तेमाल जात्रामा पूजापाठ र भब्य साँस्कृतिक कार्यक्रम 

696

तेमाल जात्राको अवसरमा काठमाडौं स्थित स्वयम्भूमा भब्य साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । गत बैशाख १० गते नेपाल तामाङ संस्कृति घेदुङ र नेपाल तामाङ विद्यार्थी घेदुङको संयुक्त आयोजनामा स्वयम्भू, भुँइखेलमा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । 
तामाङ संस्कृतिमा नाम्दुङ ङ्ह्या अर्थात चैत्र पुर्णिमाको अवसरमा यो जात्राको आयोजना गर्ने चलन छ । धार्मिक एवं साँस्कृतिक महत्व बोकेको यो पर्व परापूर्वकालदेखि मान्दै आएको नेपाल ताामाङ संस्कृति घेदुङका अध्यक्ष प्रेम लो तामाङले बताए । 
ताम्बा काइतेन पुस्तकमा उल्लेख भए अनुसार ‘रोङला ने सुम’ अर्थात पर्वतीय क्षेत्रका तीन तिर्थस्थलहरु नमोबुद्ध, बौद्ध र स्वयम्भु भएकोले ती तिनवटै तिर्थस्थलहरुमा यो पर्व मनाउने चलन रहेको छ । यो पर्वमा तामाङ समुदायले पितृ र मृतकको नाममा धार्मिक विधि अनुसार पितृ र मृतकहरुप्रति श्रद्धार्पण (म्होइबा÷ङोवा लाबा) गर्ने नेपाल तामाङ घेदुङका उपाध्यक्ष कुमार घिसिङ तामाङले बताए । 
‘यसमा सक्नेले पितृहरु र मृतकहरुको नाममा पुजापाठ पनि गर्छन्’ उनले भने– ‘कसै कसैले गाँउबाट नै लामा पुरोहित ल्याएर पूजाआजा गर्ने र त्यसो गर्न नसक्नेले अन्य लामागुरुबाट सो काम गराउने गर्दछन् ।’
लामा गुरुहरुबाट पितृ र मृतकहरुको नाममा पूजापाठ गर्ने कार्यक्रम सकिएपछि दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द प्रसाद पोखरेलले साँस्कृतिक कार्यक्रमको उद्घाटन गरेका थिए । मन्त्री पोखरेलले भगवान बुद्धको जन्म नेपालमा भएको प्रस्ट पारे । उनले भने– ‘बुद्ध भारतमा जन्मेको भन्ने कुरा निराधार हो ।’ यही भ्रमलाई चिर्न बुद्ध जयन्तीको अवसरमा विश्व बौद्ध सम्मेलन गर्न लागिएको पनि बताए । 
त्यसैगरी नेपाल तामाङ घेदुङका बरिष्ठ उपाध्यक्ष बेली लामा तामाङले तेमाल जात्रा तामाङको पहिचान भएको बताउँदै यसको संरक्षण ताम्सालिङ प्रदेशमा मात्रै हुनसक्ने जिकिर गरे । ताम्सालिङ प्राप्तीको लागि आन्दोलनको विकल्प नरहेको उनको भनाई थियो । 
कार्यक्रममा काठमाडौ महानगर पालिकाका कार्यकारी प्रमूख रुद्रसिंह तामाङ, नेपाल तामाङ घेदुङका महासचिव महितकुमार तामाङ, पूर्व नेपाली सेनाका कर्नेल कुमार सिंह तामाङ, घेदुङका पूर्व महासचिव कुमार ब्लोन तामाङ, तामाङ लोक गायक चन्द्रकुमार मोक्तान र दोर्जे गोले लगायतको उपस्थिति रहेको थियो । 
संस्कृति घेदुङका अध्यक्ष प्रेम लो तामाङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन र समापन विद्यार्थी घेदुङका अध्यक्ष हर्कमान तामाङले गरेका थिए ।  

Temal Foto