पहिचान

1373

मोहन गोले

म पहिचान ! 
मलाई काठमाडौंको बानेश्वरमा बस्ने एउटाले ठोकुवा ग¥यो 
पहिचान भनेको जातीय राज्य हो । 
तर मलाई धनकुटाको छिन्ताङमा बस्ने अर्कोले मलिन स्वरमा भन्यो 
पहिचान भनेको जातीय समानता हो ।।  
त्यसैले हजुर२,
यतिबेला म एउटा र अर्कोको तानातानमा छु । 
यतिबेला म जातीय राज्य र जातीय समानताको हानाहानमा छु ।। 
यतिबेला म बानेश्वरको धोद्रे स्वर र छिन्ताङे मलिन स्वरको महाघानमा छु ।।।
मैले नचाहँदा नचाहँदै२,  
आज मेरो परिभाषालाई धरापमा पारिएको छ । 
आज मेरो इतिगाथालाई जुवाको खालमा थापिएको छ ।। 
तरपनि२, यति थाहा छ 
मलाई बानेश्वरले होइन छिन्ताङ र पिस्करले ब्युँझायो । 
मलाई बालुवाटारले होइन रुम्जाटार र घोडेटारले उठायो ।। 
त्यसैले२,
घोडेटारको लागि यो हात सलाम हो । 
बालुवाटारको लागि यो हात फलाम हो ।। 
जसले मलाई सङ्घर्षको मैदानमा उठायो उसको पहिचान हुँ म ।
जसले मलाई दमनको दुष्चक्रमा सुतायो उसको ब्यवधान हुँ म ।।
म चिन्दछु२, 
काला र सेता भनेर रंग छुट्याउने रंगभेदीहरुले नै मलाई धरापमा पार्दैछन् । 
चुच्चो र थेप्चो भनेर नाक नाप्ने नोजवादीहरुले नै मलाई सङ्कटमा हाल्दैछन् ।।
तागाधारी र मतवाली भनेर जात बाँड्ने जातिवादीहरुले नै मलाई दाउमा थाप्दैछन् ।।।
छिः२ सुन्दै लाज लाग्छ, 
तिमी जस्तै मान्छेहरु मंगल ग्रहको दूरी नाप्ने भइसके 
तर तिमी भर्खर नाकको साईज नाप्दैछौ । 
तिमी जस्तै मान्छेहरु चन्द्रमा प्लटिङ गर्ने भइसके 
तर तिमी भर्खर जातको बरियता बाँड्दैछौ ।। 
अझैँ,२ मलाई चिन्यौ कि चिनेनौ 
म त बर्षौदेखि चुच्चो, थेप्चो जिन्दावादको नारा लगाइरहेछु ।
म त सातसालदेखि कालो, गोरो राष्ट्रवादको नारा घन्काइरहेछु ।। 
जव२, मेरो चिना नहेरीकन
भूँई पण्डितहरुले जवर्जस्त मेरो न्वरान गर्न थाले ।
हाते ज्योतिषीहरुले मेरो पञ्जा खोसेर रेखा कोर्न थाले ।।
अनि भनियो, 
बाहुनलाई बाजे भन्दै खुट्टा ढोग्ने मैले  
उल्टै काशीमा पठाउँछन् भनेर हल्ला चलायो । 
क्षेत्रीलाई काजी भन्दै आदरपूर्वक बोलाउने मैले 
उल्टै फाँसीमा लट्काउँछन् भनेर बिल्ला भिरायो ।। 
यसरी,
म को हुँ ? यतिबेला मेरो नाम खोसिएको छ ।
म के हुँ ? यतिबेला मेरो काम बदलिएको छ ।। 
सुन्दैछु२,  
नाम खोस्नेहरुले मेरो पहिचान कोशी र गण्डकीको भङ्गालोमा हाल्दैछ रे । 
काम खोस्नेहरुले मेरो पहिचान जानकी मन्दिरको गजुरमा चढाउँदैछ रे ।। 
यदि२, 
नदीमा मेरो पहिचान जोगिने भए कोशी अञ्चल त छँदै थियो ।
मन्दिरमा मेरो पहिचान बाँच्ने भए जनकपुर नाम त काफी थियो ।। 
म त भन्छु२,
मेरो पहिचानभित्र काठमाडौं मात्र होइन 
रसुवाको लाङटाङमा भेडा चराउने पेम्बादोर्जी पनि हास्नुपर्छ ।
चितवनको नारायणी नदीमा जाल फिँजाउने माझी दाई पनि नाच्नुपर्छ ।। 
अनिमात्र२, 
मेरो बास्तविक पहिचान खुल्नेछ । 
मेरो (साँच्चैको नाम फुल्नेछ)२ ।।
