इजयरायल घेदुङले फेरि गरे शैक्षिक सहयोग हस्तान्तरण

551

१४ बैशाख, काठमाडौं ।
नेपाल तामाङ घेदुङ इजरायलको शैक्षिक सहयोग हस्तान्तरण कार्यक्रम अन्तर्गत दुई विद्यालयलाई आज शैक्षिक सहयोग हस्तान्तरण गरिएको छ । घेदुङको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको बीच उक्त सहयोग हस्तान्तरण गरिएको हो ।
इजरायल घेदुङका पूर्व संरक्षक सुन्दर सिंह योन्जन तामाङ र पूर्व संरक्षक चन्द्रमाया बोम्जन तामाङ मार्फत प्राप्त रकम जनज्योति मावि मयुरधाप हेटौडा–१४ मकवानपुर र परेवाश्वरी प्रावि चेपाङ वस्ती राप्ती नपा–१ चितवनलाई घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोले तामाङले हस्तान्तरण गरे ।

दुवै विद्यालयले ५० हजारको दरले सहयोग बुझेका छन् । यसरी रकम बुझ्नेमा जनज्योति माविका प्रधानाध्यापक भोगेन्द्र लुइटेल र परेवाश्वरी प्राविका अभिभावक प्रनिशा स्याङ्तान रहेका छन् ।

कार्यक्रममा नेपाल तामाङ घेदुङ ईजरायलका पूर्व संरक्षक सुन्दरसिंह योन्जनले ताम्सालिङ क्षेत्रका १० वटै जिल्लाका एक एक विद्यालय छनौट गरी शैक्षिक सहयोग हस्तान्तरण गर्ने योजना अन्तर्गत सहयोग हस्तान्तरण गरिएको बताए । उनले हालसम्म इजरायल घेदुङबाट ३० लाखभन्दा बढी रकम सहयोग हस्तान्तरण गरिएको बताए ।

यसैगरी इजरायल घेदुङका पूर्व संरक्षक चन्द्रमाया बोम्जनले ताम्सालिङ क्षेत्रका १० जिल्ला मध्ये दोलखा जिल्लामा मात्रै सहयोग हस्तान्तरण हुन बाँकी रहेको बताए । यो सानो सहयोगबाट दुखेको घाउँमा थोरै भएपनि मलमपट्टि लगाउने काम भएको उनले दाबी गरिन् ।

कार्यक्रममा सहयोग रकम बुझ्दै जनज्योति माविका प्रधानाध्यापक भोगेन्द्र लुइटेलले सहयोग रकमलाई कम्प्युटर खरिदको लागि प्रयोग गरिने प्रतिवद्धता ब्यक्त गरे ।

त्यसैगरी रकम हस्तान्तरण गर्दै घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोले तामाङले गाउँ तहसम्म संगठन निर्माण गर्न आग्रह गरे । इजरायलमा घेदुङको संगठन बनेको हुँदा सहयोग प्राप्त भएको भन्दै गोलेले गाउँमा पनि संगठन बनेमा तामाङको दुःखसुःख बारेमा बुझ्न सजिलो हुने बताए ।