घेदुङले ६१ औ स्थापना दिवस मनायो

966

२८ माघ, काठमाडौं ।
तामाङ समुदायको एकमात्र सााझा संगठन नेपाल तामाङ घेदुङले माघ २८ गते ६१ औ स्थापना दिवस मनाएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा घेदुङले घेदुङको ६ दशक र तामाङ आन्दोलन विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा घेदुङका पुर्व अध्यक्षहरु क्रमशः कुमार योन्जन, धनप्रसाद तामाङ सल्लाहकारहरु जयप्रसाद गोले, डा. संग्रामसिंह लामा, कवेलबहादुर लामा, सुर्यमान दोङ, मा. पर्शुराम तामाङ, कुन्साङ योन्जन, प्रदिप बोम्जन, कुमार ब्लोन, नेपाल तामाङ प्रवासी तामाङ समाज कतारका तिर्थ तामाङ र अखिल भारतीय तामाङ बौद्ध संघ कलकत्ता शाखा अध्यक्ष एम. के. घिसिङ र तामाङ अन्तर्राष्टिय परिषद्का सचिव प्रतिक तामाङको उपस्थिति रहेको थियो ।

कार्यक्रममा घेदुङका पूर्व अध्यक्ष तथा प्रमूख सल्लाहकार कुमार योन्जनले जसले घेदुङमा सिन्को भाच्दैन, उसले नै घेदुङलाई बढी गाली गर्ने गरेको बताउनुभयो । उनले समुदायभित्र मतमतान्तर भएपनि तामाङको समृद्धि चाहने हो भने सबै एकठाउँमा आउनुपर्ने बताए । उहाँले समग्र आदिवासी जनजाति आन्दोलनमै विगतदेखि तामाङ घेदुङले अगुवाई गरेको चर्चा गर्नुहुँदै पहिचानको निर्णायक आन्दोलन हाँक्ने जिम्मेवारी पनि तामाङ समुदायमै आएको बताए ।

कार्यक्रममा घेदुङका पूर्व अध्यक्ष तथा सल्लाहकार धनप्रसाद तामाङले इतिहासको जटिल मोडमा नयाँ नेतृत्व उभिएको हुँदा दलभन्दा माथि उठेर राजनीतिक आन्दोलन गर्नुपर्ने बताए । उहाँले घेदुङले राजनीति गरेन भने समग्र तामाङ समुदाय सामाजिक, साँस्कृतिक क्रान्तिमै भुल्लिरहने हुँदा सांगठनिक रुपमा राजनीति गर्नुपर्ने सुझाव दिए ।

घेदुङका अर्का सल्लाहकार कुन्साङ योन्जनले स्थापना दिवसको अवसरमा आजसम्म तामाङ आन्दोलनले विकास गरेका प्रक्रियाहरुलाई प्रस्तुतिको माध्यमबाट सबैलाई अवगत गराए भावी योजना बनाउन सहयोग पुग्ने धारणा राखे ।

यसैगरी अर्का सल्लाहकार तथा ताम्सालिङ संघर्ष समितिका संयोजक जयप्रसाद गोलेले विगतको ल्होछार समारोहमा तामाङ समुदायको उपस्थिति न्यून भएपनि अब टुँडिखेल साँघुरो भएको बताए । उनले राष्टिय पर्वलाई घेदुङको माध्यमबाट घरघरमा पु¥याउनुपर्ने सुझाव दिए ।

कार्यक्रमका अर्का सल्लाहकार प्रदिप बोम्जनले विगतमा सामाजिक, साँस्कृतिक आन्दोलन गरेको हुँदा अब राजनीतिक लडाइँ लड्नुपर्ने बताए । उनले विगतको उपलब्धिलाई संस्थागत गर्दै फड्को मार्नुपर्ने तर्क गरे ।

अर्का सल्लाहकार कमानसिंह लामाले घेदुङभित्र राजनीतिक कुरा गर्नु हुँदैन भन्ने तर राजनीति नभई नहुने, यो सन्दर्भमा नयाँ नेतृत्वले चिरेर अघि बढेकोमा प्रसंसा गरे । उनले तामाङ लगायत सबै आदिवासी जनजाति एक ठाउँमा आए परिवर्तन सम्भव रहेको संकेत गरे ।

यसैगरी अन्तर्राष्टिय परिषद्का अध्यक्ष प्रतिक तामाङले कुनैबेला घेदुङभित्र पस्न राजनीतिक जुत्ता बाहिर फुकालेर आउनुस भनिन्थ्यो तर अहिले झण्डा बोकेर राजनीतिक एजेण्डामा छलफल गर्न थालेकोमा समयले कोल्टे फेरेको बताए ।

कार्यक्रमको अन्तमा घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोले तामाङले ६० बर्ष लामो तामाङ आन्दोलनलाई तीन चरणमा चर्चा गर्दै अहिले कार्यान्वयनको चरण रहेको बताए । उनले तामाङ आन्दोलन साँस्कृतिक चरणको उत्तरार्धतिर आइपुगिसकेको बताउँदै अव यसैको जगमा टेकेर राजनीतिक क्रान्ति गर्नुपर्ने बताए ।

नेपालको पछिल्लो समसामयिक राजनीतिक अवस्थालाई हेर्दा सहज ढंगबाट ताम्सालिङ प्रदेश निर्माणको सम्भावना सकिएको बताउँदै गोलेले अब सानो, ठूलो बिद्रोहको नेतृत्व तामाङले गर्नुपर्ने बताए । उनी त्यही बिद्रोहको लागि अहिले शक्ति निर्माणमा लागिपरेको बताए ।

सोही अवसरमा सोनाम ल्होछार २८५३ मा आयोजित ल्होछार कप मैत्री फुटबल प्रतियोगितामा सहभागी खेलाडी तथा स्वयंसेवकहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । घेदुङ अध्यक्ष गोलेको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रमको सञ्चालन महासचिव महितकुमार तामाङले गरेका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष कुमार घिसिङले गरेका थिए ।