अधिकार प्राप्तिका लागि तामाङ एकताको आवश्यकता–मन्त्री तामाङ

5421

अधिकार प्राप्तिका लागि तामाङ एकताको आवश्यकता–मन्त्री तामाङ
 

काठमाडौ, तामाङहरुको अधिकार प्राप्तिका लागि तामाङहरुबीचको बलियो एकता हुनुपर्नेमा कृषि राज्यमन्त्री राधिका तामाङले जोडदिनु भएको छ । नेपाल तामाङ घेदुङले आज काठमाडौमा आयोजना गरेको सल्लाहकारहरुसँगको परिचयात्मक तथा सम्मान कार्यक्रममा मन्त्री तामाङले उक्त कुरा बताउनु भएको हो । 


मन्त्री तामाङले संख्यात्मक हिसाबले तामाङ समुदाय निकै ठूलो भएपनि अधिकार पाउने कुरामा राज्य र राजनीतिक दलहरुले अझैपनि नपत्याएको समेत बताउनु भयो । मन्त्री तामाङले आफूलाई सम्मान गरेकोमा नेपाल तामाङ घेदुङलाई धन्यवाद व्यक्त गर्नुहुँदै आफूले पाएको जिम्मेवारी इमान्दारीपूर्वक वहन गर्ने र घेदुङका लागि आफूले सक्दो सहयोग गर्ने पनि बताउनु भयो । कार्यक्रममा मन्त्री तामाङलाई नेपाल तामाङ घेदुङका पूर्व अध्यक्ष कुमार योञ्जनले प्रमाणपत्र सहित खादा लगाएर सम्मान गर्नु भयो । 


आजको कार्यक्रममा नवनियुक्त सल्लाहकारहरुले नेपाल तामाङ घेदुङले आगामि दिनमा गर्नुपर्ने कामको बारेमा आआफ्नो सल्लाह समेत दिनु भयो । त्यसरी सल्लाह दिनुहुनेहरुमा पूर्वमन्त्री हितबहादुर तामाङ, सांसदहरु शेरबहादुर तामाङ, दिलमान पाख्रीन, परशुराम तामाङ, पूर्व राजदूतद्धय डा.गणेश योञ्जन, कमानसिंह लामा, परशुराम तामाङ, मानवशास्त्री डा. मुक्तसिं तामाङ, भाषाविद् अमृत योञ्जन कबेलबहादुर तामाङ लगायत हुनुहुन्थ्यो । 


कार्यक्रममा अध्यक्ष मोहन गोले, महासचिव महितकुमार तामाङ र भाषा तथा लिपि विभाग प्रमुख काजीमान थिङले आफूहरु नेपाल तामाङ घेदुङको पूर्णकालीन सदस्यको रुपमा काम गर्ने समेत घोषणा गर्नु भयो । नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव महितकुमार तामाङले गर्नु भएको थियो भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष बेली लामाले गर्नुभएको थियो ।