घेदुङले स्थानीय तहमा निर्बाचित तामाङ जनप्रतिनिधिलाई बधाई तथा सम्मान गर्ने

2022

जेठ १४, काठमाडौं ।
पहिलो चरणको स्थानीय तहको निर्बाचनबाट निर्वाचित भएका तामाङ जनप्रतिनिधिहरुलाई नेपाल तामाङ घेदुङले विषेश बधाई तथा सम्मान कार्यक्रम गर्ने भएको छ । आइतबार दिउँसो घेदुङको केन्द्रीय कार्यालय पुतली सडकमा बसेको सचिवालाय बैठकले यस्तो निर्णय गरेको हो ।

अहिलेसम्म तामाङ समुदायको राज्यसत्तामा सार्थक प्रतिनिधित्व हुन नसकिरहेको अवस्थामा सङ्घीय गणतन्त्र नेपालको अधिकार सम्पन्न स्थानीय तहको निर्बाचनमा सयौ तामाङले चुनाव जित्नु आफैमा ऐतिहासिक भएको भन्दै घेदुङले खुशी ब्यक्त गरेको छ । उसले बैठकबाट तामाङ प्रतिनिधिलाई स्थानीय सत्तामा जिताउन भूमिका खेल्ने तामाङ मतदाता र राजनीतिक दललाई समेत धन्यवाद ज्ञापन गरेको छ ।

महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरुलाई काठमाडौमा विषेश बधाई कार्यक्रम मार्फत तामाङको भाषिक, साँस्कृतिक, शैक्षिक, राजनीतिक, साहित्यिक लगायत ताम्सालिङ आन्दोलनको बारेमा समेत बिजयी तामाङ जनप्रतिनिधिहरुलाई ध्यानकर्षण गराउने निर्णय भएको घेदुङका अध्यक्ष मोहन गोले तामाङले जानकारी दिनुभयो ।

घेदुङ केन्द्रीय कार्यालयले यसको लागि नगारपालिका, गाउँपालिका प्रमुख तथा उपप्रमुख र वडाअध्यक्षहरुलाई बधाई तथा सम्मान कार्यक्रममा आमन्त्रण गर्न जिल्ला घेदुङहरुको समन्वयमा पत्राचार गर्ने भएको छ ।

साथै दोस्रो चरणको निर्वाचनमा समेत बढी भन्दा बढी तामाङ उमेदवारहरुलाई बिजयी बनाउन पहल गर्ने घेदुङले जनाएको छ । यसको लागि घेदुङले यस अघि नै तामाङ समुदायमा पर्चा तथा अपील वितरण गरिसकेको छ भने दोस्रो चरणमा निर्बाचन हुने तामाङ बाहुल्य क्षेत्रहरुमा तामाङ मतदाता तथा उमेदवारहरु बीच जागरण सभाहरु सम्पन्न गर्ने महासचिव बाबु घिसिङ तामाङले बताउनु भयो ।

नेपाल तामाङ घेदुङकै उपाध्यक्ष तेजबहादुर तामाङ (रमेश) नुवाकोट जिल्लाको पन्चकन्या गाउँपालिकाको अध्यक्ष, विभागीय प्रमूख इमानसिंह लामा तामाङ चितवन जिल्ला स्थित राप्ती नगरपालिकाको उपप्रमूख र अनुशासन विभाग प्रमूख प्रेम मोक्तान तामाङ दोलखा जिल्लाको शैलुङ गाउँपालिका वडा नम्बर ७ को वडाअध्यक्षमा बिजयी भएका छन् ।
पहिलो चरणमा सम्पन्न भएको २८३ स्थानीय तहको चुनावमा एक उपमहानगरपालिका उपप्रमुख, २ नगरपालिका प्रमुख, २८ गाउँपालिका प्रमुख र २९ जना उपप्रमुखमा निर्वाचित भएका छन् भने वडाअध्यक्ष समेत करिब २ सय जना तामाङ प्रतिनिधि स्थानीय तहमा चयन भएका छन् ।

यसलाई घेदुङले स्थानीय सत्तामा तामाङ समुदायको भौतिक प्रतिनिधित्व सन्तोषजनक भएको भन्दै अब भावनात्मक प्रतिनिधित्व गराउन पहल गर्ने बताएको छ ।