Interview: परशुराम तामाङ

991

तामाङहरुमा साँस्कृतिक चेतना आएको छ तर राजनीतिक चेतना आइसकेको छैन

परशुराम तामाङ, सल्लाहकार, नेपाल तामाङ घेदुङ
 

हाइलाइटः 
–    जबसम्म साँस्कृतिक चेतनालाई राजनीतिक चेतनामा रुपान्तरण गरिदैंन त्यो राज्यसत्ताको मालिक मात्र होइन, सार्वभौम जनता पनि हुन सक्दैन । 
–    काँकडभिट्टा पुग्नु पर्ने तामाङहरुले ढल्केबरबाट यात्रा सुरु गर्नु पर्नेमा तामाङहरुको प्रवृत्ति फनक्क फर्केर पहिलेकै बाटोमा हिड्ने रहेको छ ।

घेदुङको स्थापना भएको अहिले ६० वर्ष पुग्दैछ । यो अवधिमा घेदुङले के कस्तो काम गरेको जस्तो लाग्छ  र के कस्तो काम गर्न सकेन जस्तो लाग्छ ?
नेपाल तामाङ घेदुङको स्थापना भएको धेरै वर्ष भयो । तर यसले सक्रिय जीवन पाएको र नयाँ अवधारणाका रुपमा काम गरेको चाहिँ २०४५ सालपछि हो । स्थापना भएको २०१३ सालदेखि २०१८ सालसम्म सक्रिय रह्यो । त्यसपछि एकैचोटी जनमत संग्रहको बेला २०३६ सालतिर पुनः सक्रिय भयो । यो सक्रियता पनि तीनचार वर्षभन्दा बढी रहेन । २०४५ सालमा आएपछि यसलाई पुर्नसंगठित गरियो र त्यसपछि भने यसले निरन्तरता पायो । 
नेपाल तामाङ घेदुङ सम्पूर्ण तामाङ जातिलाई एक ठाउँमा ल्याउने रुपमा यो अस्तित्वमा आयो । यसको महत्वपूर्ण उपलब्धि भनेको तामाङहरु नेपालभित्र होस् या बाहिर ? मेची बसुन् या महाकालीमा ? सबैलाई एकैठाउँमा संगठित गर्नु घेदुङको पहिलो सफलता भन्ने लाग्छ । हिजोसम्म तामाङहरुले आफूलाई तामाङ भन्न सक्दैन थिए । तामाङ नै भन्न नसक्ने तामाङहरुलाई अहिले चाहिँ हामी तामाङ हौं, हाम्रो पहिचान तामाङ हो, हाम्रो आफ्नै विशिष्ट भाषा छ, आफ्नो भूगोल छ, पुख्र्यौली भूमि छ र विश्वका अन्य मानव जस्तै एउटा विशिष्ट अस्तित्व र पहिचान भएको राष्ट्रका रुपमा रहेको जाति हौ भन्ने तामाङहरुमा गर्वको अनुभूति हुन थालेको छ । हिजो तामाङ समदुाय विभिन्न कारणहरुले गर्दा अन्य समुदायको जातीय नामहरुलाई ग्रहण गरेकाहरुले पनि आफूलाई फेरि तामाङ जातिमा नै पुर्नस्थापित गराएर एउटा गौरबको अनुभूति गरेको छ । त्यो भनेको नेपाल तामाङ घेदुङको दोस्रो उपलब्धि हो ।
खासगरी काठमाडौ वरिपरि रहेका तामाङहरुको स्थिति के देखिन्छ भने कुनै समयमा जब नयाँ राज्यसत्ताले उनीहरुलाई आफ्नो अधिनमा ल्यायो त्यो बेला तामाङहरुमा हामीलाई कसैले थिच्दैछ भन्ने भावना थियो । त्यसकारण त्यसबेला तामाङहरुले विद्रोह गरे । तर त्यसपछि यस्तो ऐतिहासिक अवस्था पनि आयो जहाँ आफूमाथि भएको हेपाहालाई (डोमिनेशन) आन्तरिकीकरण ग¥यो । त्यो हेपाहालाई हेपाहाको रुपमा भन्दा पनि भाग्यका रुपमा र साइलेन्ट कल्चरको रुपमा ग्रहण ग¥यो । जसले गर्दाखेरि तामाङहरु ज्यादै उत्पीडनमा परेको थियो । जहाँ संघर्षबाट भाग्ने प्रवृत्तिको पनि विकास भएको थियो । त्यतिमात्र होइन सत्ताको नजिक पुग्नका लागि आफूलाई सत्ताको संस्कृति र पहिचानमा परिवर्तित गरेर पलायन हुने प्रवृत्तिको पनि विकास भएको थियो । तामाङ घेदुङको आन्दोलनले त्यसलाई अन्त्य ग¥यो । तामाङहरु फेरि संघर्षको बाटोमा आएका छन् । तामाङहरुको लागि यो ऐतिहासिक घट्ना हो जस्तो लाग्छ । 
अब नेपाल तामाङ घेदुङले अहिलेसम्म गर्न नसकेको अथवा नगरेको काम भनेको तामाङहरुलाई राजनीतिक रुपमा जुन ढङ्गले अगाडि ल्याउन सक्नु पथ्र्यो त्यो गर्न सकेको छैन । किनभने तामाङहरुमा साँस्कृतिक चेतना आएको छ तर राजनीतिक चेतना आइसकेको छैन । जबसम्म साँस्कृतिक चेतनालाई राजनीतिक चेतनामा रुपान्तरण गरिदैंन त्यो राज्यसत्ताको मालिक मात्र होइन सार्वभौम जनता पनि हुन सक्दैन । र त्यो समुदायको विकास पनि हुन सक्दैन । जुन समुदायले आफूलाई सार्वभौम ठान्दैन त्यस्तो समुदाय स्वाभलम्वी र आफ्नो बाटोमा हिड्न पनि सकिदैंन । त्यस्तो समुदाय जहिले पनि पलायन हुने डर हुन्छ । अहिले पनि केहि तामाङहरु तिब्बती संस्कृतिलाई आफ्नो संस्कृतिको रुपमा लिएर हिड्ने, अर्कोथरी हिन्दु संस्कृतिलाई आफ्नो संस्कृतिको रुपमा लिने पनि देखिन्छ । त्यतिमात्र होइन केही व्यक्तिहरु आफूलाई इशाइकरण गर्दाखेरि आफूलाई ठूलो र सभ्य भएको अनुभूति गर्नेहरु पनि छन् । यस किसिमको समस्या समाधानका लागि पनि तामाङहरुको साँस्कृतिक चेतनालाई राजनीतिक चेतनामा लिएर सम्पूर्ण तामाङहरुलाई त्यो गर्वानुभूति गराउँदै राज्यको मालिक बनाउन आवश्यक छ । यो पक्षलाई तामाङ घेदुङले ध्यान दिनुपर्छ । 

