुभयो– अब आफ्ना कार्यकर्ताले चामल बेचेर पैसा कमाउदैनन् । चामल बेच्नको लागि बेलैमा जात मिल्ने संसदीय बजारका एउटा अनुभवी ब्यापारीलाई काखी नच्याप्ने हो भने भविष्य अन्धकार हुनेछ । दश बर्षसम्म १७ हजार जनता रोपेर उब्जाएको चामल बोरामै चिल्ठा परेर गन्हाउनेछ । उहाँकै भनाई अनुसार बिगतमा चामल बेचिएन, पोको पारेर राखियो रे । लाजिम्पाट र पेरिसडाँडामा थन्किएको बासमति चामल खोज्दै न ग्राहक आउनेछन् न त कार्यकर्ताले जनताको घरसम्म नै पु¥याएर बेच्नेछन् ।
यसको लागि उहाँ स्थानीय चुनावको परिणाम आएसँगै एउटा ब्यापारीको खोजीमा हुनुहुन्थ्यो । यस्तो ब्यापारी जोसँग आफूसँग नभएको क्षमता उसँग भइदेओस्, जुनसुकै बेला जे पनि बोल्न सक्ने होस् । गाउँले जनबोलीलाई टपक्कै टिप्ने, बासीलाई साजी र गन्ध आएकोलाई बासना आएको भन्न सक्ने ब्यापारी उहाँलाई चाहिएको थियो । यस खालको क्षमता भएको जस्तोसुकै ब्यापारीसँग पनि उहाँ सम्झौता गर्न तयार हुनुभयो । किनकि यसअघि वाक् पटुता खासै नभएका लोकतान्त्रिक ब्यापारीसँग संगत गर्दा उहाँले नराम्रो धोका खानुभएको थियो । चितवनमा सँगसँगै जादा पनि आफ्नो भागको चामल बेच्न उहाँलाई दुईपटक लाग्यो । खाए खा, नखाए घिच भने जस्तो पहिलोपटक खानु नमान्दा दोस्रोपटक जबर्जस्ती कोचार्नु प¥यो । यसमा दुनियाँले खिसी टिउरी गरे । हुनत चितवनमा मात्रै होइन, आफू एक्लै हुँदा यस अघि सिराहामा पनि लाजमर्दो भएकै हो । लोकतान्त्रिक पसलमा आउने ग्राहकले छ्यासमिस पारेर राखिएको सामान नउठाइदिँदा यस्तो समस्या आएको उहाँलाई राम्ररी थाहा थियो । त्यो पसलमा आउने ग्राहक पुरानै थिए जो अरुको सामान मिसाएर बेचेको देख्ने बित्तिकै नाक खुम्च्याएर हिड्थे । यसले गर्दा पत्रपत्रिकादेखि सामाजिक सञ्जालसम्म दुनियाँको गाली खानु प¥यो । यस्तो हैरानी खाएपछि उहाँ एकाएक लोकतान्त्रिक ब्यापारीको संगत छाड्ने निर्णयमा पुग्नु भएको हो । किनकि नियमत संगोलमा दोकान चलाएपछि दुवै पक्षको सामान बराबर बिकाउनु पथ्र्यो । तर त्यसो हुन सकेन ।
त्यसैले कार्यकर्ता र साझेदारबाट नराम्रोसँग धोका खाएका सुप्रिमो कामरेड यतिबेला बाटो अलग भइसकेको अर्का महेन्द्रीय ब्यापारीसँग कुम जोड्दै हिड्नु भएको छ । यो फेरि रहर होइन, बुढ्यौली उमेरको बाध्यता पनि हो । मर्ने बेलामा हरियो काक्रो भने जस्तो डिपार्टमेन्ट सञ्चालन गरिसकेको उहाँलाई चुनावपछि नाङ्ले पसल थापेर कसरी बस्ने होला ? उहाँ सम्भावित असह्य कल्पनामा डुब्नु भयो । त्यसैले उहाँ गोयबल्स शैलीमा पार्टी एकता सहितको मादल ठोक्दै बाम गठबन्धनको नामबाट यतिबेला चटके ब्यापारीसँग बासमति चामल बेच्न बजारमा हुनुहुन्छ । दुनियाँलाई चकित तुल्याउने गरी उहाँले बोल्न नजान्ने ब्यापारीसँग एकाएक नाता तोडेर वाक् पटुता भएका ब्यापारीसँग लगनगाँठो कसेका छन् । हुनत यस अघि पनि उहाँले महेन्द्रीय ब्यापारीसँग साझेदारी पसल चलाएका हुन् तर ९ महिनाभन्दा