संसारका तामाङहरुलाई ताम्सालिङ निर्माणमा एक हुन आग्रह

1333

२१ कातिक, (सिलीगुडी) भारत ।

नेपाल तामाङ घेदुङको केन्द्रीय अध्यक्ष मोहन गोले तामाङले संसारका तामाङहरुको ध्यान अब ताम्सालिङमा केन्द्रीत हुनुपर्ने बताए । यसको लागि सबै तामाङहरु ताम्सालिङ निर्माणमा एकजुट हुन उनले आग्रह गरे । तामाङ अन्तर्राष्ट्रिय परिषद्द्वारा आइतबार भारत स्थित सिलीगुडीमा आयोजित ‘तामाङ समाजमा साँस्कृतिक पुनर्जागरण दशक अभियानः योजना र परामर्श गोष्ठी’ लाई सम्बोधन गर्दै गोलेले उक्त धारणा ब्यक्त गरेका हुन् । 

नेपालका नश्लवादी शासकहरुले तामाङलाई मासिने मतवालीमा राखेर विभेद गरेकै कारण तामाङको समग्र जीवन प्रक्रिया डमाडोल भएको उनको भनाई थियो । गोलेले भने– ‘सत्ता नहुनुको कारण हामीले दुःख पायौ, अब सत्ता प्राप्तीको लडाइँ लडौं’ । तामाङको सत्ता बर्तमान सिंहदरबार नभई ताम्सालिङ भएको बताउँदै उनले सत्ता प्राप्तीको लडाइँ सुरु भएको दाबी गरे । 

एक अर्को प्रसङ्गमा गोलेले नेपालको तामाङ समुदायको साँस्कृतिक आन्दोलनलाई तीन खण्डमा चर्चा गरे । उहाँका अनुसार २०१३ सालदेखि २०४७ सम्म संस्थागत विकास र एकीकरणको चरण, २०४७ देखि २०५८ सम्म नीति÷कार्यक्रम निर्माणको चरण र २०५८ देखि हालसम्म कार्यान्वयनको चरण रहेको दाबी गरे । हाल कार्यान्वयनको चरण रहेको हुँदा सोचेजस्तो क्रान्ति अघि बढ्न नसकेको उनको कथन थियो । यसको लागि अब क्रान्तिले बिकास गरेको प्रक्रिया र गतिलाई ठीक ढङ्गले बिश्लेषण गर्दै अघि बढ्न उनले तामाङ अन्तर्राष्ट्रिय परिषद्को ध्यानाकर्षण गरे । 

कार्यक्रममा नेपाल, भारत, साउदी अरब, युएई र कोरियाका प्रतिनिधिहरुको उपस्थिति रहेकोमा नेपाल तामाङ घेदुङको तर्फबाट अध्यक्ष गोले, प्रदेश नम्बर १ का अध्यक्ष मित्रसेन योञ्जन तामाङ र झापा जिल्लाका केन्द्रीय सदस्य दिलकुमार तामाङको सहभागिता रहेको थियो । 

कार्यक्रमले तामाङ भेषभूषामा एकरुपता ल्याउनुपर्ने, तामाङ समाजको ऐतिहासिक धरोहर ताम्बा, बोन्बोलाई जिवन्त राख्न विशेष कार्यक्रम सञ्चालन गर्ने, तामाङ साँस्कृतिक पुनर्जागरण अभियानलाई नेपाल तामाङ घेदुङ र अखिल भारतीय तामाङ बौद्ध संघले संयुक्त रुपमा अभियान सञ्चालन गर्ने, आधुनिक सञ्चार माध्यममार्फत अन्तर्राष्ट्रिय परिषद्का गतिविधिहरुलाई प्रचारप्रसारमा ल्याउने लगायतका ६ बुँदे निष्कर्ष निकालेको परिषद्का सचिव प्रतिक ङेसुर तामाङले बताए । 

अखिल भारतीय तामाङ बौद्ध संघको ब्यवस्थापनमा स      ञ्चालित उक्त कार्यक्रम परिषद्का अध्यक्ष महेन्द्रजंग योञ्जन तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।