घेदुङको सक्रिय जीवन २०४७ सालदेखि अहिलेसम्म आइपुग्दा २५ बर्षको दौरानमा छ । अहिले तामाङ समाजमा आएको परिवर्तन र त्यसमा घेदुङको भूमिका कहाँनेर पाउनु हुन्छ ? 
तामाङ संस्थाहरु सानो समुहमा रमाउने गर्छन र उनीहरु कसैलाई राजनैतिक रुपमा पद दिलाउनका लागि लभि गर्ने काम मात्र भए विगतमा । यो प्रक्रिया धेरै नै चलिरह्यो । ०३६ सालमा हामी विभिन्न संगठनहरुमा छौ । एउटा महत्व पूर्ण कुरा र त्यसको चरित्रमा परिवर्तन आएको छ । पहिले केही सानो समुदायको स्वार्थ पुर्ति गर्नका लागि मात्र तामाङहरुको समुहले काम गथ्र्यो । २०४५ सालदेखि नेपाल तामाङ घेदुङलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्यायौ । पछिल्लो समयमा व्यक्तिगत फाईदालाई नहेरी समुहगत आवस्यकतालाई, समुदायलाई प्रतिनिधित्व गर्ने, समुदायले भोगेको समस्यालाई केन्द्रमा राखेर नेपाल तामाङ घेदुङले कार्य गर्नुपर्छ भन्ने दृष्टिकोण स्थापित गरियो । पहिले व्यक्तिमा केन्द्रीत भएको नेपाल तामाङ घेदुङलाई समुदायमा केन्द्रीत गरियो । पछिल्लो चरणमा समुदायलाई प्रतिनिधित्व गर्ने, समुदायले भोग्नु परेका समयस्याहरुमा केन्द्र्र्रीत रहरेर काम गर्ने कार्यशैलीबाट नेपाल तामाङ घेदुङ अगाडि पढेको छ । नेपाल तामाङ घेदुङले २०४५ सालदेखि उठाइएका विषय के हो भने, मातृभाषामा शिक्षा, मातृभाषामा सञ्चार, धर्म निरपेक्षता, आरक्षणको कुरा, स्वशासनको कुरा, जातीय स्वायत्ताको कुरा हो । यसले गर्दा नेपाल तामाङ घेदुङको कार्यशैली नै परिवर्तन भयो । 
अहिले भर्खरै घेदुङको आठौं महाधिवेशन सम्पन्न भएको छ । आठौं महाधिवेशनले नयाँ कार्यसमिति निर्माण गरेको छ । नयाँ कार्यसमितिले अव कसरी के के विषयलाई मुख्य कार्यक्षेत्र बनाएर काम गरोस् भन्ने लाग्छ ? 
मैले अघि नै भनिसके साँस्कृतिक चेतनालाई राजनीतिक चेतनामा रुपान्तरण गर्ने कुरामा घेदुङको भूमिका छ । घेदुङले साँस्कृतिक पुनर्जागरण अभियानलाई बढाउनुपर्छ । र तामाङहरुको पहिचान, अस्तित्वलाई इन्कार गर्ने वा त्यसबाट पलायन हुने प्रवृत्तिलाई रोक्ने प्रयत्न गर्नुपर्छ । हामी जुन पदमा बसेका छौ त्यसलाई राजनीतिक लाभका निम्ति प्रयोग गरिनु हुन्न । जबसम्म त्यो पदमा रहन्छ तबसम्म कुनैपनि लाभको लोभमा नपरी समुदायको हितका लागि लैजानुपर्छ । अहिले मैले देखेको सबैभन्दा ठूलो कुरा के हो भने तामाङहरुको पहिचान र अस्तित्व जोगाउने एउटा महत्वपूर्ण काम हो भने ताम्सालिङ राज्य स्थापनाको लागि संघर्ष गर्ने अर्को महत्वपूर्ण काम हुन सक्छ । अहिलेपनि तामाङ भाषा, साहित्य, संस्कृतिका कुराहरुमा एकरुपता आइसकेको छैन । हुनत यो ठूला समुदाय भएको हुनाले एकरुपताको कल्पना गर्नु हुँदैन तर त्यो सबै