तेह्रथुम घेदुङद्वारा प्रजिअ तामाङलाई स्वागत

1824

धनु तामाङ
तेह्रथुम फागुन २३ । तामाङ समुदायवाट दोश्रो तथा तेह्रथुम जिल्लामा पहिलो प्रमुख जिल्ला अधिकारी भएका आसमान तामाङले लगाव र धैर्य नभएको कारण तामाङ समुदाय अझै पछि परेको बताउनु भयो । नेपालमा करिव २० लाख जनसंख्या भएपनि सरकारी कार्यालयमा कम मात्र भएको बताउनु भयो ।

सोमवार नेपाल तामाङ घेदुङ जिल्ला कार्य समिति तेह्रथुमले आयोजना गरेको स्वागत, सम्मान कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । पहिलो पटक जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिएर आएका प्रजिअ तामाङले क्षणिक प्रतिफलमा बढी केन्द्रीत भएको कारण निजामती कर्मचारीमा तामाङ समुदाय कम भएको बताउनु भयो ।

उहाँले घेदुङको कार्यालयमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै आगामी दिनमा तामाङ समुदायको निम्ति आफुले सकेको सहयोग गर्न तयार रहेको पनि बताउनु भयो । काभ्रेपलाञ्चोक जिल्लामा जन्मनु भएका तामाङ यस अघि गृहमन्त्रालयमा रहनु भएको थियो ।

प्रजिअ तामाङ तेह्रथुम जिल्लामा ३७ औ प्रजिअको रुपमा आउनु भएको हो । स्वागत, सम्मान कार्यक्रममा स्थानिय विकास अधिकारी तुलसी गौतम, प्रदेश नम्वर १ का सदस्य कृष्ण कुमार योञ्जन लगायतले कार्यसफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रम नेपाल तामाङ घेदुङ तेह्रथुमका पुर्व प्रमुख सल्लाहकार मनबहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको हो ।