तामाङ उमेदवारलाई जिताउनोस्

1503

२८ बैशाख, काठमाडौं ।
स्थानीय तहको निर्बाचन सम्बन्धमा नेपाल तामाङ घेदुङ र ताम्सालिङ संयुक्त सङ्घर्ष समितिले तामाङ उमेदवारलाई जिताउन आग्रह गर्दै तामाङ मतदाताहरु समक्ष संयुक्त अपील जारी गरेको छ । नेपाल तामाङ घेदुङ, सङ्घर्ष समिति र ताम्सालिङ नागरिक समाजबीचमा २ चरणको छलफलपछि यस्तो अपील गरिएको हो ।

घेदुङका अध्यक्ष मोहन गोले तामाङ र सङ्घर्ष समितिका अध्यक्ष जय गोले तामाङद्वारा हस्ताक्षरित अपीलमा बिगतको आन्दोलन÷सङ्घर्षबाट प्राप्त उपलब्धिमाथि प्रहार गर्न खोज्ने बाधक शक्तिसँग सचेत हुँदै गणतन्त्र, धर्म निरपेक्षता, सङ्घीयता र समावेशी÷समानुपातिक प्रतिनिधित्वप्रति बफादार र इमान्दार उमेदवारहरुलाई जिताउन आग्रह गरेको छ ।

पहिलो चरणको निर्बाचनमा तामाङ उमेदवारी निकै कम परेको भन्दै अपीलमा भनिएको छ– हामी उमेदवारी दर्ता प्रक्रियामै एकपटक त चुकिसक्यौ तर फेरि मतदान गर्दा पनि चुक्यौ भने इतिहासमा तामाङ पुस्ताले खेप्न नसकिने अर्को महाभूल हुनेछ ।

राजनीतिक दलको पछि लाग्ने नाममा आफ्नो समुदायलाई नभुल्न र विश्वासको अमूल्य मत तामाङ विरोधी शक्तिलाई नदिन सचेत गराएको छ । संविधानसभाबाट जारी संविधानमा ताम्सालिङ प्रदेश र तामाङ जनताको अधिकारको सुनिश्चित हुन नसकेको हुँदा आन्दोलनको लागि शक्ति निर्माणमा लाग्न पनि अपील गरिएको छ ।