हाम्रो सम्पति हो भनेर स्वामित्ववोध गर्नुपर्छ । पहिले भाषाको कुरा आउँदा कुन ठाउँको भाषाचाहिं स्ट्याण्डर भाषा हो ? तिमालको हो कि ? ह्रिस्याङगु हो कि कहाँ को ? त्यहि बेलादेखि नै मेरो कुरा के थियो भने त्यसो ग¥यो भने अरु ठाउँमा भएका तामाङ शब्दहरु मर्न सक्छ । त्यसैले तामाङ घेदुङको काम भनेको देशभरिमा बोल्ने ठेट तामाङ शब्दहरुलाई एक ठाउँमा ल्याएर तामाङ राष्ट्रिय भाषाको विकास गर्ने हो । त्यो ढङ्गले जाने काम अझैपनि बाँकी छ । 
अर्को कुरा धार्मिक रुपमा तामाङहरुको संस्कृति के हो भन्ने कुरामा लामाले लामातिर तान्न खोज्ने, ताम्बा र बोन्बो त लगभग विलय हुने अवस्थामा पुगिसके । तर तामाङहरुको संस्कृतिको खम्बा भनेको लामा, बोन्बो र ताम्बा नै हुन् । यी तीनवटालाई नै एकैठाउँमा ल्याएर प्रवद्र्धन गर्ने काम तामाङ घेदुङको महत्वपूर्ण क्षेत्र हुन सक्दछ ।
अर्को महत्वपूर्ण कुराचाहिं नयाँ आउनेहरुले पूरानाले ग¥यो कि गरेन भनेर प्रश्न चिन्ह खडा गरिन्छ । किनभने विगतमा गरेका कामको मेमोरी नयाँपुस्तासँग हुँदैन । त्यसले गर्दा घेदुङले इन्स्टिट्युसनल मेमोरी स्थापना गर्न जरुरी छ । त्यो गर्न सक्यो भने मात्र तामाङ समाजमा तामाङ घेदुङको भूमिका देखिन्छ । उदाहरणको लागि ल्होछारकै निर्णयमा पुग्नका लागि हामीले दशौ बर्ष खर्च गरिसकेपछि मात्रै त्यो निर्णयमा पुगेका छौ । तर अहिले आएका मानिसहरुले त्यो अगाडि के गरे भन्ने कुरा थाहा हुँदैन अनि नयाँ विवाद निकालेर जाने हुन्छ । त्यसैले घेदुङले इन्स्टिट्युसनल मेमोरी राख्नुपर्छ र त्यो विषयमा प्रशिक्षित नै गर्नु पर्दछ । 
नेपाल तामाङ घेदुङले मात्र होइन सिङ्गो तामाङ समुदायले नै खेल्नुपर्ने भूमिकाहरुमध्ये दुईवटा भूमिका मुख्य रुपमा देखेको छु । नेपाल सम्वृद्ध र आधुनिक भएन । त्यसैले यो मुलुकको आर्थिक सम्पन्नता र मुलुकको आधुनिकीकरणमा हामीले विशेष भूमिका खेल्न सक्नु पर्दछ । अर्कोकुरा यो मुलुक यति कमजोर, यति हिनतावोधले ग्रस्त भयो कि नेपाल भन्नलाई पनि लाज मान्नुपर्ने स्थिति बन्यो । हो हाम्रो मुलुक भौगोलिक विशिष्टताले गर्दा अवश्यपनि शक्ति राष्ट्र बन्न सक्दैन होला तर स्मार्ट शक्ति बन्न सक्छ । त्यो स्मार्ट शक्ति बनाउने भूमिकाचाहिं सिङ्गो तामाङले खेल्नुपर्छ । यी भूमिकाहरु तामाङहरुले खेल्न सक्यो भने इतिहासमा तामाङ जातिले क्रान्तिकारी परिवर्तन ल्याउँछ र यो मुलकै जीवनका लागि पनि अतुलनीय योगदान हुन्छ । यो राष्ट्र निर्माणलाई एकल जातीय राज्यको रुपमा निर्माण हुने जुन दृष्टिकोण थियो त्यसको सट्टामा बहुराष्ट्रिय दृष्टिकोणको आधारमा यो मुलुकको निर्माण ग¥यौ भने त्यो नै इतिहासको निम्ति हाम्रो योगदान हुन सक्दछ । 

