घेदुङको प्रदेश नं. १ ले ज्ञापनपत्र बुझायो

1739

२० भदौ, पूर्व:संविधान संशोधनमार्फत तामाङ समुदायको ऐतिहासिक भूगोललाई मिलाएर ताम्सालिङ प्रदेश कायम गराउन नेपाल तामाङ घेदुङको प्रदेश नं. १ ले आज ज्ञापन पत्र बुझाएको छ । 
ज्ञापन पत्र प्रदेश नम्बर एक अन्तर्गतका अधिकांश जिल्लाले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यालयमा बुझाइएको घेदुङका प्रदेश प्रमूख मित्रसेन योञ्जनले बताउनु भयो । 
ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराउँदा पनि माग सुनुवाई नभए असोज १३ गतेदेखि चरणबद्ध आन्दोलनको घोषणा गरिने पनि योञ्जनले बताउनु भयो । शान्तिपूर्ण आन्दोलनबाटै पहिचान र अधिकार सुनिश्चित गर्ने उनले दाबी गरे । 
प्रदेश अध्यक्ष मित्रसेन योञ्जनद्वारा हस्ताक्षरित १७ बुँदे ज्ञापनपत्रमा ताम्सालिङ प्रदेशको सुनिश्चितता गरिनुपर्ने, संविधानमा गरिएको धर्मनिरपेक्षताको अपब्याख्या खारेज गरिनुपर्ने, आदिवासी आयोगलाई अधिकार सम्पन्न बनाइनुपर्ने, एक नं. प्रदेश भित्रको तामाङ बाहुल्य भूगोललाई स्वायत्त÷संरक्षित बनाइनुपर्ने  र जातीय जनसंख्याको आधारमा पुर्ण समानुपातिक निर्बाचन प्रणालीको ब्यवस्था गरिनुपर्ने मागहरु उल्लेख गरिएको छ । 
यसको साथै ज्ञापनपत्रमा प्रदेश कार्यालय तत्काल स्थापना गरिनुपर्ने, संविधानप्रति असन्तुष्ट समुदायलाई वार्ताको माध्यमबाट समस्याको समाधान गरिनुपर्ने र प्रदेशको नामाङ्कन÷सीमाङ्न टुंग्याएर मात्र स्थानीय तहको पुनसंरचना प्रक्रिया अघि बढाउन  सुझाव दिएको छ ।  
पूर्वको १ नं. प्रदेशमा बसोबास गर्ने तामाङ समुदाय आन्दोलनमा उत्रिएपनि मुख्य बसोबास रहेको क्षेत्र ताम्सालिङको तामाङ समुदायले ताम्सालिङ र तामाङको अधिकारको सम्बन्धमा कुरा बुझ्न नसक्दा आन्दोलन  सशक्त रुपले उठ्न नसकेको तामाङ विज्ञहरु बताउछन् । 
यसको लागि घेदुङले आफ्ना कार्यकर्ताहरु परिचालन गरी ताम्सालिङ क्षेत्रका तामाङ गाउँहरुमा जनजागरण अभियान सञ्चालन गर्ने भएको छ ।