बढी सँगै जान सकेन । यसैलाई देखाएर आफ्ना कार्यकर्ताले बिगतमा ब्यापार राम्रो नचलेको, पार्टनरलाई धोका मात्र दिएको हुँदा साझे दोकान खोल्नु हुँदैन भनेर उफ्रिरहेका थिए । तर उहाँ आफ्नो एक्लो निर्णयबाट पछि हट्न मान्नु भएन । यसलाई पुष्टि गर्न उहाँले आफूलाई संसारकै गतिमा विश्वास गर्ने, जहिले नयाँ प्रयोग गर्ने एकमात्र अद्भुत मान्छे भएको बताउनु भयो । कतिसम्म सफल होला थाहा छैन तर यसपटक उहाँहरु चामल बेच्न मात्रै होइन, लगत्तै घामजुन रहेसम्म नटुट्ने घरबार जोड्ने पनि प्रण गर्नु भएको छ । चौक र गल्लीमा यसपाली चामल बेचेर तीन गुना नाफा गर्ने र घरबार राम्रोसँग चलाउने योजना सुनाउदै हिड्नु भएको छ ।
दुवै ब्यापारी एउटै अन्तर्राष्ट्रिय ब्रान्डका भएको हुँदा संयुक्त पसलको नाम राखिएको छ– बाम गठबन्धनको दुकान । नयाँ पसल भएकोले चारै दिशा हाइ भोल्टेजको विज्ञापन गरिएको छ । रत्नपार्कमा ग्यास्टिक गोलाको दबाई बेच्ने ब्यापारीले जसरी टाउको दुख्ने, भुँडी फुल्ने, फोक्सो सुक्ने, मुटु फुल्ने, आङ मर्केको, ढाड सड्केको साराका सारा रोग एउटै ट्याबलेटले चट्ट पार्ने भन्दछ । पर्चा, पोष्टर, साउण्ड बक्समा बाम दोकानको पनि त्यही ढंगको आक्रमक विज्ञापन छ । गर्न नसक्ने र हुन नसक्ने कुनै कुरा छैन । लाग्छ ५ बर्षमा नेपाल स्वीटजरलैण्ड, अमेरिका, मलेशिया, कोरिया सब बन्दैछ । लोडसेडिङ मुक्त मात्र होइन, जुनकिरीको पिँधमा बत्ति बलेजस्तो प्रत्येक रुखको पात पातमा बिजुली बत्ति बल्दैछ । बिदेशिएका ६० लाख युवा गठबन्धनले सरकार चलाएको भोलीपल्ट देखि नै गुन्टा कसेर घर फिर्तीको लाइन लाग्नेछन् । पुँजिवादमा बामे सरेको मुलुक एकैपटक समाजवाद हुँदै साम्यवादमा फड्को मार्नेछ । यसरी जनताको समाज विकासको नियमलाई बुझ्न नसक्ने चेतनामाथि राम्रै भ्रमको ब्यापार हुँदैछ ।
उनीहरुले गरेको ६०÷४० को सहमति अनुसार अंक गणित जोड्दा यसपटक चामल राम्रै बिक्ने जस्तो देखिन्छ । बाम पसलको विज्ञापनबाट अर्का लोकतान्त्रिक पसलका ब्यापारी आफ्नो दुकान सुक्ने त्रासबाट आतंकित मात्रै होइन, त्रसित र भयभित पनि देखिन्छ । उनीहरु हरेक बजारमा एकखाले स्वर निकालेर बर्बराउँदै हिडेका छन् । यतिसम्म बर्बराएका छन् कि सपनामा हो कि बिपनामा हो छुट्याउन सकिदैन । रुनै नपाईने, हास्नै नपाईने, पश्चिमबाट घाम झुल्किने, दिउँसै चन्द्रमा उदाउने, भैसी रुखमा चढेर देशैभर एकसाथ उल्का बर्षा हुनेसम्मको हल्ला पिटिएको छ । यसरी दुवै दुकानदारको दिनचर्या आफ्नो होइन, अर्काको कुरा गरेर बित्ने गरेको छ ।
दलका नेताहरुले लाटाबुंगाहरुको देशमा यसरी चुनावको मुख पारेर यसअघि पनि दुनियाँ कायापलट बनाउने भाङको लड्डु राम्रै बिक्री गर्दै आइरहेका थिए र अहिले पनि त्यसैको ब्यापार गरिरहेका छन् । जबसम्म हामी बुद्धु जनताहरुको दिमागमा राजनीतिक चेतना शून्य भइरहनेछ, तबसम्म झुठ र भ्रमको खेती गरेर भोट लुटिरहने छन् । चेतना भया ।।