एउटा सामाजिक संस्था भएर पनि घेदुङले तामाङ समाजको हक, अधिकार स्थापना गर्न आफ्नै ढंगले पहल र योगदान गर्दै आएको छ । त्यसमा तामाङ समाजको भूमिका कस्तो देख्नुहुन्छ ?
हामीमा इन्स्टिच्युसनल मेमोरी नभएको कारणले पलायन हुने र बिबादमा आउने, खासगरी भन्नु पर्दा समाज हिडेर काठमाडौबाट ढल्केबर पुगिसकेको हुन्छ तर हाम्रो तामाङहरु ढल्केबरमा पुगेर फेरि काठमाडौबाट यात्रा शुरु गर्न खोज्छ । यस प्रकारको प्रक्रिया अन्त्य गर्नुपर्छ । काँकडभिट्टा पुग्नु पर्ने तामाङहरुले ढल्केबरबाट यात्रा सुरु गर्नु पर्नेमा तामाङहरुको प्रवृत्ति फनक्क फर्केर पहिलेकै बाटोमा हिड्ने रहेको छ । यस्तै प्रवृत्तिले गर्दा नेपाल तामाङ घेदुङमा पनि विवाद भएको हो । जसको कारणले नेपाल तामाङ घेदुङले सक्रिय रुपमा आन्दोलन गर्नु पर्नेमा निष्क्रिय जस्तै देखिएको छ । 
आगामी दिनमा के कस्तो भूमिका खेले घेदुङलाई अझ सुदृढ बनाउन सकिन्छ र तामाङ आन्दोलनलाई अझ शसक्त बनाउन सकिन्छ भन्ने लाग्छ ? 
नेपाल तामाङ घेदुङले सिङ्गो तामाङहरुलाई आन्दोलित गर्नु पर्दछ । कुन दलले के भन्छ ? भन्ने कुरा होइन । कुनैपनि दल तामाङमैत्री हुन पनि सक्छ र अमैत्री पनि हुनसक्छ । तर तामाङ घेदुङचाहिं तामाङमैत्री हुनुपर्दछ । त्यसैले तामाङहरुको हकअधिकारका लागि लड्न जरुरी छ । 
अन्तमा, यहाँको थप केही सुझावसहित शुभकामना र आशिर्वादका लागि पनि अनुरोध छ । 
सर्वप्रथम नयाँ टिमलाई बधाइ र शुभकामना छ । अहिलेको अवस्थामा तामाङ समाजका कुनै व्यक्ति या पार्टी तामाङमैत्री छ कि छैन भन्ने कुराका आधारमा होइन, सम्पूर्ण गतिविधि र कम्तिमा तामाङ घेदुङ तामाङहरुको हकअधिकार स्थापना गर्ने आन्दोलनमा जानुपर्दछ । यो कुरामा नेपाल तामाङ घेदुङका सम्पूर्ण पदाधिकारीहरुले गम्भिरतापूर्वक लागेर अगाडि बढोस् भन्ने मेरो कामना छ ।